तिमी लेख, कि नलेख,
म भने लेखिरहन्छु।
हरेक शब्दमा खोजिरहन्छु
जीवनको परिभाषा।
तिमीले कलम थाम्यौ कि थामेनौ,
म भने धानको बिटोझैं थामिरहन्छु
स्मृतिका दाना,
र उनेर कथा बनाउँछु।
तिमीले सोध्यौ कि सोधेनौ,
म आफ्नै प्रश्नमा हराइरहन्छु।
उत्तर खोज्दै
हरेक अक्षरमा रित्तिन्छु।
तिमी हाँस्यौ कि रोयौ,
म भने समयसँगै हाँसिरहन्छु।
कहिले आफ्नै खुशीमा,
कहिले आफैँलाई धोखामा फसाउँदै।
तिमी रोकियौ कि चल्यौ,
म भने निरन्तर बगिरहन्छु,
हावा झैं, पानीझैं।
अनि लेखिरहन्छु,
जीवनलाई बुझ्न सकिन्छ कि भनेर।
तिमी लेख, कि नलेख,
म भने लेखिरहन्छु।
किनभने यी लेखन
मेरा श्वासका तरंग हुन्।
*****
बेलका-२, गल्फडिया, उदयपुर


