विश्वलाई फन्को मार्दा,
देखें मैले –
मानवता चिच्याइरहेछ
शान्तिको चित्कार बगिरहेको छ
सभ्यता र संस्कृतिको खोलोमा
रक्तको भेल बगिरहेको छ
विश्वलाई फन्को मार्दा
सुनें मैले –
अन्धविश्वासका घण्टीहरू
विज्ञानको कान थुन्दैछन्
धर्मको नाममा विभाजनको
अर्को अध्याय लेखिँदैछ
विश्वलाई फन्को मार्दा
महसुस गरें मैले –
मान्छेहरू यन्त्र बनेछन्
स्वार्थको पाङ्ग्रामा घुम्दैछन्
असमानताको भूमरीमा
स्वतन्त्रता हराइरहेछ
विश्वलाई फन्को मार्दा
जागें म –
सोचेँ, के साँच्चै यस्तै हो मानवता?
के यही हो सभ्यताको पराकाष्ठा?
किन न्यायको हाँसो
रुवाइमा बिलायो?
विश्वलाई फन्को मार्दा
चेतना बढाइदिएँ –
समानताको गीत गाउँदै
एकताको माला गाँस्न थालेँ
शान्तिको झण्डा फहराउँदै
न्यायको सूर्य उदाउन थालेँ
विश्वलाई फन्को मार्दा
प्रतिबिम्ब देखें –
त्यहाँ मान्छेहरू हातेमालो गर्दैछन्
मायाको बिरुवा रोप्दैछन्
नफर्किने गरी अन्त्य भयो
घृणाको अधिनायकत्व
विश्वलाई फन्को मार्दा
अझै पनि देख्न चाहन्छु –
हिंसा होइन, प्रेमको जीत होस्
अत्याचार होइन, समानताको किल्ला उठोस्,
र,
संपूर्ण मानवता एक भएर
स्वाभिमानको यात्रा तय गरियोस्
विश्वलाई फन्को मार्दा
देखें मैले –
सपना चकनाचुर
आशाका पुल भत्किएका
न्यायका दीप निभेका
र, शान्तिका स्वरहरू
गोलीले थिचिएका
विश्वलाई फन्को मार्दा
सुनें मैले –
नक्कली सत्ताका भाषणहरू
झूटका पुलिन्दा र
आडम्बरका महलहरू
जहाँ –
गरिबको आवाज
प्रतिगमनको तुँवालोमा हराएको छ
विश्वलाई फन्को मार्दा
महसुस गरें मैले –
देशभक्तिको नाउँमा
हिंसाका झण्डाहरू उठेका छन्
माटोको माया भन्दै
रगतका खोलाहरू बगिरहेका छन्
आदर्शको चितामा
स्वार्थका अग्नि जलिरहेका छन्
विश्वलाई फन्को मार्दा
अचम्म लाग्यो –
किन सत्यको शिर झुकेको?
किन झूटको सिंहासन अडिएको?
किन बाँच्न पाउने हक
हतियारको थाप्लामा झुकेको?
विश्वलाई फन्को मार्दा
जागें म –
मुटुमा आगो सल्काउँदै
सत्यको ब्यानर उठाएँ
समानताको नारा घन्काएँ
शान्तिको झिल्का फैलाएँ
विश्वलाई फन्को मार्दा
पाए मैले –
एक नयाँ बिहान
जहाँ मान्छेहरू नतमस्तक छैनन्
स्वाभिमानको लहर उठेको छ
अनि
अमानवताको जङ्गलमा
मानवता फुल्न थालेको छ
विश्वलाई फन्को मार्दा
सपना नटुटोस्
आशा नझुकोस्
र
प्रेमको आवाजले
घृणालाई निलिदियोस्
०००
ललितपुर


