मोरङ: इतिहासको माटोदेखि आत्मबोधको आकाशसम्म
बिहानको पहिलो उज्यालो विराटनगरमाथि बिस्तारै फैलिँदै थियो । रातको अँध्यारो अझै आकाशका केही कुनामा बाँकी नै थियो । सडकमा मानिसहरूको चहलपहल सुरु भइसकेको थियो । चियापसलबाट निस्किएको बाफ चिसो हावामा मिसिँदै थियो । कतै दूध बोकेका साइकल र मोटरसाइकल थिए, कतै विद्यालय जाने बालबालिका; अनि कतै तराईको समथर सडकलाई चिर्दै पूर्वतिर जाने बसहरू ।
म विराटनगरको सडकमा उभिएको थिएँ र अचानक मलाई लाग्यो— यो केवल एउटा सहर मात्र होइन, नेपालको आधुनिक चेतनाले आकार लिएको एउटा ऐतिहासिक भूगोल हो । विराटनगरलाई पूर्वी नेपालको प्रमुख औद्योगिक सहर भनेर चिनाउनु यसको परिचयलाई साँघुरो बनाउनु हुनेछ । यसको माटोमा श्रमको गन्ध छ, यसका सडकमा राजनीतिक जागरणको पदचाप छ, यसका उद्योगहरूमा नेपालको आधुनिक आर्थिक इतिहासको प्रारम्भिक स्पन्दन छ, सामाजिक जीवनमा विविध समुदायको सहअस्तित्व छ; र यसको स्मृतिमा राणाशासनविरुद्ध उठेको श्रमिक चेतनाको एउटा महत्त्वपूर्ण अध्याय जीवित छ ।
विराटनगरको आधुनिक इतिहास सम्झँदा वि.सं. २००३ सालको विराटनगर जुट मिल्सको श्रमिक आन्दोलन विशेष रूपमा स्मरणीय बन्दछ । उद्योगको भट्टी, मजदुरको पसिना र राजनीतिक अधिकारको आकाङ्क्षा यहाँ एकै ठाउँमा भेटिएका थिए । श्रमिकहरूको आवाज केवल ज्यालाको प्रश्नमा सीमित रहेन; त्यो राजनीतिक स्वतन्त्रताको मागसँग जोडियो । यही वातावरणले नेपालमा प्रजातान्त्रिक आन्दोलनको चेतना विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको इतिहासमा उल्लेख पाइन्छ । विराटनगरका गल्लीहरूमा हिँड्दा मलाई लाग्यो— क्रान्ति सधैँ बन्दुकको आवाजबाट मात्र सुरु हुँदैन । कहिलेकाहीँ त्यो मजदुरको थाकेको शरीरबाट निस्किएको प्रश्नबाट सुरु हुन्छ; कहिलेकाहीँ एउटा कारखानाको गेटमा उभिएको भीडबाट; अनि कहिलेकाहीँ ‘हामीलाई अधिकार चाहिन्छ’ भन्ने सामान्य वाक्यबाट । विराटनगरले नेपालको राजनीतिक इतिहासमा यही प्रश्न गर्ने साहसलाई संस्थागत स्वर दिएको सहरका रूपमा आफ्नो विशिष्ट स्थान बनाएको छ ।
विराटनगरको अर्को सौन्दर्य यसको बहुलतामा छ । यहाँ तराईको माटो छ, तर यसको चेतना स्थानीय भूगोलमा मात्र सीमित छैन । भारतसँगको खुला सिमाना, व्यापारिक आवागमन, उद्योग, शिक्षा, राजनीति र विविध समुदायको बसोबासले यसलाई निरन्तर गतिशील बनाएको छ । यहाँका सडकमा परम्परा र आधुनिकता सँगसँगै हिँड्छन् । पुराना घरहरू र नयाँ संरचनाहरू एउटै क्षितिजमा भेटिन्छन् । मन्दिरका घण्टी र उद्योगका मेसिनको आवाज एउटै सहरमा सुनिन्छ । बिहानको पूजा र साँझको बजार दुवैले विराटनगरको जीवनलाई पूर्ण बनाउँछन् । मलाई लाग्यो— सहरको वास्तविक परिचय उसका भौतिक संरचनाहरूमा मात्र हुँदैन, मानिसहरूले निर्माण गरेको साझा जीवनमा हुन्छ ।
विराटनगरबाट बाहिर निस्कने तरखर गर्दा मैले यसको अर्को ऐतिहासिक तह महसुस गरेँ । आधुनिक सहरबाट केही टाढा पुग्दा प्राचीन विराट राज्यसँग जोडिएको भेडियारी क्षेत्रतर्फ जाने बाटो खुल्छ । एउटा सहरको वर्तमान र वरिपरि फैलिएको प्राचीन स्मृतिबीचको यो सम्बन्ध अत्यन्त रोचक छ । एकातिर औद्योगिक विराटनगर छ, अर्कोतिर महाभारतकालीन विराटको जनविश्वास बोकेको पुरातात्त्विक भूगोल । एउटा आधुनिक सहरले आफ्नो अतीतलाई पूर्ण रूपमा छोडेको छैन; बरु उसले विगतलाई बोकेर भविष्यतर्फ पाइला चालिरहेको छ ।
बिहानको उज्यालो अब पूर्ण भइसकेको थियो । सडक व्यस्त थियो र मानिसहरू आ-आफ्ना काममा दौडिरहेका थिए । मैले सोचेँ— इतिहास केवल दरबारहरूमा मात्र बस्दैन; इतिहास त कारखानामा पनि हुन्छ, बजारमा पनि हुन्छ, मजदुरको हातमा पनि हुन्छ, विद्यार्थीको सपनामा पनि हुन्छ, र सहरको निरन्तर रूपान्तरणमा पनि हुन्छ । विराटनगरले मलाई यही सिकायो— कुनै सहरको महानता उसका अग्ला भवनहरूले होइन, उसले आफ्नो समयलाई कति गहिरो रूपमा प्रभावित गरेको छ भन्ने कुराले निर्धारण गर्छ । विराटनगर त्यस अर्थमा श्रम, उद्योग, राजनीति, सङ्घर्ष, सहअस्तित्व र आधुनिक नेपाली चेतनाको एउटा जीवित इतिहास हो ।
भेडियारी पुगेपछि म केही समय मौन भएर उभिएँ । अगाडि माटो थियो, वरिपरि बस्ती । तर त्यो माटो मलाई साधारण लागेन । स्थानीय जनस्मृतिमा यो विराट राजाको दरबारसँग जोडिएको भूमि हो । महाभारतको विराट पर्वसँग यसको सम्बन्ध जोड्ने जनविश्वास अझै गाढा छ । पाण्डवहरूको अज्ञातवास, राजा विराट, कीचक, कौरवहरूको खोजी— यी कथाहरू स्थानीय मानिसहरूको स्मृतिमा आज पनि उत्तिकै जीवित छन् । तर मेरो मन इतिहास र मिथकको दोसाँधमा अडियो । के साँच्चै यही ठाउँ विराटको राजधानी थियो ? मैले आफैँलाई सोधेँ— यसको प्रमाण के छ ? फेरि अर्को अन्तर्ध्वनि आयो, “हरेक सत्य एउटै प्रकारको प्रमाणबाट मात्र स्थापित हुँदैन । इतिहासको प्रमाण पुरातत्त्वले खोज्छ; संस्कृतिको प्रमाण स्मृतिले बोकेको हुन्छ ।” उत्खननबाट प्राप्त भनिएका प्राचीन संरचनात्मक अवशेष, माटाका भाँडाका टुक्रा र पञ्चमार्क मुद्राजस्ता सामग्रीले यस क्षेत्रमा प्राचीन मानव गतिविधि भएको सम्भावनालाई बल दिन्छन् । तर महाभारतकालीन विराट राज्यसँगको प्रत्यक्ष सम्बन्धलाई वैज्ञानिक इतिहासले अझै सावधानीपूर्वक हेर्नुपर्ने हुन्छ । मलाई यही सावधानी सुन्दर लाग्यो । सत्यलाई अन्धविश्वासको आवरणले छोप्नु पनि हुँदैन र अनावश्यक शङ्काले विश्वासको जग भत्काउनु पनि हुँदैन । एक जना वृद्ध स्थानीयसँग कुरा गर्दा उनले सहज भावमा भने, “बाबु ! हामीलाई यो ठाउँको कथा हाम्रा बाजेहरूले सुनाए, उनीहरूलाई पनि उनीहरूका बाजेहरूले ।” मैले सोचेँ— इतिहास कहिलेकाहीँ पुस्तकमा होइन, पुस्ताको मुखमा बाँच्छ । तर त्यसलाई तथ्य र प्रमाणको कसीमा जाँच्नु पनि हाम्रो दायित्व हो । यही ठाउँमा इतिहासले मलाई विनम्र हुन सिकायो ।
विराट राजाको दरबार क्षेत्रवरिपरिका पोखरीतर्फ लाग्दा पानीमा आकाशको प्रतिबिम्ब देखियो । धरवा, कीचकवध, भँसिया, थरथोवा, गुहिया, दिघरी र बहरवा जस्ता स्थानीय नामसँग जोडिएका पोखरीहरूले मलाई समयको अर्को रूप देखाए । पोखरी आफैँ बोल्दैन, तर त्यसको पानीमा गाउँको सिङ्गो स्मृति तैरिरहेको हुन्छ । मैले शान्त पानीतर्फ हेरेँ र मनमनै भनेँ, “तिमीले कति पुस्ता देख्यौ होला ?” पानी मौन रह्यो । तर कहिलेकाहीँ मौनता नै सबैभन्दा गहिरो उत्तर बनिदिन्छ ।
वेदान्तले जगत्लाई परिवर्तनशील मान्छ । नाम र रूप बदलिन्छन्, शरीर बदलिन्छ, राज्य बदलिन्छ, दरबार भग्नावशेष बन्छ; तर अस्तित्वको आधारभूत सत्य परिवर्तनको साक्षीजस्तै अविचल रहन्छ । मसँगै आएका एक साथीले हाँस्दै भने, “तिमी त पोखरीसँग पनि कुरा गर्छौ !” मैले भनेँ, “यात्रामा मानिससँग मात्र कुरा गरेर पुग्दैन, प्रकृतिसँग पनि संवाद गर्नुपर्छ ।” उनले फेरि सोधे, “प्रकृतिले जवाफ दिन्छ र ?” मैले पानीतर्फ हेर्दै भनेँ, “दिन्छ, तर हाम्रो भाषामा होइन ।” त्यही क्षण मनमा उपनिषद्को मन्त्र गुञ्जियो— ‘ॐ पूर्णमदः पूर्णमिदम् ।’ पूर्णताबाट निःसृत यस संसारमा केही पनि अपूर्ण वा एक्लो छैन । एउटा पोखरीमा आकाश छ, आकाशमा बादल छ, बादलमा पानी छ, पानीमा जीवन छ, जीवनमा स्मृति छ, स्मृतिमा इतिहास छ र इतिहासमा हामी स्वयम् छौँ । त्यसैले पुरानो पोखरी हेर्नु भनेको केवल पानी हेर्नु मात्र होइन, आफ्नै विगतको प्रतिबिम्ब हेर्नु पनि रहेछ ।
त्यसपछि मेरो यात्रा राजारानी पोखरीतर्फ मोडियो । लेटाङतिर पुग्दै जाँदा भूदृश्य फेरियो । तराईको समथर विस्तार क्रमशः हरियो वन र पहाडी भूगोलतर्फ उक्लियो । राजारानी पुगेपछि वातावरणमा एउटा गहिरो शान्ति छायो । पोखरीको पानी स्थिर देखिन्थ्यो, तर त्यसको वरिपरि जीवनको आफ्नै गति चलिरहेको थियो । हरिया वनस्पति थिए, चराहरूको कलरव थियो र मन्द हावाले पातहरू हल्लाइरहेको थियो । स्थानीय धिमाल समुदायसँग जोडिएको सांस्कृतिक स्मृति पनि यस क्षेत्रको अर्को गहिरो आयाम थियो । मैले सोचेँ— प्रकृति र संस्कृति वास्तवमा अलग विषय होइन रहेछन् । मानिसले जसलाई पवित्र ठान्छ, त्यसलाई जोगाउन खोज्छ; जसलाई जोगाउँछ, त्यसैबाट आफ्नो पहिचान निर्माण गर्छ । यही चक्रले संस्कृति जन्माउँछ ।
म पोखरीको किनारमा बसेँ र आँखा बन्द गरेँ । केही क्षण केही सोचिनँ, केवल आफ्नै सासको गति सुनेँ । भित्रबाट एउटा सरल मन्त्र प्रतिध्वनित भयो— ‘सोऽहम् ।’ श्वास भित्रिँदा ‘सो’, श्वास बाहिरिँदा ‘हम्’ । “म त्यो हुँ ।” त्यो के ? आकाश ? प्रकृति ? चेतना ? ब्रह्म ? प्रश्न फेरि उठ्यो । अद्वैत वेदान्तले आत्मा र ब्रह्मबीचको भेदलाई मेटिदिन्छ । बाहिरको प्रकृति र भित्रको चेतनाबीचको दूरी वास्तवमा कति छ ? पोखरीको पानीमा आकाश देख्दा लाग्यो— पानी अलग छ, आकाश अलग छ, तर प्रतिबिम्बले दुवैलाई एकै क्षणमा जोडिदिन्छ । सायद मन पनि त्यस्तै हो । संसार बाहिर छ, चेतना भित्र छ; तर मनले दुवैको प्रतिबिम्ब बनाइरहेको हुन्छ ।
राजारानीबाट फर्कँदै गर्दा राजा धनपालथान पुगेँ । यहाँको धार्मिक आस्था स्थानीय जनजीवनसँग गहिरोसँग जोडिएको थियो । खुला भूभाग, हरियाली, स्थानीय जनविश्वास र पूजा-आराधनाको वातावरण । मैले एउटा सानो मन्दिरअगाडि उभिएर सोचेँ— मानिसले देवता किन बनाउँछ ? उत्तर खोज्दै जाँदा मनले भन्यो— मानिसले आफ्नो भयलाई अर्थ दिन देवता बनाउँछ, आफ्नो आशालाई प्रतीक दिन देवता बनाउँछ, र आफ्नो सीमितताभन्दा माथि उठ्ने आकाङ्क्षालाई नाम दिन देवता बनाउँछ । तर के देवता केवल मूर्तिमा मात्र सीमित हुन्छन् ? उपनिषद्को वचन फेरि सम्झिएँ— ‘तत्त्वमसि’ (त्यो तिमी नै हौ) । यदि प्रत्येक जीवभित्र दिव्य चेतनाको वास छ भने पूजा केवल मन्दिरमा दीप बाल्नु मात्र होइन, आफ्नो आचरण र व्यवहारमा प्रकाश बाल्नु पनि हो ।
मैले आफैँलाई प्रश्न गरेँ, “मन्दिरमा आएर फर्किएपछि के म बदलिन्छु त ?” मन मौन भयो । यही मौनता सबैभन्दा कठिन प्रश्न थियो । धर्मको वास्तविक सार बाहिरी अनुष्ठानभन्दा भित्री रूपान्तरणमा हुन्छ । यदि पूजा गरेपछि पनि मनमा घृणा उस्तै रह्यो भने धूपको सुगन्धले के परिवर्तन ल्याउँछ ? यदि मन्त्र उच्चारण गरेपछि पनि कर्ममा अन्याय र स्वार्थ उस्तै रह्यो भने मन्त्रको के अर्थ रहन्छ ? मैले हात जोडेँ; कुनै ठूलो वर मागिनँ, केवल यति भनेँ, “हे चेतना, मलाई आफूलाई जित्ने सामर्थ्य देऊ ।”
धनपालथानबाट धनपालगढीतर्फ जाँदा यात्राले इतिहासको अर्को पत्र खोल्यो । स्थानीय जनश्रुति, भग्नावशेष, पुराना इँटा र संरचनाका अवशेषहरूले कुनै समय यहाँ राजनीतिक तथा सांस्कृतिक वैभव थियो भन्ने सङ्केत दिइरहेका थिए । तर इतिहासको यो क्षेत्र पनि अनुत्तरित प्रश्नहरूले भरिएको थियो । म एउटा पुरानो इँटाको छेउमा बसेँ र त्यसलाई हातमा लिएँ । “तिमी कसको घरको थियौ ?” मैले मनमनै सोधेँ, “कुन राजाको ?” कुनै उत्तर आएन । “कुन श्रमिकले तिमीलाई बनायो होला ?” फेरि मौनता । “कुन बच्चाले तिम्रो छेउमा खेलेको थियो ?” अझै मौनता ! इतिहासको सबैभन्दा ठूलो विडम्बना यही रहेछ— राजाको नाम इतिहासमा बाँच्छ, तर इँटा बनाउने श्रमिकको नाम कतै भेटिँदैन । गढीले मलाई इतिहासलेखनको सीमा सम्झायो । हामीले इतिहासलाई केवल शासक, युद्ध र विजयका आँखाबाट मात्र बुझ्यौँ भने आधा इतिहास मात्र पढ्छौँ । बाँकी आधा इतिहास त किसानको खेतमा हुन्छ, मजदुरको पसिनामा हुन्छ, महिलाको मौन श्रममा हुन्छ, आदिवासी समुदायको स्मृतिमा हुन्छ, स्थानीय भूगोलको नाममा हुन्छ र पुरानो पोखरीमा हुन्छ । त्यसैले इतिहास केवल राजाहरूको नामावली होइन, त्यो आम मानिसहरूको सामूहिक अनुभव हो । मैले मनमनै भनेँ— इतिहासलाई फेरि लेखिनुपर्छ; मेटाउन होइन, पूर्ण बनाउन ।
सुनवर्षी पोखरीतर्फको यात्रा अझ फरक थियो । बाटोमा शान्त गाउँहरू आए, लहलहाउँदा खेतहरू आए र जीवनको स्वाभाविक लय देखियो । पोखरीमा पुग्दा वातावरणमा सांस्कृतिक उत्सवको आभा मिसिएको थियो । हरेक वर्ष वैशाख १ गते सिरुवा पर्वका अवसरमा लाग्ने मेलाले स्थानीय समुदायलाई एकै ठाउँमा जोड्ने परम्परा धानेको छ । मैले सोचेँ— मानिसलाई एकताबद्ध गर्न सधैँ राजनीतिक भाषण नै चाहिँदैन; कहिलेकाहीँ एउटा पर्व पर्याप्त हुन्छ, एउटा पोखरी पर्याप्त हुन्छ, एउटा साझा लोकगीत पर्याप्त हुन्छ । संस्कृतिले मानिसलाई व्यक्तिगत अहम्बाट सामुदायिक अस्तित्वतर्फ डोर्याउँछ । आजको आधुनिक मानिस बाहिरबाट अत्यन्त जोडिएको देखिए पनि भित्रभित्रै एक्लो बन्दै गएको छ । सामाजिक सञ्जालमा हजारौँ सम्बन्ध छन्, तर सँगै बस्ने छिमेकीसँग आत्मीय संवाद छैन । यस्ता सांस्कृतिक स्थलहरूले मानिसलाई फेरि सहअस्तित्व र समुदायको अर्थ सम्झाउँछन् । मैले पोखरीको पानीतर्फ हेर्दै मन्त्रजस्तै दोहोर्याएँ— ‘लोकाः समस्ताः सुखिनो भवन्तु ।’ सबै लोक सुखी होऊन्, सबै प्राणीको कल्याण होस् । यही प्रार्थना नै धर्मको सबैभन्दा मानवीय रूप हो । आफ्ना लागि मात्र होइन, सामूहिक कल्याण; आफ्नो मात्र मुक्ति होइन, समस्त चराचरको शान्ति ।
बागझोडा र चुलिपोखरीतर्फ पुग्दा प्रकृतिले आफ्नो अर्को मोहक स्वरूप देखायो । चारैतिर हरियाली, खुला नीलो आकाश, रूख-बिरुवा, जल र हावामा चराचुरुङ्गीको कलकल-छलछल ध्वनि ! मानिसले बनाएको कृत्रिम संसारभन्दा प्रकृतिले रचेको यो संसार कति पुरानो र विशाल छ ! मैले एउटा विशाल रूखको छहारीमा बसेर उसलाई नियालेँ । “तिमीलाई कहिल्यै हतार हुँदैन ?” मैले मनमनै सोधेँ । रूखले केही बोलेन, तर उसको मौनता आफैँमा गहन थियो । मानिस हतारमा दौडिन खोज्छ, रूख धैर्यपूर्वक हुर्कन्छ । मानिस तत्काल परिणाम खोज्छ, प्रकृति प्रक्रिया बाँच्छ । मानिस समयलाई घडीका सुईहरूमा नाप्छ, रूखले समयलाई आफ्ना काण्डका वार्षिक वलयहरूमा नाप्छ । त्यहीँ मैले आफैँसँग भनेँ— “सायद आधुनिक सभ्यताको सबैभन्दा ठूलो संकट यही हो; हामीले गति त बढायौँ, तर आफ्नो गन्तव्य बिर्सियौँ ।” चुलिपोखरीको शान्त पानीले मलाई ध्यानको वास्तविक अर्थ सम्झायो । ध्यान भनेको विचारशून्य हुनु मात्र होइन रहेछ, आफ्ना विचारहरूलाई साक्षीभावले नियाल्न सक्नु पनि रहेछ ।
वेदान्तको त्यही साक्षीभाव सम्झँदै मैले केही क्षण आफ्नै सोच र विचारहरूलाई टाढाबाट हेरेँ । म यात्रा गरिरहेको थिएँ, तर मेरो भित्रको एउटा अंश सिङ्गो यात्रालाई तटस्थ भएर हेरिरहेको साक्षी थियो । शरीर बाटोमा थियो, मन स्मृतिहरूमा, अनि चेतना कुनै अज्ञात केन्द्रमा लीन थियो ।
हसिना सिमसार र बेतना सिमसारमा पुग्दा मैले प्रकृतिको अर्को जीवनदर्शन भेटेँ । बाहिरबाट हेर्दा सिमसार केवल पानी, झाडी र दलदलजस्तो देखिन्छ; तर नजिक पुग्दा त्यो आफैँमा एउटा पूर्ण र जीवन्त संसार रहेछ । पानीको आफ्नै मौन भाषा थियो, चराहरूको आफ्नै सङ्गीत थियो र वनस्पतिको आफ्नै जीवनचक्र । जमिनमुनिका जरुवाहरूबाट रसाएर आएको पानीले साना-ठूला पोखरीहरूलाई निरन्तर प्राण दिइरहेको थियो । बेतना क्षेत्रमा बेत वनस्पतिसँग जोडिएको स्थानीय नामको आफ्नै कथा थियो ।
मैले सोचेँ— प्रकृतिले मानिससँग कहिल्यै केही माग्दैन, तर मानिसले प्रकृतिबाट सबै कुरा दोहन गरिरहेको छ । पानी, काठ, अन्न, औषधि, ऊर्जा, जमिन अनि अन्ततः मनोरञ्जन पनि ! तर बदलामा हामीले प्रकृतिलाई के दियौँ त ? केवल प्लास्टिक, प्रदूषण र अतिक्रमण ? मैले पानीतर्फ हेरेँ र मनमनै प्रकृतिसँग क्षमा मागेँ । पर्यावरणीय चेतनाको सार केवल वन-जङ्गल जोगाउनु मात्र होइन, आफ्नो लोभको सीमा बुझ्नु पनि हो । ‘मातृदेवो भव’ केवल जन्म दिने आमाको सम्मान गर्ने मन्त्र मात्र होइन रहेछ; यस धर्तीलाई पनि मातृरूपमा श्रद्धा गर्ने दृष्टि रहेछ । यदि पृथ्वी माता हुन् भने नदी केवल उपभोग्य स्रोत होइन, पोखरी केवल पानीको कुण्ड होइन, वन केवल काठको भण्डार होइन, अनि वन्यजन्तु केवल जैविक स्रोत होइनन्— तिनीहरू त हाम्रो अस्तित्वका सहयात्री हुन् । सिमसारले मलाई जीवनको यही गहन अन्तरसम्बन्ध सिकायो ।
विराटनगर फर्किएर मण्ठ पोखरीमा पुग्दा सहरकै बीचमा इतिहासले आफूलाई अर्को ढङ्गले प्रस्तुत गरिरहेको पाएँ । वरिपरि आधुनिक सहरको तीव्र गति थियो, तर पोखरीको शान्त पानीले समयको गतिलाई केही मन्द बनाइदिएझैँ लाग्थ्यो । सहर दौडिरहेको थियो, तर पोखरीको पानी स्थिर थियो । मैले सोचेँ— मानिस सधैँ अगाडि दौडन मात्र चाहन्छ, तर कहिलेकाहीँ स्थिर भएर आफूलाई नियाल्नु पनि उत्तिकै आवश्यक हुन्छ । पानीको सतहले मलाई एउटा वेदान्ती बोध गरायो— तरङ्गहरू अनेक छन् तर पानी एउटै हो; मानिस अनेक छन् तर चेतना एउटै हो; नाम र रूप अनेक छन् तर अस्तित्वको मूल आधार एउटै हो । जाति, भाषा, समुदाय, धर्म र वर्ग— यी सबै बाहिरी सामाजिक यथार्थ हुन्; तर मानवताको आधारभूत चेतना तीभन्दा कयौँ गुना गहिरो छ । यही बोधले मात्र विभेद र विभाजनलाई अस्वीकार गर्ने नैतिक शक्ति प्रदान गर्छ । मैले पानीमा आफ्नो अनुहार हेरेँ । प्रतिबिम्ब मन्द हावासँगै अलिकति हल्लियो । मैले मनमनै सोधेँ, “म को हुँ ?” उत्तर तुरुन्तै आएन ।
यात्राको अन्तिम चरणले मलाई उचाइतिर डोर्यायो । ध्वजे डाँडातर्फ उक्लँदै गर्दा तराईको समथर भूभाग क्रमशः तल छुट्दै गयो । हावा चिसिँदै गयो र क्षितिज फराकिलो बन्दै गयो । टुप्पोमा पुगेर मैले पछाडि फर्केर हेरेँ । तलको संसार सानो देखिन थाल्यो— गाउँहरू स-साना, सडकहरू पातला रेखाजस्ता, खेतहरू रङ्गीबिरङ्गी टुक्राजस्ता, र मानिसहरू लगभग अदृश्य ! मलाई अचानक एउटा गहिरो आत्मबोध भयो— उचाइ बढ्दा संसार सानो भएको होइन रहेछ, वास्तवमा हाम्रो दृष्टि विशाल भएको रहेछ ! यही त आध्यात्मिक आरोहणको प्रतीक हो । मानिस चेतनाको उचाइमा पुग्दा संसारबाट भाग्दैन, बरु उसले संसारलाई अझ समतामूलक र व्यापक दृष्टिले हेर्न थाल्छ ।
त्यसपछि मिक्लाजुङ डाँडातर्फको यात्राले त्यो अनुभूतिलाई अझ सघन बनायो । स्थानीय भाषिक अर्थमा ‘टाढासम्म दृष्टि पुर्याउन सकिने स्थान’ सँग जोडिएको ‘मिक्लाजुङ’ को नाम नै एउटा विम्बजस्तो लाग्यो । चैत-वैशाखमा लालीगुराँसले रङ्गिने यो डाँडा, वनको सुगन्ध, चिसो बतास, खुला आकाश, अनि सूर्योदय र सूर्यास्तको अनुपम दृश्य ! मैले माथितिर हेरेँ, आकाशको कुनै सीमा थिएन । मनले भन्यो, “विस्तार भनेको यही हो ।” वेदान्तले आत्मालाई अनन्तसँग जोड्छ । शरीर सीमित छ, आयु सीमित छ; तर चेतनाको यात्रा अनन्त छ । हिमाल देखिए पनि वा कुहिरोले छोपे पनि, क्षितिजको अनन्त फैलावटले मलाई बृहदारण्यक उपनिषद्को त्यो अमर प्रार्थना सम्झायो— ‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय ।’ असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, र मृत्युबाट अमरतातर्फ ! मैले मन्त्र बिस्तारै उच्चारण गरेँ । हावाले शब्दहरू उडाएर लग्यो, तर मलाई लाग्यो— मन्त्र बाहिर कतै हराएको होइन, मेरै अन्तस्करणमा प्रवेश गरेको छ ।
साँझ ढल्किँदै थियो । मिक्लाजुङको डाँडाबाट सूर्य पश्चिमतर्फ ओर्लिंदै थियो । आकाशमा रातो, सुनौलो र बैजनी रङहरू एकाकार हुँदै थिए । तल मोरङका गाउँहरूमा बिस्तारै बत्तीहरू बल्न थालेका थिए । कतै घरका झ्यालबाट मधुरो उज्यालो चुहिरहेको थियो, कतै साँझको धुवाँ पातलो रेखा बनेर आकाशतिर उडिरहेको थियो । मैले लामो श्वास लिएँ । बिहान विराट राजाको प्राचीन स्मृति र विराटनगरको श्रमिक इतिहासबाट सुरु भएको यात्रा साँझपख मिक्लाजुङको शान्त आकाशमुनि आइपुगेको थियो । यस यात्राको बीचमा मैले दरबारका भग्नावशेष भेटेँ, ऐतिहासिक पोखरीहरू भेटेँ, गढी भेटेँ, मन्दिर भेटेँ, सिमसार भेटेँ, सघन वनस्पति र रूखहरू भेटेँ, विविध समुदायका मानिस भेटेँ, लोककथा र जनश्रुतिहरू सुनेँ, इतिहासका जटिल प्रश्नहरू भेटेँ; अनि अन्ततः आफूलाई भेट्ने एउटा इमानदार प्रयास गरेँ ।
मलाई लाग्यो— मोरङ केवल एउटा भौगोलिक जिल्ला मात्र होइन रहेछ, यो त समयका अनेकौँ तहहरूको जीवन्त सङ्गम रहेछ । यहाँ मिथकले इतिहाससँग संवाद गर्छ, पुरातत्त्वले जनस्मृतिलाई प्रश्न गर्छ, धर्मले प्रकृतिसँग एकाकार हुन सिकाउँछ, समुदायले पोखरीलाई संस्कृतिमा रूपान्तरण गर्छ, वनले मानिसलाई मौनताको भाषा पढाउँछ, पहाडले दृष्टिलाई फराकिलो बनाउँछ, र समग्र यात्राले मानिसलाई आफ्नै अन्तर्यात्रातर्फ डोर्याउँछ ।
गाडी फर्किने बाटोमा गुडिरहेको थियो । बाहिर रातको अन्धकार बाक्लिँदै थियो, तर मेरो अन्तरमनमा एउटा अलौकिक उज्यालो छाइरहेको थियो । मैले आफैँलाई अन्तिमपटक सोधेँ, “यो यात्राबाट मैले के पाएँ ?” मनबाट धेरै उत्तरहरू आए— इतिहासको बोध, प्रकृतिप्रतिको नतमस्तक भाव, सांस्कृतिक विविधताको अनुभूति, पुरातत्त्वप्रतिको कौतूहल, र आध्यात्मिकताको स्पर्श । तर सबैभन्दा गहिरो र सरल उत्तर थियो— ‘आफूलाई प्रश्न गर्ने साहस ।’ यात्राको वास्तविक सार्थकता गन्तव्यहरूको सङ्ख्यामा होइन रहेछ; कति ठाउँ घुमियो वा क्यामेरामा कति तस्बिर कैद गरियो भन्नेमा पनि होइन रहेछ । यात्राले हाम्रो भित्री दृष्टिलाई कति रूपान्तरण गर्यो भन्ने कुरा नै प्रधान रहेछ ।
विराट राजाको दरबारले मलाई स्मृति र तथ्यबीचको सम्बन्ध सिकायो । धनपालगढीले इतिहासका ओझेलमा परेका मौन पात्रहरूको खोजी गर्न सिकायो । राजारानी र सुनवर्षीले संस्कृति र समुदायको अविभाज्य सम्बन्ध देखाइदिए । हसिना र बेतनाले प्रकृतिसँगको सहअस्तित्वको धर्म सिकाए । मण्ठ पोखरीले गतिभित्र स्थिरताको रहस्य सम्झायो । ध्वजे डाँडाले दृष्टिको उचाइ दियो भने मिक्लाजुङले चेतनाको अनन्त क्षितिज उघारिदियो । फर्किंदै गर्दा मैले मनमनै शान्तिपाठ दोहोर्याएँ— ‘ॐ शान्तिः शान्तिः शान्तिः ।’ बाह्य जगत्को अशान्तिका लागि प्रथम शान्ति, समाज र सम्बन्धको द्वन्द्वका लागि द्वितीय शान्ति, अनि आफ्नै मनभित्रको अशान्तिका लागि तृतीय शान्ति !
त्यस क्षण मलाई लाग्यो— मोरङबाट म कतै फर्किएको होइन, मोरङले मलाई आफ्नै अन्तरकुनामा पुर्याइदिएको छ । बाहिरी यात्रा टुङ्गिएको छ, तर त्यसको आध्यात्मिक अभीष्ट कहिल्यै टुङ्गिने छैन । किनकि साँचो यात्रा त्यही हो, जसको बाटो बाहिरबाट सुरु भएर अन्ततः आफ्नै आत्माको ढोकामा पुगेर विलीन हुन्छ ।
— उपसचिव, नेपाल सरकार —


