ऐतिहासिक महत्त्व बोकेको दियालो बङ्गला दरबार सङ्ग्रहालय
ऐतिहासिक दियालो बङ्गला दरबार सङ्ग्रहालय अवलोकनका लागि २०८१ साल असार २८ गते आइतबार मेरा श्रीमान् विश्वनाथ तिमिल्सिना र म दिनको ठिक १:०० बजे स्कुटरमा निस्क्यौँ । ‘दियालो’ शब्दको अर्थ उज्यालो अथवा दीपको प्रकाशसँग सम्बन्धित छ । त्यसैलाई आधार मानेर यस दरबारको नाम ‘दियालो बङ्गला’ राखिएको हुनुपर्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
चितवन जिल्लाको नारायणगढ बजारबाट करिब दुई किलोमिटर उत्तरतर्फ देवघाट जाने बाटो (आँपटारी चोक) बाट केही वरै दियालो बङ्गला जाने नवनिर्मित प्रवेशद्वार रहेको छ । गेटबाट भित्र छिरेपछि टिकट काउन्टर र स्टोन पार्क देखिन्छ । ठाउँठाउँमा विश्रामका लागि फलामका बेन्चहरू राखिएका छन् । बाटाको छेउछाउमा फूलका बिरुवा, बगैँचा, हेलिप्याड र फुटबल खेल्न मिल्ने ठूलो खेलमैदान छ । नारायणी नदीको समीप श्वेत रङ्गले सजिएको यो ऐतिहासिक स्थल धार्मिक तथा पर्यटकीय देवघाट क्षेत्रसँग जोडिएको छ । तत्कालीन समयमा राजपरिवारले धार्मिक स्नान गर्न र जङ्गली जनावरहरूको सिकार खेल्न सहज होस् भन्ने उद्देश्यले यो दरबार बनाएको जनविश्वास पाइन्छ ।
चितवनको भरतपुर महानगरपालिका-१, आँपटारीमा अवस्थित यो दियालो बङ्गला तत्कालीन राजा महेन्द्रले निर्माण गराएका थिए । तत्कालीन समयमा यहाँ राजपरिवार र निश्चित सरकारी कर्मचारीहरू मात्र बस्ने व्यवस्था थियो । तीन तलाको यो बङ्गला आधुनिक शैलीमा निर्माण गरिएको छ, जसमा पूर्वीय र पश्चिमी वास्तुकलाको सुन्दर प्रभाव देखिन्छ । फराकिलो बरन्डा, ठूलो बगैँचा अनि प्राकृतिक प्रकाश तथा हावापानीलाई ध्यानमा राखेर यसको बनोट तयार गरिएको छ । दरबार क्षेत्रको कुल क्षेत्रफल ५७ बिघा १३ कठ्ठा ७ धुर रहेको छ । परिसरभित्र सवारीसाधन राख्ने ग्यारेज, दरबारका सुसारे तथा महिलाका लागि ‘नानीगञ्ज’, सुरक्षाकर्मीका लागि ‘एडीसी क्वाटर’ र उत्तरतर्फ पर्खालले घेरिएको पौडीपोखरी (स्विमिङपुल) समेत व्यवस्थित गरिएको छ ।
दरबारभित्र राजपरिवारले प्रयोग गरेका सामग्रीहरू र सिकार गरिएका वन्यजन्तुका आखेटोपहार (छाला, सिङ आदि) सजाइएका छन् । भुइँतलामा एउटा ठूलो बैठक कोठा छ; जहाँ राजा महेन्द्र, रानी रत्न, राजा वीरेन्द्र र रानी ऐश्वर्याका ठूला तस्बिरहरू सजाइएका छन् । भर्याङछेउ राजा महेन्द्रले सिकार गरेको घडियाल गोही र भित्तामा पाटेबाघको सिङ्गो टाउको जस्ताको तस्तै राखिएको छ । दरबारमा पाँचवटा खोपी (शयनकक्ष) रहेका छन्— १ नं. खोपी मुमा बडामहारानी रत्नको, २ नं. खोपी राजा महेन्द्रको र ३, ४ तथा ५ नं. का खोपीहरू रानी एवं राजपरिवारका अन्य सदस्यहरूका हुन् । सबै खोपीहरूसँगै आधुनिक शौचालय जोडिएका छन् । राजा महेन्द्रको निधन भएको ऐतिहासिक शयनकक्ष पनि अहिले सङ्ग्रहालयमा सुरक्षित राखिएको छ । मूल दरबारमा व्यवस्थित बैठक कोठा, राजाले प्रयोग गरेका खाट-पलङ, ओछ्यान, भान्सा र भोजन (डाइनिङ) का सामग्रीहरू तथा सिकारमा प्रयोग हुने बन्दुकहरू यथावत् देख्न सकिन्छ ।
विशेष गरी हिउँदको जाडो छल्न र सिकार खेल्नका लागि राजपरिवारका सदस्यहरू यहाँ आउने गर्दथे । चितवन देशको मध्यभागमा पर्ने भएकाले र पूर्व-पश्चिम यात्राका क्रममा विश्राम लिन सहज हुने भएकाले राजा महेन्द्रले यहाँको बस्ती स्थानान्तरण गरी वि.सं. २०१९ देखि २०२६ सम्मको अवधिमा यो बङ्गला निर्माण गराएका थिए । सिकारका सौखिन राजा महेन्द्र २०२८ साल माघ ३ गते यस बङ्गलामा एक महिनाका लागि आएका थिए, तर दुर्भाग्यवश २०२८ साल माघ १६ गते राति ११ बजे हृदयघातका कारण यहीँ उनको देहावसान भयो ।
त्यसपछि राजा वीरेन्द्र आफ्ना पिता राजा महेन्द्रको वार्षिक तिथि पारेर यहाँ आउने गर्दथे । राजा वीरेन्द्रले वि.सं. २०५७ मा आफ्नो जन्मदिन पनि यसै बङ्गलामा मनाएका थिए । त्यही बेला घुमाउरो भर्याङमा खुट्टा चिप्लिएर रानी ऐश्वर्याको खुट्टा मर्किएपछि राजा वीरेन्द्रले तत्काल अर्को सिधा भर्याङ बनाउन लगाएका थिए । राजपरिवारसँगै व्यक्तिगत चिकित्सक र सुसारेहरू पनि सँगै रहने गर्दथे । त्यसबखत राजपरिवारका लागि आगोमै खाना पकाएर खुवाइने गरेको प्रत्यक्षदर्शीको अनुभव वि.सं. २०५७ देखि राजप्रासाद सेवा (हाल निजामती सेवा) मा कार्यरत दानबहादुर ढकालको भनाइबाट जानकारी भयो । राजा महेन्द्रले स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरूको स्वागत, औपचारिक भेटघाट, विश्राम, बैठक र सरकारी कामकाजका लागि समेत यो बङ्गला प्रयोग गर्ने गर्दथे । दरबारको दक्षिणतर्फ हिउँदमा राजाले आगो ताप्ने ठाउँ अझै सुरक्षित छ ।
प्रकृतिको मनोरम काखमा अवस्थित यस दरबार वरिपरि घना जङ्गल, हरियाली र साल, जामुन, सिन्दुरे, सिसौ जस्ता अग्ला रूखहरू छन् । शान्त वातावरण, चराचुरुङ्गीको चिरबिर आवाज र प्रकृतिको अलौकिक दृश्यले मनै लोभ्याउँछ । यहाँ कहिलेकाहीँ बाघ, चितुवा, मृग र जङ्गली हात्ती जस्ता वन्यजन्तु पनि देखापर्ने गरेको सुन्न पाइन्छ । हाल दरबार क्षेत्रको सुरक्षा नेपाली सेनाले गरिरहेको छ भने चारैतिर सीसीटीभी क्यामरा जडान गरिएकाले यो सुरक्षित छ ।
पर्यटन प्रवर्द्धन तथा भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी नेपाल ट्रस्टको स्वामित्वमा रहेको दियालो बङ्गला दरबार सङ्ग्रहालय २०८१ साल असार २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो । अवलोकनका लागि यो दरबार बिहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म खुला रहने र टिकटबाट सङ्कलित रकमको ५० प्रतिशत नेपाल ट्रस्टलाई तथा ५० प्रतिशत भरतपुर महानगरपालिकालाई जाने सम्झौता भएको रहेछ ।
प्रकृतिको अपार सुन्दरता, शान्त वातावरण र इतिहासको साक्षी बनेर उभिएको यो श्वेत दरबार शान्ति, सादगी र ऐतिहासिक गौरवको प्रतीकझैँ लाग्छ । यहाँ पुग्दा मनमा एक किसिमको एकाग्रता, आनन्द र स्वच्छताको महसुस हुन्छ । तत्कालीन राजतन्त्रकालीन इतिहास, रहनसहन, खानपान, संस्कृति र वास्तुकलालाई नजिकबाट नियाल्न चाहने नयाँ पुस्ता, विद्यार्थी र अनुसन्धाताहरूका लागि दियालो बङ्गला एक उत्कृष्ट अध्ययन थलो बनेको छ । ऐतिहासिक महत्त्व बोकेको यो गन्तव्य देश-विदेशका अध्येता तथा पर्यटकहरूका लागि सधैँ आकर्षणको केन्द्र बनिरहने देखिन्छ ।
— गैँडाकोट-४, नवलपुर —


