तिमीसँगको यात्रा
अझै केही परसम्म तन्कियोस्
लम्बिएर दौडिरहुन गोरेटोहरू
पर पर अझ पर क्षितिजसम्मै
आकाशमा टाँगिएको घामको
यो मधुरो टुकी अझै केही बेर
अरु केहीबेर बलिरहोस्
जीवनको मधुरो प्रकाश छरेर तिम्रो आभाभरि ।
निख्रिएरै जाउन बरू
हृदयभित्र छचल्किरहेका प्रेमालाप
साउतीको भाषामा बोलिरहुन आँखाहरू एक आपसमा
मुटुको धड्कनहरू निर्बाध दोहोरी खेलिरहुन् एक अर्कासँग
हिडिरहुन
अनभ्यस्त पाइलाहरू बतासको सुस्त हात समातेर
अझै केही बेर देउराली,
भञ्ज्याङ अनि लेकका
एकलास छातिहरूमा अल्झिएर, अलमलिएर अझै केही बेर…
बसालेर तिमीलाई
आँखाभरि, मुटुभरि अनि मनभरि
सँगालिरहुँ यादका मिठा-मिठा बतासहरू
अझै केही बेर, अरु केही बेर
अनि जीवन भरिलाई पुग्ने गरि
बटुलिरहौं स्मृतिका कोसेलीहरू
फैलाउँदै
अँगालो गोरोटोहरूले
अझ केही बेर अझै केही परसम्म
सँगै हिडिदेउ भनिरहेका थिए
मोडिएकै ठाउँमा कुरिरहन्छु
भनिरहेका थिए दोबाटोहरूले पनि
भ्रमकै पोखरीमा डुबुल्की मार्दै
म पौडिँदै थिए तिम्रो मायामा
तर
फेरि सोचे
तिमीलाई बिदा गरेपछि फर्कनु पनि त छ
एक्लै यति लामो बाटो
तिम्रो अनुपस्थितिमा
भिजेको कपास भन्दा गह्रुङ्गो भएर
आँखामा आइदिने तिम्रा यादहरू
सम्हालेर कहाँ राख्नु ?
कता लुकाउनु तिमी अनि तिम्रा
स्मृतिका ग्रीष्म सिरेटोहरूले
पोल्दा/रोप्दा आफूलाई ?
माफ गर
यात्रा बीचै छाडेर तिमीलाई
म पुरानै बाटोमा फर्किएको छुँ यतिबेला
एक्लै नितान्त एक्लै ।।
– मिरमा



