कवि: उद्धव देवकोटा
आकाशमा आकार भेट्टाउँछ,
पानीमा रङ देख्छ,
हावामा उमङ्ग स्पर्श गर्दछ,
रुन्छ,
फकिन्छ,
तरङ्गित हुन्छ,
पुलकित हुन्छ
र लड्बडिन्छ
ज्वार उठेको सागरजस्तै
अदृश्य शक्तिसँग ।१।
अँध्यारो रातमा पनि
टिलपिलाएका स–साना तारासँग
रमाउँछ,
बटुलेर प्रेमिल खुसीहरू
पोल्टाभरि
निस्फिक्री निदाउँछ
स्वर्णिम सपनामा ।२।
अश्वमेघ यज्ञपछि छाडेका
स्वच्छन्द घोडाजस्तै
चारै दिशा दौडिन्छ,
उड्छ
र
आकाशिन्छ ।
लाग्छ—यो मन
मन मात्र होइन,
हिलियम खाँदिएको बेलुन हो ।३।


