यसपालिको हिउँदमा तीर्थयात्राको क्रममा सहयात्री हरिश कल्पितज्यूसित भेट भयो। हामी चाँडै एक अर्कामा घुलमिल भयौँ। वहाँ रसिला, हँसिला, सहृदय अनि भद्र व्यक्तित्वका धनी हुनुहुन्छ। वहाँसँग यात्रा गर्न पाउँदा मैले गौरव महसुस गरेँ। वहाँ एक लेखक हुनुहुन्छ र अनलाइनमा आफ्ना कथाहरू पनि राख्नु भएको रहेछ। यात्राका क्रममा वहाँले आफ्नो युट्युबमा राख्नुभएको ‘उपमा, बिहे, गृष्मा’ जस्ता केही शीर्षक भएका कथाहरू सुनाउनुभयो। यी कथाहरू सुन्दा मेरो भित्रैदेखि मन छोयो। वहाँले ‘आस्था’ र ‘ग्याब्रियले’ भन्ने पुस्तक प्रकाशित गरिसक्नुभएको रहेछ। मैले युट्युबमा भएका कथाहरू अत्यन्तै हृदयस्पर्शी लागेकाले काठमाडौं गएका बेला बागबजारमा रहेको रत्न पुस्तक भण्डार गई हरिशज्यूले लेख्नुभएको ‘ग्याब्रियले’ पुस्तक किनेर ल्याई पढेँ। पुस्तकका कथाहरू पढेर ठुलै पढ्ने प्यास बुझेको अनुभव गरें। मलाई सत्प्रतिशत विश्वास लाग्यो, लेखकको अनलाइनमा कथा हेरेर अथवा सुनेर म जस्तै अनुभव गर्ने धेरै हुनेछन्। यही कुरामा म निश्चित भई निम्न हरफहरू लेख्न लालायित भएँ।
मैले धेरै दिनपछि एउटा राम्रो र मिठो कथा सङ्ग्रह पढ्न पाएँ। हरिश कल्पितज्यूले लेख्नुभएको ‘ग्याब्रियले,’ जसको अर्थ हुन्छ — ‘ईश्वर नै मेरो शक्ति हो।’
यस पुस्तकमा समाजमा युवाहरूले भोगेका, नारी र पुरुषबीचको संवेदनात्मक सम्बन्ध, प्रेम र बिछोड, जीवनका अनपेक्षित् र अप्रत्याशित आइपर्ने घटनाहरूको श्रृङ्खला भएको कथाहरू पढ्दा त केही प्रसङ्गहरू आफैं, कसै चिनजान भएका र सुनेका घटनाहरूसँग मिल्दोजुल्दो लाग्यो। यति रमाइलो र चाखलाग्दो लाग्यो कि म निश्चल आफैंमा हराएँ, कथा भित्रको कथा व्यथामा। कति ठाउँमा म भावुक भएँ, आँखा डबडबायो। कथाहरूमा अहिलेको समाजका यथार्थ चित्रण झल्किन्छन्, हामीले प्रष्ट देखिरहेका, सुनिरहेका र भोगिरहेका कथा व्यथा। कथाहरू काल्पनिक भए पनि सत्यजस्तै लाग्यो। अत्यन्तै सुन्दर र सरल भाषामा लेखिएको, सबैले पढ्न र मनन गर्न लायकको मिठासपूर्ण कथाहरू छन्। कथासङ्ग्रह ‘ग्याब्रियले’ कथाहरूका बीचबीचमा सस्पेन्स किसिमको भएकोले एउटा छुट्टै खुशी र सन्तुष्टि मलाई लाग्यो, र यो पुस्तक पढ्ने सबै पाठकलाई मलाईझैँ हुनेछ भन्नेमा म विश्वस्त भएँ। कथासङ्ग्रहमा भएका केही मन छुने प्रसङ्गहरू निम्न अनुसार छन् —
मोहभङ्ग — “आईमाई भनेको आगो हो जसले दन्केर घरलाई न्यानो बनाउन सक्छन्, घरलाई खरानी नै बनाउन बेर लाग्दैन। के यही हो मेरो घर, जसलाई भविष्यको रङ्गीन इन्द्रेणीमा सजाएको थिएँ।”
बिहे — “भिनाज्युलाई त एड्स पो लागेको रहेछ।” केटो अमेरिकाबाट आएको… इञ्जिनियर रे।
पुष्पलता — “यो चियाको चुस्कीसँगै… तिम्रा यादहरू पिइरहेको छु।… त्यहीँ सम्झनाका तरङ्गहरू, म एक्लै भए पनि ती संस्मरणहरू ताजै छन्।… एक्लै बसेर आफैभित्र आफैलाई खोज्दा पनि रमाइलो हुँदो रहेछ।… समय… वायुवेगले अगाडि बढ्छ।… कति सजिलै पन्सियौ… कति सजिलै छल गर्यो… मेरो निश्चल प्रेमलाई।”
मोहजाल — “समयको बहावसँगै… आज ऊ नितान्त एक्लो, निराश जिन्दगीको हिस्सा… विवश प्राणी भएछ। एक्लै बगरमा मिल्काइदियो…। कोही पनि कसैसँग हुँदैन रहेछ। एक्लै आयो, एक्लै जानुपर्दो रहेछ, बेकारको मोहजाल पो रहेछ… जिन्दगी। सन्तान छन् तर एक्लै बस्न बाध्य छु।”
उहाँहरू आउनुभो, मम्मी — “तिमीलाई एकदिन पनि भेट्न पाइनँ भने मेरो मन साह्रै बेचैन हुन्छ।”… उनी खुरूर्र भर्याङ उक्लेर बरन्डामा पुगेर आँखा सडकतिर फैलाउँछिन्। हरेक गाडीलाई निरीक्षण गर्न पुग्छिन्।…। “ऊफ्…! यो प्रतीक्षाको फल पनि कति भारी हुँदोरहेछ।”…”उहाँहरू आउनुभो, मम्मी?”
ग्याब्रियले — “इमानदारी जापानीहरूको विशेषता हो। तर… थोमस आफ्नी प्यारी छोरीलाई भेट्न कति तड्पिन्छन्। विदेशी श्रीमती भित्र्याउनेको पीडा।… जापानी समाजमा देखिएको सम्बन्धको आलोचना गर्थ्यो। जिन्दगी भनेको काम र पैसा मात्र होइन, माया, प्रेम र स्नेहको पनि कदर गर्नुपर्छ।… आफ्नी एक्ली आमालाई छोडेर बस्नुपरेकोमा गुनासो गर्थ्यो।”
वधाई छ, देवयानी — “प्रेम प्राप्तिमा होइन त्यागमा पनि हुन्छ।… रातको १२ बजेको थियो…”
कृष्णसर — “असल केटा त लाखौंमा एक हुन्छन्… तर कृष्णसरलाई भन्न सकेकी थिइनँ…”
मेरी प्यारी छोरी — “…छोरा न छोरी एउटै हो। गर्नेले छोरीले पनि धेरै थोक गर्न सक्छिन्। नगर्नेले छोरो भए पनि केही गर्दैन।… छोरीले पनि सब गर्न सक्छ।… वातावरण अनुकूल बनाइदिनुपर्छ।… कुलको इज्जत राख्न सक्छे, अझ भनूँ भने देशको नाम राख्न सक्छे।… किन एबोर्सन गर्ने? छोरी भनेर…? ‘बिचरी…! मेरी प्यारी छोरी।'”
अनिमा — “जिन्दगी सोचेजस्तो हुँदैन रहेछ। अनिमा अन्धकारसँग आफ्नो जीवन तुलना गर्छिन्। आफू नियतिको भुमरीमा अल्झिएको…। अनिमा मलाई प्रेम गर्छिन्।… मप्रति मौन प्रेमको प्रदर्शन गर्छिन्।”
केइको सेनसेइ — “प्रेममा भुगोलको परिधिले छेक्न सक्दैन रहेछ।… विदेशमा बसेपछि… अलि बढी नै राष्ट्रियता, जाति र भाषा प्यारो हुँदो रहेछ।… आगेमासितो ओमेदेतो गोजाइमास, कोटोसियो डोजो युरोसिको ओनेगाइ सिमास।”
भ्रमजाल — “प्रेममा कति तड्प हुन्छ।… अमोलको लागि तन–मन–धनले समर्पित थिइन्।… हैन, तिमीलाई नेपाल जान किन यस्तो हतार भएको हो? थाहा छ नेपालमा कति समस्या छन् भनेर।… मरे पनि त्यो केटासँग बिहे नगर्ने।”
एडम्को प्रेम — “हेर्दा जति खुशी देखिन्छ, त्यति नै दुखी छ विदेशिएको जिन्दगी।… ‘म ‘गे’ हुँ। म केटीहरूप्रति आकर्षण छैन, म एक पुरुषलाई प्रेम गर्छु,’…। ‘गे, लेस्बियन’ हुनु… प्राकृतिक कुरा हो।”
समग्रमा भन्नुपर्दा ‘ग्याब्रियले’को जुनै कथा पढे पनि असन्तुष्टि लाग्दैन। प्रत्येक कथामा भिन्दाभिन्दै किसिमको स्वाद पस्केका छन् लेखकले। कति कथामा नेपाली र जापानी संस्कृतिका रसिला वर्णन छन्। सरल भाषा, कतै व्यङ्ग्यात्मक शैली, उचित शब्दको चयन र हालको सामाजिक परिवेशको केही झलक देखिएको कथाहरू पढ्दा लेखकज्यू एक सफल कथाकार हुनुहुन्छ भन्ने लाग्यो। यति राम्रो कथा काल, परिस्थिति, सामाजिक परिवेश र जीवनका उतारचढावलाई लेखेर सजीव हिसाबले पाठकमाझ पस्किनुभएकोमा हरिश कल्पितज्यूलाई हार्दिक धन्यवाद।
भु.पु. गणित शिक्षक, बूढानीलकण्ठ स्कूल, काठमाडौं
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।