आकाशभरि सजिएका मोतीहरू झारेर
फलामको चोयाले बुनेको नाङ्ग्लामा फिँजाउँदै
सपनाको धागाले गुच्छाहरू उनेर
लगाइदिनेछु कोठामा टाँगिएको
त्यो पुरानो फोटोमाथि
कहिले
कमजोर भै चुँडिजानेछ धागो
र छरपष्ट हुनेछन् दानाहरू
टप्प टिपेर गुलेलीमा राखि
मट्याङ्ग्रा ताकेर
आउँछन् ब्याधा कोही आफ्ना बनेर
अनि प्रहार हुनेछ
ईश्वरका सन्देश बोकेका
जोडी परेवामाथि
प्राण हराएको प्वाँखलाई
उडाइलानेछ हावाले अनन्तसम्म
खसालिदिनेछ माझ समुद्रमा
र उठ्नेछ ज्वारभाटा
हेरि बस्नेछन् मुक सिपीहरू
हृदयमा आशाका बिज रोपी
अन्ततः
स्विकार्ने छ समुद्रले
आफू सारा ब्रम्हाण्डको
प्रतिबिम्ब।
०००
नुवाकोट


