कवि: प्रिन्स न्यौपाने
हे वीर हिमपुत्र ! निदायौ किन शिखरको काखमा ?
रोइरहेछ आज विश्व, आँसुका अथाह धारमा ।।
गर्जन्थ्यौ जुन साहस बनी, मौन भयौ एकैछिनमा ।
अमर भयौ वीरत्व बोकी, हिमशृङ्खलाको आँतमा ।।
हिउँले तिम्रो पाइला चुम्थ्यो, बतास गीत सुनाउँथ्यो ।
भीरपहराको हरेक ढुङ्गा, तिम्रै कथा गुनगुनाउँथ्यो ।।
चुचुरो–चुचुरो उक्लँदा त, आकाश पनि झुक्दथ्यो ।
नेपालको गौरव देखी, संसार नै नतमस्तक हुन्थ्यो ।।
थाकेनौ कहिल्यै यात्रामा, झुकेनौ कुनै आँधीमा ।
डराएनौ मृत्यु देखेर, अडिग रह्यौ प्रतिज्ञामा ।।
आफ्नो पसिना हिममा लेखी, साहसको इतिहास,
वीरताको अमिट ज्योति, बनायौ नेपालको श्वास ।।
आज हिमाल मौन बनेका, आज बादल रोइरहेछ,
हावाले पनि शोक मनाई, शिखर–शिखर डुलिरहेछ ।।
चीलहरू पनि मौन बनेका, खोँचखोँचमा प्रतिध्वनि छ,
तिम्रो सम्झनाले आज यहाँ, प्रत्येक मुटु भारी छ ।।
तिमी गयौ भन्न सक्दिनँ, तिमी त हिमाल बन्यौ ।
चुचुरोको उज्यालो बनी, अनन्त आकाश चढ्यौ ।।
हिउँका हरेक कणकणमा, तिम्रो नाम झल्किरह्यो ।
साहसका प्रत्येक शपथमा, तिम्रो स्वर गुञ्जिरह्यो ।।
हे वीर हिमपुत्र ! सुन न, देशले तिमीलाई खोज्छ ।
हरेक शिखर उक्लँदा अब, तिम्रै पाइलालाई रोज्छ ।।
नयाँ पुस्ताका आँखाभरि, तिम्रै सपना पलाउँछन् ।
असम्भवका बन्द ढोकाहरू, तिम्रै साहसले खुलाउँछन् ।।
नझर्ने फूल तिमी भयौ, नमेटिने नाम तिमी ।
नअस्ताउने घाम तिमी, नझुक्ने धाम तिमी ।।
जबसम्म हिमाल उभिन्छ, सूर्योदय हुन्छ,
तबसम्म हे वीर हिमपुत्र ! तिम्रो कीर्ति अमर रहन्छ ।।
शत–शत नमन, वीर सपूत !
नेपालको गौरव, अमर सपूत ।
हिमालले सधैँ तिमीलाई सम्झिरहोस्,
देशले सधैँ तिमीलाई गाइरहोस् ।
वीरत्वको त्यो उज्यालो दीप,
युगौँयुगसम्म बलिरहोस् ।
(नोट: यहाँ ‘वीर हिमपुत्र’ भनेर आदरणीय निर्मल पुर्जा ‘निम्सदाइ’लाई सम्मानस्वरूप सम्बोधन गरिएको हो ।)


