आफरिन! यतिखेर म तिमीलाई अनन्यभावले सम्झिरहेको छु। हुन त तिमी अनन्यभावले एउटा विशिष्ट अस्तित्व लिएर स्थायी रूपमा बसेका छौ मेरो स्मृप्तिको रङ्गभूमिमा।
आजको दिन मेरो जन्मदिन। तिमीलाई स्मरण होला, म आशा गर्छु, तिमीले पक्कै पनि भगवान्को अगाडि राखेको कलशमा एउटा गुच्छा रातो गुलाफ राख्यौ होला मेरो जीवनको मङ्गलकामना गर्दै।
मलाई विश्वास छ, तिम्रो सहृदयी चेतले बिर्सेका छैनौ ती हाम्रा अतीतका उच्चतम क्षणहरू, मलाई र मेरो जन्मदिनलाई।
तिमीसँग बिताएका ती चिरस्थायी, मूल्यवान्, वैभवपूर्ण र गौरवपूर्ण, भावनात्मक पलहरू मेरा जीवनका सर्वाधिक उल्लेखपूर्ण र महत्त्वपूर्ण कालखण्डहरू हुन्। तिमी संसारको कुन ठाउँमा आफ्नो जीवन सुरम्य तरिकाले बिताइरहेका छौ? आफ्नो मातृभूमि कास्मिरमा छौ कि पश्चिमी देशमा? कि एयरफोर्समै आबद्ध छौ?
कहिलेकाहीँ मनलाई भय र चिन्ताले गाँज्न थाल्छ। एअरफोर्सको जागिरको सिलसिलामा लडाकु विमान लिएर तिमीलाई भारतको कति संवेदनशील सिमाना र इलाकाहरूमा जानुपरिरहेछ होला। सिमानामा हुने लडाइँ, आक्रमण र गोलाबारीमा तिमीले पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपरेको होला। भगवान् सँग प्रार्थना गर्छु तिम्रो जीवनमा कुनै अनिष्टको घडी नआओस्। तिम्रो जीवनले सदा सफलता र विजयको शिखर चुमोस्। तिमीलाई सम्झेर यति कामना गर्नुबाहेक अरू के गर्न सक्छु र अब? मलाई विश्वास छ, तिमी जहाँ छौ सुखी छौ।
आफरिन! आज फेरि म सम्झिरहेकी छु भावविह्वल भएर, तिमीले मेरो जन्मदिनमा पहिलो पटक पठाएको रातो गुलाफको सुन्दर बुकेलाई। जुन फूलले तिम्रो र मेरो बीचमा अप्रतिम सम्बन्ध जोडिएको थियो। चुनौतीपूर्ण जीवनलाई आत्मासात् गर्ने साहस र उदारतापूर्ण तिम्रो स्वभाव मेरो लागि आकर्षक बनेको थियो।
मेरो फूलबारीमा र बरन्डाका गमलाहरूमा राता गुलाफहरू लटरम्मै फुलेका छन्। ती प्रिय फूलहरू देख्दा मनको वृत्तमा अपार आनन्दको इन्द्रधनुष घुम्न थाल्छ। ती फूलहरूले तिम्रै साकार स्वरूपको स्मरण गराउँछन्। लाग्छ यी फूलहरू फुलिरहुन् मेरो फूलबारी र गमलाहरूमा। कहिल्यै नओइलाऊन् ती फूलहरू।
साँच्चै आफरिन! हाम्रो प्रेममय मित्रता तलाउमा फुलेको कमलझैँ तेजोद्वीप थियो। एउटा पवित्र सुगन्ध व्याप्त थियो हामीबीच। यसैले तिमीलाई र तिम्रा ओजस्वी शब्दहरूलाई नाद र नूर सम्झेकी छु। तिमीलाई मैले आफ्नै आन्तरिक आकाशको ध्रुवतारा सम्झेकी छु। जुन आजसम्म अक्षुण्ण रूपमा चम्केर उदाएको छ मेरो मनको आकाशमा।
मेरो मिल्ने साथी रश्मिला र म ‘इन्टेरियर डेकोरेसन’ पढ्न दिल्ली गएका थियौँ। दुई वर्षको कोर्स थियो। हाम्रो पढाइको दोस्रो वर्ष चल्दै थियो। हाम्रो गर्ल्स होस्टेलको पारिपट्टि ब्वाइज होस्टेल थियो। हाम्रो होस्टेलमा झैँ त्यो होस्टेलमा पनि विभिन्न सहरहरूबाट आएका विभिन्न विषय लिएर विभिन्न कलेजमा पढ्ने विद्यार्थीहरू थिए। दिल्लीको चर्को गर्मीमा साँझतिर हामी आठ-नौ जना साथीहरू बरन्डामा बसेर रमाइलो गर्ने गथ्यौँ। मन परेका हिन्दी गीत गाउँदै र अन्य गफहरू गर्दै। त्यतिबेला ब्वाइज होस्टेलका केटाहरू तँछाड-मछाड गर्दै बरन्डामा झुम्मिन आउँथे र उनीहरूको हामीतिर दृष्टि-प्रक्षेपणको चमकधमक सुरु हुन्थ्यो। ती केटाहरूको भेलामा सुरुका वर्षमा तिमीलाई कतै देखिनँ।
आफरिन! एकदिन अचानक तिमी ती केटाहरूको भीडमा अलग्गै पहिचान र सुदर्शन व्यक्तित्व लिएर घामझैँ झुल्क्यौ।
तिमी साँच्चै गम्भीर र शालीन थियौ।
तिम्रो व्यक्तित्वले हामी सबैलाई आकर्षित पारेको थियो।
तिमी बरन्डामा बस्दा तिम्रा ठूलठूला आँखाहरू हामीतिर विस्तारै आउँथे भने हाम्रा आँखाहरू पनि तिमीतिर दौडन्थे। तिम्रा आँखामा कुनै उच्छृङ्खलता थिएन।
अरू केटाहरूले हिन्दी गीत गाउँदा तिमी किताब पढिरहेका हुन्थ्यौ। साँच्चै आफरिन! तिमी बरन्डामा देखिएपछि हामीमा एकप्रकारको गाम्भीर्य र भलाद्मीपन छाएको थियो। पहिले जस्तै गीतहरू मन फुकाएर गाउन सङ्कोच लाग्थ्यो हामीलाई।
हामी साथीहरूलाई विश्वास थियो – तिमीले मेरी सुन्दरी साथी रश्मिलालाई मन पराउँछौ होला। रश्मिलाले पनि तिमीलाई चाहन्थी – ऊ आफ्नो मनको भाव बराबर व्यक्त गर्दै भन्थी, “कस्तो राम्रो केटो! कस्तो ह्यान्डसम! कस्तो जेन्टल! ऊसँग बोल्न पाए हुन्थ्यो।”
मभित्र पनि तिमीप्रति एउटा सम्मोहन थियो , आकर्षण थियो, एउटा खुलदुली थियो तर म आफ्ना सारा भावनालाई दबाएर राख्थें।
जब तिमी बरन्डामा आउँथ्यौ लाग्थ्यो मानौं तिमी ऐना भएर चम्किरहेका छौ। हामी केटीहरू पनि बिस्तारै कोठाबाट बाहिर निस्कन्थ्यौं र सौम्य भएर तिमीलाई हेथ्यौं। हाम्रो हेराइ चलिरहन्थ्यो।
साथी गुडिया जो वैङ्गलोरबाट आएकी थिई, फेसन डिजाइन लिएर, दिल्ली कलेजमा पढ्दै थिई। ऊ सुन्दरी नभए पनि हिस्सी परेकी, मनकी सफा थिई।
देवयानी अगरतलाबाट आएकी थिई। पत्रकार देवयानी पत्रकारितामा मास्टर्स गर्न लागेकी थिई। काली देवयानी जिद्दी र आक्रामक स्वभावकी थिई।
थुप्रै साथीहरूमा रश्मिला र गुडिया मेरो नजिकका र अन्तरङ्ग साथीहरू थिए।
अँ, तिमी बरन्डामा आएपछि गुडिया रश्मिलालाई बोलाउँदै भन्थी, “ए रश्मिला। तिम्रा सुदर्शन बरन्डामा आएका छन्, तिमीलाई खोज्दै छन्।”
तिमी राम्रो भएकाले हामीले तिमीलाई ‘सुदर्शन’ भनेर नामकरण गरेका थियौँ।
रश्मिला पनि आफ्नो रूप सौन्दर्यमा मस्किदै बरन्डामा आउँथी र एउटा मधुर मुस्कान छोड्थी तिमीतिर।
तिमी को थियौ? कहाँबाट आएका थियौ? के नाम थियो तिम्रो? कहाँ पढ्छौ? के गर्छौ? हामी सबै अनभिज्ञ थियौँ, तर हाम्रो मनभरि तिमीबारे जान्ने उत्कट जिज्ञासा थियो।
अचानक एकदिन कर्नाटप्लेसको गुलमोहर रेस्टुरेन्टमा हाम्रो परिचय भएको थियो ।
त्यतिबेला गुडिया, देवयानी, रश्मिला र म थियौँ। टाढाबाट हेर्दा जति तिमी सुन्दर थियौ, साक्षात्मा पनि तिम्रो व्यक्तित्व-व्यवहार त्यत्तिकै सुन्दर रहेछ। त्यत्तिकै सहज र सरल पनि।
हामीले एक-आपसमा परिचय आदान-प्रदान गर्दै रमाइलोसँग कफी पिएका थियौं।
तिम्रो कम बोलाइमा पनि स्पष्टता र गहनता झल्किन्थ्यो।
तिम्रो नाम ‘आफरिन’ रहेछ। मैले तिम्रो नामको अर्थबारे सोधेथें।
तिमीले मुस्कुराउँदै जवाफ दिएका थियौ, “अत्यन्त सुन्दर।” तिम्रो नामको अर्थ सुन्दा पनि हामी सबै रमाएका थियौं।
उत्साहित हुँदै रश्मिलाले भनी, “कस्तो राम्रो अर्थ।”
तिमी कास्मिरको मुस्लिम युवक। एउटा सुशिक्षित र सम्पन्न परिवारका रहेछौ। तिम्रो बुवा पनि आर्मीमा ठूलै पोस्टमा रहेछन्। एयरफोर्सको ट्रेनिङका लागि परीक्षा दिन आएका रहेछौ तिमी। विस्तारै-विस्तारै म, गुडिया र रश्मिला तिमीसँग नजिक हुन थाल्यौं। एउटा स्वस्थ्य मित्रता थियो हामीबीच। तिमी र तिम्रा साथीहरूसँग फिल्म हेर्न, लोट्स टेम्पल, कुतुबमिनार जस्ता दर्शनीय र रमणीय स्थलहरूमा घुम्न थाल्थ्यौँ हामी। जहाँ जान्थ्यौँ तिमीले आफ्नो सभ्य व्यवहार र शालीन स्वभावलाई सधैं उच्च स्थानमै राख्यौ, जसले गर्दा हामी निकै प्रभावित र गर्वित थियौँ, तिमीजस्तो समझदार र असल मित्र पाएकामा।
जहाँ जाँदा पनि रश्मिला तिमीसँग नजिक हुन्थी, तिमीसँग गफ गरिरहन्थी । होस्टेलमा तिम्रो फोन आउँदा पनि रश्मिलाले नै फोनमा कुरा गर्थी। लाग्थ्यो, रश्मिला र तिमी एकअर्कालाई ज्यादै मन पराउँछौ। यद्यपि म पनि चाहन्थें तिमीसँग मनग्गे कुरा गर्न। तर रश्मिलालाई उछिनेर तिमीसँग धेरै कुरा गर्न मन लाग्दैनथ्यो। मौन बस्थें धेरैजसो। उसो त तिमी पनि त कमै बोल्थ्यौ नि।
एकपल्ट तिमीले रोज रेस्टुरेन्टमा चियाको घुट्को लिंदै भनेका थियौ, “श्रद्धा! तिमी किन गफ गर्दिनौं? किन गम्भीर भएर बस्छ्यौ?” हाँसेर जवाफ दिएँ, “मेरो मौनताले नै बोलिरहेछ नि आफरिन!” मेरो प्रत्युत्तर सुनेर तिम्रो मुहार र ओठमा चहकिलो मुस्कान छरिएको थियो।
उन्मुक्त खुसी, छचल्काउँदै तिमीले भन्यौ, “श्रद्धा! तिम्रो मौनता र गम्भीरता मनपर्छ। म बुझ्छु तिम्रो मौन भाषा।” तिम्रा आँखामा हेरें – खै किन हो, तिम्रा ती दीप्त आँखाहरूले त्यो क्षण स्पन्दित गरेका थिए मेरो नरम मुटुलाई।
रश्मिलाले हामी दुईको बीचमा भएको सुखद संवादको क्षणलाई कुल्चँदै तिमीलाई आफ्नो कुरामा तानी। त्यतिखेर मैले अनुभव गरें, अघिको तिम्रो अनुहारको चहकमा कालो छाया परेको थियो।
म चुप लागे।
रश्मिलाको गफमा हस्तक्षेप गरिनँ।
मात्र सुनिराखें। यस्ता घटनाहरू अक्सर घट्ने गर्थे। केही दिनपछि मेरो जन्मदिन आइपुग्यो।
मेरो बीस वर्षको जन्मदिनको उपलक्ष्यमा साथीहरूले साँझ केक काटेर रमाइलो गर्ने कार्यक्रम राखे।
जन्मदिनको दिन बिहानै उठेर नुहाइधुवाइ गरी भगवान्को फोटो अगाडि धूप बालें – एकछिन आराधना गरें।
साथीहरूले विहानै बधाई दिए।
होस्टेलको अङ्कल सुजित कौर जो घरधनी थिए र हाम्रो गार्जियन पनि, हाम्रो कोठाको ढोकामा नक गर्दै बोलाए, “श्रद्धा! श्रद्धा!!”
ढोका खोलेर बाहिर निस्कें। “तिम्रो नाममा जन्मदिनको उपहार आएको छ। तल लिन आऊ। हाम्रो तर्फबाट पनि तिम्रो जन्मदिनको शुभकामना।”
अङ्कल तल झरे।
हामी सबै छक्क पर्यौं।
कसले पठाए होलान् बुके?
खुलदुली लागिरह्यो मनमा।
रश्मिला झन् उत्तेजित भई।
हामी सबै दगुरादगुर गर्दै तल ग्राउन्ड फ्लोरमा झर्यौ, जहाँ अङ्कलका परिवार बस्थे।
मभन्दा रश्मिला बढी उत्सुक थिई। हत्तारिँदै उसले सोधी, “अङ्कल! खै बुके?”
अङ्कलले भने, “ऊ त्यहाँ टेबलमा छ बुके।”
रश्मिला बुके लिन दौडी म जानुभन्दा अघि। उसको उत्सुकता हेरि नसक्नु थियो। मैले यसो टेबलतिर हेरेको त रातो गुलाफैगुलाफको सुन्दर भव्य बुके।
ओ… हो… रातो गुलाफ!
एक्कासि आवाज निस्कियो मेरो।
एकछिन त रनभुल्लमा परें म।
न त बोल्न नै सकें, न त बुके समाउन नै सकें। स्वप्नलोकजस्तै लाग्यो सारा वातावरण।
आखिर कसले पठायो त यो बुके?
रश्मिलाले उत्कट जिज्ञासा र चञ्चलतासँग बुके उठाई र बुकेभित्र राखेको शुभकामना कार्ड हत्तपत्त निकाल्दै पढ्न थाली – आफरिन!
साथीहरू सबै चकित।
लाज र खुसीले रक्ताम्ये भयो मेरो सारा शरीर, तर रश्मिलाको त्यो उत्साहजन्य भाका, बोली र सुरताल एकदमै शून्य भयो। तैपनी ती अनगिन्ती गुलाफलाई साथीहरू र रश्मिलाले यस्तो मनोयोगले हेर्न थाले मानौं त्यहाँ गुलाफकै प्रदर्शनी भइरहेको छ।
गुडियाले चिच्याउँदै भनी, “हेरहेर श्रद्धा! गुलाफको डाँठहरूमा केही कोरेजस्तै देखिन्छ।”
रश्मिलाले बुके समातेर डाँठमा हेरी। हामी सबैले हेऱ्यौँ। प्रत्येक डाँठहरूमा तिमीले अफ्नो अन्तहृदयको सुन्दर अक्षरहरू कोरेर पठाएका थियौ, “आइ लभ यु श्रद्धा! आइ लभ यु श्रद्धा!”
पहिले त विश्वासै गर्न गाह्रो भयो मलाई।
ती अक्षरहरू त बिजुली चम्केझैँ चम्किए मेरा आँखामा, गुडियाले मलाई झ्वामलाङ्ग अँगालो मार्दै भनी, “बधाई छ श्रद्धा। बधाई धेरै धेरै।” अरू साथीहरूले पनि बधाई दिए। तर रश्मिलाको भने एउटा अनुहार दुइटा डाँठहरू हेरेपछि सुकेको पातझैँ खडरङ्ग भयो। केही नबोली माथि आई। कस्तो कस्तो लाग्यो मलाई।
साथीहरू चुपचाप हेरिरहे उसको अचम्मको प्रतिक्रियालाई।
तर ती प्रेममय तिम्रा स्वर्ण अक्षरहरू पढ्दा तिम्रो आत्मीय गन्धले म भित्रका अनुभूतिहरू आनन्दको छाल बनेर उर्लिंदै थिए। म मुग्ध र विस्मय भावले ती डाँठका एकएक अक्षरहरू हेरिरहें, गुनिरहें, तौलिरहें, नापिरहें आफैँलाई।
साँच्चै आफरिन, त्यो दिन मभित्र खुम्चिएर बसेको आकाश फैलिएको थियो।
मेरो चिन्तनको सानो ढुकुटी समृद्ध भएको थियो। किनभने तिमीले मेरो जीवन र भावनालाई नयाँ अर्थले सिँगार्दै थियौ, जसको मैले कल्पनासम्म गरेकी थिइनँ।
माथि आउँदा रश्मिला आफ्नो पलङमा गुजुल्टिएर डाँको छाडेर रुँदै थिई। रोइरही लगातार निःशब्द। मलाई लाज पो लागेर आयो। ऊ रोएको देख्दा। साथीहरू अवाक् थिए। क्षणभरको सुख र आनन्दको लीला विषादमय भइदियो। साह्रै नमीठो र नमज्जा लाग्यो मलाई। म त केही बोल्न सकिनँ । किंकर्तव्यविमूढ भएँ। त्यो गुलाफको बुके मलाई किन पठाउनुपरेको होला जस्तो लाग्यो, एकछिन त।
तिमी नै भन न आफरिन! मेरो के दोष थियो र?
उसको रुवाइले ऊभित्रको सम्पूर्ण कुराहरू ओकलिरहेको थियो। मलाई र हामी सबैलाई विश्वास थियो तिमी रश्मिलालाई मन पराउँछौ होला। खै! कसरी तिम्रा मनका पाइलाहरू म तिर बढे मलाई थाहा भएन। तर तिमीले पठाएको बुके र ती भावनात्मक अक्षरहरूले मभित्र एउटा दिव्य खुसी जन्मिएको अनुभव गरें। यद्यपि रश्मिलाको रुवाइले मभित्र खिन्नता र सङ्कोचले घेरा हालेको थियो। साँझको केक काट्ने कार्यक्रम पनि कुनै रमझमबिना उदास-उदास टुङ्गियो।
भोलिपल्ट तिमीले मलाई मात्र लन्च गर्न कर्नाटप्लेसको रेस्टुरेन्ट गुलमोरहमा आउन अनुरोध गरेका थियौ, तर मैले जाने कुरामा निर्णय गर्न सकेकी थिइनँ। हिजोदेखि रश्मिला मसंग राम्ररी बोलेकी थिइन। एकान्तमा गुडियालाई भनें, “मलाई आफरिनले लन्चमा बोलाएका छन्। रश्मिला रोएको देखेर मलाई जान पनि कस्तो-कस्तो सङ्कोच लागेर आएको छ। के गरूं गुडिया?” गुडियाले आश्वासन र हौसला दिँदै भनी, “रश्मिला किन रोएकी हो- हामी सबैलाई थाहा छ। ड्याम केयर। जाऊ श्रद्धा! म तिम्रो साथमा छु। आफरिन तनको मात्र होइन, मनको पनि सुन्दर छ। तिमीहरू दुवैले एकअर्काको विचार र भावनालाई बुझ्नुपर्छ, चिन्नुपर्छ।”
गुडियाको सल्लाहले आश्वस्त भएर तिमीलाई ‘आउँछु’ भनेर फोन गरें।
त्यसपछि हामी दुवै जना ट्याक्सीमा बसेर रेस्टुरेन्टतिर लागेका थियौँ । सधैं साथीहरू साथ हुन्थे तिमीसँग घुम्दा। यसपटक म एक्लै र नयाँ विचारमा रोमाञ्चित भएर तिम्रो साथमा थिएँ। यो क्षण मलाई अत्यन्त नयाँ र नितान्त व्यक्तिगत लाग्यो। सारा शरीरभरि फूल फुलेको जस्तो लागिरह्यो। तिम्रो सान्निध्य अत्यन्त सुखद र प्रिय भए पनि एक प्रकारको भयले मनलाई अशान्त बनाइरहेको थियो।
थाहा छ आफरिन! त्यतिबेला ट्याक्सीमा तिमीसँग बस्दा बेलाबेला सङ्कोच र अविश्वासपूर्वक तिमीलाई हेर्थे। तर तिम्रो मायालु दृष्टिले भने विश्वासपूर्वक मतिर नियालिराखेको हुन्थ्यो। फैलिएर एकाकार हुन खोजिरह्यो। तिम्रो सन्निध्यको पोखरीमा माछाझैँ छटपटाएकी थिएँ म। ट्याक्सीमा सामान्य कुरा मात्र भएको थियो। तिम्रो र मेरोबीच। तर पनि हाम्रो मौनताले नै सबै कुरा बोलिरहेको थियो। खै किन हो मैले आफूलाई सहज स्थितिमा ल्याउनै सकिनँ। मुटुको चाल तीव्र भइरहेको थियो।
लन्च गरेपछि तिमीले मेरो हात नरमसँग समात्दै अत्यन्त स्नेही र विभोर भएर भन्यौ, “श्रद्धा! मलाई लाग्छ। मान्छेको अन्तर्मनदेखि निस्केको भावनात्मक प्रेम जीवनको सफलता र सुखको आधारशिला हो। मेरो अन्तर्हृदयदेखि प्रस्फुटित भएको तिमी प्रतिको प्रेमको सूत्र तिम्रो हृदयसँग जोड्न चाहन्छु। हुन त तिम्रो र मेरो जीवनको गन्तव्य बेग्लाबैग्लै छ। पढाइ सकेर आ-आफ्नो दुनियाँमा फर्किन्छौं हामी। आ-आफ्नै जीवन सुरु हुनेछ। यो सत्य हो। हामी विवाह बन्धनमा बाँधिन सक्तैनौं। विवाह मात्र जीवनको आनन्द र सुखको सर्वोच्चता होइन। मेरो यस्तो मान्यता छ। तिम्रो बोली र गम्भीर स्वभावले गर्दा तिमीलाई मन पराउन पुगें। हामी एक अर्काका लागि ऊर्जाशील र प्रेरणादायी बन्न सक्छौं। यहाँ बसुन्जेल साथ देऊ श्रद्धा। हामी छुट्टिएर गए पनि तिम्रो ‘साथ’ लाई म सदा मेरो हृदयमा अक्षुण्ण राख्नेछु।”
पुलकित भएर मैले तिमीलाई हेरिरहें। राम्रा लागे तिम्रा विचारहरू। तिम्रा ती अमूल्य वाणीहरू, उद्गारहरू हृदयले सुनिरहें, हृदयको पानामा लेखिरहें। त्यतिबेला हामी दुवैको हृदय र अनुहारमा प्रेमको भाव उन्मुक्तसँग नाचिरहेको थियो। मैले तिम्रो विचार र भावनालाई सहर्ष स्वीकारे।
हामीले एकअर्कालाई भावनात्मक रूपमा साथ दियौं। हामी दुवै, एकअर्काको व्यक्तित्व र अस्तित्वलाई त्यत्तिकै सम्मान दिएर माया गऱ्यौँ। हामी दुवै जनाले आ-आफ्नो मर्यादा र अनुशासनको नियममा बाँधिएर एकअर्काका लागि ऊर्जा प्रवाहित गरिरह्यौं। तिम्रा ती प्रभावशाली, स्नेहपूर्ण र उच्च मैत्रीपूर्ण व्यवहार मेरा लागि अनमोल खजाना भएका छन्, जसलाई मैले मेरो हृदयको ढुकुटीमा सुरक्षितसँग राखेकी छु, प्रेमपूर्ण अनुभूतिको लालित्यले सजाएकी छु।
अँ त आफरिन! तिमीसँगको सम्बन्ध नजिक र गाढा भएपछि रश्मिला मसँग टाढा हुँदै गई। यहाँसम्म कि ऊ मसँग बोल्नै छोडी। यद्यपी मैले ऊसँग पूर्ववत् मित्रता राख्न खोजें, बोल्न खोजें तर उसले मलाई स्वीकार गरिन।
एक दिन अचानक ऊ पढ्नलाई डिस्टर्व भयो भनेर, अङ्कलकी दिदीकहाँ पेइङगेस्ट भएर बस्न गई। त्यही दिनदेखि रश्मिलासँग पूर्णरूपले सम्बन्ध छुटेको थियो।
एअरफोर्सको ट्रेनिङको परीक्षामा तिमीले पहिलो लिस्टमा नाम निकाल्दा तिम्रो अपार सफलतामा खुसी भएर हर्षाश्रु बगेको थियो। तिम्रो सफलताले आफूप्रति र हाम्रो प्रेमप्रति गर्व गरेकी थिएँ। हाम्रो एक वर्षको हार्दिक प्रेमको परिणाम सुखद र सार्थक भएको थियो, मैले यही सम्झेँ। तिमीले सफलता पाएको दिन हामी विभिन्न ठाउँमा घुम्न गएका थियौं। पास भएको खुसीयालीमा तिमीले मलाई मनपर्ने कति भौतिक सामानहरू किनी दिएका थियौ भने तिमीलाई पनि तिम्रो रुचिका सामानहरू किनेर उपहारस्वरूप दिएकी थिएँ। ती सबै प्रेमका उपहारहरू आजसम्म मैले जतन गरेर राखेकी छु।
तिमीले लोट्स टेम्पलको सिङ्ङ्गमरमरको पहिलो सिँढीमा बस्दै मेरो हात समाउँदै भन्यौ, “मेरो यो सफलताका लागि तिमीलाई सम्पूर्ण रूपमा श्रेय दिन चाहन्छु। तिमीसँगको सुमधुर मित्रता र आत्मिक प्रेमले मेरो आन्तरिक शक्तिलाई अदम्य उत्साहको ऊर्जाले भरिदियो। जसले गर्दा मेरो सफलता उत्कृष्ट हुन सक्यो। तिमीले दिएको यो असीम ऊर्जालाई रित्याउने छैन जीवनभरि।”
तिम्रा ती ओजपूर्ण र कृतज्ञताले भरिएका कुरा सुन्दा मेरो हृदय हर्षले हिमालझैँ अग्लिएको थियो। तिम्रो सफलता आफ्नै सफलता ठानें मैले साँच्चै आफरिन! तिम्रो भावना कति विशाल र सकारात्मक थियो।
तिमी बेलाबेला आफ्नो उच्च विचार पोख्ने गथ्यौ, “भावना राम्रो भएपछि भगवान्को बास हुन्छ।” कति आस्थावान् थियौ तिमी। अन्य मानवीय गुणहरूले पनि तिमी सशक्त थियौ। भन्थ्यौ, “मनलाई साँघुरो घेरामा बाँधेर राख्नु हुँदैन, उदारता मनको शृङ्गार हो।”
तिमी स्वयम् यी गुणहरूले भरिपूर्ण थियौ। सोही अनुरूप व्यवहार गर्थ्यो हामीसँग।
तिम्रा अन्य सुन्दर वाणीको पनि सम्झना आउँछ। भन्थ्यौ, “राम्रो कुरालाई कहिल्यै पनि गुमाउनु हुँदैन। त्यसलाई सम्झेँ पनि जीवनको सफलता सम्भव हुन्छ।” आज पनि तिम्रा ती ममतापूर्ण र उच्च अभिव्यक्तिहरू सम्झदा विणा झै झङ्कृत हुन्छन् मनमा।
आफरिन! तिमी कास्मिरको युवक, म नेपाली युवती। हाम्रो संस्कृति, रहनसहन, परम्परा, धर्म बेग्लाबेग्लै भए पनि, भौगोलिक दृष्टिकोणले हाम्रो धरातल फरक भए पनि मान्छेको सुन्दर मन भएपछि संसारको जुनसुकै मान्छेको हृदयमा प्रवेश गर्न पनि सजिलो हुँदोरहेछ। कुनै पनि अवरोधहरूले त्यसलाई छेकवार गर्न असमर्थ हुने रहेछन् भन्ने कुरा ज्ञान भयो मलाई। त्यसैले तिम्रो अन्तर्मनको गहिराइमा म डुब्न समर्थ भएँ तिमी पनि मेरो भावनाको गहिराइमा पुग्न सफल भयौ।
लाग्छ एकअर्काको विचारलाई, एकअर्काको अस्तित्वलाई सम्मान दिएर नै हामी भावनात्मक प्रेमको मणिलाई स्पर्श गर्न सक्यौं। किनभने हामीमा कुनै आग्रह, लेनदेन र हिसाब-किताब थिएन।
एअरफोर्सको ट्रेनिङका लागि तिमीलाई जतिसक्यो चाँडै पुनामा रवाना हुनुपर्थ्यो।
मलाई भन्दा तिमीलाई आफ्नो गन्तव्यमा जानुपर्दा मनमा अपार शून्यता काँडाझैँ गढेको थियो।
मेरो परीक्षा सिद्धिए पनि प्राक्टिकल गर्न बाँकी रहेकाले मेरो फर्कने टुङ्गो थिएन।
तिमीसँग बिछोडिनुको कल्पनाले मन सधैं दुःखेर पाक्थ्यो। अत्यास लाग्थ्यो, रमाइलो लाग्ने दिल्ली सहर पनि नरमाइलो र शून्यशून्य लाग्दै थियो।
तिमीसँग भेट हुँदा, सपिङ गर्न जाँदा, रेस्टुरेन्टमा खान जाँदा न त तिमीले नै आफू जाने कुराको सन्दर्भ निकाल्थ्यौ, न त मैले नै कुरा निकालें। हामी दुवैलाई ‘जाने’ शब्द भयावह लाग्थ्यो क्यारे। विछोडको सम्भाव्य पीडा भित्रभित्र पिउँदै थियौं हामीले।
हाम्रो प्रेम दुःखान्त हुन्छ भन्ने कुरा हामी दुवैलाई थाहा थियो, जसका लागि हामी दुवै जना मानसिक रूपमा तयार थियौं।
जति तिम्रो जाने दिन नजिक आउँथ्यो, त्यति मन चिसिएर भित्र गाँठो पर्दै पसेको जस्तो लाग्थ्यो।” नचाहँदा नचाहँदै पनि तिम्रो जाने दिन आइपुगिहाल्यो।
ट्याक्सी लिएर तिमी मलाई लिन आयौ। गुडियालाई साथमा लिएर तिमीसँग रेलवे स्टेसनमा गएँ। ट्याक्सी भरि बिछोडको गहन सन्नाटा छाएको थियो। समय शिथिल र कमजोर हुँदै गइरहेको थियो हाम्रा लागि। तिम्रा निष्पाप आँखामा प्रगाढ भावना सलबलाइरहेको थियो। घरीघरी तिमी मलाई आफ्ना प्रिय आँखाहरूले हेर्थ्यौ, म पनि तिमीलाई आफूभित्रका सम्पूर्ण भावहरू खन्याउँदै हेर्थे।
हाम्रा अतलस्पर्शी आँखा मनहरूको एकअर्काको घाउलाई छामिरहेका थिए। ट्रेनको रिजर्भवेसन सिटमा बस्दै एकअर्कालाई अश्रुपूर्ण नयनले हेरिहन्थ्यौँ। तिमीले मलाई बिदाइको अन्तिम अङ्कमाल गर्दै एउटा जिम्मेवार अभिभावकले झैँ मेरो निधार र हत्केलामा म्वाइँ खाँदै भन्यौ, “श्रद्धा! आज हामी समयले बाँधिएका छौं। एक वर्षको हाम्रो अटुट मित्रताका क्षणहरू मेरो जीवनका अत्यन्त शक्तिशाली क्षणहरू हुन्। एकअर्कालाई पाउनु मात्र प्रेम होइन। हामीले एकअर्काको मन बुझ्यौं। एकअर्काको आन्तरिक सफलताका लागि प्रेरणाको अजस्रस्रोत बगायौं। विश्वास गर श्रद्धा! “म जहाँ भए पनि, जे गरे पनि भगवानलाई सम्झनु अघि तिमीलाई माथि राख्नेछु, तिमीलाई सम्झने छु।”
लाग्यो, तिम्रा उद्गारहरू मेरा जीवनका लागि आशीर्वचनहरू हुन्, जुन शब्दहरू शक्तिधारा भएर मभित्र सञ्चार हुँदैछन्।
चाहन्थें ट्रेन कुनै कारणवश यही स्टेसनमा रोकियोस्, तिम्रो पुना यही थलो भइदियोस् ।
मैले भर्भराएको स्वरमा भने, “आफरिन! म तिमीसँग कृतकृत्य छु। मेरा भावनाहरूलाई म शब्दमा व्यक्त गर्न त सक्तिनँ तर तिमी मेरो जीवनको बहुमूल्य हीरा हौ, जसले मेरो अन्तर्मनलाई उज्यालो पारिरहने छ। जहाँ जाऊ, खुसी होऊ। तिमीले मलाई अँगालामा आबद्ध गरेर भन्यौ थर्थराएको आवाजमा “तिम्रो जीवन सुखमय होस्। तिमी यहीं छौ मेरो यही हृदयमा।” ट्रेनले दोस्रो सिट्ठी बजाएपछि तिम्रो दुवै हात जोडले समातेर दुवै हत्केलामा आफ्नो शिर राख्दै निर्धक्क रोएँ, जुन रूवाइलाई कष्टपूर्वक रोकेर राखेकी थिएँ। तिम्रो शिर पनि मेरो टाउकोमाथि अडिएको थियो। एकछिन हामी प्रस्तरमूर्ति झैँ त्यहीं मुद्रामा उभिइरह्यौँ। सिटमा बसेर हामीतिर हेरिरहेका यात्रुहरू पनि हाम्रा निम्ति अदृश्य भइरहेका थिए। एउटा अकल्पनीय असह्य क्षण थियो त्यो। गुडिया चुपचाप सबै दृश्य हेरिरहेकी थिई। ट्रेनले तेस्रो सिग्नल दिएपछि गुडिया र म बाहिर निस्कियौँ। नचाहेर पनि मेरो हात समाउँदै तिमी ट्रेनको ढोकासम्म आएका थियौ। त्यसपछि हाम्रा हातहरू छुटे, साथ छुट्यो।
ट्रेनले बिस्तारै गति लिन थाल्यो । तिम्रा आत्मीय हातहरू ट्रेनको झ्यालबाट हरियो पातझैँ फर्फराइरहेका थिए। हेरिरहें तिम्रा ती मायालु हातहरू एउटा सानो बिन्दु देखुन्जेलसम्म।
त्यो नाजुक क्षणमा गुडियाले साथ दिई मलाई। मेरा आँखामा आँसु थामिन सकेनन्, गुडियाको काँधमा टाउको राखेर मनग्गे रोएँ।
°°°°°°
(कथाकारको “रातो गुलाफ” कथासङ्ग्रहमा सङ्ग्रहित शीर्ष कथा”)
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।