१. लघुकथा : बैसाखी
“हेर्नुहोस् न, विकास भएकै त छ,” मन्त्री घोंचुले आफ्ना जुँगा तिखार्दै भन्यो।
उनीहरू विदेशी अनुगमन टोलीलाई गाडीमा घुमाइरहेका थिए।
“हो, विकास त भएकै छ,” अर्का रामसरणले पनि समर्थन जनाए।
“के भयो ड्राइभर?” मन्त्री घोंचुले गाडीमा एक्कासि ब्रेक लागेको देखेर सोधे।
“मन्त्रीज्यू, यो बाटोमा पहिरो गएको रहेछ। गाडी अगाडि जान नसक्ने देखियो,” ड्राइभर गाडीबाट ओर्लँदै भन्यो।
“पहिरो जानेलाई त के गर्न सकिन्छ र? घुमेर अर्को बाटो हिँडौं,” मन्त्रीले रामसरणतिर हेरेर मुस्कुराउँदै भने।
ड्राइभरले गाडी घुमाएर अर्को बाटोमा गुडायो।
“ला, हेर्नुहोस्, कस्तो विकास गरेका छौँ! तर प्रतिपक्ष जहिल्यै पनि विकास भएन भनेर सदन र सडक तताउँछन्,” मन्त्री घोंचुले भ्यू टावर देखाउँदै भने।
“यो के बनाउनु भएको हो अग्लो डाँडामा? पानीको ट्यांकी?” रामसरणले सोधे।
“होइन, यो त…” मन्त्री अकमक्किए।
“सर, बाघ बस्ने थाति,” ड्राइभरले मन्त्री अकमक्किएको देखेर भन्यो।
“आहा! कति उच्च विचार! पशुपक्षीका लागि पनि यहाँहरूको मनमा यति ठूलो सद्भाव रहेछ,” रामसरणले मन्त्रीको प्रशंसा गरे।
“ड्राइभर, अब के भयो?” फेरि गाडी रोकेको देखेर मन्त्रीले सोधे।
“सर, यहाँ हेर्नुहोस्,” ड्राइभरले अगाडिको पुलतर्फ देखाउँदै मन्त्रीको ध्यानाकर्षण गरायो।
पुल भत्किएको रहेछ र तलबाट टेकासो लगाएर अड्याइएको थियो।
“सर, यहाँबाट खतरा छ, कार जान सक्दैन,” ड्राइभरले जानकारी गरायो।
“यहाँ भूकम्प आएको रहेछ। पुल भत्किएको र कर्मचारीहरूले टेकासो लगाएर आड्याएका रहेछन्। अब छिट्टै मर्मत गराउनुपर्ने भयो,” मन्त्रीले भने।
“मन्त्रीज्यू, विकास त भएकै रहेछ। तर बेला-बखतमा टेकासो लगाएर भए पनि काम चलाइँदै रहेछ,” रामसरणले मन्त्रीतर्फ हेरेर भने।
२. लघुकथा : नाती
“के भयो श्यामलालजी, हजुरलाई सञ्चो छैन र?”– विष्णुले बुढालाई निरास देखेर सोधे।
“के हुनुथियो बाबु, अब बुढेसकाल लाग्यो नि।” उनले उत्तर दिए।
अत्यन्तै हँशमुख मानिस, सधैँ हाँसेर बोल्ने, तर केही दिनदेखि श्यामलाल निरास देखिन्थे।
“होइन सर! हजुरलाई केही त समस्या छ। हामीसँग केही नलुकाई भन्नुहोस्, हुन सक्छ कुनै उपाय भेट्टिहाल्छ कि!”– विष्णुले भन्यो।
“ठीक भन्छौ बाबु, भन्न त तर पनि यसको खासै समाधान होला जस्तो लाग्दैन। तर पनि तिमीलाई भन्न मिल्छ।”– श्यामलालले विष्णुतिर हेर्दै भने।
“हस् सर!”
“बाबु, तिमीलाई त थाहा छ, मैले आफ्नो नातिलाई कत्तिको माया गर्छु। मेरो प्राण त्यसैमा छ। तर बिडम्बना भनौं वा के भनौं…”
श्यामलाल बोल्दा–बोल्दै रोकिए र विष्णुको मुखतिर पुलुक्क हेरे। श्यामलालका आँखा रसाएका थिए। उनी भावुक देखिन्थे।
“हो नि सर! भनिन्छ, साउँको भन्दा व्याजको माया हुन्छ अरे। तर के भयो सर, नातिलाई?”– विष्णुले उनको कुराको समर्थन गर्दै सोधे।
“उसलाई त केही पनि भएको छैन तर बुहारीको शब्दहरूले मेरो हृदय छिया–छिया पारे।”– श्यामलालले भने।
“के भनिन् त्यस्तो ठूलीले? केही दिन यता देखेको पनि छैन ठूलीलाई, कता छिन् अचेल?”– विष्णु पनि आश्चर्य हुँदै प्रश्न गरे।
“बुहारी माइत गएकी हो, केही दिन भयो। नआएपछि नातिको अति माया लाग्यो। फोन गरेर खबर लिन्छु भनेको, ‘किन गरेछु?’ भन्ने पो भयो।”– श्यामलालका आँखाबाट आँसुको मूल फुट्यो।
“के भयो त्यस्तो?”– विष्णुले जान्न खोजे।
“के भनौं, उसले त्यस्तो किन भनी, जानेर भनी कि अञ्जानमा भनी, बुझ्नै सकिन।”– श्यामलालका आँखाबाट आँसु अविरल बगेकै थियो।
“नरूनुहोस् सर! बरु के भनिन् त्यो भन्नुहोस् न?”– विष्णुले सोधे।
“त्यो जसलाई मैले आफ्नै मुटु सम्झिएको थिएँ, त्यो मेरो नाति होइन अरे बाबु!”– श्यामलाल ग्वाँ–ग्वाँ रुन थाले।
३. लघुकथा : अपराध
“म आफ्नो लागि जिउन खोजेर के अपराध गरेँ?” – विनाले लापरवाहसँग भनी।
“मानिसको जिन्दगी खुसीमात्र कहाँ हो र? त्याग पनि त हो।” – निलिमाले विनालाई सम्झाउन खोजिन्।
“दुई दिनको जिन्दगी खुसीले जिउनुपर्छ। सधैँ आफूले दुःख, कष्ट मात्र झेलेर हुन्छ र?” – विनाले पनि आफूलाई लागेको भनी।
“मानिसको जीवन भनेको दुःख–सुखको मिश्रण हो। घाम–छायाँ, दिन–रात—प्रकृतिले पनि त अनुभव गराएको हुन्छ।” – निलिमाले मुस्कुराउँदै भनिन्।
“कयौँले जीवनको परिभाषा नबुझेरै आफूलाई नर्कमा पुर्याएका हुन्छन्। खुसी पनि खोजेर पाइन्छ त?
बरु झिना–मसिना कुरामा प्रसन्न हुन जान्नु र मनभित्र सकारात्मक विचारको विकास गर्न सक्नु—
यही त हुन् मानव जीवनका खुसीका आधारहरू।
जो खुसी खोज्दै हिँड्छ, उसैले दुःखका पोकाहरू थुपारेको हुन्छ।” – मनकलीले पनि आफूलाई लागेको भनी।
“म त आफ्नो खुसी त्याग्न सक्दिन। बरु घर नै त्यागिदिन्छु।” – विना आफ्नै जिद्दीमा अडिइन्।
“अब यसो सोच त, तिमीले घर त्यागेपछि कतिका खुसीहरू खोस्छौ— त्यो कुराको अहसास छ तिमीलाई?
आफ्नो क्षणभरको खुसीका लागि पुरै घरको खुसी, चयन, सबै खोस्नेलाई के भन्ने?”
४. लघुकथा : झट्का
“के हो यस्तो, तँलाई लाज सर्म छैन?” देवीलालले आफ्नो पुरानो साथी ऋषिलाई निधार खुम्चाउँदै भन्यो।
“के गरेँ र दाइ, मैले लाज मान्नुपर्ने काम?” ऋषिले आश्चर्य प्रकट गर्यो।
“हैन, तिहार गयो, दसैँ गयो, खै त मलाई सम्झेको?” देवीलालले मुख मिठ्याउँदै नजिकैको कुर्सीमा बस्यो।
देवीलाल कहिलेकाहीँ ऋषिका घरमा आउँदा, ऋषिले घरमा भएको सागसब्जी जेसुकै भए पनि उसलाई दिने गर्थ्यो।
देवीलाल कुनै सरकारी विभागमा काम गर्थ्यो भने ऋषि किसान थियो, गाईभैंसी पालेको।
तर यो साल, दसैँ पनि गयो, तिहार पनि गयो, ऋषि घरमा नआएपछि देवीलाल तिहारको अर्को दिन टुप्लुक्कै ऋषिको घरमा आइपुग्यो।
ऋषिकी श्रीमती कालो चिया लिएर आइन्।
“के हो यस्तो?” देवीलालले असन्तुष्टि व्यक्त गर्यो।
“चिया!” उनले ठाडो स्वरमा भनिन् र चिया थमाएर भित्र पसीन्।
“म यो कालो चिया खान आएको हुँ र? खै त मेरो दस्तुर?” देवीलालले मुख खोल्यो।
“कस्तो दस्तुर? दिऊँ?” ऋषि पनि झोंकिएर बोल्यो।
“दिनुपर्छ नि दस्तुर त!” देवीलालले जिद्दी गर्यो।
“हुन्छ, एकछिन पर्खनुहोस्।” ऋषिले भने र भित्र पस्यो। उसले देवीलालको आवाज मोबाइलमा रेकर्ड पनि गरेको थियो।
ऋषिलाई धेरै रिस उठेको थियो। हिजोमात्रै उसको लैनो भैंसी मरेको थियो।
ऋषिले तुरुन्तै फोन उठायो र देवीलालविरुद्ध घुस मागेको आरोपमा उजुरी दर्ता गरायो।
केही समयपछि विभागबाट दुईजना प्रहरी र एकजना हाकिम टुप्लुक्क आइपुगे र देवीलाललाई हतकडी लगाए।
“यो हो हजुरको दस्तुर!” ऋषिले कृत्रिम मुस्कानसहित भन्यो।
५. लघुकथा : गीत
“यिनी जतिवेला मञ्चमा जान्छन्, त्यो कालो चश्मा वाला फौजी पनि सँगै हुन्छ। त्यो को होला, बाबा?” — दश वर्षको फुर्शेले सोध्यो।
“छोरा, हेरी राख। म तिमीलाई पछि भनौँला,” — अशोकले भन्यो।
“बाबा, भन्नु न, को अङ्कल हो त्यो?” — सानी बिनिताले पनि सोधी।
“एकैछिन हेरौँ न, नानी। घर पुगेर सबै कुरा सम्झाउँला,” — अशोकले बिनितालाई पनि चुप गराए।
“ए ए, मैले थाहा पाएँ! त्यो अङ्कल जेल परेका होलान्। त्यो चश्मावाला अङ्कल भाग्छन् कि भनेर पछि–पछि हिँड्दा होलान्,” — फुर्शेले अड्कल काट्यो।
“त्यसो होइन, छोरा!” — अशोकले भने।
“उसो भए के हो त?” — फुर्शेले पुनः प्रश्न गऱ्यो।
“त्यो जनताको गीत गाउने कलाकार अङ्कललाई खतरा हुन सक्छ नि, बाबु,” — अशोकले भेद खोले।
“केको खतरा हुन्छ जनवादी कलाकारलाई?” — सिमाले प्याच्च सोधिन्।
“ओहो! कस्ता मान्छे कार्यक्रम हेर्न भनेर ल्याएको, तिमीहरू त सवाल मात्रै गर्छौ!” — अशोकले निधार खुम्चाउँदै भने।
दाङ, घोराही–१८
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।