कुहिरो मेटिदै गयो
हिउँका पर्दाहरू पग्लिएझैँ
सुनौलो घामले भुइँछेउ सुम्सुम्यायो,
नयाँ किरणले मन उज्यालो पार्यो
चिसो बतासले बिस्तारै बिदा माग्यो,
न्यानो हावाले अङ्गालो हाल्यो।
पातहरूले फेरे रङ नयाँ
हरियालीले ओढ्यो सुन्दर काया
खेतका कान्लामा फूले फूलहरू
वनभित्र गुञ्जिए मधुर स्वरहरू
कोइलीको कुहुकुहू, भमरा गुन्जन
नयाँ उमङ्गको आयो सन्देश
नदी झनै चञ्चल बग्यो
हिमाल जलले भरियो
माटोले पोख्यो सुगन्धित वास्ना
मुस्कुरायो धर्तीको रूप रसिला
बालीनाली लहलह झुले
सुनौला सपना आँखाभरि खुले
नयाँ आशा, नयाँ तरङ्ग
हरियाली गाउँभरि छायो उमङ्ग
प्यारा पालुवाहरू उम्रिए फेरि
शाखाहरू रमाए हर्षले भारी
फूलहरू फक्रिए हाँस्दै गाउँदै
रङ्गीन संसार सुगन्धले छाउँदै
चराहरू चिरबिर उड्न थाले
बागबगैंचामा झुम्न थाले
मधुमास गुञ्जिए फूलका भमरामा
बिहानी छरियो प्रेमका स्वरहरूमा
वसन्त आयो आशिष् बोकेर,
प्रकृति सजायो सुन्दर पोशाकले
उदास मनहरू मुस्कुराउँदै छन्
बाँच्ने रहर फेरि पलाउँदैछन्।
०००
जगन्नाथ – १ बाजुरा


