ओढेर बालुवाको पछ्यौरी
चढेर लहरको डुङ्गा
सुस्त सुस्त आएको बतासले
तिम्रा मसिना केश चलाएको
औधी मन पर्यो मलाई त्यो दृष्य
तिम्रा सुन्दर मसिना औंलाहरूले
फूललाई सुस्तरी खेलाए
फूल मुस्कुरायो
मलाई असाध्यै मन पर्यो त्यो पल
ओठसम्म पुर्याएर
ती साना औंलाका संकेतले
नउडाउन भन्छ्यौ पुतलीहरू
बिदाईमा हात हल्लाए झै
बुट्टेदार पखेटाले
छोडेर उडी जान्छन् पुतलीका बथान
म हेर्छु आकाश र
आकाश जस्तै निलो नातिनीको आँखा
पुतलीसंगै
तिम्रो मन पनि पुतली झै
आकाश छुन लम्केको देख्दा
लाग्छ पुतलीहरू छोपेर
तिम्रा साना हत्केलामा राखुँ र रमाउँ
मेरी नातिनी
तिमी पुतली जस्ती होइनौ
तिमी जस्तै छ पुतली र त ऊ सुन्दर छ
अझ भनौं ?
सुन्दर छ तिम्रो बालापन
नातिनी !
तिम्रो मन जस्तै
आकाश छुन उडान भरेका पुतलीसंगै
तिम्री हजुरमा पनि
उमेरले बाँधिएको चङ्गा रूपी मनको
धागो समातेर उड्छिन् र फेरि एकपटक
फर्किन्छिन तिम्रै उमेरमा ।
– सुमन थापा ‘सङ्गम’



