कथा: टुटेको दिल
बादलले अहिलेको जस्तो स्मार्टफोन, आइफोन र ल्यापटपको जमाना आउनुभन्दा अघि पत्रमञ्जूषा र हुलाक सेवामार्फत चिठी आदानप्रदान हुने, साथै रेडियो र पत्रपत्रिकाका माध्यमबाट खबर थाहा पाउने र एक–आपसमा हालचाल बुझ्ने सञ्चारको समय भोगेर र देखेर आएको थियो ।
सञ्चार क्षेत्रले तीव्र रूपमा फड्को मारेसँगै बिस्तारै ती हुलाक सेवा, पत्रपत्रिका, रेडियो र टेलिभिजनमा सधैँ भर पर्नुपर्ने तथा टेलिफोनका लागि आवाघर र पीसीओ सेवा भएका दोकानहरू धाउनुपर्ने झन्झट पनि हराएर गयो ।
यसको प्रमुख कारण विज्ञानको चमत्कारी युगसँगै सञ्चार जगत्ले आफ्नै गतिमा मारेको द्रुत छलाङ नै हो । आज प्रायः सबै मानिसका हातहातमा गच्छेअनुसारका स्मार्टफोन, ल्यापटपलगायत सञ्चारका अनेकौँ उपकरणहरू छन् । आवश्यकताले भनौँ वा लोकप्रियताले, यी साधनहरू जीवनकै अभिन्न अङ्ग बनिसकेका छन् ।
दुनियाँको भौगोलिक रूपमा जुनसुकै कुनामा भए पनि सामाजिक सञ्जालका कारण सिङ्गो संसार एउटै घरको छानोमुनि ओत लागेर बसेका मानिसहरूझैँ नजिक भएको महसुस हुन्छ । परिवर्तन र विज्ञानबाट टाढा भाग्नु भनेको अहिलेको जमानामा आदिम युगतर्फ नै फर्किन खोज्नुजस्तै हो । यही सोचले बादलले पनि यो दुनियाँसँग अभ्यस्त हुन र त्यससँग जोडिनका लागि फेसबुक अकाउन्टलगायत आवश्यक पर्ने एपहरू खोल्यो । उसले फेसबुक चलाउन थालेको पनि साँचिकै पन्ध्र–सोह्र वर्ष भइसकेछ ।
यसै सिलसिलामा देश र विदेशका साथीहरू जोडिनु स्वाभाविक नै थियो । एक दिन उसको फेसबुकमा एउटा नयाँ ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । त्यो अनुरोध स्वीकार गर्नुअघि बादलले पठाउने व्यक्तिको प्रोफाइल राम्ररी हेर्यो । ‘पक्कै फेक आईडी त होइन होला !’ भन्ने लागेपछि उसले अनुरोध स्वीकार गर्यो ।
अनुरोध स्वीकार गरेको केही समयपछि म्यासेन्जरमा उताबाट म्यासेज आयो— अङ्ग्रेजीमा ‘हाइ’ भनेर । बादलले पनि जवाफमा ‘हेल्लो !’ फर्कायो । फेरि उताबाट ‘शुभप्रभात’ भन्दै म्यासेज आयो, बादलले पनि उसैगरी जवाफ दियो ।
उनी रहिछन्— चिनियाँ मूलकी, सिङ्गापुरकी नागरिक स्टुअल लिम । हाल बेलायतको बर्मिङ्घम सहरमा बस्ने पैँतीस वर्षीया युवती । फेसबुकमा मित्रता गाँसिँदै जाँदा उनी बिस्तारै आफ्नोबारे खुल्दै गइन् ।
एकदिन स्टुअलले सोधिन्, “तिम्रो नाम चाहिँ के हो ? कति वर्ष भयौ ?”
बादलले जवाफ दियो, “तिम्रै उमेर, नाम बादल हो ।”
स्टुअलले फेरि सोधिन्, “अनि के काम गर्छौ नि तिमी ?”
बादलले भन्यो, “खास त्यस्तो केही नै गर्दिनँ ।”
स्टुअलले अचम्म मान्दै भनिन्, “कसरी–कसरी बाँच्छौ त ?”
बादलले जवाफ दियो, “अरू जसरी बाँचेका छन्, त्यसरी नै हो ।”
स्टुअलले फेरि भनिन्, “मलाई त त्यस्तो लाग्दैन तिमी !”
बादलले भन्यो, “म तिमीजस्तो होइन नि त ।”
स्टुअलले अचम्म मान्दै सोधिन्, “तिम्रो भन्नुको मतलब ?”
बादलले भन्यो, “म कुनै धनाढ्य मान्छे होइन ।”
स्टुअल लिमले फेरि सोधिन्, “किन त्यस्तो भनेको हो ?”
बादलले लेख्दै बतायो, “साँचिकै म कुनै कम्पनीको मालिक वा त्यस्तो ठूलो व्यवसायी पनि हैन ।”
स्टुअलले फेरि सोधिन्, “ल, किन यस्तो भनेको हो नि ?”
जवाफमा बादलले भन्यो, “म तिमीजस्तो सुविधाहरूले सम्पन्न र विकसित देशको नागरिक नभएकोले हो ।”
स्टुअल लिमले भनिन्, “तिमी ठीक छौ, यस्तो नसोच्नु ।”
यतिसम्म त्यो दिन कुरा भयो ।
सञ्जालको दुनियाँमा सञ्जालकै माध्यमबाट निकटता बढ्दै जानु कुनै नौलो कुरा थिएन । यसैले स्टुअल लिम र बादलको पनि निकटता बढ्दै गयो ।
केही दिनपछि उनैले बादललाई म्यासेज गर्दै भनिन्, “हेल्लो, के छ ?”
बादलले पनि जवाफमा भन्यो, “मेरो ठीक छ, तिम्रो ?”
स्टुअलले भनिन्, “म पनि त ठीक नै छु, प्रिय ।”
बादलले सोध्यो, “तिमीले चाहिँ के गर्छौ नि ? भन्न मिल्छ ?”
स्टुअलले भनिन्, “म सिङ्गापुरकी हुँ, अहिले यूकेमा छु ।”
बादलले उत्सुक हुँदै सोध्यो, “अनि त्यहाँ चाहिँ कसरी नि ?”
स्टुअलले भनिन्, “मेरो बुवा अन्तर्राष्ट्रिय स्तरको व्यवसायी हुनुभएको हुनाले गर्दा हामी यूके आएका हौँ ।”
बादलले पुनः म्यासेज गर्यो, “ए ! कस्तो, के व्यापार हो ?”
स्टुअल लिमले भनिन्, “बुवाले यूकेको बर्मिङ्घम सहरमा घरजग्गा व्यवसायमा लगानी गर्नुभएको थियो । थप अरू पनि— मेरो बुवाको थाइल्यान्ड र इन्डोनेसियामा पनि फार्म छ । तर पनि म खुसी हुन सकिरहेकी छैन ।”
बादलले आश्चर्यमिश्रित स्वरमा सोध्यो, “त्यत्रो ठूलो व्यवसाय रहेछ, तैपनि बेखुसी हुनुपर्ने कारण के ?”
स्टुअल लिमले भावुक इमोजी पठाउँदै भनिन्, “कसरी खुसी हुने ? मैले मेरो मायालु बुवालाई हृदयाघातका कारण गुमाएँ । यसैले लाग्छ, मैले जीवन नै गुमाइसकेँ ।”
बादलले सान्त्वना दिँदै भन्यो, “त्यस्तो सोच्नुहुँदैन । बुवाको लागि असल कर्म गरेर देखाउनुपर्छ, त्यो नै राम्रो बाटो हो ।”
स्टुअलले भनिन्, “मलाई यस्तो सकारात्मक सल्लाह दिने भएकाले तिमी आम मान्छे पक्कै होइनौ, विशेष हौ ।”
दुनियाँको जुनसुकै कुनामा रहे तापनि जिउनका लागि आ–आफ्नै कर्म गर्नुपर्ने भएकाले दुई जनाबीचको सञ्जालिक गफगाफलाई बादलले त्यहीँसम्म थाती राख्यो ।
फेरि केही समयपछि गफगाफलाई निरन्तरता दिने क्रममा उनै स्टुअलले म्यासेज गरिन्, “के तिमी ठीक छौ ?”
बादलले भन्यो, “ठीक छु, तर तिमीमाथि शङ्का लागेको छ ।”
स्टुअलले भनिन्, “हैन, ममाथि कस्तो शङ्का हो नि ?”
बादलले शङ्काको पोको खोल्दै भन्यो, “तिमीमाथि खास शङ्का लाग्नुको कारण यो हो— कतै ह्याकर त होइनौ ?”
स्टुअलले भनिन्, “मेरो वास्तविक आईडी हो, त्यस्तो हैन ।”
बादलले थप शङ्का गर्दै भन्यो, “तिमी त महिलाको फोटो राखेर चलाउने, बदमासी गर्ने मान्छे हौ जस्तो लाग्छ ।”
स्टुअलले बादलको उक्त म्यासेज हेरेपछि रिप्लाई दिँदै भनिन्, “मेरो ह्वाट्सएप नम्बर पठाएको छु, त्यहीँ कुरा गरौँला ।”
बादल ह्वाट्सएपमा जोडियो र ‘हाइ !’ लेखेर पठायो ।
बादलले अघि म्यासेन्जरमा भनेकै कुरा यता पनि दोहोर्याएपछि स्टुअल लिमले आफ्नो तस्बिर पठाइन्— सुन्दर मङ्गोलियन मुहारकी गहुँगोरो युवती थिइन् ।
बादलले अझै शङ्काको घेरामा राख्दै भन्यो, “अरू कसैको फोटो राखेर मलाई झुक्याएको होला, यस्तै लाग्छ ।”
स्टुअलले भनिन्, “ओहो ! तिमी अनौठो रहेछौ हगि ?”
बादलले भन्यो, “के अनौठो भो, यहाँ भएको नै यही हो ।”
यसपछि स्टुअलले आफ्नो वास्तविकता पेस गर्न आफू त्यस देशकै नागरिक भएको प्रमाणित गर्ने आधिकारिक नागरिक कार्डको सफासँग पढ्न मिल्ने गरी फोटो खिचेर पठाइन् । त्यो फोटो र उनको सम्पूर्ण फोटो दाँजेर हेर्दा मिलेका हुनाले उनले ढाँटेकी होइनन् होला भन्नेमा बादल केही विश्वस्त हुन पुग्यो ।
त्यसपछि स्टुअलले भनिन्, “अब त पत्यायौ नि, हैन ? खै तिम्रो फोटो पनि हेरौँ न, कतै झुक्याएको त छैनौ ?”
स्टुअलले धेरै कर गरेपछि बादलले पनि आफ्नो फोटो पठायो । उनले हेरिसकेपछि बादलले तुरुन्तै डिलिट गरिहाल्यो; किनकि अझै शङ्काको सुइरो घुम्न अलिअलि भए पनि छाडेको थिएन ।
स्टुअलले सोधिन्, “अँ, विवाहित हौ कि अविवाहित छौ ?”
बादलले प्रतिप्रश्न गर्दै भन्यो, “तिमीलाई चाहिँ के लाग्छ ?”
स्टुअलले भनिन्, “कसरी जानूँ, दुवै हुन सक्छ ।”
बादलले जवाफ दियो, “म त विवाहित हुँ ! अनि तिमी नि ?”
बादलको म्यासेज हेरेपछि स्टुअलले जवाफ तत्काल फर्काइनन्, निकै समय पो मौनता अँगाल्न पुगिन् ।
केही समयपछि जवाफ दिइन्, “म अविवाहित नै हुँ !”
बादलले प्रश्न गर्दै लेख्यो, “किन, अब त समय भएन र ?”
स्टुअलले जवाफ फर्काउँदै म्यासेज पठाइन्, “हो पक्कै नि, मेरो उमेर विवाह गर्न योग्य हो, तर दिल टुटेको छ ।”
बादलले जान्न खोज्दै म्यासेज पठायो, “कसरी नि ?”
स्टुअलले भनिन्, “भो ! नभनौँ, मलाई यसै पीडा हुन्छ ।”
बादलले फेरि सान्त्वनाको भाषामा भन्यो, “भन न भन, पीडालाई अरूसँग सेयर गर्यो भने मात्र हल्का हुन्छ ।”
बादलको कुराले नै सायद उनलाई त्यस्तै महसुस गरायो होला, स्टुअल लिमले केही खुलाउँदै लेखिन्, “हो, मैले पनि त जीवनभर सँगै जीवन बिताउने सपना देखेर कसैसँग प्यार गरेकी थिएँ । उसैले अर्कै युवतीलाई अँगाल्न पुग्दा मलाई धोका दिएको थाहा पाएँ ! त्यो पीडा, अनि बुवा र आमा दुवैलाई गुमाउनुपरेको यो दुनियाँमा एक्लो भएको महसुस गर्दा साँचिकै दिल टुटेको छ बादल ।”
स्टुअलको त्यो म्यासेज पढेर बादल निःशब्द भयो । तत्काल त्यस्तो के लेख्ने र भन्ने भनेर उसको दिमागमा कुनै शब्द नै फुरेन ।
लामो श्वास तान्दै उसले केही क्षणका लागि मोबाइलको स्क्रिन बन्द गर्यो र मनमनै प्रार्थना गर्यो— ‘हे ईश्वर ! यदि साँचै मेरो कुरा सुन्छौ भने, त्यो टुटेको दिलमा शीतलताका लागि कोही न कोही मलम लगाइदिने मान्छे पठाइदेऊ । यही कामना छ ।’
यस्तै सोच्दासोच्दै कतिखेर बादल भुसुक्क निदायो, पत्तै भएन ।
भोलिपल्ट बिहान चराहरूको चिरबिरसँगै बादलको आँखा खुल्यो ।
झ्यालबाट बिहानीको पारिलो घाम कोठाभित्र पसिसकेको थियो । भान्साबाट उसकी श्रीमतीले पकाउँदै गरेको तातो चियाको मिठो बास्ना आइरहेको थियो । श्रीमतीले ढोकाबाटै मुस्कुराउँदै भनिन्, “उठ्नुभयो ? ल हातमुख धुनुस्, चिया तयार भयो ।”
त्यो सरल, निष्कपट मुस्कान र घरायसी न्यानोपन देख्दा बादललाई आफ्नो सामान्य जिन्दगी नै संसारको सबैभन्दा ठूलो सुखजस्तो लाग्यो ।
उसले सिरानीछेउ राखिएको मोबाइल हातमा लियो । स्क्रिन अन गर्दा ह्वाट्सएपमा स्टुअलको एउटा म्यासेज आइसकेको रहेछ । उसले धड्किँदो मनसहित म्यासेज खोल्यो ।
स्टुअलले लेखेकी थिइन्:
“शुभप्रभात बादल ! हिजो राति तिमीसँग मनको भारी पोख्न पाएँ, धेरै महिनापछि म मन हलुङ्गो बनाएर निदाउन सकेँ । यो संसारमा भौतिक रूपमा जति नै सम्पन्न भए पनि मनको पीडा सुनिदिने एउटा सच्चा साथी कति जरुरी हुँदो रहेछ भन्ने आज महसुस गरेँ । तिमी आफ्नो परिवारसँग सधैँ यसरी नै सुखी र खुसी रहनू । मलाई कुनै शङ्का र पूर्वाग्रहबिना एउटा असल साथीको रूपमा सुनिदिएकोमा धेरै–धेरै धन्यवाद । मेरो टुटेको दिलको घाउ भरिन अझै समय लाग्ला, तर अब जिन्दगीसँग हारेर होइन, लडेर बाँच्ने साहस मिलेको छ ।”
म्यासेज पढेर बादलका ओठका कुनामा एउटा सन्तोषको मधुरो मुस्कान फैलियो । उसले पनि मनबाटै शुभकामना दिँदै छोटो जवाफ टाइप गर्यो:
“शुभप्रभात स्टुअल ! आशा कहिल्यै नमरोस् । तिम्रो टुटेको दिलले एक दिन फेरि नयाँ खुसी र मुस्कान भेट्टाउनेछ । आफ्नो सधैँ ख्याल राख्नू ।”
म्यासेज पठाएर बादलले मोबाइल टेबलमा राख्यो ।
उसले महसुस गर्यो— यो डिजिटल दुनियाँ केवल शङ्का, भ्रम र फेक आईडीहरूको जालो मात्र होइन रहेछ; हजारौँ माइलको दूरी र पर्दापछाडि पनि मानिसका सच्चा भावनाहरू धड्किरहेका हुँदा रहेछन् । कहिलेकाहीँ दुई नितान्त अपरिचित आत्माहरू केवल एकअर्काको घाउमा सहानुभूतिको मलम लगाउनकै लागि पनि यसरी जोडिँदा रहेछन् ।
मनमा एउटा अव्यक्त तृप्ति बोकेर ऊ ओछ्यानबाट उठ्यो र आफ्नो वास्तविक संसारको न्यानो अँगाल्न भान्सातिर लम्कियो ।


