जेठ महिनाको दिन थियो। पृथ्वी नै भष्म गरुँलाझैँ गरी आकाशबाट सूर्य देवता आगोका लप्का बर्षाउदै थिए। मोहना नदीको खोंच वरिपरि उभिएका वोट वृक्षका पात र लतिका घामका प्रचण्ड तेज र राप सहन नसकी ओइलिएझैँ लाग्दथ्यो। अघिपछि गुनगुनाउँदै स्फूर्तिका साथ बहने मोहना नदि पनि चर्को रापले सुस्ताएकी थिइन्। नदीका दुबै किनार सुख्खा भै असरल्ल पल्टिरहेका थिए। वालुवाका कणमा सूर्यको प्रकाश टहकिएर आँखै खाने भएको थियो। आँतै सुकाउने घामको रापलाई गरिबीको ढाडमा थाप्दै विधाताले भनौँ वा लेखान्तरले भनौँ बाबु आमा जिवित हुँदै अनाथ बन्न पुगेकी निर्मला नदीका किनारमा बसेर प्रचण्ड रापले उम्लिरहेका वालुवा चाल्दै थिइ। भर्खर तेह्र पुगेर चौध वर्ष लागेकी हुँदी हो। किशोरावस्थाको दैलो टेक्दै गरेको उसको कलिलो बैँस अनि कोमल मन पसिना बनेर पग्लदै थियो। उसका किशोरावस्थाका कल्पनातीत सपनाहरू पसिनामा रूपान्तरित हुँदै अनि बदनका डिलबाट गुल्टिदै तातो बालुवाको उष्णता भित्र विलीन हुँदै गरेको देखिन्थ्यो। बाबु आमाको मायामा लाडिने उमेरमै निर्मलाका काँधमा जिविकोपार्जन अनि भाइको लालन-पालनको गह्रुँगो भारी लादिन पुगेको थियो। सखारै नदी किनार पुग्नु‚ ठूला-ठूला ड्रममा पानी भर्नु अनि वालुवा चालेर दुई छाकको जोहो गर्नु उसको दैनिकी झैँ भएको थियो। शरीर ढाक्न लाएको, ठाँउ ठाँउमा फाटेको घांघरका प्वालबाट निर्दयी गरिबीले चिहाएर उपहास गर्दै गरेको देखिन्थ्यो। सुखद अनि स्वर्णिम भविष्यको सपना अटाउनु पर्ने उसका आँखामा तितो अतित पोखिइरहेको थियो।
✤✤✤
“ए! नर्वदा! ढोका खोल्! …ढोका खोल भन्या सुनिनस्!”
रक्सीको मातले लर्बरिएको अनि जोडले ढोका ढक्ढक्याएको कर्कश आवाज नर्वदाका कानमा एकै पटक ठोक्किए। अनुहार अमिलो बनाएर छोरा छोरीका मुखमा हेर्दै लामो निश्वास फाली। मानौँ छातीभित्र गुम्सिएका सम्पूर्ण पीडाको कालो मुस्लोलाई बाहिर ब्रम्हाण्डमा हुत्याइदिन खोज्दै छे। मैला अनि ठाउँ ठाउँमा फाटेका थाङ्गनामा पल्टिएका छोरा छोरीका निर्दोष अपितु भय मिश्रित आँखामा अचानक उम्लिदै गरेको सन्त्रासको कालो छाँया प्रष्ट देखिन्थ्यो।
“अझै खोल्दिनस भन्या …छिटो खोल् …”विर्खे झन् कुर्लिन थाल्यो। नर्वदाले हत्तपत्त उठेर ढोका खोल्दिइ। बर्खे आँधीझैँ हुत्तिदै भित्र पस्यो। “ह्वास्स… ” रक्सीको नमिठो गन्ध घरभरी पोखियो। “आज पनि धोकेर आयौ हैन… कत्ति भन्नु… जति भने पनि लाग्ने हैन…” नर्वदाका अभिव्यक्ति भित्र पिडा, व्यथा अनि घृणा मिसिएको प्रष्टै देखिन्थ्यो।
बाबुको रक्सिले मात्तिएको त्रासदीय मुखमण्डल अनि लर्वरिएका गोडा देखेर त्रसित केटाकेटी दगुर्दै ओछ्यान तिर लागे। “खाएँ त खाएँ तेरो बाउको सम्पत्ति खाको छु र…” बड्बडाउँदै बिर्खे पनि ओछ्यानमा पुगेर पल्टियो। डरले केटाकेटीले सिरकले मुख छोपे। नर्वदाले निकैबेर घृणा भरिएको आँखाले लमतन्न पसारिएको लोग्नेलाई हेरिरही। “यस्ता पशुसँग के कुरा गर्नु… जोरी पारीका मुखन्जेल सदा कुकुरको मुत धोकेर आउँछ… रात दिनको टोकसो कति सहनु…” आक्रोशले बड्बडाउँदै जुठा भाँडा उठाएर बाहिर निस्कीइ।
बिर्खे पहिला त्यस्तो थिएन। गाउँभरी कै सबैभन्दा सोझो र भलाद्मी मानिन्थ्यो। घर व्यवहार राम्ररी चलाएर बसेको थियो। नर्वदालाई पनि असाध्य माया गर्थ्यो। जब बेसीमा कान्छीले भट्टी थापी। गाउँका धेरै युवा त्यतातिर रत्तिन थाले। कान्छीको चन्चले गाजलु आँखाको परेलीमा लठ्ठीएर रक्सीमा पौडीन थाले। साथी भाईको लहै लहैमा बिर्खे पनि लहसियो। कान्छीका गाजले आँखाको इसाराको भाका रक्सीको झोलमा खोज्न थाल्यो। अमृत भित्र खोजेको भए पो स्वर्ग पाइन्थ्यो। विषभित्र के पाइन्थ्यो! लोकको तिरस्कार। परिवारको घृणा। अनि आफ्नो स्वास्थ्यको क्षय बाहेक रक्सीको बोतलमा थियो नै के र, पाइन्थ्यो।
आज भोली गर्दै समय बित्दै गयो। विर्खेको पिउने मात्रा अनि क्रम तिव्र रुपले बढ्दै गयो। मान्छेले जति थाम्न सक्छ त्यति मात्र बोक्दछ अनि जति थेग्न सक्छ त्यति मात्र सहन्छ। पीडा पनि त्यही हो। त्यति मात्र सहन्छ जति सहनीय हुन्छ। सहनशीलताले सिमा पार गरिसकेपछि त्यो पीडा घृणामा रुपान्तरण हुन्छ। घृणाको परिधी नाघिसकेपछि तिरस्कार जन्मन्छ।
नर्वदाको बाहिरी आवरण सुन्दर थियो। रुप रंगका हिसाबले बिछट्ट राम्री थिई। हलुका काली भएतापनि ठूल्ठुला आँखामा बान्की पारेर गाजल लगाउथी। सुलुक्क परेको नाकमा टुपुक्क परेको फुली मानौँ हिमालको टुप्पामा गुराँस फूले जस्तो लाग्दथ्यो। निधारमा सानो रातो टिका अनि सिउँदो चिरेर लगाएको सिन्दुरको रेखा सूर्यका अगाडी नाचिरहेको इन्द्रेणी झैँ प्रतित हुन्थ्यो। गाँउ घरमा हिँडदा होस् वा मेलापात जाँदा‚ उसको रुप यौवनमा ऱ्याल चुहाउने युवाहरूको कमी थिएन।
विर्खे रक्सीको आहालमा भास्सिदै गयो। त्यही गतिमा नर्वदाको मन पनि भाच्चिदै गयो। आफूलाई एक्लो ठान्न थाली। बेसहारा महशुस गर्न थाली। त्यस्तो टेको त्यस्तो सहारा उसले पाइ वा पाइन भगवान जानुन् तर नर्वदा भागी। कता भागी कोसँग भागी कहाँ गइ केही पत्तो भएन। कलिला फूल जस्ता छोरा छोरीको मायाले छेक्न सकेन। मातृत्वको साङ्ग्लो फुकाएर भागी। चौतारामा वहसको विषय छोडेर गइ। कोहीले विर्खेले धोकेको रक्सीको बाढीले बगायो भने। कोहीले यौवनको आँधीले उडायो भने। उसले आफूलाई भर दिनसक्ने बलियो आधारको खाँचोको महशुस गरी वा हुर्किदो बैँसवाटिका सजाउन सक्ने मालीको गर्जो टारी थाहा भएन। तर कलिला फूल जस्ता केटाकेटीलाई मात र मदिराले गाँजेको विर्खेको खातामै छाडेर हिँडि।
आफ्नो मादक जीवनबाट नर्वदा पलायन भैसकेपछि विर्खे झल्याँस्स भयो। नशाको आकाशबाट तितो यथार्थको धर्तीमा पछारियो। पुरुषत्व माथिको चोट भन्दा पनि सन्तानको जिम्मेवारीले थिचिएको महशुस भयो। मातृवियोगले विक्षिप्त तिनका आँखामा उनीहरू प्रतिको एउटा बाबुको कर्तव्य र जिम्मेवारी चिहाइरहेका थिए। तर नर्वदा उसको जिन्दगीको क्षितिजबाट अस्ताइसकेकी थिइ। नर्वदा साथमा हुँदा ऊ होशमा थिएन, ऊ होशमा आयो नर्वदा साथमा थिइन। पश्चातापको भुङ्ग्रोमा पिल्सिएर मात्र सुख पाएन, ज्याला मजुरी गरेर सन्तानको भरणपोषण गर्न थाल्यो।
तर… एकदिन विर्खे पनि तिमीहरूकी आमालाई खोज्न जान्छु भनी भर्खर किशोरावस्थाको दैलो टेक्दै गरेकी निर्मलाका काँधमा भाइको लालनपालनको जिम्मेवारी थोपरिदिएर मुग्लान पस्यो।
✤✤✤
“ए! निर्मला कति ड्रम चालिस हँ आज?” निकै बेरदेखि निर्मलाका गतिविधि नियालीरहेको ठेकेदारले सोध्यो। कल्पनाका आकाशमा एक तमासले सपना बुन्दै गरेकी निर्मलाको कल्प श्रृङ्खला अचानकै खण्डित हुन पुग्यो। सपना, कल्पना र यथार्थको कुहिरोमा रुमलिरहेकी निर्मलाले हड्बडाउँदै “अहिले सम्म दश ड्रम भयो” भन्ने जवाफ दिइ। आफ्ना गिद्धे नजरले चपाउँला झैँ गरी हेर्दै ठेकेदारले भन्यो “ए!…. स्याबास…!”
भर्खर तेह्रमा टेक्दै गरेकी निर्मलाका शरीरमा कौमार्यताका चिन्हहरू देखा पर्न थालेका थिए। अलिक श्याम वर्णकी भएता पनि रुपरङ्गमा आमागोता गएकी थिइ। नाचिरहेका चञ्चल काला नयन पूञ्ज वालुवा र पसिना लत्पतिएको अनुहारमा झन् झलमल्ल भै खुलेका देखिन्थे। पुष्टिन खोज्दै गरेका छाति अनि डोलो न डोलो गर्दनमा पसिनाका बूँद गुल्टिंदै थिए। ठेकेदारको पैशाचिक दृष्टिबाट अप्ठयारो मान्दै सलले पुष्टिदै गरेका वक्षस्थल ढाक्ने असफल प्रयास गरी। ठेकेदारले के सोच्यो कुन्नि हत्तपत्त उसको ज्याला हिसाब गरी पैसा निर्मलाको हातमा थमाएर हिँड्यो।
✤✤✤
निर्मलाको सानो झुपडी भित्र खोपामा सानो दियो सकि नसकि मधुरो प्रकाश पोख्दै गरेको देखिन्थ्यो। भान्सामा निर्मलाको भाई भोका आँखाले छड्किइरहेको भातबाट निश्कने बाफको मुस्लोमा टोलाइरहेको थियो। निर्मला घरी घरी भाइका शिरमा स्नेहका हात फेर्दै आश्वस्त बनाइरहेकी थिइ। भाइ पनि दिदीको स्नेहलाई सहर्ष ग्रहण गरेझैँ सुकेका ओठलाई थुकले भिजाएर मुस्कुराए झैँ गर्दथ्यो।
निर्मला भात झिकेर तिहुन ओइरिन मात्र के लागेकी थिइ बाहिरबाट ढोका ढक्ढक्याएको आवाज आयो। “को हो हँ?” निर्मलाले आश्चर्य र भय मिश्रित प्रश्न ओकली। “म ठेक्दार दाइ क्या… ढोका खोल्न छिटो!” ठेकेदारको कम्पायमान स्वर सुनियो। भय र आश्चर्यले निर्मलाको छाती ढक्क फूल्यो। “किन के काम पऱ्यो र साहुजी? भोली म मोहनाको तिरमा आइहाल्छु नि!” एकै सासमा निर्मलाले जवाफ फर्काइ। “खोल्न खोल! अलिकति हिसाब मिलेन क्या!” ठेकेदार झन् जोडले ढोका ढक्ढकयाउन थाल्यो।
निर्मलाले मनभरी आशङ्काका बादल मडारिए पनि अन्ततः ढोका खोलिदिइ। ठेकेदारसँगै हावाको ठूलो झोंका पनि भित्र हुत्तियो। अचानक भित्र पसेको हावाको झोंका सहन नसकेर सकि नसकि बलिरहेको खोपाको दियो झ्याप्प निभ्यो। बाहिर दक्षिण तिरबाट कालो वादल उठेर विजुली चम्किँदै घनघोर सँग वर्षन थाल्यो। “नाइ साहुजी! .. के गर्न लाग्नु भाको ..विन्ति त्यसो नगर्नोस ..” एउटा क्षिण आवाजले झिनो प्रतिकार गर्दै गरेको सुनिन्थ्यो। “त्यसो नभन न निर्मला… म तँलाइ बिहा गरेर रानी बनाएर राखुँला …नकरा न.. ” वासनाले भिजेको कपटी आवाजले प्रतिरोधको मलिनो क्रन्दनलाई थिच्दै थियो। “मेरो दिदीलाई किन लुछेको.. छोड्” एउटा अझै मसिनो रुन्चे स्वर निस्किएर हावामा विलिन भयो।
घनघोर पानी परेको दुइ चार दिन पछि निर्मला वेपत्ता भइ भन्ने खबर फैलियो। मानिसहरू अनेक अड्कल काट्न थाले। कोही भन्थे “माथ्ला गाँउको रनेसँग भागी रे..” कोहीले तर्क गरे “ठेकेदारले राख्या छ रे…” उसको लुप्तता उनीहरूका लागि चर्चाको विषय बन्यो। निर्मलाको भाइ चौतारीमा बसेर निकैदिन सम्म रोइरह्यो। दिदी आइहाल्छे कि भनेर तल देउराली तिर अश्रुपूर्ण नयन विच्छाएर धेरै दिन सम्म कुऱ्यो। बाटो हिँड्ने मानिसहरू उ तिर हेरेर “नारायन शिब… कस्तो अभागी केटो रहेछ, पहिला आमाले छाडेर गइ, पछि बाबुले पनि छोडेर मुग्लान पस्यो.. दिदी चाहीँले पालेर बसेकी थिइ.. अहिले उसले पनि बेसहारा पारेर गइ, च्व च्व च्व” भन्दै चेपारो घसेर जान्थे।
“यसको को छ र.. म दिन्छु यसलाई लाउन खान.. म गर्छु यसको पालन पोषण” कोही भन्दैनथे। भर्खर तेह्र वर्षको उमेरमा टेक्दै गरेकी, सात वर्ष पनि नपुगेको भाइको भरण पोषणमा दिनरात खटिइरहेकी अनि कर्मठ एउटी बालिका गाउँबाट हराइ। कसैले पनि खोज्न आवश्यक सम्झेनन्। “कठै… यति कमलो उमेरमा दिनभर मोहनाका तिरमा वालुवा चालेर जिविका चलााउथी.. विचरा कहाँ गइ होला” कसैले भनेनन्। एउटा कलिलो वालक कैयौँ दिनसम्म भोकै प्यासै दिदीको बाटो हेरेर रोइरह्यो। कसैको चित्त काटिएन। कसैको मुटु दुखेन। कसैको आत्मा पोलेन। कसैका आँखा रसाएनन्। कस्तो समवेदना शून्यता? मानव ह्रृदयमा मानवहिनता कति झाङ्गिएछ? चोट, पिडा अनि व्यथा आफूलाई पर्दा मात्र ठूलो हुन्छ। ‘आफ्नो घरमा आगो लागे आगजनी अर्काको घरमा लागे तमासा’ भन्थे साँच्चै हो रहेछ।
✤✤✤
भारतको सीतामढ़ी। केही पुराना डिजाइनका घरहरू सडकका दुइतिरै लहरै उभिएका थिए। पुराना हिन्दी सिनेमाका गीतका धुनहरू जताततै गुन्जिरहेको सुनिन्थ्यो। लगभग सबैजसो घरका वराण्डामा ओठभरी भद्दा रातो लाली पोतेका विभिन्न उमेर अनि रङ्गका महिलागण अनेकन हाउभाउ कटाक्ष गर्दै उभिएका देखिन्थे। सडकमा मानिसहरू आवतजावत गर्दै थिए।
“अरे विर्खवहादुर भैया! के हालखबर छ! धेरै दिनको बाद तसरिफ लाउनु भएको छ। कहाँ जानु भएको थियो रे!” पान चपाँउदै अनि रवाफका साथ चुरोटको धुवाँ उडाँउदै मोटी न मोटी महिलाले आगन्तुकलाई सोधी। “कहि होइन वाई! अलिकति विजि थिएँ !” आगन्तुकले हाँसेर जवाफ दियो।
तिमीहरूकी आमालाई खोजेर ल्याउछु भनेर कलिला केटाकेटीलाई दुःख र विपतको भूमरी भित्र छाडेर हिँडेको विर्खे विलासिताको अर्को नशामा वेश्यालयको चक्कर काट्दै गरेको पो भेटियो। जिम्मेवारी अनि उत्तरदायित्व बोध जस्ता मानव मात्रका अव्वल लक्षणहरू विर्खे जस्तो दुर्व्यसनीमा के भेटिन्थ्यो।
“बाह्र नम्बर कमरा में जाइए… आज आपको बहुत खातिरदारी करेंगे!” गाजले आँखा नचाउँदै वाइले भनी।
विर्खे कोठामा पुग्यो। कोट फुकालेर भित्तामा झुण्डायो। चारैतिर भित्तामा रङगी विरङ्गी अर्धनग्न जनाना तस्बीर टाङ्गिएका थिए। विर्खे तस्बीरको नग्नतामा रमाउन के लागेको थियो कसैले ढोका ढक्ढकाएको आवाज आयो।
“अन्दर आओ…” विर्खेका आँखामा वासनाको लहर उम्लिन थाल्यो।
“आमै!…” भित्र पस्दै गरेकी युवती विर्खेलाई देखेर तर्सिइ, मानौँ उसका अगाडी गोमन सर्प फणा उठाएर उभिएको थियो।
“बा! …तपाइ!!..” उसका मुखबाट शब्दहरू बन्दुकबाट गोली निस्किए झैँ निस्किए। युवती फरक्क फर्किएर रुँदै भागी। विर्खेका आँखा खुलेका खुल्यै रहे।
युवतीको मुखबाट निस्किएको “बा!” भन्ने शब्द गोली झैँ लाग्यो। कसैले उसको मुटु लुछेको जस्तो भान भयो केहीबेर अघिको वासनाले उद्वेलित चेहरा रक्तहीन झैँ देखियो। ऊ भित्र उन्मत्तिएको यौन पिपासु क्षणभरमै खरानी भयो। आखाँबाट अनायसै दुइ थोपा आँसु निस्किएर भुँइमा विलिन भए।
∎ ∎ ∎
सूर्यविनायक नगर पालिका -१, विरुवा, भक्तपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।