Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग
नन्दलाल आचार्यनन्दलाल आचार्यभदौ २२, २०८२1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest


नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो। स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ। साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ।

उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन्। ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन्। संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो।

नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ। विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ।

यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ। यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ। यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ।

प्रस्तुत छ “लघुकथामा एक प्रयोग”को
नयाँ श्रृङ्खला


१. लघुकथा : त्यान्द्रो
✒ डा. कुसुमाकर शर्मा गौतम

घर्‍याक्क ढोका उघ्र्यो। उनी घरभित्र पसिन्। डाइनिङ टेबलमा काम गर्दै थियो ऊ। ढोका खोल्न भ्याएन।
“तिमी पनि! घर बसेकाले यसो सफा गरिदिए हुन्थ्यो नि!” अस्तव्यस्त जुत्ता र मोजा ढोकैमा देखेर उनी बम्किइन्।

हिजो ऊ यस्तै गरी घरभित्र छिर्दा सबै टक्क मिलेको थियो। हँसिलो अनुहारले स्वागतमा ढोका खोलेकी थिइन् उनले।

छोराछोरीलाई समय दिनका लागि कोभिड महामारीपछि काममा जाने दिनको पालो लगाएका छन् उनीहरूले।
“म घर बसे पनि अफिसकै काम गर्दै छु,” उसले आफ्नो बचाउ गर्‍यो।

भान्सामा जुठा भाँडा देखेर पारो चढ्यो उनको। तीखो बाण लागेको मृगझैँ पिर्लिक्क आँखा पल्टाइन्। परिस्थिति प्रतिकूल बन्दै गयो।

साहस बटुलेर सोध्यो, “स्वास्नी मान्छेले बाहिर जाँदा किन घर सँगै लिएर जान्छन्? फर्किँदा किन घर पनि सँगसँगै आउँछ?”
“…….”

उनको अनुहार बर्सनै लागेको बादलजस्तो देखियो। उसले अचानो बन्नै आँटेको अनुभव गर्‍यो। हजार शब्दको वर्षा हुनुअघि चुलोमा बसालेको चिया सम्झ्यो र अनुनय गर्‍यो, “चिया पिउँछ्यौ? ल्वाङ-सुकुमेल पनि हालेको छु।”

उता चियादानीमा पानी घड्घड् गर्दै चियाको रङ्ग गाढा हुँदै थियो। यता उनको कालोनिलो अनुहारमा मुस्कानका धर्साहरू झुल्किन थालेको देख्यो उसले।

—०—
एडमण्टन, क्यानडा
❀❀❀

❛लघुकथा विश्लेषण❜
☞ प्रगतिशील कोणबाट डा. कुसुमाकर शर्मा गौतमको ‘त्यान्द्रो’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

डा. कुसुमाकर शर्मा गौतमको ‘त्यान्द्रो’ लघुकथा सटीक भए पनि यसले वैवाहिक जीवनभित्र देखिने सानासाना तर गहिरा द्वन्द्वहरूको सजीव चित्रण गरेको छ। लघुकथामा कुनै ठूला सामाजिक घटना छैनन्, तर घरभित्रका दैनिक दृश्यलाई प्रयोग गरेर जीवनको एउटा ठूलो प्रश्न उठाइएको छ– “स्वास्नी मान्छेले बाहिर जाँदा किन घर सँगै लिएर जान्छन्? फर्किँदा किन घर पनि सँगसँगै आउँछ?”

१. कथाको सामाजिक-प्रगतिशील सन्दर्भ-

म एउटा ग्रामीण कृषक परिवारको शैक्षिक श्रमजीवी सन्तान हुँ। खेतबारी, गोरु, हलो र पसिनाको दुनियाँसँगै पढाइलाई समेत जोडेर जीवन धानेको अनुभवले मलाई हरेक साहित्यिक रचनामा आम मानिसको भोगाइ खोज्न बाध्य पार्छ। ‘त्यान्द्रो’ पढ्दा मेरो बाल्यस्मृति जागृत हुन्छ– आमा बिहान सबेरै उठेर गोठ सफा गर्ने, दाउरा बाल्ने, बारीबाट तरकारी ल्याउने, अनि दिनभर पसिनामा भिज्ने। बुबा खेतमा जोत्न जानुहुन्थ्यो। घरमा केही असजिलो देखिए पनि दोष आमाकै काँधमा पर्थ्यो। “घर किन अस्तव्यस्त छ?” भन्ने प्रश्न आमामाथि मात्रै उठ्थ्यो, बुबामाथि कहिल्यै होइन।

यही विसङ्गति यस लघुकथामा आधुनिक शहरी, प्रवासी सन्दर्भमा पुनः देखा परेको छ। कोभिडपछिको ‘वर्क फ्रम होम’ स्थितिमा पतिपत्नीले घरको काम बाँडफाँड गरेको देखिए पनि अझै घरभित्र स्वच्छता र सुव्यवस्था महिलामाथि नै केन्द्रित रहेको भेटिन्छ। यही संरचनात्मक पितृसत्तात्मक सोचलाई कथाले ‘त्यान्द्रो’ (तनाव, तिक्तता) को रूपमा उजागर गरेको छ।

२. पात्र र प्रतीकको व्याख्या-

कथामा दुई पात्र छन्– ‘ऊ’ (पति) र ‘उनी’ (पत्नी)। उनीहरूको संवाद छोटो छ तर मार्मिक छ। ढोकामा देखिएको अस्तव्यस्त जुत्ता-मोजा केवल सफाइको समस्या होइन, यो घर-जीवनको असमान जिम्मेवारीको प्रतीक हो। भान्सामा थुप्रिएका जुठा भाँडा अझ ठूलो बोझको सङ्केत हुन्।

पतिको प्रश्न– “स्वास्नी मान्छेले बाहिर जाँदा किन घर सँगै लिएर जान्छन्?” प्रगतिशील दृष्टिकोणले हेर्दा स्त्री-श्रमको अदृश्य मूल्याङ्कन हो। घर-कामलाई अझै पनि उत्पादनशील श्रम मानिँदैन, त्यसैले महिलाको काम निरन्तर ओझेलमा पर्छ।

त्यस्तै, पतिको ‘चिया’ को प्रस्ताव कथामा दुई तहमा बुझ्न सकिन्छ। एकातिर, यो तत्कालको द्वन्द्व शान्त पार्ने अस्थायी उपाय हो; अर्कोतिर, प्रेम र सामञ्जस्यतर्फ फर्काउने लघु पुल पनि हो। तर वास्तविक प्रश्न भने अझै उभिएको छ– घरको जिम्मेवारी बराबरी किन छैन?

३. ग्रामीण कृषक श्रमजीवी दृष्टिकोण-

हाम्रो गाउँ गल्फडियामा महिलाले खेतमा काम गरे पनि घरको ‘जिम्मेवारी’ छाड्दैनन्। बारीमा गहुँ काटेर फर्किँदा पनि उनीहरूले चुलो बाल्नै पर्छ, भाँडा माझ्नै पर्छ। पुरुषले भने ‘कामबाट थाकेँ’ भनेर सुत्न सक्छ। ‘त्यान्द्रो’ कथामा देखिने दृश्य र मेरो गाउँको भोगाइबीच गहिरो समानता छ।
शैक्षिक अवसरले मलाई कलम चलाउने हैसियत त दियो, तर घरको भूमिगत श्रम संरचनाले महिलाको बोझ अझै हलुका भएको छैन। त्यसैले यो कथा केवल प्रवासी क्यानडाको घरभित्रको घटना मात्र होइन, मधेसदेखि पहाडसम्म, गाउँदेखि सहरसम्म सबै ठाउँको यथार्थलाई छेड्छ।

४. कलात्मक मूल्याङ्कन-

लघुकथाको भाषा सरल छ। संवाद छोटा र प्रहारजस्ता छन्। विशेष गरी पतिको प्रश्न कविताजस्तै लाग्छ– छोटो तर गहिरो। प्रतीकात्मकता प्रखर छ; चिया, जुत्ता-मोजा, भाँडा सबैले गहिरा अर्थ बोकेका छन्। कथा छोटो भए पनि ‘तात्कालिक द्वन्द्व’ बाट ‘दीर्घकालीन समस्या’ सम्म पुग्छ। यही कारण यसलाई प्रगतिशील लघुकथा भन्न सकिन्छ।

तर, आलोचनात्मक दृष्टिले भन्नुपर्दा, कथाले समाधानमा गहिरो प्रहार गर्न सकेको छैन। अन्त्य ‘चिया’ बाट सहज भएको छ, तर यथार्थमा चियाजस्तो सामान्य प्रस्तावले संरचनात्मक असमानता मेटिँदैन। पाठकलाई गहिरो धक्का दिने ठाउँ त्यहाँ नै हो– समाधान झिनो देखिँदा प्रश्न अझ ठूलो उभिन्छ।

५. निष्कर्ष

डा. गौतमको ‘त्यान्द्रो’ स्त्री-पुरुषबीचको भूमिकाबारे गहिरो प्रश्न उठाउने सफल प्रयास हो। यसले ग्रामीण कृषक परिवारका नारीहरूको जीवनभोगाइलाई पनि प्रतिविम्बित गर्छ। प्रगतिशील दृष्टिले यो कथा पितृसत्तात्मक संस्कारमाथि प्रश्नवाचक चिह्न खडा गर्छ।

म किसानको छोरो, शिक्षाले लेख्ने हैसियत पाएको श्रमजीवी यस लघुकथाले मलाई आमा-दिदीहरूको पसिना सम्झाइदिन्छ, जसले ‘घर’ सँगै बोकिरहे तर कहिल्यै श्रमिकका रूपमा मूल्याङ्कन पाउन सकेनन्।

अन्ततः मलाई भन्न मन लाग्छ– “घर केवल चार पर्खाल होइन, पसिनाले टेको दिएको जीवन हो; त्यसलाई बराबरीले धानेनौँ भने त्यान्द्रो कहिल्यै मेटिँदैन।”
❀❀❀

❛उत्तरकथा❜
लघुकथा: झझल्को
✒ नन्दलाल आचार्य

“आज तिमी ढोका नखोली बस्यौ?” उनले हल्का मुस्कानसहित सोधिन्।

ऊ अचम्म पर्‍यो। हिजोको कठोर अनुहार आज कोमल देखिन्थ्यो। भित्तामा टाँसिएको क्यालेन्डरको पात हावामा फर्फराइरहेको थियो– फेब्रुअरी १५।

उसले लाजले आँखा झुकायो। “कामको चाप थियो, थकित थिएँ,” भनेजस्तो स्वर निस्कियो।

तर उनको स्वर फेरिएको थियो– शान्त तर दृढ।
“घर भनेको ईँटाढुङ्गाको ढेर मात्र होइन, भावनाको साँघुरो गल्ली पनि हो।
त्यहाँ सधैँ सफा हात चाहिँदैन, सफा मन चाहिन्छ।”

ऊ अवाक् बन्यो। मोजा, जुत्ता, भाँडा यी सबै क्षणिक अस्तव्यस्तता हुन् भन्ने बुझाइमा उसले पहिलोपटक सास फेर्‍यो।

चिया अझै टेबलमै थियो। तर योचोटि उनले चिया होइन, उसको आँखा अड्याइन्।
उनको नजरमा कठोरता थिएन, केवल प्रश्न थियो– “के तिमी मलाई मात्र स्वास्नी देख्छौ?
कि तिमीलाई घरको आत्मा पनि देखिन्छ?”

ऊ गहिरो मौनमा डुब्यो। बाहिर हिउँ परिरहेकै थियो, तर भित्र– पहिलोपटक ऊसँग उब्जेको थियो ऊष्मा।

सम्बन्धको घर कहिल्यै सफाइले होइन, समानताको सुगन्धले टिक्छ।
❀❀❀


२. लघुकथा : चाल
✒ रामराजा के. सी.

खुब विचार गरेर माकुरो निष्कर्षमा पुग्यो। अब भने आहारा व्यवस्थापन गर्न मित्रता गर्ने विचार गरेर हिँड्यो।

बाटोमा कमिलाको ताँती भेट्टायो। उसले कुरा अघि बढायो,
`म साथी बनाउन हिँडेको। तिमीहरू मेरो साथी बन्छौ त?´

एउटा कमिलो बाठो बनेर भनिहाल्यो, `हामीले साथी बनाउँदा के फाइदा हुन्छ र?´

माकुरोले जाल मात्रै होइन, कुरा पनि बुन्न जानेको थियो। उसले बठ्याइँ गर्दै भन्यो, `यो खोल्सो तर्न म जाल बुनेर पार तर्न सजिलो बनाइदिन्छु। मसँग सङ्गत गरे कहिल्यै दुःख पाउँदैनौ।´

कमिलाहरूलाई कुरा मनासिब नै लाग्यो। बीचको सानो खोल्सामा पुल नभएकै कारण सधैँ साथी गुमाउनुपरेको पीडा थियो। माकुराले पुल बनाइदिने भनेपछि उनीहरू खुसी भए।

एउटा कमिलाले भिडबाट सन्देह मान्दै सोध्यो, `यो स्वार्थी दुनियाँमा कसैले कसैको भलो चाहँदैन। हामीलाई पुल बनाइदिए बापत तपाईंलाई के गर्नुपर्छ त?´

माकुरोले नम्र हुँदै भन्यो, `मलाई सबैले जाल बुनेर शिकार गर्छ भनेर मन पराउँदैनन्। एक जुनीमा पनि मैले कसैलाई साथी बनाउन सकिनँ। मेरो कुनै स्वार्थ छैन। बस, तिमीहरू साथी बनिदेऊ। म सहयोग गर्न पाउँ। मलाई केही चाहिँदैन।´

माकुरोको कुरा सुनेर कमिलाहरूको ताँती नै भावुक बन्यो। उनीहरूलाई साथीका रूपमा माकुरो पाउनु खुसीको कुरा लाग्यो।

माकुरोले नयाँ साथीहरूलाई खोल्सो तर्न पुल बनाएर गयो। कमिलाहरू पुल चढेर खोल्सो तरे।
एकछिनपछि पुलमै माकुरोलाई हप्तौँ पुग्ने आहारा झुन्डिएको थियो।
—०—
दक्षिणकाली-३
❀❀❀

❛लघुकथा विश्लेषण❜
☞ प्रगतिशील कोणबाट रामराजा के. सी.को ‘चाल’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

“चाल” नाम सुन्नासाथै मलाई मेरो गाउँको धूलोले भरिएको बाटाको छेउका खेतहरू, खटेर काम गर्ने मेरा आमाबुबा, अनि हरेक दिन पसिनामा बाँच्ने कौशलको कथा याद आउँछ। ग्रामीण इलाकामा हुर्किएको, दिनभर हलोजुवा र किताबसँगै घोटिएको एउटा शैक्षिक श्रमजीवीको हैसियतले यो लघुकथा मेरो निजी अनुभवसँग जोडिन आइपुग्छ।

लघुकथामा मुख्य पात्रका रूपमा माकुरो छ, तर त्यो केवल एउटा माकुरो मात्र होइन, समाजका चालबाज, मीठो बोलीमा भाले सुताउने, श्रमजीवीलाई प्रयोग गर्ने वर्गहरूको रूपक हो। अनि कमिला भने म जस्तै सामान्य कृषक परिवारका श्रमिकहरूको प्रतीक हो जो आफ्ना दुःख, सानो समस्या र जीवनका अभावसँगै सङ्घर्ष गर्दै अघि बढिरहेका हुन्छन्।

१. चाल र चाकरीको अन्तर-

माकुरोले सुरुमा नै योजना बनाउँछ, “आहारा व्यवस्थापन गर्न मित्रता गर्ने।” यति वाक्यले नै स्पष्ट पार्छ, उसको मित्रताको प्रस्ताव प्रेम र समानतामा होइन, चालमा आधारित छ। यहाँ म कृषक जीवन सम्झन्छु, जहाँ व्यापारी, दलाल वा ठूलाबडाले सधैँ हामीलाई मीठो बोलीले लोभ्याउँछन्, तर भित्रको उद्देश्य हाम्रो श्रम चुस्नु हुन्छ।

२. कमिलाको आशा र विश्वास-

कमिलाहरूलाई खोल्सा तर्न समस्या छ। त्यो समस्या हाम्रो गाउँमा शिक्षा, सिँचाइ, सडक वा बजार पुग्ने बाटोको समस्याजस्तै हो। जसरी कमिलाले समाधान खोज्छन्, हामीले पनि धेरैपटक सरकार वा दलालहरूमाथि आशा राखेका छौँ। “यो बनाइदिन्छु, त्यो मिलाइदिन्छु” भन्ने मीठो वाचा सुन्दा हामी पनि भावुक हुन्छौँ, कमिलाझैँ।

३. छलको जाल-

माकुरोले पुल बनाएर देखाउँछ, तर त्यो पुल उसकै आहाराको जाल बन्छ। यो प्रसङ्गले मलाई गाउँमा आएका सहकारी संस्था, व्यापारी वा ठूला परियोजनाहरूको सम्झना दिलाउँछ, जहाँ सुरुमा मीठा सपना देखाइन्छ, तर अन्त्यमा श्रमिक किसान नै ठगिन्छन्। खेतमा मरेर पसिना बगाउने हामीलाई ऋणको बोझ, सस्तो मूल्य र दलालको जाल मात्र बाँकी रहन्छ।

४. कथा र वर्गचेतना-

यो लघुकथामा सानो देखिए पनि ठूलो वर्ग सङ्घर्ष लुकेको छ। माकुरो भनेको पुँजीवादी-दलाल मानसिकता हो, जसले श्रमजीवीको समस्यालाई आफ्नै स्वार्थको ढोका बनाउन प्रयोग गर्छ। कमिलाहरू भने श्रमिक वर्ग हुन्– एक्लै बलहीन हुन्छन्, तर ताँतीमा बल हुन्छ। तर यही एकतालाई पनि भावुकता र विश्वासको पासोमा पारेर शोषण हुन्छ।

५. निजी अनुभूति र प्रगतिशील दृष्टि-

म किसान परिवारमा हुर्किँदा देखेको कुरा के हो भने हामीलाई कहिल्यै निःस्वार्थ साथ दिने शक्ति बाहिरबाट आउँदैन। कोही आएर “म निःस्वार्थ छु, तिमीहरूको भलो गर्छु” भने उसले हाम्रो खेत, पसिना वा श्रममाथि कब्जा जमाउने योजना बनाइरहेको हुन्छ। “चाल” को माकुरोले कमिलालाई गरेको मीठो कुरा सुन्दा मलाई चुनावताका गाउँमा आएका नेताहरूको भाषण याद आयो, जो भोट लिएर फेरि कहिल्यै फर्कँदैनन्।

६. विवेकशील मूल्याङ्कन-

रामराजा के. सी.ले “चाल” मा छोटकरीमा जीवनको ठूलो सत्य भनिदिएका छन्। संवाद छोटा छन्, तर ती घोच्ने खुकुरीजस्तै छन्। माकुरोको चाल, कमिलाको भावुकता र अन्ततः पुलमै झुन्डिएको आहाराको चित्रणले लघुकथालाई घुमाउरो तर गहिरो बनाएको छ। कथा पढ्दा लाग्छ, यो केवल माकुरो-कमिलाको कथा होइन, हाम्रो गाउँ, हाम्रो श्रम, हाम्रो विश्वास र हाम्रो धोखाधडीको कथा हो।

७. निष्कर्ष-

प्रगतिशील कोणले हेर्दा ‘चाल’ शोषक र श्रमिकबीचको सम्बन्धको स्पष्ट रूपक हो। माकुरोजस्तै चालबाजहरूसँग बारम्बार ठगिँदै आएका हाम्रो समाजका श्रमिक-किसानहरूलाई यो लघुकथा चेतावनी हो। हामीलाई पुल तर्ने नाममा शोषण गर्नेहरूलाई चिन्नुपर्ने, अनि आफ्नै सामूहिक श्रमशक्ति र एकताबाट समस्या समाधान गर्नुपर्ने सन्देश दिन्छ। अन्ततः मलाई भन्न मन छ– “माकुरोको जालबाट बच्न, कमिलाले आफ्नै ताँतीको बलमा पुल बनाउन सिक्नुपर्छ।”
❀❀❀

❛उत्तरकथा❜
लघुकथा: मित्रताको सूत्र
✒ नन्दलाल आचार्य

“यो जाल त हाम्रै लासमा बुन्ने हो कि?” एउटा कमिलोले शङ्का प्रकट गर्‍यो।

तर ताँतीको भीड अघि बढिसकेको थियो। खोल्सो पारी पुगेका कमिलाहरू हर्षमा ताली बजाए। उनीहरूलाई लाग्यो– “मित्रता यत्तिको ठूलो शक्तिशाली हुन्छ।”

माकुरो पुलमै स्थिर भएर बसेको थियो। जालमा अल्झिएको आहारातिर ऊ लालायित नयनले हेर्थ्यो। तर त्यो क्षण ऊ कमिलाहरूको हर्षोल्लास देखेर सन्तुष्ट भयो।

अर्कोतिर भने कमिलाहरूको मनमा नयाँ जिज्ञासा पलायो– “सधैँको दुश्मन ठानिएको माकुरो किन यति उदार देखियो?”

समय दगुर्दै जाँदा कमिलाहरूले बिस्तारै बुझे, माकुरोले पुल बनाएर आहारासम्म पुग्ने बाटो खोले पनि शिकार गर्न हात बढाएको छैन। उसको मौन बलिदानमै एउटा अनौठो मित्रताको सूत्र लुकेको रहेछ।

“संसारमा चालबाजी धेरै हुन्छन्।” तत्कालै एक वृद्ध कमिलोले थपे, “साँचो चाल भनेकै स्वार्थको गाँठो काटेर विश्वासको पुल बन्नु हो।”
❀❀❀


३. लघुकथा : नाता
✒ सम्झना कुँवर

केही दिन अगाडि मैले उसलाई एक नातेदारसँग रमाउँदै हिँडेको देखेँ। आपसी परिचय नभए पनि थाहा थियो, त्यो व्यक्ति फुपूको छोरा हो।

मैलो कमीज र पुरानो पाइन्ट लगाएको त्यो व्यक्तिको पहिरनले आर्थिक-सामाजिक अवस्था दर्साइरहेको थियो।

त्यो अपरिचित व्यक्तिसँग छुटिसकेपछि मैले उसलाई सोधेकी थिएँ, “उनी तिम्रो दाइ कि भाइ?”

उसले भन्यो, “दाइ न भाइ, म त एक्लो छोरा हुँ। थाहा छैन, फुपूका छोराछोरी पनि दाजुभाइ हुन् होइन र?”
मेरो प्रश्नको उत्तर उसले एकछिन रोकिएर दियो; “अँ, त्यसरी हेर्दा त भाइ नै पर्छ क्यारे!”

आज पनि मैले उसलाई एकजना उसकै उमेरको अपरिचित नचिनेको व्यक्तिसँग हिँडेको देखेर सोधेँ, “अनि ऊ को नि?”

“उहाँ मेरो दाइ हो। होइन तिमी त एक्लो छोरा होइन र?” मैले सोधेँ।

“मामाको छोरा भनेको दाइ त हो नि,” उसले सुटुक्क जवाफ दियो।
—०—
पोखरा
❀❀❀

❛लघुकथा विश्लेषण❜
☞ प्रगतिशील कोणबाट सम्झना कुँवरको ‘नाता’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

“नाता” सम्झना कुँवरले लेखेको लघुकथा हो, जसमा एउटा सरल तर गहिरो सामाजिक यथार्थलाई लघु संवाद र न्यून बिम्बका माध्यमले प्रस्तुत गरिएको छ। यो कथाले “रगतको नाता” र “सामाजिक स्वीकार्यता” बीचको अन्तराललाई उजागर गर्छ। म, एक श्रमजीवी शिक्षक निसमालोचक, जब यो लघुकथा पढ्छु, तब आफ्ना विद्यार्थीहरूसँग बिताएका दिनहरू, उनीहरूका परिवारका कथाव्यथा, अनि सामाजिक सम्बन्धहरूको धुम्म परेका व्याख्या मेरो मनमा गड्गडिन थाल्छन्।

१. संरचना र कथ्य

यो लघुकथा अत्यन्तै सङ्क्षिप्त छ– दुई पटकको भेटघाट, दुईवटा प्रश्न र छोटा उत्तरहरूको शृङ्खला। तर यही सङ्क्षिप्ततामा यसको प्रभावकारिता लुकेको छ। लघुकथाकारले पाठकलाई कहिल्यै थकाइदिने विवरण दिएर होइन, प्रश्नोत्तरको स्वाभाविक प्रवाहबाट लघुकथा अघि बढाएकी छन्। म आफैँ शिक्षक भएकाले बुझ्छु, छोटा तर छरिता संवादहरूले विद्यार्थीलाई सोच्न बाध्य पार्छन्। यसरी लघुकथा न पाठ्यपुस्तकजस्तो भारी छ, न अत्यन्त जटिल; तर यसका प्रश्नहरू हृदयमा टाँसिन्छन्।

२. नाता र सामाजिक चेतना

लघुकथाकारको प्रमुख विमर्श “नाता के हो?” भन्ने प्रश्नसँग गाँसिएको छ। हामी प्रायः नाताकुटुम्बलाई रगत वा कानुनी परिभाषामा मात्र बुझ्छौँ। तर यहाँ पात्रले देखाएको दृष्टि फरक छ।

पहिलो प्रसङ्गमा, फुपूको छोरा आफूसँग नजिकिएको देखिन्छ। प्रश्न उठ्छ– “दाइ कि भाइ?” र उत्तर आउँछ, “तेसरी हेर्दा त भाइ नै पर्छ।”

दोस्रो प्रसङ्गमा मामाको छोरा प्रकट हुन्छ। त्यहाँ पुनः उस्तै प्रश्न उठ्छ– “तिमी त एक्लो छोरा होइनौ र?” उत्तर आउँछ–“मामाको छोरा भनेको दाइ त हो नि।”

यसरी कुँवरले देखाएकी छन्– नाता केवल जैविक वा स्रोतमूलक होइन, स्वीकार र अनुभूतिपूर्ण हो।

३. प्रगतिशील दृष्टिकोण

प्रगतिशील कोणबाट हेर्दा यो कथा पुरानो सामन्ती मूल्यहरूलाई प्रश्न गर्छ। हाम्रो समाजमा दाजुभाइ, दिदीबहिनी, मामाघर, फुपूघरजस्ता नाताहरूलाई कहिलेकाहीँ सम्पत्ति बाँडफाँड, उत्तराधिकार, वा सामाजिक प्रतिष्ठासँग मात्र जोडिन्छ। तर यहाँ कुँवरले “मानव सम्बन्ध” लाई प्राथमिकतामा राखेकी छन्।

नाता भन्नासाथ म आफ्ना ग्रामीण विद्यार्थीहरूको घरपरिवार सम्झन्छु। कतिपय बच्चा आर्थिक अभावले विद्यालय आउँदैनन्, तर तिनीहरूलाई सहयोग गर्ने छिमेकी आमा वा साथी पनि त “नाता” नै हुन्। प्रगतिशील दृष्टिले भन्नुपर्दा, नाता “रगत” भन्दा बढी “सम्बन्ध निर्माण” हो। यो कथा त्यही चेतना जगाउने एउटा झिल्को हो।

४. भाषाशैली र अभिव्यक्ति

लघुकथा अत्यन्तै सरल भाषामा लेखिएको छ। कुनै भारीभरकम विशेषण छैनन्, नाटकीयता छैन, तर संवादले कथाको गति निर्धारण गरेको छ। “सुटुक्क जवाफ दियो” भन्ने वाक्यांशले किशोर उमेरको सङ्कोच, तर सामाजिक यथार्थको ठाडो स्वीकारोक्ति उजागर गर्छ। श्रमजीवी शिक्षकका लागि यस्तो सरलता विशेष प्रिय हुन्छ, किनभने यसले विद्यार्थीलाई सजिलै चित्त बुझाउन मद्दत गर्छ।

५. निजी अनुभूति

मलाई लाग्छ– यो कथा पढ्दा मेरो आफ्नै विद्यालयको एउटा घटना सम्झिन्छु। एक छात्रले मलाई भनेको थियो– “सर, आमा त छैनन्, तर गाउँकी कान्छी हजुरआमाले मलाई हेरिदिनुहुन्छ। उहाँ नै मेरी आमा हुन्।” त्यो बालकका लागि नाता केवल जन्मदात्री आमा थिएनन्, बरु माया र सहयोग गर्ने जुनसुकै हात आमा बन्थ्यो।

यसरी, कथाको सन्देश मेरो निजी अनुभवसँग टाँसिन्छ– नाता रगतको मात्र कुरा होइन, सामाजिक सम्बन्ध र सहजीवनको निरन्तरता हो।

६. समालोचनात्मक दृष्टि

कथामा केही कमजोरी पनि देखिन्छ। पात्रहरूको मनोवैज्ञानिक तह अझ विस्तार गर्न सकिने थियो। नायक किन बारम्बार “दाइ” वा “भाइ” भन्न झस्किन्छ? उसको सामाजिक-आर्थिक पृष्ठभूमि (जस्तै, “मैला कमीज र पुरानो पाइन्ट”) उल्लेख भए पनि त्यो उसको आत्मचेतनासँग गहिरोसँग जोडिएको भए अझ सबल हुन्थ्यो। त्यसरी विस्तार भए कथाले वर्गीय प्रश्नलाई अझ प्रखर बनाउँथ्यो।

७. निष्कर्ष

“नाता” सानो भए पनि ठूलो प्रश्न उठाउने कथा हो। यो कथा हाम्रो समाजलाई भन्छ– “नाता रक्तसम्बन्ध मात्र होइन, स्वीकार र सहजीवनको बन्धन हो।” प्रगतिशील कोणले यसलाई मान्छे-मान्छेबीचको समानता र आत्मीयताको आवाजका रूपमा लिन्छ।

एक श्रमजीवी निसमालोचकका रूपमा मेरो निष्कर्ष छ– लघुकथाले विद्यार्थी र समाज दुवैलाई नजिक्याउने काम गर्छ। रगतभन्दा ठूलो नाता सहयोग हो, वर्गभन्दा ठूलो नाता सहानुभूति हो, अनि परिवारभन्दा ठूलो नाता मानवीयता हो।

यसरी, सम्झना कुँवरको ‘नाता’ लघुकथा सानोतिनो देखिने तर मनलाई खलबल्याउने, प्रश्न सोध्न बाध्य पार्ने र मानव सम्बन्धको नयाँ व्याख्या गर्ने सशक्त लघुकथा हो।
❀❀❀

❛उत्तरकथा❜
लघुकथा- वंशावली
✒ नन्दलाल आचार्य

“तिमी भनेको एक्लो छोरा होइन र?” मैले पुनः सोध्दा ऊ अलिकति मुस्कुरायो।

“एक्लो छोरा हुँ तर एक्लो मान्छे होइन। नाताले बन्धिन्छ मन, नाताले चिन्निन्छ पहिचान।”

उसको वाक्यले मलाई एक्कासि स्तब्ध पार्‍यो।
म सोच्न थालेँ– एक्लोपन त शरीरको हिसाबले मात्र हुन्छ, तर आत्मा त नाताले थिचिएको हुन्छ।

मैले फेरि प्रश्न गरें, “तर किन तिमीलाई हरेक पटक नयाँ दाजुभाइ भेटिन्छन्?”

उसले गम्भीर स्वरमा भन्यो, “किनभने, म नातालाई पुस्ताको रगतमा मात्रै खोज्दिनँ, सम्बन्धमा खोज्छु, विश्वासमा खोज्छु। हाम्रो संस्कृतिले त एउटै गाउँलाई परिवार ठान्छ, एउटै छिमेकलाई दाजुभाइ भन्छ।”

त्यस क्षण मैले महसुस गरें, रगतको धागोभन्दा बलियो त आत्मीयताको धागो रहेछ।

ऊ हल्का हाँस्यो, भन्यो, “नाता त त्यही हो– जहाँ दिलले ‘आफ्नो’ भन्छ।”

मैले चुपचाप उसको आँखामा हेरें। उसले थप्यो; “रगतले होइन, आत्माले लेखिन्छ नाताको वंशावली।”
❀❀❀

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नन्दलाल आचार्य लघुकथा स्तम्भ लघुकथामा एक प्रयोग

यो पनि पढ्नुहोस्...

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क – १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क – १५ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: १४ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.