आज धेरै वर्षपछि रुबीलाई अकस्मात् देख्दा म हेरेको हेऱ्यै भएँ । मैले सपनामा पनि चिताएको थिएन कि रुबी मेरो सामु देखा पर्छिन् भनेर ।
मैले नियालेर हेरे, हो उनी रुबी नै थिइन् । धेरै वर्ष नदेखे पनि रुबीलाई चिन्न मलाई गाह्रो भएन ।
जिन्स पाइन्ट, लेदर ज्याकेट र गगल्सलाई डिपार्टमेन्ट स्टोरमा सपिङ गरिरहेकी रुबिलाई मैले टाढैबाट चिनेँ।
सोच्दै नसोचेको कुरा घटे जस्तो उनलाई अनायस भेट्नु मेरा लागि सुखद आश्चर्य थियो । म छिटो-छिटो उनको नजिक हतारिएर पुगें । एक मनले त रुबीलाई नभेटूँझैँ लाग्यो तर उनको सामीप्य प्राप्त गर्न मन लालायित भयो ।
सायद रुबीले मलाई देखिनन् क्या रे ! उनी फटाफट अघि बढिन् ।
‘रुबी SSS,” मैले सुस्तरी बोलाएँ ।
मैले मानिसहरूको भिडलाई चिर्दै उनलाई पछ्याइरहें । डिपार्टमेन्ट स्टोरको गेटतिर पुगेपछि मैले अलि ठूलो स्वरले बोलाए, ‘ए रुबी SSS ।”
बल्ल उनले फर्केर हेरिन् । सायद मलाई चिनिनन् क्यारे । अपरिचितले झैँ उनले मलाई नियालेर हेरिन् । सायद चिनिनन् क्यारे । ‘एक्सक्युज मी, मैले तपाईंलाई चिनिनँ नि,’ उनले अंग्रेजी भाषामा बोलिन् ।
‘तिमीले मलाई चिनिनौ, म सुशान्त ।”
‘ओहो ! कस्तो सुखद आश्चर्य ।’ रुबीको अनुहारभरि प्रसन्नता छरियो ।
‘ओहो । सुशान्त !’ उनले मलाई ग्वाम्लाङ्ङ्ग अँगालो हालिन् ।
“के गरेकी यार ।” म सकसकाएँ ।
“यो अमेरिका हो । यहाँ यसरी नै अभिवादन गरिन्छ आफ्ना मित्रलाई,” उनी म लजाएको देखी हाँसिन् ।
‘कस्तो चिन्नै नसकिने भएछौ । निकै मोटाएछौ,’ उनले मलाई तलदेखि माथिसम्म दृष्टि फ्याँक्दै भनिन् ।
‘आज विकेन्ड, म फ्री छु। हिँड म सित ।
उनले कारको ढोका खोली बस्ने आग्रह गरिन् । म उनीसितै अगाडि सिटमा बसें । त्यसपछि गाडी न्युयोर्कको चिप्लो फराकिलो सडकमा तीव्र गतिमा हुइँकियो । उनको ध्यान गाडी हाँक्नमा केन्द्रित भइरह्यो । मचाहिँ ऐनाबाट न्युयोर्कको गगनचुम्बी घरहरू पछाडि दौडिरहेको हेरिरहें ।
करिब आधा घण्टाको ड्राइभपछि गाडी दुईतले घरअगाडि रोकियो ।
‘यो मेरो घर हो,’ कारबाट ओर्लिंदै भनिन् ।
घरको ढोका उघारेर रुबीले मलाई आफ्नो घरमा स्वागत गरिन् ।
‘वेलकम टू माई होम,’ उनले गाडीको ढोका खोल्दै सुशान्तलाई आफ्नो घरभित्र लगिन् ।
बैठककोठामा बसाएर उनी फ्रेस हुन रेस्टरुमतिर लागिन् ।
मैले सरसर्ती बैठककोठालाई निरीक्षण गरेँ । सजिसजाउ बैठककोठाका भित्तामा नेपालका मन्दिरहरूका चित्र झुन्ड्याइएका थिए । बीचको भित्तामा कोठाको आँखीझ्याल थियो भने कुनातिर टाँसिएको एउटा तेलचित्रमा गई मेरा आँखा ठोक्किए ।
त्यो चित्र मैले उनलाई नेपालमा उनको जन्मदिनमा उपहार दिएको थिएँ ।
तेलचित्रअगाडि गई म उभिएँ । तेलचित्रको मुन्तिर केही शब्दहरू लेखी पेस्ट गरिएको थियो, ‘सुशान्त म सदा तिमीसित छु ।’
म पढेर हर्षविभोर भएँ ।
मैले सोचेको थिएँ, रुबीले मलाई बिर्सिसकिन् । उनी अमेरिका आएपछि यहाँको भौतिक संसारमा हराइसकिन् । तर मेरो सोचाइ गलत रहेछ ।
वर्तमानबाट उडेर मेरो मन विगतमा कावा खान थाल्यो ।
म र रुबी सहपाठी थियौं । हामीमा प्रगाढ मित्रता थियो । केटी भए पनि रुबी केटा जस्तै निर्भीक र निडर थिइन् । केटा साथीहरूसित निर्धक्क बोल्थिन् र हाँसखेल गर्थिन् । अरू केटीहरू जस्तो सङ्कुचित विचारधारा उनमा थिएन । जे कुरा पनि निसङ्कोच खुल्लमखुला गर्थिन् । सबले उनलाई ‘विन्दास’ भनेर संज्ञा दिएका थिए । उनले यही व्यवहार र स्वभावले मलाई उनको निकट पुऱ्याएको थियो । स्वच्छन्द भए पनि निष्कपट र निश्चल र साह्रै इन्टेलिजेन्ट थिइन् ।
पढ्नमा तेज हुनाले क्लासमा सबैलाई उछिन्थिन् । उनीलाई उछिन्न सबले मिहिनेत गर्थे तर उनी सधैं प्रथम हुन्थिन् र मचाहिँ द्वितीय । हामी दुईमा एक-अर्कालाई उछिन्ने सधैं होडबाजी चल्थ्यो । एक दिन मैले भनें, ‘यार, जति नै प्रयास गरे पनि मैले तिमीलाई उछिन्न सकिनँ ।”
‘ट्राई एन्ड ट्राई अगेन, रुबी मुसुक्क हाँसेर भन्थिन् । आइएस्सीसम्म हामीले सँगै एउटै क्याम्पसमा अध्ययन गऱ्यौँ । आइएस्सीमा उनले डिस्टिङसन ल्याइन् भने म प्रथम श्रेणीमा उत्तीर्ण भएँ । त्यसपछि हाम्रो बाटो छुट्टियो । स्कलरसिप पाई मेडिकल पढ्न उनी अमेरिकातिर लागिन् । मचाहिँ काठमाडौंमै पढ्न बाध्य भएँ ।
हामी दुईबीचको मित्रता यति प्रगाढ थियो कि एक दिन भेटेनौं भने मलाई छटपटी हुन्थ्यो । क्याम्पसमा हामी साथै बस्थ्यौं र परीक्षाको समय कम्बाइन्ड स्टडी गथ्यौँ । एक-अर्काका समस्या आपसमा बाढ्थ्यौँ । सबैले हामीलाई ‘रोमियो एन्ड जुलियट’ भनेर जिस्क्याउँथे तर हामीमा प्रगाढ मित्रता भए पनि हामीभित्र प्रेम मौलाएको थिएन । हाम्रो मित्रता, मित्रतामा मात्र सीमित थियो ।
जब उनी स्कलरसिप पाएर अमेरिका जाने निश्चित भयो, तब म साह्रै विचलित भएँ । उनीसितको विछोडको कल्पना मात्रले मेरा रौं-रौं काँप्न थाले । उनीबिनाको जीवन मलाई अधुरो लाग्न थाल्यो । तब मैले अनुभव गरेँ, म उनलाई हृदयले चाहेको रहेछु । मैले यो पनि महसुस गरें कि उनी मेरो जीवनको एक अभिन्न अङ्ग बनिसकेकी रहिछिन् ।
मेरो मन उनीसितको विछोडको कल्पनाले मात्र हाहाकार भयो । उनी उज्यालो भविष्यतिर अग्रसर हुनु मेरा लागि खुसीको कुरा भए पनि उनीबिनाको संसार अँध्यारो हुने सम्झी म छटपटाउन थालें ।
उनले केही साथीलाई घरमा बिदाइको पार्टी दिएकी थिइन् । सबैले उनलाई बधाई दिए तर मैले बिदाइको त्यस पार्टीमा अश्रुमिश्रित नयनले भनें, “रुबी, आई विल मिस यू।” रुबीले पनि हाँस्दै भनेकी थिइन्, ‘आई विल अल्सो मिस यू ।
मेरो अश्रुमिश्रित नयनतिर हेर्दै भावुक बनेर उनले भनिन्, सुशान्त हामीबीच भौगोलिक दूरी भए तापनि म सधैँ तिम्रो नजिक हुनेछु । सम्झ, मेरो शरीर तिमीबाट टाढा भए पनि मनचाहिँ तिमीसितै छ ।
उनले यसो भनेपछि मेरो मन बुझिरहेको थिएन । उनीसित छुट्टिनु अघिल्लो रात म निदाउनै सकिनँ । रुबीको विछोडको पीडामा म चुर्लुम्म डुबिरहें । मनमा घरी-घरी अनेक शङ्काहरूले आई मलाई डस्न थाले, कतै रुबीको साथ सदाका लागि छुट्ने त होइन ? टाढा भए पनि मन पनि टाढा हुन्छ, अमेरिका गएपछि अर्कै साथी बनाउने त छैनन् ?
एयरपोर्टमा उनीलाई बिदाइ गर्न जाँदा रातो गुलाफको गुच्छाले बिदा गर्दै मैले पहिलो पटक प्रेमको उद्गार पोखें, ‘आई लभ यू । डोन्ट फर्गेट मी ।’ यसो भन्दा मेरो गला अवरुद्ध भयो । मेरा आँखा रसाएर आए ।
उनले मतिर हेर्दै भनिन्, ‘आई विल नेभर फर्गेट यू । म तिम्रो सधैँ साथ रहनेछु ।’
त्यसपछि उनी हवाईजहाज चढेर आकाशमा विलाइन् । उनी गएपछि हेर्दै म धेरै बेर टोलाइरहें । यस्तो लाग्यो मानौँ मेरो हृदय नै चुँडिएर ऊसित गएको हो कि जस्तो भयो मलाई ।
उनी अमेरिका गएपछि मेरो जीवनमा निराशा छायो । मलाई केही गर्ने उत्साह भएन । संसार नै बिरानो लाग्यो मलाई । मेरो मनले उनलाई हरपल, हरक्षण सम्झन थाल्यो । रुबीलाई कहाँ देखूँ, कहाँ भेटू जस्तो भई मेरो मन विचलित हुन थाल्यो ।
पत्रैपिच्छे रुबीले मलाई सम्झाउँथिन्, ‘सुशान्त, हामीबीचको मित्रता प्रगाढ छ, कहिल्यै टुट्ने छैन । हामीले अहिले केही नसोची आफ्नो ध्यान पढाइमा केन्द्रित गर्नुपर्छ । हाम्रो अहिलेको समय, पढ्ने समय हो । पढाइलाई नै हामीले प्राथमिकता दिनुपर्छ । त्यसैले तिमीले पनि सम्पूर्ण ध्यान पढाइमा केन्द्रित गर । आ-आफ्नो पढाइसकेपछि फेरि हामी एक-अर्कानजिक हुने नै छौँ।’ तर मेरो ध्यान पढाइमा पटक्कै जाँदैनथ्यो । केवल उनको पत्रको प्रतीक्षामा नै बित्थ्यो ।
आजभन्दा दश वर्षअगाडिको कुरा हो यो । अहिले जस्तो इमेल र फेसबुकको चलन त्यति थिएन । अहिले जस्तो भए हाम्रो भेटघाट फेसबुक र इमेलमा हुन्थ्यो होला ।
बिस्तारै-बिस्तारै पढाइको व्यस्तताको चापले गर्दा होला, रुबीले पत्रचार कम गर्दै गइन् । हामीबीचको सम्पर्क पातलो हुँदै गयो ।
रुबीको प्राथमिकता पढाइ थियो । उनको सपना उच्च शिक्षा हासिल गर्नु थियो । एमबिबिएसमा युनिभर्सिटीमा टप गरी उनले मास्टर गर्न थालिन् । उनको पढाइ कहिल्यै टुङ्गिएन । आठ-दश वर्षको दौरानमा उनी एकपल्ट मात्र नेपाल आइन् ।
मैले अब रुबीलाई टाढाको हिमाल सम्झेँ । उनी मेरा लागि चाहेर पनि छुन नसकिने चन्द्रसरि भइन् । मेरो सल्किरहेको मनमा उनी कहिले जून बनी उदाउने हुन्, त्यसको सम्भावना पनि कम देख्न थालें ।
समयको गतिसितै मेरो उनीप्रतिको पागलपन कम हुँदै गयो । मैले उनलाई हृदयको एक कुनामा थन्क्याउन बाध्य भएँ । मेरो धैर्यको सीमाले नेटो काट्यो ।
त्यसपछि मैले उनको बाटो हेरिनँ । अभिभावकको करकाप र घरव्यवहार चलाउन बिहे रचाएँ ।
“सरी, मैले तिमीलाई धेरै बेर कुराएँ हगि ? नुहाएको छोटो कपाललाई गर्दनभरि फिजाएर उनी मेरो सामु बसिन् ।
उनी पहिलेभन्दा परिपक्व र सुन्दर देखिइन् । म हेरेको हेऱ्यै भएँ, मुग्ध भएर ।
‘अब भन, के छ तिम्रो हालखबर ? किन तिमीले मसित सम्पर्क गर्नै छोड्यौ ?”
मैले केही बोल्न उचित ठानिनँ । केवल टुलुटुलु उनको मुहारमा हेरिरहें । के भनूँ र के बोलूँ जस्तो भइरह्यो ।
“कफी पिउँछौ ?”
मेरो प्रत्युत्तर नपर्खी उनले दुई कप कफी बनाएर टेबलमा राख्दै भनिन, ‘केही बोल्दैनौ ?
‘के बोल्ने, बोल्ने, विषय नै छैन,’ मैले मुख खोलें ।
‘मेरो बारे केही जान्न चाहँदैनौ ?
“आफैं भन न त,’ मैले दोमनले भनें ।
‘होइन, तिमी त एकदम बेग्लै भएछौ । कहाँ गयो तिम्रो चुलबुलेपन र हँसीमजाक गर्ने बानी ? तिमी त घुम्मिएको बादल जस्तै भएछौ ।’
“मलाई मुख फोरेर भन्न मन लाग्यो, त्यसको कारक तत्त्व तिमी नै हौ। तिमीले मेरो सारा खुसी चुँडालिदियौ,” घाँटीसम्म आइसकेको कुरालाई मैले बीचमै रोकें । प्रथम भेटमै नमीठो बोल्न मनले खबरदारी गऱ्यो ।
“थाहा छ तिमीलाई, म यहाँको नामी मेडिकल कलेजमा प्रोफेसर छु । म साह्रै व्यस्त छु । पढाइका साथसाथै मैले रिसर्च पनि गरिरहेकी छु । मलाई त साँच्चै भन्ने हो भने खानसमेत फुर्सद छैन । बल्ल मेरो सपना पूरा हुँदै छ, जसको प्रतीक्षाका लागि मैले दिनरात एक गरेकी छु,” उनले उत्साहित हुँदै भनिन् ।
‘मेरो सपना भताभुङ्ग गरी तिमीले आफ्नो सपना पूरा गरिछ्यौ, बधाई त दिनैपर्छ तिमीलाई, अनायासै मेरो मुखबाट यी कुरा फुत्किए ।
“के भन्दै छौ तिमी हँ ?” रुबीको आवाज कठोर भएको चाल पाएँ मैले ।
“हो रुबी, म जे भन्दै छु तिमीलाई कटु लाग्ला तर यसमा सत्यता लुकेको छ । तिमीबाट अलग्गिएपछि मेरो जीवन लथालिङ्ग भयो । मैले आफूलाई सम्हाल्न सकिनँ, न आफ्नो जीवनलाई सही दिशामा मोड्न सकें । तिमी मेरो आत्मबल थियौ, तिमीले छोडेर आएपछि म निर्बल भएँ ।
‘धेरै सेन्टी नहोऊ । जीवनमा लक्ष्य भेट्टाउन धेरै सङ्घर्ष गर्नुपर्छ । कोरा भावुकताले जीवन अघि बढ्दैन । मैले सधैँ तिमीलाई बलियो र सबल देख्न चाहें, तिमी त निर्बल पुरुष रहेछौ । मैले आफ्नो लक्ष्य निर्धारित गरें र त्यसको प्राप्तिका लागि सङ्घर्षशील भइरहें, लक्ष्यतिर निरन्तर लम्किरहें । तर तिमीले आफ्नो लक्ष्य निर्धारित गर्न सकेनौ । फोस्रो प्रेमको अभिनय गर्नतिर लाग्यौ । तिम्रो प्रेम, प्रेम नै होइन । प्रेमले त सधैं ऊर्जा दिन्छ, उत्साह भरिदिन्छ भन्दै रुबी केही उत्तेजित देखिइन् ।
म एकछिन उनको कुरा सुनेर रन्थनिएँ । कता-कता मलाई उनको कुरामा सत्यता लुकेझैँ लाग्यो । हुन पनि हो मैले प्रेमको अभिनय मात्र गरेँ जस्तो लाग्यो, त्यसको सम्मान गर्न जानिनँ । किनकि ममा धैर्य थिएन, आत्मविश्वास थिएन र थिएन रुबीप्रति आस्था र विश्वास । उनको कुरा सुनेपछि मेरो ज्ञानको चक्षु खोलेझैँ लाग्यो ।
मैले स्वीकारोक्ति जनाउँदै भनें, ‘माफ गर रुबी, म तिमी जस्तो इन्टेलिजेन्ट छैन । तिम्रो यही स्वभावले मलाई तिमीप्रति आकर्षित गरेको थियो । तिम्रो सङ्गतले मैले तिमीबाट केही सिक्न सकिनछु । तिमीले भनेको कुरा सत्य हो, प्रेमलाई हेर्ने मेरो दृष्टिकोण गलत रहेछ र शारीरिक सामीप्यलाई नै प्रेमको प्राप्ति ठानें । ममा तिमीमा जस्तो धैर्यता नै रहेनछ । साँच्चै भनूँ, म तिम्रो प्रेमी बन्न नै लायक रहेनछु ।’ बोल्दाबोल्दै मेरो गला अवरुद्ध भयो । मेरा दुवै आँखा आँसुले टम्म भरिए ।
मलाई यस्तो लाग्यो, म उनका अगाडि बाउन्ने भएँ । उनको उचाइ मेरो भन्दा धेरै माथि भए जस्तो लाग्यो । कताकता मलाई हीनताबोध भयो । पढाइमा त उनले उछिनेकी थिइन्, सोच र विचारमा पनि उनले उछिनेको मैले अनुभव गरें ।
‘लौ, लौ, अब धेरै भावुक नबन । मान्छेको सोच्ने आ-आफ्नो पारा हुन्छ । दृष्टिकोण पनि फरक-फरक हुन्छ । तिमी र ममा यही फरक छ सुशान्त, तिमी भावुक छौ, मचाहिँ व्यावहारिक,’ उनले मेरो पिठिउँ थपथपाइन् ।
‘तिमीलाई थाहा छैन होला रुबी, मैले तिम्रो प्रेमको अनादार गरें । तिम्रो विछोडबाट कहालिएर, तिम्रो पर्खाइबाट आत्तिएर पोहोर मैले विवाह गरें । विवाह गर्नु एक अर्थमा तिमीसित आक्रोश पोख्नु थियो । विवाह गरे पनि म सुखीचाहिँ भइनँ ।’
मेरो कुरा सुनी रुबी केही बेर टोलाइन् र भनिन्, ‘तिमीले विवाह गरेकोमा मेरो कुनै गुनासो छैन । तिमीले प्रेम गऱ्यौ, धैर्य गरेनौ । मैले तिमीलाई घनिष्ट मित्र ठानें तर प्रेम गरिनँ । प्रेम विवाहमै टुङ्गिनुपर्छ भन्ने मेरो सोचाइ छैन । विवाह त एक सामाजिक बन्धन हो । यहाँ मानिसहरू एक-आपसमा प्रेम गर्छन् तर विवाहको बन्धनमा बाँधिन चाहँदैनन् । तिमीले विवाह गरे पनि मलाई केही फरक पर्दैन । तिम्रो र मेरो मित्रतामा यसले केही असर गर्दैन । प्रेममा धैर्य र समर्पणको भाव हुनुपर्छ, त्यो तिमीमा छैन । त्यसैले तिमी प्रेममा असफल भयौ ।
म अवाक् बनी उनको कुरा सुनिरहँ ।
‘कति उच्च विचार र विशाल छाती । प्रेमको सही अर्थ र परिभाषा बल्ल बुझे झैँ भयो मलाई ।
केही बेर म शिर निहुराई चुप लागिरहें । उनीसित प्रतिकार गर्ने ममा सामर्थ्य नै नभएझैं म केवल उनको अनुहार हेरी टोलाइरहें ।
उनी र मबीच असहज स्थितिको सिर्जना भयो ।
असहज स्थितिलाई सहज बनाउन उनले हाँस्दै भनिन्, ‘अब छोड यी कुरा । तिम्रो र मेरो सुखद मिलनलाई सेलिब्रेट गरौं ।’ उनले दराजबाट स्याम्पिएन झिकी फोडिन् । दुइटा ग्लासमा स्याम्पिएन भरेर एउटा मेरो हातमा थमाइदिइन् र एउटा आफूले समातिन् । हामी दुवैले एक-अर्काको ग्लास छोई ‘चेयर्स’ भन्यौँ, स्याम्पिएनलाई घुटुक्क पीयौँ।
त्यसपछि रुबीले डिनर तयार गरिन् । साथमा डिनर खाई हामीले सारा तीता कुरालाई बिर्सिदियौं ।
‘तिमी के कामले न्युयोर्क आयौ ? तिम्रो बसाइ कहिलेसम्म छ ? रुबीले मतिर हेर्दै सोधिन् ।
‘म एउटा सेमिनारमा भाग लिन आएको हुँ । अब मेरो बसाइ मात्र सात दिन छ ।
‘ठीक छ, सात दिन प्रत्येक साँझ म तिमीलाई साथ दिनेछु हुन्छ ? रुबीले हाँस्दै भनिन् ।
प्रत्युत्तरमा मैले मात्र ‘हुन्छ’ सूचक टाउको हल्लाएँ ।
‘यार । तिमी त उस्तै रहेछौ,” रुबीले हाँस्दै भनिन्’, ‘दङ्ग’
उनले मलाई आफैँ गाडी हाँकी म बसेको होटेलमा छोडिन् । रुबीसितको भेटघाटपछि मैले अनुभव गरें, रुबी पहिले जस्ती थिइन्, अहिले पनि उस्तै छिन् । आफू मात्र बदलिएको मैले चाल पाएँ ।
‘रुबी यू आर ग्रेट ।’ मैले मनमनै रुबीको प्रशंसा गरेँ ।
रुबीसित भेटेपछि मेरो मनको अँध्यारो उज्यालोमा परिवर्तन भयो । मेरो उनीप्रति र जीवनप्रति सोचाइ नै सकारात्मक भइदियो । आफ्नो हृदयमा अड्किएको ठूलै बोझ बिसाए झैँ मन हलुको भयो र हृदयभरि झलमल्ल घाम लागेझैँ अनुभव भयो मलाई ।
धेरै वर्षपछि आज म परम सुख तथा सन्तुष्टिको भऱ्याङ उक्लेर निद्रादेवीको काखमा सुस्ताउन पुगें । उठ्नेबित्तिकै मैले रुबीलाई फोन गरें र साँझ फेरि भेट्ने प्रस्ताव राखें ।
रुबीसित एक हप्तासम्म मैले न्युयोर्क सहर डुलें, होटलमा डिनर खाएँ र स्वर्गीय आनन्दको अनुभव गरें । जीवनभरि फूलैफूलको वसन्ती मेला आएझैं अनुभव भयो मलाई । न्युयोर्क छोड्ने एक दिनअगाडि मैले रुबीको हात समाएर विनीत भावमा भनें, ‘रुबी, आजको एक रात मलाई देऊ न ल ?”
रुबीले एकपल्ट मलाई जिल्लिएर हेरिन् । केही बेर सोचमा डुबिन् । त्यसपछि मतिर हेर्दै मुसुक्क हाँसिन् ।
मैले आफूलाई थाम्न सकिनँ । रुबीलाई अँगालें ।
रुबिले गाडीलाई दाइनेतिर मोडेर सडकको किनारामा रोकिन् ।
‘रुबी म तिमीलाई गुमाउन चाहन्नँ । म तिमीबिना बाँच्न चाहन्नँ,’ म केटाकेटी झैँ उनका काखमा लुटपुटिएँ ।
“सुशान्त, तिमी केटाकेटी झैँ नबन । जीवनको वास्तविकतालाई बुझ । मेरो प्रेमलाई हृदयभित्र राख । हाम्रो बाटो अब छुटिसकेको छ । प्रेम हृदयले गरिन्छ, शरीरले होइन । जिन्दगीभर म तिमीलाई प्रेम गरिरहनेछु । जहाँ रहे पनि म तिम्रै रहनेछु । रह्यो आज एक रातको कुरा, एक रात साथ बिताएर छुट्टिन झन् गाह्रो हुनेछ ।”
‘त्यसैले गुड नाइट, अब हाम्रो भेट इमेल र फेसबुकमा हुनेछ,’ उनले मलाई अँगाल्दै भनिन्, ‘आई विल लभ यू सुशान्त टिल माई लास्ट ब्रेथ ।’
एक-अर्काको अँगालोमा बाँधिएर हामीले जगतलाई भुल्यौँ । समय पनि टक्क अडिए झैँ लाग्यो मलाई ।
मैले मनमनै सोचें, भोलिको सूर्य कहिल्यै नउदाओस् ।
(वरिष्ट आख्यानकार पद्मावती सिंहको ‘एक झुल्को घाम’ कथा सङ्ग्रहमा सङ्ग्रहित कथा “एक रात मलाई देऊ”)
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।