मेरो मौनताको पर्दा
सुस्तरी सुस्तरी चिर्दै
तिमी मेरो मनको
आँखीझ्याल उघार्न
सफल भएका हौ।
जब पुग्यौ आँखीझ्याल नजिक
र गर्यौ दृश्यावलोकन
त्यहाँ तिमीले चाहे जस्ता
सुन्दर र कलात्मक दृश्य थिएनन्।
जब देख्यौ असिनाले चुटेर
छियाछिया परेका फर्सीका पातझैँ
मेरा मनका व्यथाहरू,
र भेट्यौ चकनाचुर ऐनाझैँ
मेरो जिन्दगी।
जुन ऐनामा तिमी
आफ्नो सुन्दर मुहार हेरेर
मुस्कुराउन सक्ने थिएनौ।
त्यसैले तिमीलाई लाग्यो होला
व्यर्थै चिरेछु त्यो पर्दा
र चियाएँ आँखीझ्यालबाट
तर देख्न चाहेको दृश्य त्यो थिएन।
सायद,
त्यसै कारण अब तिमी मौन छौ
एकदमै मौन।


