कल्पनाबाट होइन,
आँखाले संसार चिहाउन थालेपछि
आमाले कम्मरमा बाँधेको
बाह्रहाते पटुकी सम्झन्छु।
बेस्सरी सात फन्को कस्सिएको हुन्थ्यो,
कहिले छड्के पारेर
बाले भिरेको खुकुरी जस्तो।
हँसिया त कहिले खुर्मी भिरेको हुन्थ्यो।
पँधेराबाट पानी भरेर आउँदा,
कहिले तामाको गाग्री अड्याएर बोकेको हुन्थ्यो।
अनि कहिले कल्पना गर्थें म,
बिँडा हो कि पटुकी हो यो?
आमाले कम्मरमा कसेर बाँधेको पटुकी,
दाउराको गह्रौँ भारी बोक्दा
डोकाको चौतारी बन्थ्यो।
पँधेरामा गएर धुन नभ्याएपछि
सायद मैलो भएर हुनसक्छ,
नयाँ रङको देखिन्थ्यो।
अनि, आमा-आमा मीठो बास्ना आउँथ्यो!
मलाई लाग्थ्यो-
यसमा सधैँ लुटुपुटु गरिरहुँ।
कहिले रिट्ठा र खरानीमा भकभक उम्लिन्थ्यो,
अनि काठको मुङ्राबाट
भक्कु चुटाइ खान्थ्यो।
फेरि चर्को घाम लाग्दा, डोरीमा
चहचह पिङ खेलेर सुक्थ्यो।
अनि फेरि,
महिनौँ दिनलाई आमाको कम्मरमा बास पाउँथ्यो।
म आमालाई झिझ्याइरहन्थें,
किन बेरिन्छ घरीघरी त्यो?
मेला-पात र अर्मपर्ममा
आमाको ऊर्जा बनेको देखेँ पटुकी।
छोरा-छोरीको पापी पेट भर्न र
स्कूलका खाता-किताब,
लुगाफाटा र यूनिफर्म ल्याउन,
टक्सारी बनेको देखेँ त्यो पटुकी।
आमाको शक्ति, ऊर्जा र साहस,
अनि भरोसा र विश्वास थियो पटुकी।
साथ नछोड्ने सारथी बन्यो पटुकी।
वर्षेनी जन्मिएका लालाबाला
पिठ्युँमा बोकेर,
गाईका भक्कारा र बाख्रालाई
घाँस-खोले दिन र
ढाड सोझ्याउने टेवा दिने सहारा भयो पटुकी।
मेला, पात र पर्म परेलीमा
टुसुक्क बसेर खान नभ्याएपछि,
भुटेका मकै पोल्टामा बोकेर ल्याउने साधन बन्थ्यो पटुकी।
कतै गाउँमा ऐँचोपैँचो खोज्न जानपर्दा,
एक छेउको फेर नै
पछाडि पट्टीको भाग छोप्ने
दह्रिलो सहारा हो यो पटुकी।
दिन, रात, महिना, वर्ष हुँदै
आठौँ दशक बितेपछि,
अब नवौँ सङ्घारमा छ।
सङ्घर्षमा आज पनि आमाको
घिस्रिनलाई साथ छोडेको छैन।
ढाड दुखेको पनि
अचुक औषधि भएर बसेको छ,
अवर्णनीय आमाको पटुकी।
*****
गान्तोक, सिक्किम


