बरू बौलाउनु नै बेस हुन्छ
घरि आफ्नै अनुहार चिथोर्दै
घरि भेटेजतिलाई भकुर्दै
जथाभाबी गर्दै पागल हुन पाइन्छ
आफैँलाई धिकार्दै एकान्तमा रुन मिल्छ
समयलाई सराप्दै विरक्तिएर हिँड्ने छुट छ
आफैँले आफ्नो काजकिरिया गरी
आफैँलाई पिण्डदान गर्ने अधिकार पनि छ
तर, मान्छेलाई मर्ने सुविधा छैन !
हातबाट खसेको पूजाको थाली जस्तो मन सम्हाल्न
कसैले साथ नदिए पनि
सिकारीको वाण लागेको मृग जस्तो हृदय मलमपट्टी गर्न
कसैले मदत नगरे पनि
दन्त्यकथाको श्रापित पात्र झैँ भड्किरहेको आत्माप्रति
कसैले सहानुभूति नदेखाए पनि
धमिराले खाएको काठ जस्तो शरीर
सकिनसकी आफैँले स्याहार्नु परे पनि
मान्छेलाई मर्ने सुविधा छैन !
दसैँमा मान्यजनबाट थापेको आशीर्वाद जस्तो सम्बन्ध
बल्झिरहने घाउको खाटो जस्तो भए पनि
तिहारमा बहिनीले लाइदिएको सप्तरङ्गी टीका जस्तो सपना
रङ खुइलिएको लुगा जस्तो भए पनि
लक्ष्मीपूजाको साँझ सिँगारिएको काठमाडौँ सहर जस्तो जिन्दगी
बसाइँसराइले रित्तिएको गाउँ जस्तो भए पनि
मान्छेलाई मर्ने सुविधा छैन !
सुकुमबासी बस्तीको अभाव भोग्नु परोस्
शरणार्थी शिविरको समस्या झेल्नु परोस्
बारुदको धुवाँमा सास फेर्नु किन नपरोस्
बङ्करभित्र लुकेर बस्नु किन नपरोस्
पाइला पाइलामा एम्बुस थापिएको भए पनि
टाउकैमाथि बमवर्षक विमानले चक्कर काटिरहे पनि
प्रियजनको चिहानमा आँसु चढाउन नपाए पनि
अर्थात्, शिशु मरेको सुत्केरीका दुध गानिए झैँ
मुटुमा व्यथा गानिए पनि
मान्छेसँग बाँच्नुको विकल्प छैन !
आफ्नै देशमा आत्मसम्मान गुमाएको मानिस होस्
या बर्सौँ घर फर्किन नपाएको परदेशी होस्
जीवनमा स्त्रीको प्रेमपूर्ण स्पर्श नपाएको पुरूष होस्
या पुरूषको छातीमा घोप्टिएर रून नपाएकी स्त्री होस्
पतिद्वारा वेश्यालयमा बेचिएकी पतिव्रता होस्
या छोराद्वारा वृद्धाश्रम छोडिएकी बुढी आमा होस्
जन्मिनासाथ फोहोरमा फालिएको शिशु किन नहोस्
कसैलाई मर्ने सुविधा छैन !
यो दुनियाँदेखि दिक्क भइसक्दा पनि
आफ्नै जिन्दगी वाक्क लागिसक्दा पनि
तपाईं मर्न पाउनु हुन्न
किनकि तपाईं मर्दा तपाईं मात्रै मर्नु हुन्न
एउटा जीवन ढल्दा एउटा जीवन मात्रै ढल्दैन
तसर्थ तपाईंलाई मर्न मन भए पनि
अरुलाई मार्न पाउनु हुन्न
र त बाँच्ने बहाना कुनै बाँकी नरहँदा पनि
मान्छेलाई मर्ने सुविधा छैन ।।