१. लघुकथा: नजिर
“पेस गरिएका तमाम तथ्य र प्रमाणले रवि बलात्कारको सिकार भएको स्वतः प्रमाणित हुन्छ, श्रीमान् !” रवि पक्षका वकिलले बहस सुरु गरे।
विपक्षी वकिलले हाम्रो समाजमा महिला मात्र बलात्कारको सिकार हुने गरेको तर्क प्रस्तुत गर्दै भने, “पुरुष बलात्कृत भएको नजिर अदालतमा अहिलेसम्म छैन। त्यसैले रवि बलात्कृत भएको तर्क हास्यास्पद छ।”
रविले आफू कन्या क्याम्पसको प्राध्यापक भएको बताउँदै भने, “प्रत्येक दिन आफ्नै विद्यार्थीबाट यौन दुर्व्यवहारको सिकार हुनुपर्छ…”
रविले बोल्दाबोल्दै उसका आँखाबाट आँसुका बलिन्द्रधाराहरू बगिरहेका थिए। उसले घटना घटेको दिन अन्तिम कक्षा सकेर निस्कँदा तीन-चार जना महिला विद्यार्थीले प्रश्न सोध्ने बहानामा आफूलाई रोकेको र सामूहिक रूपमा बलात्कार गरेको बतायो।
उसले अदालतबाट न्याय मिल्नेमा विश्वास व्यक्त गर्दै भन्यो, “म न्याय पाएँ भने पुरुष पनि यौन हिंसा र दुर्व्यवहारको सिकार बन्ने नजिर बस्नेछ।”
वादी र प्रतिवादी दुवैका तर्क सकिएपछि न्यायाधीशले निर्णय सुनाउँदै भने, “प्राप्त तथ्य र प्रमाणहरूको परीक्षण गरी विगतमा बसेका नजिरहरू मूल्यांकन गर्दा पुरुष बलात्कृत भएको कुनै नजिर नभएकाले, यो अदालत रविलाई बलात्कृत नभएको ठहर गर्दछ।”
२. लघुकथा: इज्जत
शिलापत्रको अनावरण गरी वृद्धाश्रमको नवनिर्मित भवन उद्घाटन गर्नका लागि माननीय मन्त्रीज्यूलाई अनुरोध गरियो।
मन्त्रीले रातो कपडाले छोपिएको शिलापत्रको सुर्कौनी ताने। उपस्थित सबैले ताली बजाए। उद्घोषकले मन्त्रीलाई धन्यवाद दिँदै शिलापत्रमा लेखिएको कुरा पढेर सुनाए।
मन्त्रीले वृद्धाश्रम भवनको उद्घाटन गर्न पाउँदा आफू गौरवान्वित भएको भाषण गरे। उनले वृद्धवृद्धाहरूलाई दोसल्ला ओढाई फलफूल वितरण गरे।
त्यसैबीच एक वृद्धाले फलफूलको पोको समाउँदै मन्त्रीसँग साउती गर्दै भनिन्, “मन्त्री भइछस्! अझै प्रगति गर। म बाँचेकी भए प्रधानमन्त्री भएको देख्न र सुन्न पाउँथें। मेरो आशीर्वाद छ।”
मन्त्री अक्क न बक्क परे।
वृद्धाले फेरि अलि सानो स्वरमा थपिन्, “चिन्ता नलिईस्। तेरो इज्जत जाला भनेर मैले कसैलाई पनि ‘म तेरी आमा हुँ’ भनेकी छैन।”
३. लघुकथा: तुल्यता
“आमा, जहिले पनि छोरीले संस्कार सिक्नुपर्छ भन्नुहुन्छ, यो संस्कार भनेको के हो?” छोरीले प्रश्न गरिन्।
“यति सानो कुरो पनि कस्तो नबुझेकी? खानेकुरा पकाइतुल्याइ गर्ने, परिवारका सबै सदस्यहरूको ख्याल राख्ने, राम्रो आनीबानी र आचरण सिक्ने, बत्तीस लक्षणले युक्त बन्ने — खासगरी छोरीको जातले त अर्काको घर जानुपर्छ। समाजले संस्कार नसिकाएको भनेर माइतीलाई दोष दिन्छन्। त्यसैले विवाह गरेर गएपछि श्रीमान् र तिनका परिवारको मान–मर्यादा राख्नु नै तिम्रो संस्कार हो, नानी!” आमाले विस्तारमा बताइन्।
छोरीले राता आँखा पार्दै विद्रोही भावमा प्रतिप्रश्न गरिन्, “भाइलाई त कसैले पनि ‘संस्कार सिक्’ भन्दैन त! छोरा र ज्वाइँले चाहिँ जन्मजात संस्कार सिकेर आएका हुन्छन् हो?”
४. लघुकथा: बहिस्कार
“दाइ, तपाईँले वीरबहादुरलाई हात हाल्न हुँदैनथ्यो।”
“तँ बाठो न हो नि, कान्छा! दलित भएर मन्दिरमा पस्नेलाई पूजा गर्नुपर्ने? धर्म र पापको अलिकति ख्याल राख्नुपर्दैन? लेखपढ गरेर पैसा कमायो भन्दैमा वीरे छुत हुँदैन। हामीले मान्दै आएको धर्म र परम्परा चटक्कै छोड्न सकिन्न नि।”
“त्यसो हो भने छोरालाई सुनको दोकान र छोरीलाई टेलर किन खोल्न दिनुभएको त? उनीहरू चाहिँ दलित भएनन्? दाइलाई थाहा हुनुपर्ने हो नि—मन्दिरमा जातका आधारमा प्रवेश निषेध गर्नुलाई जातीय भेदभाव तथा छुवाछुतको कसुर मानिन्छ,” उसले सम्झाउन खोज्यो।
“म पनि हेर्छु, कसको बाउको आँट र’छ मलाई थुन्ने?” दाइ जङ्गिए।
दाइले अड्डी कसेको देखेर कान्छाले भन्यो, “तपाईँलाई थुने भने सोर्सफोर्स लगाएर निस्कनुहोला, तर वीरेलाई कति चित्त दुख्यो होला? उसले किन अपहेलित हुनुपर्ने? ऊ पशु त होइन नि! वीरेलाई गरिएको जातीय भेदभाव र छुवाछुत सम्झेर कुनै दिन तपाईँले पछुताउनुपर्ने छ, दाइ।”
दाइले अँध्यारो मुख लगाए।
कान्छाले सचेत गराउँदै थप्यो, “ब्राह्मण समुदायले छोराछोरीलाई कर्मकाण्ड नसिकाएर सुनार र दर्जीको काम गर्न लगायो भनेर तपाईँको परिवारलाई सामाजिक बहिस्कार गरे भने के गर्नुहुन्छ नि?”
५. लघुकथा: बेपत्ता
“केको पोस्टर रहेछ?” परदेशमा घुम्न निस्किएको बेला देखिएको पोस्टर पढ्न ऊ रोकियोः
“मिसिङ !” (बेपत्ता)
नेम: रक्की
एज: फोर इएर्स
कलर: ब्राउन
कन्ट्याक्ट नं: …………
फोटो अलि मधुरो भएर होला, उसले चस्मा नलगाई हेर्न सकेन।
ऊ सोचमग्न भयो—
‘हाम्रो देश नेपालमा प्रत्येक वर्ष कति बालबालिकाहरू हराइरहेका होलान्, कति महिलाहरू बेचिएका होलान्, जनआन्दोलन र जनयुद्धका नाममा कति बेपत्ता भएका होलान्? खै कसले लेखाजोखा राख्यो र? कसले खोज्ने प्रयास गऱ्यो र?
सबैले कुनै न कुनै माध्यमबाट कुर्सी नै खोजे, कुर्सीको भागमा नै लुछाचुँडी गरे। यहाँ भने एउटा जाबो बिरालो हराउँदा पनि यसरी खोजी गरिँदोरहेछ।
कठै! मेरो देश!’
इटहरी–१९, सुनसरी | हाल: लन्डन, बेलायत
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।