वर्षमा एक दिन स्वाङ सिउरेर
“टोपी दिवस” मनाउँछौँ हामी,
पेन्टमाथि इगो बेरेर
“धोती दिवस” पनि कराउँछौँ हामी।
दर्शकले उधुम मजा मानेको ठानेर
आफ्नै छालासमेत काढेर गज्जब रमिता गराउँछौँ।
जाबो एउटा औँठीका लागि
सिङ्गो डुँडुलो चढाउँछौँ,
नाथे एउटा मालाका लागि
आफ्नै गर्दन लडाउँछौँ।
हामी भूपीका बुद्धू बहादुर,
हामी गणेशमानका भेडा,
हामी छिमेकीका छौँडा।
आफ्नै मात्र शुभलाभ ताकेर
गौँडा–गौँडा ढुकिरहन्छौँ।
आफ्ना रीतिरिवाज र संस्कारलाई
रुढीवादी र फजुल सम्झन्छौँ,
अर्काको विसंगति, विकृति र विकारलाई
अत्यावश्यक र भिटामिन ठान्छौँ।
हामी अर्कैको कट्टु, अर्कैको ईंजार,
हामी अर्कैको दर्जी, अर्कैको मिजार।
हामी अर्कैका भक्त र दानी पनि छौँ,
र त आफ्नै टाउको काटेर
मालिकलाई मुकुट लाइदिन्छौँ।
हामी अचाक्ली अनुशासित र ज्ञानी पनि छौँ,
र त आफ्नै लगौंटी खोलेर
नाङ्गो बादशाहको स्वागतमा
तोरण फहराइदिन्छौँ।
सप्तरी, हाल: काठमाडौं


