आज माछापुच्छ्रे नाङ्गियो, भोलि सगरमाथा नाङ्गिन्छ
सिंहझैँ गर्जने हिमालको
यस्तै हो भने अस्तित्व मेटिन्छ
हिउँको सेतो चोली च्यातिएर नाङ्गै आँसु झार्दैछ
मानवको स्वार्थले, आज माछापुच्छ्रे हार्दैछ
हिउँको सेतो आँचल, आज कालो हुँदैछ
माछापुच्छ्रे मौन छ, लज्जाले झुकेर रुँदैछ
माछापुच्छ्रे कता गयो भनी, अन्नपूर्णले खोज्दैछ
हिउँ पग्लेर झरेको आवाज, मोदी खोलाले सुन्दैछ ।
शिवको घर मानिने हिमाल, आज कुरूप देखिएको छ
माछा जस्तो देखिने हिमाल, आज स्वरूप फेरिएको छ
आफ्नो सुन्दरता फिर्ता माग्न, मानवसँग हात जोडेको छ
बिहानै घामसँग टल्किन अचेल उसले छोडेको छ ।
सधैँ लग्यौँ किताब र फोटोमा उसलाई सजाउन
खासै सोचेनौँ उसको सुन्दरता बचाउन
तस्बिरमा कैद गर्यौँ सौन्दर्य, लेख्यौँ कथा,
तर वास्ता गरेनौं उसका ती व्यथा ।
धेरै ढिलो हुनु अघि, हामी बदलिन जरुरी छ
मानव भएपछि आफ्नो जिम्मेवारी निभाउन जरुरी छ
जाग, उठ, चेतना फैलाऊ,
नत्र हिमालका आँसुमा हाम्रो देश डुब्नेछ
आज हिमाल रोयो, भोलि पुरै मान्छे रुने छ ।


