कवि: असल चरित्र
कोही छ जस्तो,
केही छैन जस्तो,
मझधारको विश्वासमा अडेको छ
सम्बन्ध !
केही जोडिए जस्तो,
कतै घटाइए जस्तो,
फगत गणितीय विश्वासमा अडेको छ
सम्बन्ध !
आवरण सोझो जस्तो,
आचरण कस्तो–कस्तो,
जबरजस्त विश्वासमा अडेको छ
सम्बन्ध !
साथी भनौँ डर लाग्छ,
फेरि उसकै भर लाग्छ,
यस्तो अलमलको विश्वासमा अडेको छ
सम्बन्ध !
साथी कसको हुँदैन ?
त्यो क्रूर अङ्गुलिमाल
अथवा
शान्त गौतम बुद्ध नै किन नहोस् ।
साथी नहुनु भनेको
जीवनबाट भागेर
परपर जानुजस्तै हो,
आत्मा !
अनि बस्नुजस्तै
कहीँ एक्लो सम्झनाको प्रतिबिम्बमा ।
यस्तै–उस्तै
ए… ! मेरो अतीतको प्रिय मित्र !
आगतमा म तिमीलाई
यतिविघ्न सम्झिरहेछु
र लेखिरहेछु
यो अधुरो कविता ।
सायद…
ओ… ! मेरो अतीतको प्रिय साथी,
यदि तिमी अझै हुन्थ्यौ भने
यो कविताको अन्त्य
शक्तिशाली बन्ने थियो ।


