कवि: सुप्रिया खनाल
थाकेको शरीर
अनि हारेको मन लिएर हिँडिरहेकी—
आखिर को हुँ म ?
एउटी दुःखी अभागी ?
कि भाग्यमानी ?
लाग्छ,
म एउटा अनुभव हुँ—
अन्तर्मनको त्यो अधुरो कथा,
जहाँ प्रश्नहरू थुप्रै छन्,
तर उत्तरहरू हराइरहेका छन् ।
कसैले
“खुसी छौ नि ?” भनेर गरेको प्रश्नमा
खिसिक्क ओठ मुस्कुराउँछ ।
त्यसै बेला मनले प्रश्न गर्छ—
के मुस्काउनु मात्र
खुसी हुनु हो ?
म नम्रताका साथ जवाफ दिन्छु—
यो समाजले खुसीको अर्थ
यत्तिमै सीमित गरेको छ ।
मलाई घरीघरी रुन मन लाग्छ ।
फेरि आँसुले प्रश्न गर्छ—
के रुनु मात्र
पीडाको औषधि हो ?
म उत्तर दिन्छु—
यदि होइन भने,
आँसु बगाएपछि
किन मन हलुका हुन्छ ?
जिन्दगी यस्तो ठाउँमा उभिएको छ—
जहाँ टेक्ने हाँगा छैन,
साथ भएर पनि
रुने काँध छैन ।
आफ्ना छन्,
तर कसैको साथ छैन ।
अनि,
मसँग के छ त ?
मसँग—
पूरा हुन नसकेका सपना छन्,
अधुरा प्रश्नहरू छन्,
गहिरो मौनता छ,
अझै नबोलेका दुःखाइहरू छन्,
बग्न खोजेका आँसु छन्,
मनभरि थामिन नसक्ने पीडा छ ।


