कवि: दूरगामी माइला
हैन,
म कसरी काँडा भएँ ?
रहर फूल बन्ने थियो ।
सबैलाई आफ्नै बनाउने रहर थियो,
रहर रहर नै भयो,
म म नै भएँ ।
लाग्थ्यो सबैको उत्तम बनूँ,
समयले खत्तम बनायो ।
कसैको दिलको फूलबारी बनूँ,
कर्मले काँडाघारी बनायो ।
राम्रो सोचेँ, राम्रो काम गरेँ,
सबैलाई अपच्य बनिदियो ।
आखिर केचाहिँ राम्रो हो ?
मैले राम्रो खोज्दाखोज्दै
राम्रोको परिभाषा नै भुलेँ ।
कसैको उन्नति सोच्नु राम्रो हैन भने,
केचाहिँ राम्रो हो त ?
तिम्रो समाजका लागि ?
कसैलाई रुवाउनु राम्रो कि
कसैको आँसु पुछिदिनु राम्रो ?
कसैलाई गरिखान दिनु कि
गरिखाने बाटो खोसिदिनु राम्रो ?
कसैलाई पिट्नु कि
पिटिनबाट जोगाउनु राम्रो ?
मैले आफ्नै जिन्दगी ऐनामा फर्केर हेरेँ,
आफ्नै हृदयलाई सुन्दर देखेँ
र अत्यन्तै दुःखित बनेँ ।
त्यही भएर फुर्सदको बेला
विगत हेर्छु र पछुतो मान्छु ।
सायद यो दिल ढुङ्गा बनेको भए,
कोही हेम्बर बन्ने साहस गर्ने थिएनन् ।
नौनीजस्तै कोमल बनेछु,
बारम्बार तातो चम्चाले घोच्न आइरहन्छन्
र अनायासै घोचेर जान्छन् कोमल हृदय ।
म मान्छे हुँ, मलाई पनि दुख्छ,
नदुख्नका लागि त निर्जीव बन्नुपर्छ ।
निर्जीव बन्न नसक्नु मेरो गल्ती हो ?
कसैको घर उजाड पार्ने खहरे बन्नुपर्थ्यो,
खहरे बन्न नसक्नु मेरो गल्ती हो ?
एउटा सुन्दर समाज सोत्तर पार्ने भाइरल बन्नुपर्थ्यो,
भाइरल बन्न नसक्नु मेरो गल्ती हो ?
राम्रोको परिभाषा कहाँदेखि ल्याऊँ म ?
आफैँमा राम्रो बन्नु गल्ती हो ?
यदि हो भने तिमी सही थियौ,
म गलत थिएँ ।
आफ्नो दिनरातको मेहनत र पसिना
अर्कै नाममा राखिदिए पनि,
यो शरीर उसैका लागि काटिदिए पनि,
जमाना हाम्राको छ ।
म कसैको नजरभित्र पर्न सकिनँ,
त्यसैमा पछुतो छ,
किनकि
हाम्राको भीडमा ‘हाम्रो’ बन्न सकिनँ ।
यस कारण
म विगत फर्केर हेर्छु र पछुताउँछु ।
सायद म म नै बनेको भए,
म म नै रहने थिएँ ।
म अर्काको बनेँ,
तर अर्काको नजरका लागि
कहिल्यै नबिझाउने चोट नबनी रहन सकिनँ ।


