आज अकस्मात् याद आयो
गाउँको एक जना हलीको
ऊ सधैं माटोको विरोध गर्थ्यो
धाँजा पारेर दिनभरि जोत्थ्यो खेतको पेटैमा
माटोको डल्ला फुटाल्थ्यो टाउकै टाउकै
भन्थ्यो बर्बराउँथ्यो गाली गर्थ्यो
नाथे ! माटो जति मल हाल्दा पनि मलिलो हुँदैन
सधैं माटोको विरुद्धमा हुन्थ्यो
तर माटो नबोलेरै
बिना प्रतिशोध
माटोले दिन्थ्यो सुन्दर,कोमल मकैका पोथ्राहरु
मकैका भरिला घोँगाहरु
जब खेत हराभरा हुन्थ्यो
तब आफूलाई ईश्वरको विरोधमा उत्रिएकोमा रुन्थ्यो
माटोको विरुद्धमा उठेकोमा रुन्थ्यो ।
लाग्छ जस्ले गर्छ, गाली पनि गर्छ
हुनेतिर उजेलो नहुनेतिर अँधेरो
लाग्छ कविहरु पनि भ्रष्ट हुँदैछन्
यिनीहरु पनि बिकाउ छन्
माटोको विरुद्धमा जुरुक्क उठ्छन्
म पनि हलो अड्काउने हली पर्छु कि कुन्नि?
अचेल कसैले चोकतिर गन्दैनन्
एउटा हली एउटा हलनटाट ।
✍️निम्बतरु



