सुनौलो किरणको आगमनबाट
बिहानी, मध्य दिनमा हिँड्दाहिँड्दै
रातले रोएको आँसु पुछ्न नपाउँदै
मेरो श्रमको पसिना
मलायाको तातो बालुवामा
बिलाएको छ शीत बनेर
हिउँद लागेपछि गौंथली,
मेरो कोठाको दलिनमा गुँड बनाउँछे
हराएको पोइ खोजेर ल्याउँछे,
भोकाएका बचेरालाई चारो खुवाउँछे
साह्रै लोभलाग्दो छ
उसको संसारिक घरजम
र, कल्पनाको सुन्दर सिर्जना गर्न
म बालुवाको रातो सिन्दुर पैँचो माग्दैछु
दाह्रीवाला मुदिरसँग मेरी नव दुलहीको लागि
जीवनभरिको वास्तविक सपना
लिलामीमा राखेर
पाखुराको सामर्थलाई।
सुखको आसमा फेरेको थिएँ लामो स्वास
चुरोटको धुवाँसँगै उड्यो
नागवेली उकालोमा र ठोक्कियो पहाडमा
बिलाउँदै गए सपनाहरू
त्यही मेरो अपुरो सपनाले चलेको रहेछ देश
मेरो रगत र पसिना
शित, धुलो, धुँवा र बालुवा
सिन्दुर, सपना र लिलामी पो रहेछ रेमिट्यान्स।



