हामी कुनै अर्थ नभएको
समयको चेपमा छौँ
अर्थ विहीन समयको
अनर्थ समयमॉंझ हामी छौँ ।
मन आन्दोलित भइरहेछ
मनसँगै आन्दोलित छ समय
उहीँ निरस भाकामा लोलाउदै छ
टोलाउँदै छ समय ।
समयको घेराभित्र
मेरो जस्तै
तिम्रो पनि समय
बक्ररेखाभित्र
अल्मलिइरहेको छ
एउटा निश्चित गोरेटो
पर्खिरहेछ समय ।
समयको घेरामा
कैद भएको समय
अलमलिइरहेछ
जीवनको रङसँग
बल्ल बल्ल लगाएको अलकत्राको क्रिम माथि
चकमन्न समयले
थुपारेको फोहोर मैलाले
कुरुप समय जस्तै बनेको छ
मान्छेको जीवन ।
देशमा नेताहरूको
पुरानै चर्तिकला देखेर पनि
किन अल्मलिन्छ समय ?
समय भनेको
नियमित र निरन्तर आन्दोलन हुनसक्छ
समय भनेको
आडम्बरी यात्रामा निस्केको
हतियारधारी
धुवाँको लप्का जस्तै हुनसक्छ
अहिले जुन उडिरहेछ हावामा
समयको पदचाप भएर
ढुङ्गा र माटोको
आकृति माझबाट
ठिङ्ग उभिएको समय पनि
निर्धो बनेको छ।
अभाव, पिडा, तृष्णा
र महामारीको
शोक धुन बजाउँदै मस्त छ समय ।
मिर्मिरे उज्यालो
लिएर
तिमी आउँदै रहेछौ
आमाको काखबाट
सिङ्गो धरातल टेकेर
मुस्कुराउँदै आइरहेछौ
सिमसिमे पानीमा
अहङ्कार पन्छाउँदै
तिमी आइरहेको देखेँ
मृत्युको जुलुसमा
दियो बाल्न
तिमी आइरहेको देखेँ ।
समयको बक्ररेखामा
मृत्यु जित्ने सञ्जीवनी बोकेर
समय जित्ने दाउमा
एउटा वीरको स्वरूप लिएर
तिमी आएपछि भेटेँ
घोर अन्धकार हटाउन राँको बोकेर आएका तिमीलाई देखेँ
समय जित्ने लौरो बोकेका तिमीलाई चिने ।
हो, अब समय बक्ररेखा हुने छैन
मैले समयलाई राम्रोसँग चिने
समय बक्ररेखा हुने छैन ।
– रश्मि रिमाल
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।