रातको निस्सन्धी छायाले शहरलाई ढाकेको थियो।
उज्यालो निभ्दै गर्दा उसको मनको गहिराइमा एक अँध्यारो तरल थियो।
दिनभरको थकानले उसको शरीर बिसाउन चाहन्थ्यो
तर त्यो रात एक्लै कोठाको कुनामा बसेर आफ्ना आँसुहरूसँग संवाद गर्दै थियो।
“छोरा मान्छे रुन्नन्,” उसका कानमा यी समाजका शब्दहरू गुञ्जियो
तिमी बलियो छौ, रुनु हुँदैन आमाका यी शब्दहरू सम्झियो
बलमा पनि वेदना हुने रैछ भन्ने कुराले उ स्वीकार्यो
उसका ती आँसु कसैले देख्छन् कि झस्कियो।
तर आज उसको मनका छालहरू रोक्न सकेन।
उसले दिने झुठो मुस्कानले आज उसको आँसु छेक्न सकेन
आँखा बन्द गर्यो,
आँसुका केही थोपाहरू छेउमा राखीएको सिरानीमा खस्यो।
आफ्ना कुरा कसलाई सुनाऊँ?
“उसले आफूलाई प्रश्न गर्यो।”
के कसैले बुझ्नेछ मेरो मनको यो समुद्रलाई?
“तर सधैँजस्तै, उसका प्रश्नहरू आज पनि मौनतामै हराए।
“म बलियो छु,”
उसले आफैँलाई फेरि सम्झाउन खोज्यो।
तर भित्रभित्रै, उसको मन आज एक अथाह समुद्र भएको थियो,
जहाँबाट पीडाका छालहरू अटुट रूपमा उर्लिरहन्थे।
उ हरेक दिन बिहानको उज्यालोसँगै दौडन्थो,
थकित पाइलाले जिन्दगीको कथा लेख्थो
मुस्कानले पीडा छोप्थो,
तर आज उ आँसुका छालहरू रोक्न सकेन ।
कोही थिएन, जो उसका आँसु पुछ्न सक्थे,
कोही थिएन, जो उसका शब्द सुन्न सक्थे।
त्यसैले ऊ आँसु लुकाएर बस्थ्यो,
तर आज उ आँसुका धारहरू थाम्न सकेन ।
त्यो रात, आँसुले गालामा लामो समयसम्म चुम्यो ।
उ जुन तारा हेरेर रूँदै थियो।
आँसु धेरैबेर सुकेको थिएन
तर मन भने केही हलुका भएको थियो।
उसले गहिरो महसुस गर्यो,
“छोरा पनि रुन्छन्”
– असिम देव तिवारी




