कथा: समताको मूल्य
आईसीयूको ढोकामाथि रातो बत्ती निरन्तर बलिरहेको थियो । बाहिर समय रोकिएको जस्तो थियो, भित्र समयसँग जीवनको अन्तिम युद्ध चलिरहेको थियो । माया अस्पतालको चिसो भुइँमा गम्छा ओछ्याएर बसेकी थिइन् । त्यही गम्छाले उनी कहिले पसिना पुछ्थिन्, कहिले आँसु । रात लामो हुँदै गइरहेको थियो । निद्रा सबैका आँखामा थियो, तर उनीहरूको जीवनबाट भने हराइसकेको थियो ।
उनकै छेउमा करिब बाह्र वर्षको एउटा बालक बसेको थियो । उसको नाम अर्जुन थियो । ऊ आफ्नी आमाको खुट्टा समातेर बसिरहन्थ्यो । उसकी आमा पार्वतीका दुवै मिर्गौलाले काम गर्न छोडेपछि हप्तामा दुई पटक डायलाइसिस गराइरहेकी थिइन् । डायलाइसिस छुट्यो भने जीवन पनि छुट्थ्यो । अर्जुनले विद्यालय जान छोडेको छ महिनाभन्दा बढी भइसकेको थियो । किताबका अक्षरहरू ऊ बिर्सिँदै गएको थियो, तर अस्पतालका बिलमा लेखिएका अङ्कहरू भने उसलाई कण्ठ भइसकेका थिए ।
एक दिन उसले बुबालाई सोध्यो, “बाबा, डायलाइसिस भनेको के हो ?”
बुबाले केही बेर उत्तर दिन सकेनन् । उनको घाँटी अवरुद्ध भयो । धेरै बेरपछि उनले मुस्किलले भने, “छोरा, गरिब मान्छेको जीवन लम्ब्याउन पैसा चाहिने रोगलाई डायलाइसिस भन्छन् ।”
अर्जुन फेरि बोलेन । त्यो उत्तरले उसको बाल्यकाललाई एकै छिनमा बुढो बनाइदियो ।
अस्पतालको अर्को कुनामा एउटी वृद्धा तीन दिनदेखि शवगृहको ढोकाबाहिर बसिरहेकी थिइन् । उनको नाम कसैले सोधेन । सबैले उनलाई ‘हजुरआमा’ मात्र भन्थे । उनका एक्ला छोराको मृत्यु भइसकेको थियो, तर शव घर लैजान पैसा पुगेको थिएन । शवगृहको शुल्क तिर्न बाँकी थियो, शववाहनको भाडा पनि; अनि त्यसमा थपिएको तीन प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ पनि । छोरा मृत थियो, तर गरिबी भने अझै जीवितै थियो ।
वृद्धाले शवगृहको चिसो फलामे ढोकामा हात राखिन् र आँखा बन्द गरिन् । उनले बिस्तारै भनिन्, “बाबु, जिउँदो छँदा भोकसँग लड्यौ । मर्दा पनि पैसासँगै हार्नुपरेछ ।” उनको आवाज सुनेर त्यहाँ उभिएका केही मानिसले टाउको झुकाए । तर नियमहरूको अनुहारमा कुनै भाव थिएन । कानुन कहिल्यै रुँदैन; रसिदमा आँसुको भाषा लेखिँदैन ।
त्यही बेला दुई जना कर्मचारी चिया पिउँदै कुरा गरिरहेका थिए । एक जनाले सहजै भन्यो, “आज शवगृह पनि भरिएछ ।”
अर्कोले हल्का हाँस्दै उत्तर दियो, “देशमा गरिब धेरै छन् नि !”
दुवै हाँसे । तर त्यो हाँसो अस्पतालको भित्तामा ठोक्किएर फर्कियो; किनकि पीडाको संसारमा व्यङ्ग्य पनि कहिलेकाहीँ अपराधजस्तै लाग्छ ।
आईसीयूभित्र कृष्णबहादुरले बिस्तारै आँखा खोले । उनको चेतना क्षणभरका लागि फर्किएको थियो । अक्सिजनको मास्कभित्रबाट अस्पष्ट आवाज निस्कियो, “माया…”
माया दौडिएर नजिक पुगिन् र उनको हात समातिन् ।
कृष्णबहादुरले फेरि सोधे, “घर… धान… बेच्नुपर्यो ?”
मायाले मुस्कुराउने प्रयास गरिन्, “छैन, सबै ठीक छ ।”
तर त्यो मुस्कान झुट थियो । बिहानै उनीहरूको तीन कट्ठा पुर्ख्यौली खेत बेचिसकिएको थियो । त्यही खेतमा उनले जीवनभर पसिना बगाएका थिए र आज त्यही खेतले उनको अन्तिम उपचार किनेको थियो ।
दलालले जग्गा किनेर फर्कँदा भनेको एउटा वाक्य मायाले बिर्सन सकेकी थिइनन्— “उपचार भए राम्रो, नभए पनि जग्गा त मेरो भइहाल्यो ।” त्यो वाक्य केवल कुनै व्यापार थिएन, समयको एउटा निर्दयी फैसला थियो । त्यस दिन मायालाई लाग्यो— कहिलेकाहीँ मानिसको मुटुभन्दा कागजको लालपुर्जा धेरै शक्तिशाली हुँदो रहेछ ।
साँझतिर डाक्टर बाहिर आए । उनले अर्को औषधिको सूची थमाए । औषधिको नाम जति लामो थियो, मूल्य त्योभन्दा पनि चर्को थियो । मायाले आफ्नो झोला खोलिन्; पैसा सकिइसकेको थियो । उनले गलबन्दीभित्र लुकाएर राखेको विवाहको मङ्गलसूत्र निकालिन् । सुनको त्यो सानो त्यान्द्रोमा पचास वर्षको वैवाहिक इतिहास गाँसिएको थियो ।
उनी फार्मेसीमा पुगिन्, “बाबु, यो राख्नुहोस् र औषधि दिनुहोस् ।”
कर्मचारीका आँखामा पनि पानी भरियो, “आमा, हामी यसरी धितो राखेर औषधि दिन पाउँदैनौँ ।”
त्यही बेला अर्जुन दौडिँदै आयो । उसको हातमा माटोको एउटा खुत्रुके थियो । उसले त्यो भुइँमा फुटायो । सिक्का र केही नोटहरू चारैतिर छरिए । “हजुरआमा, यसमा आठ सय बयालीस रुपैयाँ छ । आमाले मेरो साइकल किन्न राख्नुभएको थियो । पहिला हजुरबालाई बचाऔँ ।”
माया केही बोल्न सकिनन् । उनले अर्जुनलाई छातीमा टाँसिन् । त्यो क्षण उनलाई लाग्यो— मानिस धनी पैसाले होइन, करुणाले हुँदो रहेछ ।
राति मन्दिरमा आरती भइरहेको थियो, घण्टी बजिरहेको थियो । उता आईसीयूमा मोनिटर पनि निरन्तर बजिरहेको थियो । एउटा आवाज भगवान्लाई पुकारिरहेको थियो भने अर्को आवाज डाक्टरलाई । तर दुवै आवाजको अभीष्ट एउटै थियो— जीवन बचोस् ।
सरसफाइकर्मी जमुना फोहोर उठाउँदै थिइन् । उनले दिनभर रगत पुछ्थिन्, तर आँसु पुछ्ने जिम्मेवारी कसैले उनलाई दिएको थिएन । उनले मायालाई एक गिलास तातो चिया दिइन्, “आमा, केही खानुस् ।”
मायाले टाउको हल्लाइन्, “भोक छैन ।”
जमुनाले बिस्तारै भनिन्, “भोक त सबैलाई लाग्छ आमा, गरिबलाई मात्र खान नपुग्ने हो ।” त्यो वाक्य अस्पतालको सबैभन्दा ठूलो यथार्थ थियो ।
झ्यालबाहिर एउटा सानो बालक रङ्गीन बेलुन बेचिरहेको थियो । ऊ अस्पतालभित्र छिर्न पाउँदैनथ्यो, तर उसको आवाज भित्रसम्म आइरहन्थ्यो— “बेलुन… रङ्गीन बेलुन…”
माया झ्यालतिर हेर्दै सोचिरहिन्— कस्तो अनौठो संसार ! बाहिर एउटा बालकले हावा बेचिरहेको छ, भित्र अस्पतालले आशा बेचिरहेको छ; अनि ती दुवैको मूल्य गरिबले चुकाउन सकिरहेको छैन ।
मध्यरात अचानक आईसीयूभित्र हलचल बढ्यो । डाक्टरहरू दौडिए, नर्सहरू हतारिए । मोनिटरको आवाज तीव्र भयो । मायाले भगवान्को सानो तस्बिर दुवै हातले छातीमा च्यापिन्, “हे भगवान्, मलाई होइन, उहाँलाई बचाइदिनुहोस् ।”
त्यही क्षण उनलाई एउटा विचित्र अनुभूति भयो— सायद भगवान् पनि कतै कुनै काउन्टरअगाडि उभिएर मानवताको बिल तिरिरहेका छन् र कसैले उहाँलाई पनि भनिरहेको छ, “तीन प्रतिशत अझै बाँकी छ ।”
अस्पतालको घडीले रातको तीन बजायो । तर त्यो रात सकिएको थिएन; किनकि केही रातहरू घडीले नाप्न सक्दैन । ती रातहरू आँसु, प्रतीक्षा, गरिबी र अधुरा आशाले नापिन्छन् । त्यस्ता रातहरूमा बिहान घामसँग होइन, एउटा सास बाँच्छ कि मर्छ भन्ने समाचारसँगै उदाउँछ ।
बिहानको पहिलो किरण अस्पतालको झ्यालबाट भित्र छिर्यो, तर त्यो उज्यालो कुनै बिरामीको अनुहारसम्म पुग्न सकेन । आईसीयू, डायलाइसिस कक्ष र क्यान्सर वार्डमा बिहान र रातको कुनै अर्थ हुँदैन । त्यहाँ घडीले समय देखाउँदैन; औषधिको तालिका, सासको गति र बिलको अङ्कले समयको हिसाब राख्छन् ।
माया काउन्टरअगाडि फेरि उभिएकी थिइन् । रातभर ननिदाएका आँखामा राता डोराहरू प्रस्ट देखिन्थे । कर्मचारीले कम्प्युटरमा केही टाइप गर्यो । प्रिन्टरले अर्को लामो बिल निकाल्यो— औषधि, परीक्षण, अक्सिजन, आईसीयू, विशेषज्ञ शुल्क, प्रयोगशाला, रक्तसेवा… अनि अन्तिम हरफमा फेरि उही शब्द— “स्वास्थ्य समता शुल्क : ३ प्रतिशत ।”
मायाले बिल हेरेर बिस्तारै सोधिन्, “बाबु, यो ‘समता’ भनेको के हो ?”
कर्मचारीले धेरै बेर उनको अनुहार हेरिरह्यो । उसका आँखामा थकान थियो । उसले धेरै दिनदेखि यस्तै प्रश्नहरू सुन्दै आएको थियो, तर ऊसँग कुनै उत्तर थिएन । उसले केवल यति भन्यो, “आमा, म त महिनाको तलब खाने सामान्य कर्मचारी हुँ । यो प्रश्न तपाईंले मलाई होइन, त्यो कुर्सीलाई सोध्नुपर्छ जहाँ यस्ता नियमहरू जन्मिन्छन् ।”
मायाले बिल दोब्राएर खल्तीमा हालिन् । उनको मनमा एउटा प्रश्न उब्जियो— नियम जन्माउने ती कुर्सीहरू कहिल्यै अस्पतालको यस्तो लाममा उभिएका होलान् त ?
त्यही बेला अस्पतालको प्राङ्गणमा एउटा किसान परिवार आइपुग्यो । बाबु स्ट्रेचरमा थिए; दाहिने खुट्टा ट्र्याक्टरले किचेको थियो, रगत अझै बगिरहेको थियो । श्रीमतीले हतारमा घरबाट निस्कँदा खुट्टामा चप्पलसमेत लगाउन पाएकी थिइनन्, उनी नाङ्गा खुट्टै दौडिएकी थिइन् । उनका पछिपछि दुई साना लालाबाला पनि त्यसैगरी दौडिरहेका थिए । उनीहरूलाई अस्पताल भनेको जीवन जोगिने ठाउँ हो भन्ने मात्र विश्वास थियो; अस्पताल त व्यापारिक बजार बनिसकेको छ भन्ने उनीहरूलाई पत्तै थिएन ।
सोधपुछ कक्षमा पहिलो प्रश्न आयो, “अग्रिम रकम कति जम्मा गर्नुहुन्छ ?”
महिलाले काँपेको स्वरमा भनिन्, “पहिला श्रीमान्लाई बचाइदिनुस्, पैसा गाउँबाट ल्याउँदै छन् ।”
कर्मचारीले सहानुभूतिपूर्वक हेरे पनि नियम पन्छाउन सकेन । उसले बिस्तारै भन्यो, “पहिले प्रक्रिया पूरा गर्नैपर्छ ।”
त्यो क्षण महिलाले आफ्नो गलामा भएको रातो पोते चुँडालिन् । कानका बाली निकालिन् र काउन्टरमा राख्दै भनिन्, “यी लिनुस्, मेरो मान्छे बचाइदिनुस् ।”
कर्मचारीको हात काँप्यो । उसले गहना फर्काइदियो, “आमा, हामी सुनको कारोबार गर्दैनौँ ।”
महिलाले आकाशतिर हेरेर प्रतिप्रश्न गरिन्, “अनि जीवनको व्यापारचाहिँ कहाँ हुन्छ त बाबु ?”
त्यो प्रश्न अस्पतालको छतभरि गुञ्जियो । उत्तर कतैबाट आएन । मौनता नै सबैभन्दा ठूलो सरकारी परिपत्र बनेर त्यहाँ सन्नाटा छायो ।
क्यान्सर वार्डमा आरतीको किमोथेरापी सुरु हुने दिन थियो । उनको अनुहार पहेँलो थियो, ओठ सुकिसकेका थिए; तर आँखामा एउटा सानो सपना अझै जीवित थियो । उनले नर्सलाई सोधिन्, “दिदी, म निको भएँ भने फेरि कपाल पलाउँछ ?”
नर्स मुस्कुराइन्, “पलाउँछ नि नानी ।”
आरती फेरि मुस्कुराइन्, “त्यसपछि म मेडिकल कलेज पढ्न जान्छु । गरिब बिरामीसँग पैसा नभए पनि उपचार गरिदिने डाक्टर बन्छु ।”
नर्सले आफ्नो अनुहार अर्कोतिर फर्काइन्; किनकि कहिलेकाहीँ मुस्कानले आँसुको भेल रोक्न सक्दैन । बिरामीलाई औषधि दिन सकिन्छ, तर आशाको मूल्य कसैले तोक्न सक्दैन ।
त्यही समयमा आरतीका बुबा अस्पतालबाहिर बैङ्कको सिँढीमा निराश बसिरहेका थिए । उनी ऋणका लागि तीन दिनदेखि बैङ्क धाइरहेका थिए । बैङ्कले धितो माग्यो, उनले भने— “घर छैन ।” बैङ्कले जग्गा माग्यो, उनले भने— “जग्गा छैन ।” बैङ्कले जमानी माग्यो, उनले केवल टाउको झुकाए । गरिब मानिससँग सबैभन्दा ठूलो अभाव पैसाको होइन, विश्वास गरिदिने मानिसको पो हुँदो रहेछ ।
अन्ततः उनी गाउँका साहुकहाँ पुगे । साहुले तमसुकको खाता पल्टायो, “पाँच लाख दिन्छु, तर घरवासको लालपुर्जा राख्नुपर्छ । ब्याज महिनाको तीन प्रतिशत ।”
तीन प्रतिशत !
उनी झसङ्ग भए । अस्पतालभित्र पनि तीन प्रतिशत, अस्पतालबाहिर पनि तीन प्रतिशत ! उनी मनमनै बर्बराए, “यो देशमा गरिबको सास नै तीन प्रतिशत ब्याजमा अड्किएको रहेछ ।”
दिउँसो एउटा एम्बुलेन्स फेरि अस्पताल आइपुग्यो । यसपटक त्यसमा बिरामी थिएन; सानो सेतो कपडाले बेरिएको पाँच महिनाको एउटा अबोध बालक थियो । आमा भक्कानिँदै रोइरहेकी थिइन्, “छोरा, उठ न… घर जाऔँ…” तर बालक धेरै टाढा पुगिसकेको थियो । संसारको सबैभन्दा लामो यात्रा उसले कुनै पासपोर्टबिना नै पूरा गरिसकेको थियो ।
शवगृहमा कर्मचारीहरू औपचारिक प्रक्रिया पूरा गर्दै थिए । बुबाले काँपेका हातले बिल समाते । त्यहाँ शव राखेको शुल्क थियो, शववाहनको भाडा थियो अनि फेरि— तीन प्रतिशत !
बुबाले बिल हेरे । उनका आँखा टक्क अडिए । उनी बिस्तारै हाँसे । त्यो हाँसोमा कुनै खुसी थिएन, त्यो त पीडाको चरम विवशता थियो । उनी बर्बराए, “मेरो छोरो त नागरिक भएर कर तिर्ने उमेरमै पुगेको थिएन, तर उसको लासले पनि कर तिर्नुपर्यो !”
वरिपरि उभिएका मानिसहरू निस्तब्ध भए; किनकि केही वाक्यहरू सुनेपछि भाषा पनि लाचार बन्दो रहेछ ।
त्यसै बेला अस्पतालको बगैँचामा एउटा गुलाफ फुलेको थियो । कसैले त्यसलाई पानी दिएको थिएन, कसैले त्यसमाथि कर पनि लगाएको थिएन । हावाले निःशुल्क सुगन्ध बाँडिरहेको थियो, घामले निःशुल्क न्यानो दिइरहेको थियो । प्रकृतिले अझै व्यापार गर्न सिकेको थिएन; सायद त्यसैले प्रकृति ईश्वरको सबैभन्दा नजिक छ ।
साँझ बिस्तारै रातमा विलीन हुँदै थियो । माया अस्पतालको छतमा पुगिन् । तल सहर असङ्ख्य बत्तीहरूले झलमल्ल थियो, माथि आकाश असङ्ख्य ताराहरूले भरिएको थियो । उनलाई एकाएक लाग्यो— सहरका बत्ती र आकाशका ताराबिच कतै मानिसको पीडा अलपत्र परिरहेको छ ।
उनले बिस्तारै आँखा बन्द गरिन् र मनमनै भनिन्, “हे भगवान्, यदि यो संसार नै एउटा अस्पताल हो भने हामी सबै बिरामी हौँ । कसैको शरीर बिरामी छ, कसैको मन, कसैको विवेक त कसैको व्यवस्था ! तर सबैभन्दा ठूलो रोग त करुणाको मृत्यु रहेछ । शरीर मरेपछि एउटा मानिस मर्छ, तर करुणा मरेपछि त सिङ्गो राष्ट्र नै मर्छ ।”
त्यही क्षण अस्पतालभरिको बत्ती केही सेकेन्डका लागि निभ्यो । चारैतिर अन्धकार छायो । आईसीयूका यन्त्रहरू ब्याकअपमा फेरि चल्न थाले । मोनिटरहरूको तीव्र ध्वनि अन्धकार चिर्दै फेरि गुञ्जियो । तर त्यो केही क्षणको मौन अन्धकारमा मायाले अस्पतालको छतमाथि एउटा अपरिचित छाया उभिएको देखिन् ।
त्यो छाया चिकित्सकजस्तो पनि देखिन्थ्यो, संन्यासीजस्तो पनि; सायद आफ्नै अन्तरात्माको प्रतिरूप थियो त्यो । उसले केही बोलेन, केवल आफ्नो हात आकाशतिर उठायो ।
मायाले पनि माथितिर हेरिन् ।
एउटा तारा आकाशबाट बिस्तारै खसिरहेको थियो । उनलाई बाल्यकालमा हजुरआमाले भनेको कुराको सम्झना आयो— तारा खस्दा एउटा आत्माले आफ्नो पार्थिव यात्रा पूरा गर्छ ।
तर त्यस रात उनलाई पहिलोपटक लाग्यो— सायद त्यो तारा खसेको थिएन, कुनै राष्ट्रको करुणा आकाशबाट झरेको थियो; कुनै समाजको विवेक अन्धकारमा डुबेको थियो ।
त्यही बेला एउटा अनौठो हावाको झोक्का चल्यो । अस्पतालको काउन्टरबाट उडेको एउटा पुरानो बिल हावासँगै घुम्दै माथि उठ्यो । बिल घुमिरह्यो— अझ माथि, अझ पर… । अन्ततः त्यो अनन्त अन्धकारभित्र विलीन भयो । कसैले त्यसलाई फेरि कहिल्यै देखेन ।
भोलिपल्ट बिहान सरसफाइकर्मीले छत सफा गर्दा त्यो बिल कतै भेटिएन । तर जहाँ बिल हराएको थियो, त्यहीँ एउटा सेतो परेवा चुपचाप बसेको थियो । उसको चुच्चोमा कुनै कागज थिएन, कुनै रसिद थिएन, न त कुनै करको हिसाब नै थियो । त्यहाँ केवल एउटा सेतो प्वाँख थियो, जसमा बिहानको कलिलो घाम हल्का टल्किरहेको थियो ।
परेवाले केही क्षण अस्पतालतिर हेर्यो र एक्कासि नीलो आकाशतिर उड्यो । ऊ कुन दिशामा गयो, कसैले देखेन । तर त्यस दिनदेखि अस्पतालका केही वृद्ध बिरामीहरूले एउटा अनौठो कुरा सुनाउन थाले ।
उनीहरू भन्थे— “हरेक मध्यरात, जब बिल काउन्टर बन्द हुन्छ, जब करका हिसाबकिताबहरू सुत्छन्, जब अस्पतालको कोरिडोरमा केवल सासको धड्कन बाँकी रहन्छ, त्यतिबेला कसैले सुस्तरी एउटा प्रश्न सोध्ने गर्छ— ‘यहाँ उपचारको मूल्य कति हो ?'”
अनि कतैबाट प्रतिउत्तर आउँछ— “उपचारको होइन… मानवताको हिसाब अझै बाँकी छ ।”
त्यसपछि अस्पताल पुनः मौन हुन्छ । यति मौन कि कहिलेकाहीँ लाग्छ, त्यो भवनभित्र बिरामीहरूभन्दा बढी उत्तरविहीन प्रश्नहरू भर्ना भएका छन् ।
वर्षौँपछि अस्पतालको त्यो पुरानो भवन भत्काइयो । नयाँ भव्य भवन बन्यो । नयाँ उपकरणहरू आए, नयाँ प्रविधि भित्रियो र नयाँ नियमहरू पनि लागू भए । तर एउटा कुरा कसैले बदल्न सकेन ।
हरेक वर्षको कुनै एउटा वर्षाको रात, ठीक मध्यरातमा, अस्पतालको खाली छतमाथि एउटा पुरानो पहेँलो बिल हावामा आफैँ उडिरहेको देखिन्छ भन्ने लोककथा अझै जीवित छ । त्यो बिलमा कुनै अङ्क पढ्न सकिँदैन, कुनै बिरामीको नाम पनि भेटिँदैन ।
त्यहाँ केवल एउटा हरफ बाँकी हुन्छ—
“मानवताको बाँकी भुक्तानी ।”
त्यो कसले लेख्यो ? कहिले लेख्यो ? र त्यो कसले तिर्ने ?
आजसम्म कसैले यसको उत्तर फेला पार्न सकेको छैन ।


