काठमाडौँ : सङ्घर्ष, सफलता र रहरहरूको सहर
जिन्दगी आफैँमा एउटा अनवरत यात्रा हो— यो यात्रामा कहिले उकाली त कहिले ओराली, अनि अनेकौँ उतारचढाव र सङ्घर्षहरू आइरहन्छन् । रहरका पखेटा फिँजाएर सुनौलो आकाश छुने अभिलाषा मानिसभित्र सधैँ जागिरहन्छ । कुनै सहर केवल नक्सामा भेटिन्छन्, कुनै सहर आँखामा बस्छन्; काठमाडौँ एउटा त्यस्तो सहर हो— जहाँ हजारौँ मानिसका सपना, सङ्घर्ष र आशाहरू एउटै सडकमा सँगसँगै हिँडिरहेका हुन्छन् ।
२०८३ असोजको पहिलो साता मनभरि साहित्यिक भेटघाटको उत्सुकता र आत्मीय भाव बोकेर म काठमाडौँ आइपुगेको थिएँ । यात्राको एउटै मुख्य उद्देश्य थियो— आफ्नै कृति ‘जिन्दगीको यात्रा’ को लोकार्पण समारोहमा सहभागी हुनु । आफ्नै सिर्जना, त्यसमाथि लोकार्पणको उत्साह ! सुदूरको विकट बाजुराबाट सङ्घीय राजधानी काठमाडौँसम्मको यो यात्रा भौतिक रूपमा त्यति सहज भने पक्कै थिएन ।
बाजुराबाट काठमाडौँसम्मको लामो बसयात्राभरि मनमा अनेकौँ रहर र तरङ्गहरू खेलिरहेका थिए । पुस्तक लोकार्पणको कार्यक्रम बाहिरबाट हेर्दा एउटा सामान्य औपचारिक समारोह मात्र देखिएला, तर मेरा लागि त्यो शब्दहरूसँग साक्षात्कार गर्ने, नयाँ विचारसँग नजिकिने र जीवनका अनुभूतिहरूलाई साहित्यको ऐनामा नियाल्ने एउटा विशिष्ट अवसर थियो ।
काठमाडौँ मेरो यात्राको एउटा भूगोल वा गन्तव्य मात्र थिएन; यो त एउटा रहर, साहित्यिक पहिचान, संवाद र सम्झनाको आत्मीय सेतु थियो । यात्राका अनेकौँ मोडहरूमध्ये काठमाडौँको यो यात्रा केवल ठाउँ परिवर्तनको प्रसङ्ग मात्र बनेन; बरु अनुभूति, साहित्य र स्मृतिको त्रिवेणी बनेर मेरो मनको गहिराइमा सधैँका लागि बसिरह्यो ।
काठमाडौँ ओर्लिएपछिको त्यो पहिलो बिहान म कहिल्यै बिर्सन्नँ । म निद्राबाट ब्युँझनुअगावै काठमाडौँ पूर्ण रूपमा जागिसकेको थियो । घामका कलिला किरणहरू धरतीमा ओर्लिन नपाउँदै यहाँ अनेकौँ रहरहरू सडकमा ओर्लिसक्छन् । सडकमा मानिस र गाडीहरूको भीडसँगै समय पनि एकआपसमा दौडिरहेझैँ लाग्थ्यो । व्यस्त मानिसहरू आ-आफ्नो गन्तव्यतर्फ हतारिँदै लम्किरहेका देखिन्थे । कसैले सफलता खोजिरहेका छन्, त कसैले आफ्नो पहिचान र सम्मान । कसैका आँखामा भविष्यको सुन्दर सपना छ, कसैका काँधमा परिवार र जिम्मेवारीको गह्रुङ्गो भारी, त कसैको मनमा समयमै पूरा गर्नुपर्ने रहरहरूको छटपटी !
भीडको यो महासागरमा उभिएर टोलाइरहँदा म मनमनै सोच्थेँ— मानिसका यी अनगिन्ती रहरहरू साँच्चिकै पूरा होलान् ? जीवनका कयौँ समस्या र बाध्यताहरू सहजै पार लाग्लान् ? यहाँ मानिसहरू केवल सहरमा मात्र हिँडिरहेका छैनन्, वास्तवमा उनीहरू आफ्नै भाग्यको खोजीमा अनवरत यात्रा गरिरहेका छन् ।
बिस्तारै सूर्यको पारिलो घाम चारैतिर फैलिन्छ । सडकमा मानिस र सवारीसाधनको चाप झन्-झन् बढ्दै जान्छ । चोक, गल्ली र सडकहरूमा जताततै कोलाहल सुनिन्छ । त्यतिखेर लाग्छ— यो सहर केवल इँटा, ढुङ्गा र कङ्क्रिटले ठडिएको भौतिक संरचना मात्र होइन; यो त अनगिन्ती आकाङ्क्षाहरूको आश्रयस्थल, अथक सङ्घर्षहरूको साक्षी, सपनाहरूको संरक्षक र सम्भावनाहरूको मूल मुहान हो ।
यहाँका प्रत्येक गल्लीले कुनै न कुनै कथा बोकेको अनुभूति हुन्छ; प्रत्येक मोडले जीवनको नयाँ यात्राको सङ्केत गर्छ र प्रत्येक अनुहारभित्र जीवनका अनगिन्ती नलेखिएका अध्यायहरू लुकेका भेटिन्छन् । गाउँको शान्त र स्वच्छ वातावरणमा जन्मिएर त्यहीँको माटोमा लडिबुडी खेल्दै हुर्किएको म जस्तो मान्छेका लागि काठमाडौँ बिल्कुलै भिन्न र आकर्षक थियो । अग्ला भवनहरू, फराकिला सडक, झिलिमिली बत्ती र आधुनिक जीवनशैलीमा बाँचेका मानिसहरू ! यहाँको रहर, सङ्घर्ष र सम्भावनाको कथा सुन्दा कुनै समय यो कुनै परिकथाको सपनाको सहरजस्तै लाग्थ्यो ।
सहरका सडकमा मानिसहरू मात्र हिँडिरहेका हुँदैनन्; उनीहरूसँगै हिँडिरहेका हुन्छन् आशा, अभाव, विवशता र सम्भावनाका असङ्ख्य यात्राहरू । जुन यात्रा निरन्तर चलिरहन्छ; जहाँ मानिसहरू कहिल्यै थाक्दैनन्, र सायद थाक्ने छुट पनि यहाँ कसैलाई छैन !
दिउँसोको करिब तीन बज्दो थियो । कामका सिलसिलामा सडकमा हिँड्दै गर्दा पेटले भोकको सङ्केत गर्यो । नजिकैको एउटा खाजाघर (होटेल) मा छिरेँ । होटेलका साहुजी तात्तातो समोसा तार्दै हुनुहुन्थ्यो ।
मैले सोधेँ, “अङ्कल, खाजा के-के छ ?”
उहाँले व्यस्त हात नरोकी सहज जवाफ दिनुभयो, “चाउमिन, समोसा, म:म यस्तै छ बाबु ! के खानुहुन्छ ?”
मैले भनेँ, “तीनवटा जति समोसा राखिदिनुस् न ।”
मेरो आग्रहपछि उहाँले एउटा प्लेटमा अचारसहित तीनवटा समोसा पस्किएर दिनुभयो । म समोसा खाँदै गर्दा साहुजीले अपनत्वको स्वरमा सोध्नुभयो, “कहाँबाट के कामका लागि पाल्नुभएको हो नि बाबु ? घर कहाँ हो हजुरको ?”
मैले मुस्कुराउँदै जवाफ दिएँ, “मेरो घर बाजुरा हो । यहाँ आफ्नै पुस्तक लोकार्पणका लागि आएको हुँ ।”
उहाँको अनुहारमा खुसीको चमक देखियो । उहाँले भन्नुभयो, “धेरै शुभकामना छ बाबु ! रहर, सङ्घर्ष र सफलताको यो सहरमा यहाँलाई हार्दिक स्वागतसहित बधाई छ ।”
साहुजीका ती तीन शब्द— ‘रहर, सङ्घर्ष र सफलता’ ले मेरो मनलाई गहिरोसँग छोयो । साँच्चै, काठमाडौँ केवल एउटा भूगोल वा सहर मात्र नभएर रहर, सङ्घर्ष र सफलताको साझा सङ्गम रहेछ । हामीले काठमाडौँलाई केवल प्रशासनिक राजधानीका रूपमा मात्र हेर्ने कि सपना, सङ्घर्ष, रहर र सफलता दिलाउने जीवन-गन्तव्यका रूपमा बुझ्ने ? यो प्रश्न मेरो अन्तरमनमा निकै अर्थपूर्ण बनेर उभियो ।
साहुजीको त्यो भनाइलाई मनन गर्दै मैले काठमाडौँका सडक, यहाँको चहलपहल र जीवनको तीव्र गतिलाई नियाल्दा मनमा अनेकौँ विचार र तरङ्गहरू उठे । सहर जति विशाल देखिन्छ, यहाँ भित्रिने मानिसका सपनाहरू पनि उत्तिकै विशाल छन् । तर ती सपनाको भार बोक्ने काँधहरू कति थाकेका छन् भन्ने कुरा बाहिरको भीडले देखाउँदैन । चम्किला भवनहरूको छायामुनि कति मौन सङ्घर्षहरू दबिएका छन्, त्यो कसैले देख्न सक्दैन । सबैको उज्ज्वल भविष्य यही सहरसँग गाँसिएको छ ।
मैले सोचेँ— अघि साहुजीले भनेको कुरा शतप्रतिशत सत्य हो । काठमाडौँ घरैघरको निर्जीव सहर मात्र होइन; यहाँ त अनगिन्ती नागरिकका सपना, उज्ज्वल भविष्यको निर्माण, सम्भावनाका ढोका, अनि रहर र सङ्घर्षको छहारी दिने एउटा चौतारी पनि हो— जसले जीवनको चर्को घाममा समेत शीतलता प्रदान गर्छ । काठमाडौँमा बस्ने हरेक व्यक्ति केही न केही उद्देश्य बोकेर बाँचिरहेका छन् । कतिपयले अनवरत सङ्घर्ष गर्दै आफ्नो उज्ज्वल भविष्य निर्माण गरी सफलता हासिल गर्छन् भने कतिपय मानिस अथक सङ्घर्ष गर्दागर्दै पनि चाहेजस्तो सफलता पाउन सक्दैनन् ।
सफलताका चम्किला दृश्यहरूका पछाडि कयौँ असफलताहरूले आफूलाई चुपचाप सम्हालिरहेका हुन्छन् । यी सबै यथार्थलाई अनुभूत गर्न एउटा दरिलो मन चाहिन्छ । असफल हुनुमा काठमाडौँ सहरको कुनै दोष छैन; कमजोरी त केवल हाम्रो सङ्घर्ष, साधना र मेहनतमा हुन्छ । सायद यही कारणले काठमाडौँ मलाई केवल देशको राजधानी मात्र लागेन; यो त जीवनको खुला पुस्तकजस्तो लाग्यो, जहाँ प्रत्येक पृष्ठ पल्टाउँदा नयाँ कथा भेटिन्छ ।
यही विशाल सहरको गतिले मानिसलाई समयसँगै छिटो हिँड्न सिकाउँछ । दुःख र सङ्घर्षसँग जुध्न सिकाउँछ । बाध्यता, समस्या र प्रतिकूल परिस्थितिले मानिसलाई भित्रैदेखि दृढ बनाउन सिकाउँछ । यहाँका हरेक रहर र अनुभवले जीवनको गहिराइ बुझ्न प्रेरित गर्छन् । यही सहरले कसैका लागि अवसर र सम्भावनाका अनन्त ढोकाहरू खोलिदिन्छ, कसैलाई नयाँ चुनौतीहरू दिन्छ; कसैलाई विशिष्ट परिचय दिन्छ, त कसैलाई आफ्नै अस्तित्वमाथि प्रश्न गर्न बाध्य बनाउँछ । तर अन्ततः प्रत्येक मानिसले आफ्नो बाटो आफैँ पहिल्याउनुपर्छ भन्ने शाश्वत सत्य भने यसले सबैका लागि समान बनाइदिन्छ ।
मेरो काठमाडौँको बसाइ त्यति लामो थिएन । तर यो छोटो बसाइमै सिङ्गो काठमाडौँलाई नियाल्दा लाग्यो— यो रहरहरूको सहर त पक्कै हो, तर ती रहरहरूभित्र कयौँ सङ्घर्ष र सपनाहरू लुकेका छन् । सङ्घर्ष गर्दै ती सपनाहरूलाई मूर्तरूप दिनु हाम्रो कर्तव्य हो । छोटो समयमै यस सहरले मलाई साहित्यिक वृत्तमा आफ्नो परिचय स्थापित गर्ने आधार दियो, वरिष्ठ साहित्यकारहरूसँग प्रत्यक्ष भेटघाट र संवादको दुर्लभ अवसर जुरायो । त्यति मात्र होइन, यस सहरले मलाई जीवन-सङ्घर्षको गहन पाठ पनि सिकायो ।
जीवनका केही क्षणहरू यस्ता हुन्छन्, जो समयको सीमितताभन्दा पर दीर्घकालसम्म स्मृतिमा बाँचिरहन्छन् । तिनलाई सम्झँदा समय फेरि पछाडि फर्किएजस्तो लाग्छ, दृश्यहरू आँखाअघि जीवन्त भएर उभिन्छन् र मन फेरि त्यही परिवेशमा विचरण गर्न पुग्छ । काठमाडौँसँग जोडिएको यो साहित्यिक यात्रा पनि मेरा लागि त्यस्तै अविस्मरणीय अनुभूति बन्यो । सामाजिक सञ्जालको माध्यमबाट चिनजान भएका अग्रज तथा समकालीन साथीहरूको अपार माया, साथ, सहयोग, प्रेरणा र हौसला नै मेरा लागि सधैँ ऊर्जाशील रहने पुँजी बन्यो ।
ती क्षणहरू सम्झँदा लाग्छ— काठमाडौँले केवल सङ्घर्ष र सफलताको पाठ मात्र सिकाउँदैन; यसले आपसी सद्भाव, माया र अपनत्वको न्यानो भावना आत्मसात् गर्न पनि सिकाउँछ । मानिसले जीवनमा धेरै कुरा प्राप्त गर्छ, धेरै कुरा गुमाउँछ, धेरै ठाउँ पुग्छ र अनेक मानिसहरूसँग परिचित हुन्छ; तर ती सबैमध्ये थोरै अनुभवले मात्र हाम्रो आत्माको ढोका घच्घच्याउने गर्छन् । पुस्तक विमोचनको अवसर र काठमाडौँको परिवेशले मेरो जीवनयात्रामा यस्तै एउटा अर्थपूर्ण अध्याय थपिदियो ।
एउटा नाम, अनेकौँ कथा ! एउटा भूगोल, अनगिन्ती अनुभूति ! कसैका लागि सपनाको पहिलो खुड्किलो, कसैका लागि बाध्यताको लामो बाटो, कसैका लागि सम्भावनाको खुला आकाश, त कसैका लागि आफ्नै रहरहरूसँग सम्झौता गर्नुपरेको एउटा मौन अध्याय ! त्यसैले यो सहर केवल भवनहरूको निर्जीव सङ्ग्रह होइन, यो त मानिसका अधुरा चाहना, सपना, आँसु, सम्भावना र नथाक्ने आशाहरूले निर्मित जीवन्त आख्यान हो ।
अपरिचित भीडमा मिसिनु भनेको केवल ठाउँ परिवर्तन गर्नु मात्र होइन; यो त आफ्नै जीवनको एउटा परिचित अध्याय बन्द गरेर अनिश्चित भविष्यको नयाँ पाना पल्टाउनु पनि हो । अपरिचित सहरमा आफ्नो परिचय आफैँले बनाउनुपर्छ, आफ्नो अस्तित्व आफैँले जोगाउनुपर्छ, र सपनाहरूलाई वास्तविकताको कठोर धरातलमा उभ्याउन निरन्तर सङ्घर्ष गर्नुपर्छ । काठमाडौँले रहर देखाउँछ, तर ती रहरहरूको मूल्य पनि माग्छ । सङ्घर्षका अग्ला पहाडहरू खडा गरिदिन्छ, जसलाई छिचोल्न सहज हुँदैन । काठमाडौँले समस्या मात्र होइन, थुप्रै अवसरहरू पनि दिन्छ; तर ती अवसरहरू प्राप्त गर्न आफूलाई योग्य बनाउनुपर्छ ।
सपनाका आकाशहरू फराकिला छन्, तर ती आकाशसम्म पुग्ने भर्याङहरू सजिला छैनन् । बाहिर हेर्दा सामान्य र शान्त देखिने मानिसको जीवनभित्र कहिलेकाहीँ ठूलाठूला आँधीहरू चलिरहेका हुन्छन्; अनि ती आँधीको आवाज आफ्नै मनबाहेक अरू कसैले सुन्दैन । त्यसैले काठमाडौँलाई रहर, सङ्घर्ष, अवसर र सफलताको सहर भनिएको हो— जहाँ रहर पनि छ, अवसर पनि छ, र सङ्घर्षसँगै सफलता पनि छ ।
काठमाडौँले सिकाएको सबैभन्दा ठूलो पाठ यही हो— जीवनमा सपना देख्नु जति सहज छ, सपनाको भार बोकेर बाँच्नु त्यति नै चुनौतीपूर्ण छ । यहाँ मानिसले सफलताको चमक मात्र देख्दैन, त्यसका लागि तिर्नुपरेको अदृश्य मूल्यसमेत बुझ्न थाल्छ । यहाँ घरहरू नजिक छन्, तर मनहरू धेरै टाढा छन् । समयको महत्त्व, सम्बन्धको आत्मीयता, अभावको पीडा र आत्मसम्मानको वास्तविक अर्थ यही सहरका गल्लीहरूमा हिँड्दै गर्दा सिकिन्छ ।
त्यतिबेला लाग्छ— काठमाडौँका प्रत्येक झ्यालभित्र एउटा छुट्टै कथा छ, प्रत्येक सडकमा एउटा विशिष्ट यात्रा छ, र प्रत्येक अपरिचित अनुहारभित्र एउटा सिङ्गो संसार छ; जसलाई बाहिरबाट हेरेर मात्र कहिल्यै बुझ्न सकिँदैन । एउटै सहरमा कोही खुसीले हाँसिरहेका छन्, कोही अभाव र पीडामा रोइरहेका छन् । कोही आफ्नो सफलताको उत्सव मनाइरहेका छन्, त कोही असफलतासँग सम्झौता गर्दै फेरि उठ्ने प्रयास गरिरहेका छन् । जीवनका यी सबै विषमताहरूलाई एउटै नीलो आकाशमुनि अँगालेर बाँच्नु नै सायद काठमाडौँको शाश्वत नियति हो ।
मैले अन्तमा मनन गरेँ— काठमाडौँ केवल पुगिने भौतिक ठाउँ मात्र होइन, अनुभूत गरिने जीवन हो । यहाँ रहरहरूले मानिसलाई डोर्याउँछन्, सङ्घर्षले उसलाई परिपक्व बनाउँछ, सम्झनाले उसको यात्रालाई अर्थ दिन्छ र सफलताले उसको छुट्टै पहिचान निर्माण गरिदिन्छ । यहाँ सबैका सपना पूरा नहोलान्, सङ्घर्षले चाहेजस्तो प्रतिफल नदेला; तर हरेक अनुभवले मानिसको भित्री संसारमा केही न केही नयाँ चेतना अवश्य लेखेर जान्छ ।
साहस, धैर्य, सङ्घर्ष, आत्मबोध र जीवनप्रतिको सकारात्मक दृष्टि नै सफलताका सच्चा सारथी हुन् । यो सहरले मेरा सबै सपनाहरू पूरा गरिदिएन होला, तर सपना देखिरहने र तिनका लागि निरन्तर लडिरहने साहस भने मलाई अवश्य दियो । मेरो अनुभूतिमा काठमाडौँ केवल एउटा ठूलो सहर मात्र होइन; यो त सङ्घर्ष, सफलता र रहरहरूको जीवन्त सङ्गम हो । मानिसलाई आफ्नै मनभित्रका कथाहरू खोज्न प्रेरित गर्ने माध्यम हो । त्यति मात्र होइन, समयसँगै दौडिन, परिस्थितिसँग जुध्न र असफलताभित्र सफलता खोज्न सिकाउने बहुरङ्गी जीवनको एउटा अविस्मरणीय अध्याय पनि हो !
— बाजुरा —


