हामी कुनै अर्थ नभएको
समयको चेपमा छौँ
अर्थ विहीन समयको
अनर्थ समयमॉंझ हामी छौँ ।
मन आन्दोलित भइरहेछ
मनसँगै आन्दोलित छ समय
उहीँ निरस भाकामा लोलाउदै छ
टोलाउँदै छ समय ।
समयको घेराभित्र
मेरो जस्तै
तिम्रो पनि समय
बक्ररेखाभित्र
अल्मलिइरहेको छ
एउटा निश्चित गोरेटो
पर्खिरहेछ समय ।
समयको घेरामा
कैद भएको समय
अलमलिइरहेछ
जीवनको रङसँग
बल्ल बल्ल लगाएको अलकत्राको क्रिम माथि
चकमन्न समयले
थुपारेको फोहोर मैलाले
कुरुप समय जस्तै बनेको छ
मान्छेको जीवन ।
देशमा नेताहरूको
पुरानै चर्तिकला देखेर पनि
किन अल्मलिन्छ समय ?
समय भनेको
नियमित र निरन्तर आन्दोलन हुनसक्छ
समय भनेको
आडम्बरी यात्रामा निस्केको
हतियारधारी
धुवाँको लप्का जस्तै हुनसक्छ
अहिले जुन उडिरहेछ हावामा
समयको पदचाप भएर
ढुङ्गा र माटोको
आकृति माझबाट
ठिङ्ग उभिएको समय पनि
निर्धो बनेको छ।
अभाव, पिडा, तृष्णा
र महामारीको
शोक धुन बजाउँदै मस्त छ समय ।
मिर्मिरे उज्यालो
लिएर
तिमी आउँदै रहेछौ
आमाको काखबाट
सिङ्गो धरातल टेकेर
मुस्कुराउँदै आइरहेछौ
सिमसिमे पानीमा
अहङ्कार पन्छाउँदै
तिमी आइरहेको देखेँ
मृत्युको जुलुसमा
दियो बाल्न
तिमी आइरहेको देखेँ ।
समयको बक्ररेखामा
मृत्यु जित्ने सञ्जीवनी बोकेर
समय जित्ने दाउमा
एउटा वीरको स्वरूप लिएर
तिमी आएपछि भेटेँ
घोर अन्धकार हटाउन राँको बोकेर आएका तिमीलाई देखेँ
समय जित्ने लौरो बोकेका तिमीलाई चिने ।
हो, अब समय बक्ररेखा हुने छैन
मैले समयलाई राम्रोसँग चिने
समय बक्ररेखा हुने छैन ।
– रश्मि रिमाल




