नागरिकहरू आजभोलि
सडकमा देखिइरहेछन्।
राग अलापिरहेछन्,
मधुर सङ्गीतको धुनसँगै अपिल गरिरहेछन्
सरकारलाई,
र भनिरहेछन् खुलेयाम —
सरकार, तिमी मलाई जल्न देऊ,
म तिम्रो लोकसभा अगाडि जल्न चाहन्छु।
सरकार, तिमी मलाई बल्न देऊ,
पानीमा सल्काएको आगोले जलेको जङ्गलजस्तै
ध्वस्त भएर, म बल्न चाहन्छु।
सरकार, तिमी मलाई गल्न देऊ,
कुहिएको आलु र सडकमा फालिएको टमाटरजस्तै
म फतक्कै गल्न चाहन्छु।
यस्तै उस्तै राग अलापिरहेछन् रे नागरिकहरू,
तर सिंहदरबार मौनता प्रदर्शन गर्दैछ।
किसानहरू खेतबारीमा छैनन्,
हातमा हलो छैन,
कोदालो र फाली छैन,
हलमा गोरु छैनन्।
किसानलाई कतै देखेजस्तो लाग्यो —
माइतीघरमा उभिएको सालिकसँगै।
उनीहरू पनि मधुर धुनमा राग अलापिरहेछन् —
सरकार, तिमी मेरो अन्नपात उठाइदेऊ बारीबाट
र बिचौलियालाई पोस्ने काम गर,
म भोकभोकै मर्न तयार छु
माइतीघरमा अनशन बसेर।
सरकार, तिमी लघुवित्त र सहकारी पठाइदेऊ मेरो आँगनमा,
म एक सय प्रतिशतको ब्याजमा
ऋणको तमसुक बनाउन तयार छु।
सरकार, तिमी मिटरब्याजी नेता पठाइदेऊ मेरो गाउँमा,
म मेरो धनीपुर्जा उसकाे नाममा
नामसारी गरिदिन तयार छु।
यस्तै यस्तै गीतहरू सुन्दै छु
संघीय संसद वरिपरि,
तर सरकार नतमस्तक छ।
तरुणहरू गुनासोका पोका नखोल,
सरकारसँग अपिल गर —
सरकार, तिमी देशमा रोजगारी सिर्जना नगर,
किनभने उसले विदेश जान पासपोर्ट बनाई सकेको छ।
सरकार, तिमी श्रमिक लैजाने देशसँग श्रम सम्झौता गर,
उ मलेसिया जान तयार छ,
उ जापान, कोरिया र कतार जाने मुडमा छ।
साइबेरियाबाट चराहरू बसाइँ सरेजस्तै,
रोजगारी खोज्ने सिलसिलामा
उ पनि देश छोडेर बसाइँ सर्दै छ।
श्रम सहिद बनाइने देशका नागरिक
बालकुमारीमा मृत्युवरण गर्छन्।


