कवि: हरि सुवेदी ‘बादशाह’
ऊ राम्रो मान्छे तब भो, जब ऊ मुर्दा भो,
ऊ हाम्रो मान्छे तब भो, जब ऊ मुर्दा भो ।
समाजको माझमा, हरेक साँझमा, ऊ एक्लो भो,
सबैको साथ जब भो, उसकै लास कुर्दा भो ।।
पानी दर्किएको छ, ऊ कसलाई पर्खिएको छ ?
मान्छेको लामअघि, ऊ घरतिरै फर्किएको छ ।
कोही रुँदै छन्, सबै जम्मा हुँदै छन्,
अन्तिम क्षणमा पनि छुन कोही तर्किएको छ ।।
हात फेरिएका छन् अनि जमात फेरिएका छन्,
बात फेरिएका छन् अनि काँध फेरिएका छन् ।
कोही कसैको नहुने यो दुनियाँमा,
“पिर नगर हामी छौँ” भन्दै कोही घेरिएका छन् ।।
कोही शान्तमा देखिए, कोही एकान्तमा भेटिए,
हिजो पराइ भएका पनि आज आफन्तमा भेटिए ।
हिजोसम्म कसैको कोही नभएको ऊ,
आज उसकै जीवनको अन्त्यमा भेटिए ।।
राम नाम सत्य हो, गुमनाम अन्त्य भो,
हार–प्रहार अति अनि असङ्ख्य भो ।।
सानोमा आगोको झिल्कोले छुँदा, ऊ बेस्सरी रुँदा,
सहन नसकी छटपटाउने उसकी आमा;
ऊ कतै गएर त्यो दिन घरमा नहुँदा,
एक्लै रहन नसक्ने उसका बा;
आज आगो दन्दनी बल्दा,
शरीर भतभती पोल्दा,
लडेर मुढो भई एक शब्द नबोल्दा—
कसरी सहेका होलान् ?
मनलाई सम्हाली टक्क,
उसकै अगाडि कसरी रहेका होलान् ?
सानो कुरामै हार खाने उसका लागि,
यत्रो उमेर जिउँदै मरी कसरी रहे होलान् ?
मान्छे किन यसै मर्न तयार हुन्छ होला ?
उसका लागि त सबै रोए,
मरेर ऊ रुँदैन कि रुन्छ होला ?
“अब त आनन्द भयो मलाई” सोच्दो हो ऊ,
साँच्चै मरेपछि आनन्द हुन्न कि हुन्छ होला ?
जहाँ गयौ, जहाँ छौ, जहाँ हुनेछौ,
त्यहाँ नै तिमीलाई पुग्ने सबथोक मिलोस् ।।
जे यहाँ भेटेनौ,
तिम्रो आत्माले शान्ति पाओस् ।।
वैकुण्ठमा बास होस् !
हार्दिक श्रद्धाञ्जलि !


