संस्मरणात्मक निबन्ध: यादको आकाश र बिरामी झरी
म अचानक बिरामी परेँ । तर अचानक पनि बिल्कुलै अचानक भने भएको थिएन ।
२०५७ सालको एक उदास हिउँदे मध्याह्न । चिसोको म्याराथन दौड चलिरहेको थियो जनकपुरका चोक, चौराहा र गल्लीहरूमा । सेता कुहिरोका चिसा सिपाहीहरू जताततै तैनाथ देखिन्थे । ती सिपाहीलाई छल्दै साइकल तथा रिक्साहरू ‘किरिङ-किरिङ’ घन्टी बजाउँदै दौडिरहन्थे । लाग्थ्यो— जनकपुर साइकल र रिक्साको पाङ्ग्रासँगै दौडिरहेको सहर हो । आई.ए. प्रथम वर्षमा अध्ययनरत थिएँ रा.रा.ब. (रामस्वरूप रामनारायण बहुमुखी) क्याम्पसमा । पिडारी चोकदेखि पूर्व थापा चोकभन्दा भित्र रजौलमा इँटा छापिएको गल्लीमा मेरो कोठा थियो । कोठामा एक्लै बस्थेँ । उत्तरदेखि दक्षिणसम्म तन्किएका प्राचीन गल्लीहरू साइकलका पाङ्ग्राले छिचोल्दै दिनहुँ क्याम्पस धाउँथेँ ।
मिथलेश ठाकुर सरसँग मेजर अङ्ग्रेजीको ट्युसन पढेर डेरा फर्किंदै थियौँ त्यो दिन हामी । हामी अर्थात् सिन्धुलीका मित्र लीला पूर्वछानेजी र म । साथीहरू लीला र श्यामजीहरू पिडारी चोक नमुना बस्तीमा बस्थे । श्यामजी कामविशेषले कतै जानुभएको हुनाले हामी दुई जना मात्र थियौँ । ट्युसन पढ्ने मुकाम थियो मिथलेश सरको डेरा— रामानन्द चोकदेखि थोरै उत्तर, बागबानीभन्दा पूर्व ।
ऐच्छिक अङ्ग्रेजी विषयको ट्युसन थियो त्यो । एक्लै बस्ने भएकाले खानपिनको कुनै टुङ्गो थिएन । बिहान पकाएको भात प्रायः बेलुका तताएर खान्थेँ । एक्लो जीवन, त्यसमाथि नेपाली उपन्यास बेस्सरी पढ्ने लत लागेको समय ! पुस्तक छनोटको कुनै सीमा थिएन, म खन्चुवा लार्भाकिराजस्तै भएको थिएँ । क्याम्पसको पुस्तकालयबाट हरेक हप्ता दुई-तीनवटा उपन्यास ल्याउँथेँ । किराले किम्बुका कलिला पात कुटुकुटु टोकेझैँ उपन्यास पढी सिध्याउँथेँ ।
जाडोको मौसम । सिरकभित्र डल्लो परेर स्वाद लिई-लिई पढ्नुको अलौकिक दुनियाँसँग गहिरो प्रेममा थिएँ म । कहिले पढ्दापढ्दै त्यसै निदाउँथेँ, त कहिले मध्यरातमा जनकपुर चुरोट कारखानामा बज्ने साइरनको आवाजले ब्युँझिन्थेँ । खाना पकाउनुभन्दा उपन्यासको रुमानी संसारमा सयर गर्दा बेग्लै आनन्दको अनुभूति हुन्थ्यो । म त्यो सुखानुभूतिलाई गुमाउन चाहन्नथेँ सायद ।
त्यसरी बासी खाना खाँदाखाँदै अचानक एक दिन बिहानैदेखि पेट हल्का दुख्न थाल्यो । त्यो हल्का पेटदुखाइको रातो झन्डा बुझ्ने सामर्थ्य थिएन त्यतिबेला । बिस्तारै सुरु भएको दुखाइ त्यो दिन भने असह्य बन्दै गयो । मलाई रेलवे ट्र्याक पार गर्न पनि हम्मेहम्मे भयो । सधैँ साइकल चढेर ट्युसन जान्थ्यौँ, तर त्यो दिन भने हामी हिँडेरै गएका थियौँ । मैले लीलाजीलाई आफूलाई साह्रै असजिलो भएको बताएँ । पिडारी चोकको एउटा मेडिकल पसलमा पुगेर औषधि खायौँ र त्यहीँ एकछिन आराम गरेर बस्यौँ । तर दुखाइ फिटिक्कै कम हुने छाँटकाँट देखिएन । पेटको तल्लो भागमा तातो लाभा भकभकी उम्लिरहेझैँ भइरहेको थियो । मेरा हातगोडा शिथिल हुन थाले, ओठतालु सुक्यो । मेरो नाजुक स्थिति देखेर लीलाजीले तत्काल एउटा रिक्सा बोलाउनुभयो र हामी रामानन्द चोक हुँदै जनकपुर अञ्चल अस्पताल पुग्यौँ ।
अञ्चल अस्पतालको इमर्जेन्सी वार्डको ठसठसी गन्हाएको बेडमा म छटपटाउन थालेँ । लीलाजीको अनुहारमा अन्योल र असमञ्जसको बाक्लो कुहिरो मडारिरहेको मैले देखेँ । ट्युसन पढ्न हिँडेको, त्यसमाथि विद्यार्थी मान्छे; साथमा यथेष्ट पैसा हुने कुरा पनि भएन । म बेडमा छटपटाइरहेको देखेर ड्युटीमा खटिएका डाक्टरहरूले मौरीले रानो घेरेझैँ घेरा त हाले, तर बिरामीको टिकट नकाटेका कारण जाँच गर्न भने मानेनन् । लीलाजीसँग टिकट काट्नेसम्म पैसा बाँकी नभएको मैले बुझेँ । यता मेरो अवस्था झन्-झन् बिग्रिँदै गइरहेको थियो । लीलाजी उपायको खोजीमा यताउति दगुरिरहेको देखेर एक जना सहृदयी औषधिव्यवसायीले हाम्रो स्थिति बुझेछन् क्यारे, इमर्जेन्सी टिकट काट्न सहयोग गरिदिए । लीलाजी टिकट लिएर दगुर्दै आउनुभयो । त्यसपछि बल्ल डाक्टरले मेरो जाँच सुरु गरे— पेट थिचे, श्वासप्रश्वास हेरे र रगत परीक्षणका लागि पठाए । औषधि लेखेको पुर्जा लीलाजीको हातमा थमाइदिए । एकैछिन अघिसम्मको सग्लो मान्छे, मेरो हुलिया र परिचय एकाएक फेरिएको थियो । तिनै व्यवसायीले फेरि उधारोमै भए पनि औषधि दिएछन् । एक डोज पेनकिलरको इन्जेक्सन लगाएपछि भने दुखाइको मात्रा बिस्तारै कम हुन थाल्यो ।
फोहोर बिरामी वार्ड, कहिल्यै सफा नगरिएझैँ लाग्ने दुर्गन्धित शौचालय, पानको पीकले रङ्गिएका झ्यालका चौकोस र भित्ताहरू, अनि पानी नआउने सुक्खा धारा ! लाग्थ्यो— अस्पताल आफैँ रोगी भएर छटपटाइरहेको छ । त्यसमाथि जनकपुरका भोका लामखुट्टेको निरन्तर आक्रमण र बेडका चेपचेपबाट रगत चुस्न सलबलाइरहेका उडुसका जत्थाहरूको धावा ! असाध्य पीडाको त्यो विश्रान्त कहरमा परजीवीहरूको यो उपद्रवले झन् आगोमा घिउ थपेझैँ बेचैनी बढायो ।
बिस्तारै साँझ पर्न थाल्यो । यस्तो बेलामा साँझको छिपछिपे अन्धकारले पनि अत्यासको चर्को दुर्गन्ध बोकेर ल्याउँदो रहेछ । इमर्जेन्सीका बिरामीहरूलाई बिस्तारै जनरल वार्डतिर सार्न थालियो । मलाई पनि सोही वार्डमा सारेपछि लीलाजी कोठातर्फ लाग्ने हुनुभयो । उहाँको कोठामा पाहुना आएकाले मैले “नजानुहोस्” भन्न पनि सकिनँ । बिदा हुने बेला मैले लीलाजीलाई मेरा घरबेटी बालाई खबर पुर्याइदिन आग्रह गरेँ ।
लीलाजी गएपछि स्ट्यान्डमा झुन्ड्याइएको सलाइनको बोतल हेर्दै म अनेकौँ कल्पनाको आकाशमा फिरन्ते बादलझैँ बहकिन थालेँ । वरिपरिका बिरामीका आफन्तहरू आएका थिए; “सबै ठीक हुन्छ” भन्दै ढाडस दिइरहेका थिए । मेरो भने वरिपरि कोही थिएन । ‘न आगे नाथ, न पीछे पगाह’ को अवस्था अनुभूत भइरह्यो । घरपरिवारको असाध्यै याद आयो । कहिलेकाहीँ गाउँमा बिरामी पर्दा आमाले देखाउनुभएको त्यो स्नेही अनुहार सम्झेँ । गाउँघर सम्झेँ । परिवारको न्यानो आडभरोसा सम्झेँ । मन कटक्क काटिएर आयो, चित्त बाउँडियो । तातो आँसुको बाढीले मेरा गाला र सिरानी निथ्रुक्क भिजे । डाक्टरहरूले मलाई के भएको हो स्पष्ट भनेनन्, केवल “भर्ना गरेर राख्नुपर्छ” भनेर गए ।
हाम्रा हजुरबुवाले उहिल्यै २०१७ सालतिर उदयपुरको ताप्लीबाट सुरुमा धनुषाको बेंगाडाबरमा जग्गा जोडेर खेतीपाती सुरु गर्नुभएको रहेछ । थोरै जग्गा र ठूलो परिवार भएकाले हजुरबुवा उपयुक्त विकल्पको खोजीमा हुनुहुन्थ्यो । किसाननगर बन्द्राहा (तत्कालीन गुण्डेटोल) मा बुवाका मामाहरू बस्नुभएकाले उतै अलिक धेरै जमिन पाए बसाइँ सर्ने मनस्थिति बनाउनुभएछ । त्यही बेला हजुरबुवाको भेट जनका साहका बुवासँग भएछ । उनी त्यहीँका स्थानीय थिए । उनी पनि बन्द्राहाको जग्गा बेचेर चौलिखा बजार जाने सोचमा रहेछन् । चौलिखा त्यस बेलाको चल्तीको बजार थियो । उनी व्यापारी भएकाले व्यापार गर्न सहज हुने ठानेर जग्गा साट्न खोजिरहेका रहेछन् । हजुरबुवाको आवश्यकता र उनको इच्छा जुध्न पुगेपछि हाम्रो बेंगाडाबरको खेत र उनको बन्द्राहाको खेत सट्टापट्टा भएछ । पछि चौलिखा हुँदै जनकपुर बसाइँ सरेका रहेछन् ती काकाहरू ।
बुवा जनकपुर पढ्न बस्दा तिनै जनका काकाको घरमा बस्नुभएको थियो; ठूल्दाजुले पनि उतै बसेर अध्ययन पूरा गर्नुभएकाले उनीहरूसँग हाम्रो पुरानो पारिवारिक सम्बन्ध थियो । त्यही सम्बन्धको लहरो समाउँदै बुवाले मलाई पनि केही महिनाअघि मात्र उनका घरमा डेराको चाँजोपाँजो मिलाइदिनुभएको थियो ।
बेलुका नौ बजेतिर झुल र कम्बलको भारी बोकेर तिनै घरबेटी बा अर्थात् जनका काका अस्पताल आइपुग्नुभयो ।
घरबेटी बालाई देख्दा औँसीको अन्धकारमा एकाएक शरदको सङ्लो जून उदाएझैँ आभास भयो । मन हलुका भयो । तिर्खाले व्याकुल यात्रुले एक घुट्को शीतल पानी भेटेजस्तो लाग्यो ।
घरबेटी बाले मेरो मलिन अनुहार नियाल्दै गम्भीर स्वरमा सोध्नुभयो, “के भो बाबु ? अहिले कस्तो छ ?”
“खै के भो के भो काका ! पेट बेस्मारी दुख्छ । अघि अलि कम भा’थ्यो, अहिले फेरि उस्तै दुख्न थाल्या छ ।”
मेरो जवाफ सुनेर उनको अनुहार अझ चिन्तित देखियो । काका मसँग धेरै त बोलेनन्, तर उनको बोलीमा ‘यानेकिजे’ भन्ने थेगो थियो । उनले सम्झाए, “यानेकिजे… स्वास्थ्यको अलि ख्याल गर्नुपर्छ । हिजोअस्तिदेखि सञ्चो रहेनछ, मलाई केही भनेनौ यानेकिजे । एक्लै बस्दा दुःख-बिमार हुँदा यानेकिजे भन्नुपर्छ नि !” काकाका यी स्नेही शब्दहरूले मेरा भन्न खोजिएका कुरा छातीभित्रै गाँठो परेर अड्किए । गला अवरुद्ध भयो । मैले केही बोल्न सकिनँ । उनले मेरा लागि घरबाट रोटी ल्याइदिएका रहेछन्, तर डाक्टरले केही नखानू भनेकाले मैले खाइनँ ।
उनले मेरो झुल कसिदिए, कम्बल ओढाइदिए र आफू अन्य कुरुवाझैँ चिसो भुइँमै पातलो गुन्द्री ओछ्याएर सुते । भोलिपल्ट बिहान-दिउँसो खाना लिएर आउने वाचा गर्दै घरबेटी काका डेरा फर्किए ।
मलाई वास्तवमा के भएको थियो, डाक्टरहरूले खुलस्त भनेकै थिएनन् । उनीहरू आपसमा खासखुस गर्थे । नर्सहरूलाई सोध्दा “एपेन्डिसाइटिस भएको हो कि ?” भन्ने आशङ्का व्यक्त गर्थे, तर यकिन थिएन ।
लीलाजीले क्याम्पसका साथीहरूमाझ खबर पुर्याइदिनुभएछ । दिउँसो क्याम्पसका साथीहरू आइपुगे । दीपक ओझा, लीलाजी र श्यामजीहरूलाई देख्दा मनको हाँगामा बसेको अत्यासको कालो काग बिस्तारै उडेर गयो; दुःखको मैलो पर्दा हटेर छ्याङ्ग घाम लागेझैँ भयो । साथीभाइको अनुहार देख्दा मात्रै पनि चित्त त्यसैत्यसै प्रसन्न भयो ।
भोलिपल्ट बिहान दश बजेतिर साथी दीपक ओझा पुनः आइपुगे । दीपक अस्पताल आउँदै गर्दा बाटामा बडाबाका माहिला छोरा कृष्ण दाइसँग भेट भएको रहेछ । दाइ आफ्नो व्यावसायिक कामका सिलसिलामा जनकपुर आइरहनुहुन्थ्यो । हामी कुरा गरिरहेकै थियौँ, खोज्दै-सोध्दै कृष्ण दाइ पनि टुपुल्किनुभयो । दाइको उपस्थितिले मेरो मन काँसको फूलझैँ हलुका भयो; बाटो बिराएर अलमलिएको बटुवाले अचानक गोरेटो भेटेजस्तो ! केही बेर भलाकुसारी भएपछि दाइले त्यहीँबाट बर्दिबास फोन गरेर हाम्रो घरमा खबर पुर्याइदिन आफ्ना भाइ (ऋषि दाइ) लाई भन्नुभयो ।
त्यही दिनको साँझपख बुवा गाउँबाट आइपुग्नुभयो । “छोरो बिरामी भएर अस्पताल भर्ना भएको छ, छिट्टै जनकपुर जानू अरे” भन्ने खबर सुनेर हतारिँदै आइपुग्नुभएका बुवाको मनोदशामा सन्त्रास र संशयका काला बादलहरू मडारिइरहेका थिए । तर मलाई भने बुवाको आगमनले सबै कष्ट छुमन्तर भएझैँ लाग्यो; दुखिरहेको पेटमा नदुख्ने सञ्जीवनी छर्केझैँ ! जेसुकै भए पनि अब बुवाले सम्हाल्नुहुन्छ भन्ने विश्वासले मनमा न्यानो घाम लाग्यो । साथीभाइ र आफन्तको भेटघाट तथा ढाडसले व्यथा केही कम भएजस्तो त लाग्थ्यो, तर रोगको समूल निदान र उपचार भने हुन सकेको थिएन ।
हेर्दाहेर्दै पाँच-सात दिन बितिसक्दा पनि रोग पत्ता लाग्नुको साटो म भित्रभित्रै कमजोर र दुब्लो हुँदै गइरहेको थिएँ । खानामा पटक्कै रुचि थिएन । पेटको असह्य दुखाइसँगै पखाला चलिरहन्थ्यो । आँखा अस्पतालको भित्तामा देखिने कुपोषित भातबहादुरको स्केचझैँ म खङ्ग्रङ्ग सुक्दै गएँ । घरबाट आमा आउनुभयो, गौरीडाँडाबाट माइजू आइपुग्नुभयो । मेरो दीनहीन अनुहार र कृशकाया देखेर आमा र माइजू भित्रैदेखि हिमनदीझैँ पग्लिनुभएको मैले देखेँ । मनभित्र जमेको पीडारूपी शीतका थोपाहरू आँखाबाट आँसु बनेर छचल्किरहेका थिए ।
अस्पताल आउने साथीभाइ तथा आफन्तहरूले “यहाँ राखिराख्नुहुँदैन, बरु काठमाडौँ वा दरभङ्गा लैजानुपर्छ” भन्दै सल्लाह दिन्थे; तर डाक्टरहरू भने “आजभोलिमै डिस्चार्ज गरिहाल्छौँ, आत्तिनु पर्दैन” भनेर सम्झाइरहन्थे । बुवा दोधारमा पर्नुभयो । अन्ततः करिब आठ दिनपछि रोगको कुनै स्पष्ट निदान नहुँदै झोलाभरि औषधि बोकेर हामी अस्पतालबाट घर फर्कियौँ । डाक्टरले बुवालाई “एपेन्डिसाइटिसको शङ्का लागेर प्रारम्भिक उपचार गरेका छौँ, तीन महिनाभित्र काठमाडौँ लगेर अपरेसन गराउनुहोला” भनेका रहेछन् ।
घर पुगेपछि मन त शान्त भयो, तर पेट भने दुखिरहन्थ्यो । उसिनेका खानेकुरा र घरको कडा परहेजले दुखाइ केही मत्थर भए पनि समस्या निर्मूल हुन सकेको थिएन ।
तीन महिनापछि—
हामी मेरो अपरेसनका लागि काठमाडौँ जाने भयौँ । नकुल दाइ त्यतिबेला काठमाडौँमै हुनुहुन्थ्यो । उहाँबाहेक राजधानीमा हाम्रो चिनेजानेको कोही थिएन । सिरहाको बन्दीपुरमा दाहाल भान्दाइ हुनुहुन्थ्यो— अलि टाठोबाठो र काठमाडौँमा चिनजानको लहरो भएका । बुवाले तिनै भान्दाइलाई गुहार्नुभयो । यताबाट बुवा, म र बडाबाको कान्छो छोरा (सान्दाइ) जाने निधो भयो । भान्दाइ बन्दीपुरबाटै साझा बसको चारवटा टिकट काटेर आउनुभयो र हामी बर्दिबासबाट बस चढ्यौँ ।
नारायणगढमा खाना खाएर त्रिशूलीको किनारैकिनार उकालो लाग्यौँ । बाटाका छेउछाउ थिच्न आउलान्झैँ लाग्ने बडेमानका पहाडहरू र घुमाउरो सडक छिचोलेर हामी काठमाडौँ ओर्लियौँ । हामीजस्ता सामान्य मानिसलाई कुनै गम्भीर बिरामी वा त्यस्तै आकस्मिक काम नपरी काठमाडौँ पुग्नु असम्भवप्रायः हुन्थ्यो । मेरो पहिलो काठमाडौँ-यात्रा पनि यस्तै बाध्यताको उपज थियो । सानो टिभीको पर्दामा देखेको काठमाडौँ कल्पनाभन्दा कता हो कता विशाल थियो । जताततै मान्छेको सागर, गाडीको वाक्कलाग्दो भीड र फोहोरका थुप्राहरू देखेर काठमाडौँबारे मनमा कोरिएको सुन्दर काल्पनिक चित्र भत्किन थाल्यो । तर सहरले मानिसलाई एक-दुई दिनमै आफूमा अभ्यस्त बनाइहाल्दो रहेछ ।
हामी प्रायः नकुल दाइकै कोठामा बस्यौँ । वीर अस्पतालमा भान्दाइका एक जना आफन्त कार्यरत हुनुहुँदो रहेछ । भोलिपल्टै इन्डोस्कोपीबाट पेटको परीक्षण हुने भयो । खाली पेटमै हामी वीर अस्पताल पुग्यौँ, पेटको जाँच भयो । रिपोर्टअनुसार सामान्य ग्यासबाहेक भित्र कुनै खराबी देखिएन । माउसुलीका फुलजस्ता साना चक्कीहरूको एक पत्ता ट्याब्लेट दिएर डाक्टरले बिदा गरे र बाहिर गएर भिडियो एक्सरे गरी रिपोर्ट देखाउन भने ।
भोलिपल्ट भिडियो एक्सरेका लागि पुतलीसडकको पद्मोदय मोडस्थित ‘काठमाडौँ क्लिनिक’ जाने भयौँ । बिहानै खाली पेटमा आउन भनेकाले सबेरै पुरानो बानेश्वरबाट टेम्पो चढ्यौँ । टेम्पोमा निकै भीड थियो । मैले बल्लबल्ल सिट पाएँ । मेरो ठीक अगाडिको सिटमा बुवा बस्नुभयो । बुवासँगै चिम्सा आँखा भएको एक मङ्गोलियन हुलियाको ठिटो टाँस्सिएर बस्यो । यात्रुहरू थपिँदै गए, चोक र गल्लीहरू छुट्दै गए ।
हामी धक्कामुक्की सहँदै गन्तव्यमा ओर्लियौँ । क्लिनिकमा पालो आइनसकेकाले यताउति टहलिँदै थियौँ । त्यसै क्रममा बुवाले सर्ट अलिकति उचाल्दा पाइन्टको चोरगोजीतिर प्वाल परेको देखेँ । मैले झसङ्ग हुँदै भनेँ, “अहो ! बुवाको पाइन्ट त मुसाले काटेछ कि क्या हो, हेर्नु त !” बुवाले पनि “हो र ?” भन्दै खल्ती छाम्नुभयो । पाइन्टको चोरगोजीनिर त धारिलो ब्लेडले पारेको ठूलो भ्वाङ पो रहेछ !
बुवाको सातो पुत्लो उड्यो, “ओहो ! बर्बादै भएछ नि, पाकेटमारले गोजी काटेछ !” बुवाको अनुहारको रङ्ग एकाएक बदलियो । नभन्दै कुनामा छलिएर हेर्दा त त्यो प्वालबाट हजार-हजारका नोटको बिटो बाहिर खसुँ-खसुँ गरिरहेको ! धन्न, पाकेटमारले खल्ती काट्न भ्याए पनि भिडभाडका कारण पैसा फुत्काउन भने भ्याएनछ । बुवा बिस्तारै सम्हालिनुभयो । टेम्पोमा त्यो केटो त्यसरी बुवामाथि जबर्जस्ती टाँस्सिएर धकेलिरहनुको रहस्य बल्ल छ्याङ्ग भयो । बुवाको मनमा उब्जिएको संशय र परिणामको कडी ठ्याक्कै मिल्यो ।
क्लिनिकमा भिडियो एक्सरे गरायौँ । रिपोर्टमा कुनै जटिल खराबी देखिएन । जनकपुरको डिस्चार्ज-पुर्जा डाक्टरहरूलाई देखायौँ । उनीहरूले रिपोर्टहरू गहिरिएर हेरेपछि अपरेसन गर्नुपर्ने कुनै कारण नरहेको निष्कर्ष निकाले । अपरेसनको ठूलो मानसिक तनावबाट हामीले मुक्ति पायौँ । अन्य स्वास्थ्य परीक्षण गरिरहनु नपर्ने भए पनि हामी रहरले अझै एक-दुई दिन काठमाडौँमै बस्यौँ । समयले भ्याएसम्म पशुपतिनाथ मन्दिरदेखि जावलाखेलको चिडियाखानासम्म घुम्यौँ । काठमाडौँका दर्शनीय ठाउँहरूको अवलोकनपछि हामी घर फर्कियौँ ।
काठमाडौँबाट घर त फर्कियौँ, तर किन-किन मेरो व्यथा भने निको भएन । कथाले उही पुरानै बाटो समात्यो । काठमाडौँका डाक्टरहरूले दिएका औषधि पनि सकिए । दुखाइको गति फेरि तीव्र बनेपछि म पुनः ओछ्यान परेँ । मुखमा केही हाल्नै नहुने, उधुम पेट दुख्ने समस्या दोहोरियो । काठमाडौँ पुगेर फर्केपछि सञ्चो हुनुको साटो समस्या बीसको उन्नाइस पनि भएन ।
त्यतिबेला हाम्रो गाउँघरतिर डुली हिँड्ने एक जना डाक्टर थिए— सूर्यदेव । पथलैया बजारमा उनको डेरा थियो । भारतको बिहार घर भएका उनी डिग्रीधारी चिकित्सक त थिएनन्, तर आसपासका चार गाउँका बिरामी उनकै भरमा थिए । आफूलाई ‘प्राक्टिसनर डाक्टर’ भन्थे । बर्खामासका च्याउझैँ भेटिने झोले डाक्टरहरूमध्ये उनी अलि अनुभवी र सिपालु मानिन्थे । एक दिन बुवाले तिनै डाक्टरलाई घरमा डाकेर ल्याउनुभयो । अब उनैले मेरो उपचार गर्ने भए ।
उनले बुवासँग आत्मविश्वासका साथ भनेको मैले सुनेँ, “मास्टरसाहेब ! मैले त पहिल्यै भनेको थिएँ, यसलाई काठमाडौँ लैजानु पर्दैन, म इलाज गरिदिन्छु भनेर । तपाईँले मान्नुभएन । खैर केही छैन, म ठीक पारिहाल्छु नि !”
उनले केही ट्याब्लेट र झोल औषधि दिए, एउटा इन्जेक्सन लगाइदिए । अनि सम्झाए, “यो झोल दबाइले दिसा कालो हुन्छ, नआत्तिनुहोला; यसले पेट सफा गर्छ ।”
दिनहुँजसो उनी फलोअपमा आइरहन्थे, मेरो स्वास्थ्य-अवस्था बुझिरहन्थे । सूर्यदेव साँच्चै मेरो हकमा सूर्यदेवता नै साबित भए । उनको सामान्य उपचारले मेरो पुरानो रोग बिस्तारै निको हुँदै गयो, शरीरमा ऊर्जा र तागत फर्किन थाल्यो । उनी निकै आत्मविश्वासी थिए— “यो ग्यास्ट्रिक बिग्रेको मात्र हो, अरू केही होइन” भन्थे । उनको त्यही दृढ आत्मविश्वासले हाम्रो मनका संशयहरू क्रमशः क्षीण हुँदै गए ।
बिस्तारै जीवन सामान्य लयमा फर्किन थाल्यो । तर केही समय अझै औषधिसँगै खानामा कडा परहेज गर्नुपर्ने भयो । उसिना चामलको भात र गहुँको सुक्खा रोटीबाहेक अन्य खानेकुरा मेरा लागि पूर्णतः निषेध गरिए ।
क्याम्पसको वार्षिक परीक्षा नजिकिँदै थियो, पढाइ केही भएको थिएन । जनकपुर छोडेको पनि करिब छ महिना बितिसकेको थियो । उसिना चामल, गहुँको पीठो र औषधिको पोकोपन्तुरा कसेर म पुनः जनकपुर हान्निएँ । मलाई पूर्ण सञ्चो भएर फर्केको देख्दा जनका काका औधी खुसी हुनुभयो । सुरु-सुरुमा रोटी पकाउन नजान्ने मेरो भान्सा रोटी बनाउने बेलामा युद्धमैदानझैँ हुन्थ्यो । रोटी टिनको पाताझैँ अररो बन्थ्यो; लाग्थ्यो रोटी मसँग भयंकर रिसाएको छ ! तर अभ्यास र सिकाइका इँटाहरू खप्टिँदै गएपछि केही दिनमै मसँग रिसाएको त्यो रोटी पनि नरम र सहृदयी बन्न थाल्यो । पछि म बिस्तारै सामान्य खानपिनमै फर्किएँ । करिब तीन महिनाको विशेष खानपान र औषधिको प्रभावले मेरो स्वास्थ्य पुरानै लयमा फर्कियो ।
मेरो स्वास्थ्य उपन्यास पढ्ने लतका कारणले भन्दा पनि अनियमित र प्रतिकूल खानपानका कारणले बिग्रेको रहेछ भन्नेमा अब कुनै शङ्का रहेन । त्यसैले त्यसपछि उपन्यास पढ्ने बानी नछोडे पनि अल्छी भएर बासी खाना खाने आदत भने मैले सधैँका लागि चटक्कै छोडिदिएँ ।
— बर्दिबास-१४, महोत्तरी —


