जबदेखि
गजलको रथ कस्तो हुन्छ भनेर थाहा पाएँ
छोडिदिएँ चढ्न गजलको रथ !
जबदेखि
कविताको महल कस्तो हुन्छ भनेर थाहा पाएँ
त्यागिदिएँ कविताको महललाई !
जबदेखि
कथाको खर्पन कस्तो हुन्छ भनेर थाहा पाएँ
भाँचकुँच पारेर फ्याँकिदिएँ कथाको खर्पनलाई !
जबदेखि
उपन्यासको पर्खाल कस्तो हुन्छ भनेर थाहा पाएँ
जताततैबाट प्रहार गरेर
गर्ल्यामगुर्लुम ढालें
उपन्यासको पर्खाललाई !
जबदेखि
मुक्तकको छडी कस्तो हुन्छ भनेर थाहा पाएँ
टाढा टाढा पुग्ने गरी मिल्काइदिएँ
मुक्तकको छडीलाई पनि !
अचेल म मुक्त छु
यी गजल, कविता, कथा, उपन्यास र मुक्तकबाट !
अचेल त केवल गनगन लेख्छु
अचेल त केवल गाली लेख्छु
अचेल त केवल मनका गथासा लेख्छु
अचेल त मनका कुण्ठा लेख्छु !
अनि आत्मरतिको शिखरमा उक्लेर
नियाल्छु अहमताका आँखाले
आफ्नै सिर्जनाका फाँटहरु !
भ्रमका पँखेटाहरु लगाएर
अझैमाथि, अझैमाथि पुग्छु
झन माथि माथि पुग्छु
र गाउन थाल्छु आफ्नै प्रशंसाको गीत !


