नाम्चेमा हरियो टेबुल र गोलो दाना
नाम्चेको प्रवेशद्वारमा उभिएको कलात्मक ढोकाले काठ र रङहरूको मौन भाषामा स्वागत गर्दा शेर्पा दाइहरू आफ्नै लयमा उकालो लाग्छन् । उकालोसँगै दायाँतिर सानो खोलाको कुलुकुलु आवाज सुनिन्छ । त्यही खोल्सामाथिका कलात्मक मानेहरू छिचोल्दै आएको साँझको चिसो हावासँगै खुम्बुको सिरेटो गालामा ठोक्किन्छ ।
‘जलमाने’ भनिने यस संरचनाको तल्लो भागबाट बग्ने हिमनदी वा खोलाको पानीको बहावले मुनिको पङ्खालाई घुमाउँछ; जसले गर्दा माथि स्थापना गरिएका ठूला मानेहरू स्वतः निरन्तर घुमिरहन्छन् ।
यही उकालोको बायाँतिर फुटबल खेल्नेहरूको हल्लीखल्ली चलिरहेको छ । पेटीमा बसेर फुटबल हेरिरहेका एक स्थानीय वयोवृद्धसँग छेवैको ‘जलमाने’ तिर औँल्याउँदै, “यसको कुनै धार्मिक मान्यताबारे तपाईँलाई केही थाहा छ ?” भनेर सोध्दा उनले यसको रोचक पक्ष सुनाए । तिब्बती बौद्ध धर्मअनुसार पानीको शक्तिले माने घुम्दा, त्यो पानीले स्पर्श गरेको पवित्र मन्त्र ‘ॐ मणि पद्मे हुँ’ को आशीर्वाद र ऊर्जा बग्दै जाने खोला तथा वातावरणभरि फैलिन्छ भन्ने जनविश्वास रहेछ ।
तलदेखि माथिसम्म बनाइएका यी कलात्मक शैलीका सुन्दर संरचनाले नाम्चे प्रवेश गर्ने जो-कसैको ध्यान खिच्छन् । परम्परागत शेर्पा तथा हिमाली बौद्ध वास्तुकलामा निर्मित यी साना मण्डपहरूमा अत्यन्तै सुन्दर र रङ्गीचङ्गी काठका बुट्टा तथा धार्मिक चित्रहरू कोरिएका छन् । नाम्चे बजार प्रवेश गर्दा वा उकालो चढ्दा र ओरालो झर्दा हरेक पदयात्रीका लागि यो ठाउँ एउटा प्रमुख पर्यटकीय र सांस्कृतिक आकर्षणका रूपमा रहेको स्वतः महसुस हुन्छ ।
दिनभरिको हिँडाइले गोडा गह्रुङ्गा भएका छन्, तर आँखा भने नाम्चेको घुमाउरो ढुकढुकीभित्र बास खोज्न आतुर छन् । म र मेरा सहयात्री सस्तो तर सुविधायुक्त होटलको खोजीमा अघि बढ्छौँ ।
होटलहरूको सोधखोज गर्दै गल्लीहरू पार गरिरहँदा एउटा उज्यालो झ्यालतर्फ मेरा आँखा अडिन्छन् । भित्र हरियो कपडाले ढाकिएको टेबलमा क्यु समातेर उभिएका मानिसहरूको ध्यान बलहरूको गतिमा केन्द्रित छ । दिनभरिको थकाइले लखतरान परेर ओछ्यानमा घुप्लुक्क निदाउनुपर्ने यो बेला, हिमाली उचाइमा मानिसहरू यसरी मग्न भएर ‘स्नुकर’ खेलिरहेको दृश्यले मलाई आश्चर्यमा पार्छ ।
म कौतूहल थाम्न नसकेर साथको साथीलाई सोध्छु, “यति उचाइमा आइपुगेर पनि मानिसहरू स्नुकरमा यसरी रमाउन सक्छन् र ?”
साथीले ओठमा स्वाभाविक र आत्मीय हाँसो ल्याउँदै भन्छन्, “ए, तपाईँलाई थाहा छैन र ? लुक्लामा पनि यस्ता स्नुकर बोर्डहरू प्रशस्तै भेटिन्छन् । दिनभरिको उकालो-ओरालोपछि भरिया, गाइड अनि पर्यटकहरूसमेत एकछिन थकाइ बिर्सन र मन अड्याउन यो खेल खेलेर मजा लिन्छन् ।”
हामी कोठाभित्र पस्छौँ । भित्र पस्दा बाहिरको चिसो हावालाई कोठाभित्रको हलुका तातो बाफले जितिरहेको थियो । हरियो टेबलको छेउमा क्यु समातेर उभिएको एउटा विदेशी पर्यटक र भारी बिसाएर भर्खरै हात धोएको स्थानीय शेर्पा युवाबीच निकै रोचक होडबाजी चलिरहेको देखिन्छ । वरिपरि हेर्नेहरूको बाक्लो भीड छ ।
‘उपरमाथि थुपर’ भनेजस्तै खेल्नेभन्दा हेर्ने मान्छेको कत्रो भीड ! खेल्नेहरूले गरेको सामान्य जालझेल पनि हेर्नेहरूले सहजै देखिहाल्ने । तथापि कतिपय खेलाडीहरू यति सिपालु कि त्यो भीडको आँखा छलेर भए पनि गोटीलाई आफ्नो अनुकूल स्थानमा ल्याएर सुटुक्क राखिदिँदा रहेछन् । थाहा पाउनेले विवाद गर्ने, थाहा नपाउनेले पराजय बेहोर्नुपर्ने !
खेलको लतमा लागेकाहरू, बाजी हार्ने र बाजी मार्नेहरू सराबरी नै ! म यसो विचार गर्छु— तिनलाई भोक पनि नलाग्दो रहेछ, जाडो पनि नहुँदो रहेछ र आराम पनि नचाहिँदो रहेछ । यो स्नुकर भन्ने कस्तो जादुमय खेल रहेछ !
हातमा क्यु अड्याउँदै शेर्पा युवा मुस्कुराउँछ । उसको स्नुकर-पार्टनर पर्यटक पिटरलाई भनिरहेको छ, “कम अन पिटर, दिस रेड वान इज फर यु !” (आऊ पिटर, यो रातो बल तिम्रै लागि हो !)
पिटरले क्युको टुप्पामा चक घस्दै उत्तर दिन्छ, “नो वे, पासाङ ! दिस टाइम आई एम गोइङ फर द ब्ल्याक वान ।” (हुँदैन पासाङ ! यसपालि म कालो बल हान्छु ।)
वरिपरि बसेका दर्शकहरू— जसमा केही थकित भरियाहरू र केही विदेशी यात्रुहरू छन्— तातो चियाको कप समात्दै खेलको मज्जा लिइरहेका छन् ।
बल टेबलको खोपिल्टो (पकेट) मा स्वाट्ट छिर्नेबित्तिकै कुनामा बसेका एक भरिया दाइ थपडी बजाउन थाल्छन् । जोसिएर ताली बजाउँदै उनी भन्छन्, “वाह ! पासाङ दाइको सट त नाम्चेको ओरालोभन्दा पनि खतरा पो छ त !”
कोठाभरि हाँसोको सानो लहर फैलिन्छ । पराजित भएको पर्यटकले पनि सहज रूपमा हाँस्दै पासाङको काँधमा धाप मार्छ, “ग्रेट सट, माइ फ्रेन्ड !”
एक जना दाइलाई स्नुकरको लत कतिसम्म लागेको रहेछ भने, उनी घरिघरि भुइँमा थचक्क बस्छन्, फेरि एकछिनमा जुरुक्क उठ्छन् र त्यही स्नुकरको गोलो दाना अनि खेलाडीको अनुहार हेरेर रमाउँछन् ।
उनको यस्तो व्यग्रता देखेर म नजिकै गएर सोध्छु, “दाजु, तपाईँलाई पनि स्नुकर खेल्न आउँछ ?”
“आच्चे, कस्तो कुरा सोधेको तपाईँले ! याँ मेरो खुट्टा भत्भती पोलिरहेको छ, तर स्नुकरको तलतलले दुखाइ बिर्सिन खोज्दै छु । खेलेपछि सबै निको हुन्छ । मेरो पालो नआएर हत्तुहैरान भएको छु,” उनी तुरुन्तै मलाई जवाफ फर्काउँछन् ।
छेउका अरू दर्शकको पनि यस्तै संवाद सुनिन्छ, “दुई ठाउँमा गइसकियो, खाली नै छैन । पालो नै आएन, कस्तो छटपटी भइसक्यो !”
अब मलाई राम्रैसँग बोध हुन्छ— पर्यटक र पथप्रदर्शक मात्र होइन, यहाँ भारी बोक्ने भरियासमेत स्नुकर खेल्न र हेर्न मरिहत्ते गर्दा रहेछन् । थाकेको ज्यान र दुखेको शरीरले आराम खोजिरहेको बेला पनि यो खेलप्रति कति साह्रो आकर्षण ! खेलकै बीचमा चिया-खाजा खाँदै र हेर्दै गफमा मस्त हुनेहरू निकै छन् ।
उनीहरूको यो दृश्य, संवाद र उन्मुक्त हाँसोले मेरो भित्री चेतलाई एकपटक गम्भीर बनाउँछ । आखिर हामीले आनन्दको जीवन बाँच्ने भनेकै यसरी त हो ! काम गर्ने बेलामा दिल खुलाएर गर्यो, अनि फुर्सदमा आफ्नो मनमाफिकको काममा भुलेर आनन्दित भयो ।
हिमालको बाटोले मान्छेलाई दिनभरि आफ्नो शारीरिक र मानसिक सीमासँग जुधाउँछ । तर साँझ बासमा आइपुगेपछि तिनै मानिसहरू क्यु समातेर हरियो टेबलअगाडि उभिन्छन् । दिनभरि पिठ्युँमा गह्रुङ्गो भारी बोकेको भरिया, बाटो र मौसमको कठिन हिसाब मिलाउँदै हिँडेको गाइड, अनि सगरमाथाको बैँस हेर्न हजारौँ माइल टाढाबाट आएको पर्यटक— त्यहाँ पुगेपछि सबैको परिचय केही बेरका लागि एउटै हुन्छ— स्नुकरको खेलाडी ! सेता र रङ्गीन बलहरू टेबलका किनारहरूमा ठोक्किँदा निस्कने त्यो मधुर आवाजसँगै खुम्बुको मौनताभित्र मानवीय खुसी र आत्मीयता एकाकार हुन्छन् ।
यो कुनै शेर्पा समुदायको परम्परागत खेल त पक्कै होइन, तर खुम्बुमा पर्यटनको आगमनसँगै मौलाएको एउटा नयाँ र आधुनिक विश्राम-संस्कृति भने अवश्य हो; जहाँ मानिसहरू आफ्ना भौगोलिक, सांस्कृतिक र आर्थिक भिन्नताहरू बिर्सेर एउटै हरियो टेबलवरपर जोडिन्छन् ।
सगरमाथा आधार शिविरतिर जाने यो कठिन बाटोमा मान्छेले पलपलमा उचाइसँग सम्झौता गर्दै अघि बढ्नुपर्छ । अक्सिजनको कमी र उकालोको थकाइले सास फेर्न हम्मेहम्मे परिरहेको हुन्छ । तर नाम्चेको यो साँझमा स्नुकरको टेबलले मानौँ उचाइको त्यो त्रास र गम्भीरतालाई एकछिनका लागि बिर्सन सिकाउँछ । भोलि फेरि हिमाली कठोरतातिर उक्लनुपर्ने मानिसहरू आजको साँझ बलको दूरी, कोण र जित-हारको सानो लेखाजोखामा रमाइरहेका छन् ।
विचार गर्छु— यो खेल उनीहरूका लागि केवल एउटा मनोरञ्जन वा विलासिता मात्र होइन । यो त हिमाली चिसो, थकाइ, एक्लोपन र भोलिको अनिश्चित यात्राबीच एकापसमा बाँडिएको क्षणिक तर अत्यन्त न्यानो मानवीय अनुभूति हो ।
(नियात्राकारको प्रकाशोन्मुख ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ नामक नियात्रा सङ्ग्रहबाट)


