पाँच लघुकथा
लघुकथाकार: सुरेशकुमार पाण्डे
१. लघुकथा: नेता
“नमस्कार हजुर, सञ्चै हुनुहुन्छ ? ” – परशुरामले दुवै हात जोडेर निहुरिँदै भन्यो ।
“नमस्कार नेताज्यू ! मलाई चिन्नुभएन र ? म जुठे हुँ; धने ग्वालाको छोरो ! ” जुठेले आश्चर्य मान्दै आफ्नो परिचय दियो ।
“किन नचिन्ने भन्या, हजुर त हाम्रा खास व्यक्तिमध्येको हुनुहुन्छ । ” – नेता परशुरामले मुस्कुराउँदै भन्यो ।
“सायद अझै पनि ठम्याउन सकेनन् नेताज्यूले । चिनेको भए यति मिठो कसरी बोल्थे र हामीसँग । त्यो दिन हामी बाबाको पेन्सनको सिफारिस माग्न जाँदा त हामीलाई चिन्दै चिनेका होइनन् । बरु उल्टै हकार्दै भगाएका हुन् ।” – उसले आफैँसँग मनमनै भन्यो ।
“अनि सर, कसरी पाल्नुभयो ? गाउँमा कसैलाई केही काम थियो कि ?” – एकछिनको मौनतापछि जुठेले प्रश्न गर्यो ।
“काम खासै केही थिएन, गाउँमा आएको त हजुरहरूसँग भेटघाट हुनुपर्यो, हालचाल सोध्नुपर्यो भन्ने मनसायले मात्र आएका हौँ । साथै यहाँ हुनुहुन्छ हाम्रा मित्र सन्देशज्यू, कुनै काम परे उहाँसँग सम्पर्क गर्दा हुन्छ । हस्, अहिले हामी लाग्छौँ, अब कुनै दिन फेरि पनि आउँला ।” – परशुरामले आफूसँगै आएका अर्का जनाको परिचय दिँदै बिदा माग्यो र अगाडि बढ्यो ।
जुठे उनीहरू अलि टाढा जाँदासम्म एकोहोरो हेरिरह्यो । नेताको परिवर्तित व्यवहारले ऊ असमञ्जसमा पर्यो ।
“जुठे, को थियो त्यो ?” भित्रबाट सुनिरहेको धने लाठीको सहारामा बाहिर आएर सोध्यो ।
“बा, आज हाम्रो भाग्य खुल्यो ! केही दिन पहिले हजुरको पेन्सन रोकिएको कुरा लिएर जाँदा चिन्दै नचिनेको मन्त्री परशुराम आज हाम्रै घरमा टुप्लुक्कै आए । ” – जुठेले आफ्नो बालाई अँगालो हाल्दै भन्यो ।
“कति सोझो छ मेरो छोरा ! त्यो हाम्रो माया लागेर आएको होइन जुठे, त्यो बरु आउने चुनावमा जित्ने आधार तयार पार्न आएको हो । ” – धनेले जुठेतिर नियाल्दै भन्यो ।
२. लघुकथा: धर्मको कर्म
“बाबु, जीवनमा कहिल्यै पाप नगर्नु ।” – वृद्धा आमा कमलीले आफ्नो छोरालाई सम्झाउँदै भनिन् ।
“मैले सधैँ धर्म गर्छु, पूजा गर्छु, तीर्थ घुम्छु, देश-विदेशका मठ-मन्दिर सबैमा पुग्छु । हजुरले चिन्ता नलिनु आमा ।” – छोरा रूपेशले आमालाई आश्वासन दिँदै भन्यो ।
“छोरा ! अब म कति दिन जिउँला र ! बरु म मर्नुभन्दा पहिले तिमीले यो धर्मको परिभाषा बुझिदिए मेरो सुखसँग प्राण जाने थियो । मलाई यत्ति घिटघिटो लाग्यो ।” – कमलीले मलिन अनुहार बनाउँदै भनिन् ।
“आमा ! हजुरलाई भनेँ त मैले, खुब भगवान्को पूजा गर्छु । हजुरको मृत्युपछि राम्रो दान-पुण्य गर्छु, हजुर स्वर्गमै पुग्नुहुन्छ, त्यही होइन र धर्म भनेको ? ” – रूपेशले आमाको पैताला चपक्क दबाउँदै भन्यो । उसका आँखा रसाएका थिए ।
“छोरा ! मलाई थाहा छ तिमीले मलाई अगाध माया गर्छौ तर धर्मको परिभाषा बुझ्न सकेनौ, यत्ति दुःख लाग्छ ।” – कमलीले छोराको आँखामा रसाएको आँसु पुछ्दै भनिन् ।
“आमा, अनि के हो तो धर्मको परिभाषा ?” – ऊ आश्चर्य मान्दै बोल्यो ।
“छोरा, मलाई सधैँ जीवित राख्ने मन भए तिमीले दान-पुण्य, मठ-मन्दिर धाउनु र त्यो परम्परागत संस्कार गर्नुभन्दा पनि दिनदुःखी र असहायहरूलाई सहयोग गरे पुग्छ ।” – कमलीले भनिन् ।
“त्यो पनि गर्छु आमा, हजुरले जे आदेश दिनुहुन्छ, त्यही गर्छु !” – रूपेशले भन्यो ।
“छोरा, सबैभन्दा ठूलो धर्म कुसंस्कार र भ्रमबाट आफूलाई मुक्त गरेर असल मानिस बन्नु हो, त्यति भए पुग्छ ।” – कमलीले छोराको शिर सुमसुम्याउँदै भनिन् ।
३. लघुकथा: सिपालु
“ओहो ! हाम्रो बाबु त तन्नेरी पो भएछ ?” – धनेले समीरलाई खुट्टादेखि टाउकासम्म नियाल्दै भन्यो ।
“भयो नि, अस्ति भर्खर बीस वर्ष पुग्यो ।” – नमलालले आफ्नो छोराको बारेमा बतायो ।
समीरले धनेलाई हातमा ढोग्यो । कहिलेकाहीँ आइरहनेमध्येका एकजना भएकाले समीरले उनलाई सजिलै चिन्दथ्यो ।
“बाहिर नै बसौँ है एकछिन, राम्रो घाम पनि छ ।” – धनेले भन्यो ।
त्यो सुनेर समीरले भित्रबाट कुर्सी लिएर आँगनमा राख्यो । उनीहरू दुवैजना बसेर भलाकुसारी गर्न थाले । समीरले भित्रबाट मनतातो पानी लिएर आयो र स्टुलमा राख्यो ।
“अब समीर बाबुले केको तयारी गर्दै छ ?” – धनेले पानीको गिलास उठाउँदै सोध्यो ।
“पढाइमा सिपालु छ, अहिले ब्याचलर पूरा गर्दै छ, त्यसपछि सोच्नुपर्ला अगाडिको योजना ।” – नमलालले भन्यो ।
“ए ए, कतै बाहिर देश पठाउने तयारीमा त हुनुहुन्न नि ?” – धनेले प्रश्न गर्यो ।
“अहिले त त्यस्तो सोचेको छैन । समीरले विदेश नजाने कुरा गर्छ भन्ने उसकी आमाले भन्छिन् । अब फाइनल रिजल्टपछि सोध्नुपर्ला अगाडि के गर्छ ।” – नमलालले भन्यो ।
“यस्ता होनहार बालकलाई त आफूले राजनीतिमै तान्नुपर्छ । हजुर हिँडेको बाटो के नराम्रो छ र ? आफ्नै बाटोमा हिँडाउनुहोस् ।” – धनेले प्रश्नसहित सुझाव दियो ।
“बरु केही काम सिकाउँदा राम्रो हुन्छ कि सर ? पढाइमा खुब सिपालु छ बाबु ।” – नमलालले सोध्यो ।
“हजुरलाई त थाहै छ, राजनीतिमा केही सिक्नुपर्दैन । मात्र सकेसम्म झुट बोल्न, फटाइँ गर्न र चिप्ला कुरा गर्न सिपालु भए पुग्छ ।” – धनेले राजनीतिमै आफ्नो सीप लगाउन समीरलाई अराउन भन्यो ।
“तर अङ्कल, मलाई झुटसँग एलर्जी हुन्छ ।” – यतिन्जेल सुनिरहेको समीरले भन्यो ।
“त्यसो भए त पढाइमै ध्यान दिए हुन्छ । राजनीतिमा त सफल हुन सकिँदैन बाबु !” – धने आफ्नो शिर हल्लाउँदै बोल्यो ।
४. लघुकथा: जमिन
“बाबा, त्यो के हो हेर्नुहोस् त ?” – पप्पुले बाटोमाथि एउटा बारीमा देखाउँदै भन्यो ।
“आहा, कति राम्रा सुन्तला फलेका रहेछन् । खान्छौ ?” – बारीमा सुन्तला लटरम्मै फलेको देखेर अरविन्दले आफ्नो सानो नातिलाई भन्यो ।
“सुन्तला भी यसरी फल्छ बाबा ?” – दस वर्षीय नातिले प्रश्न गर्यो ।
“हो नि, यसरी नै फल्छ । कति राम्रा पाकेका छन् । खाने विचार छ बाबुलाई ?” – अरविन्दले सोध्यो ।
“ल्याइदिनु न बाबा !” – पप्पुले अरविन्दतिर मुस्कुराउँदै भन्यो । चिसोको मौसम भए पनि तेज घामले गर्दा अरविन्दलाई पनि पानी तिर्खा लागेको थियो ।
“तिमी यतै बस, म सुन्तला टिपेर ल्याइदिन्छु ।” – अरविन्द नातिलाई सम्झाएर बारीमा पस्यो ।
जसै ऊ बारीमा पसेको थियो, माथिबाट एकजना उसलाई हकार्दै दौडेर आयो ।
“हजुरलाई लाज लाग्दैन, अर्काको बारीमा यसरी चोरी गर्दा ?” – उसले अरविन्दलाई हकार्दै भन्यो । अरविन्दले उसलाई तलदेखि माथिसम्म नियाल्यो र त्यो बारीतिर हेर्यो ।
उसलाई आफ्नो बाबाले पुरानो समयमा भनेको कुरा सम्झना भयो — “छोरा, अहिले जसलाई काम नलाग्ने भनेर हेला गरेका छौ, कुनै दिन त्यो माटोले तिमीहरूलाई मेरो कुरा सम्झाइदिनेछ । अहिले अर्घेलो बनाएको त्यो पाटोले पौरख पायो भने त्यहाँ सुन फल्न सक्छ । अनि तिमीहरू त्यो देखेर लालायित त हुन्छौ, तर धने धेरै अबेर भइसकेको हुनेछ ।”
“हजुर, खाने मन लागेको भए पनि माग्नुपर्थ्यो । पैसा नभए पनि एउटा-दुइटा सित्तैमा दिन सकिन्थ्यो । हजुरलाई चोरी गर्दा लाज लाग्नुपर्ने ।” – उसका तीखा कुरा सुनेर अरविन्द झसङ्ग भयो ।
“माफ गर भाइ, गल्ती भयो । मेरो नातिलाई खान मन लागेर मैले भुलेँ, यो बारीमा मेरो अधिकार छैन भन्ने कुरा ।” – यति भनेर ऊ फर्किन खोज्यो ।
“लिनुहोस् दाइ, बाजे-नातिले एक-एक गोटा खानुहोला । यसको मलाई पैसा दिनुपर्दैन ।” – उसले दुई गोटा सुन्तला टिपेर हातमा थमाउँदै भन्यो ।
५. लघुकथा: जिम्मा
“अनुभव, तपाईँको नाम हो ? ” – अदालतको जजले कटघरामा उभिएको व्यक्तिलाई सोधे ।
“हो सर ! मेरै नाम अनुभव हो ।” – उसले विनम्रतापूर्वक भन्यो ।
“हजुरलाई थाहा छ, हजुरको अपराधका बारेमा ?” – जजले सोधे ।
“मलाई थाहा छ, म अपराधी होइन ।” – अनुभवले भन्यो ।
“प्रायः सबै अपराधीले यसै गरी भन्छन् । के हजुरको छोराको बाइकले पुनारामलाई ठक्कर दिएर घायल बनाएको होइन र ?” – वकिल जागेश्वरले चर्को स्वरमा बोले ।
“खै, मलाई थाहा छैन ।” – अनुभवले सटीक जवाव दियो ।
“त्यसो हो भने हजुर कटघरामा किन उभिनुभएको छ त ?” – वकिलले प्रश्न गरे ।
“मलाई बोलाइयो र म कानुनको पालना गर्दै छु ।” – अनुभवले भन्यो ।
“दुर्घटना घट्यो, हजुरको छोरा त्यो दुर्घटनामा मर्यो तर पुनाराम जीवन र मृत्युको दोसाँधमा छन् । उनको उपचार चलिरहेको छ । त्यसको जिम्मेवार हजुर हुनुपर्छ, किनकि त्यो तपाईँको छोरा हो, जसले रक्सीको मातमा गाडी चलाएको थियो । कुनै पनि आमा-बालाई आफ्नो सन्तान कहाँ जान्छ, के खान्छ र कस्तो सङ्गत गर्छ भन्ने बारेमा जानकारी हुनुपर्छ । त्यसो नगर्नु हजुरको घोर गल्ती हो । आदरणीय जज साहेब, अनुभवलाई कानुनअनुसारको कडा सजाय दिनुपर्छ ताकि फेरि कसैले यस्तो दुर्घटना नगरोस् ।” – वकिलले आफ्नो दलील पेस गरे ।
“तपाईँलाई वकिल साहेबको भनाइमा केही भन्नु छ ?” – जजले सोधे ।
“हजुर, भन्नु छ ।” – उसले भन्यो ।
“अनुमति छ ।” – जजले उसलाई आफ्नो सफाइ पेस गर्न अनुमति दिए ।
“जज साहेब, मेरो कुरा सुन्न सक्नुहुन्छ ?” – उसले गम्भीर प्रश्न राख्यो ।
“अवश्य !” – जजले अदालतमा बसेका सबैतिर नियाल्दै भने ।
“छोराले रक्सी पिएर गाडी चलाउनु र पुनारामलाई ठक्कर दिनुमा हजुरको गल्ती छ, वकिल साहेबको गल्ती छ, यो समाजको गल्ती छ । जसले मदिरा बनायो, गाडी बनायो र जसले उसलाई लाइसेन्स दियो, उसको गल्ती छ । मेरो छोरा मरेको छैन, मारिएको छ । मार्नमा तपाईँहरूको पनि बराबरी गल्ती छ । कुनै पनि आमा-बाबुले आफ्नो छोरा जड्याहा होस् वा अपराधी होस् भन्ने चाहँदैनन् । उसलाई जन्मदिए, हुर्काए र ऊ नाबालकबाट बालिग बन्यो । व्यवस्थाले उसको खुबी देखेर उसलाई गाडी चलाउने लाइसेन्स र नागरिकता दिएको छ, त्यो मैले दिएको होइन । सरकारले मदिराको डिलर खोलेको छ । कुनै पनि आमा-बाले डिलर खोलेर छोराछोरीलाई रक्सी खाऊ भनेका हुँदैनन् । त्यसकारण दोष हजुरहरू सबैको छ ।” – अनुभवले गम्भीर कुराहरू राख्दै बिट मार्यो ।
अदालतमा तालीको गडगडाहट सुनियो ।
“अर्डर ! अर्डर ! अर्डर ! कृपया कोही पनि आवेशमा नआउनुहोस् ।” – जजले भने ।
“यो अदालत अर्को सूचना नभएसम्मका लागि स्थगित गरिन्छ ।” – जजले अदालतको कारबाहीबाट छुट्टी लिँदै भने ।
–०००–
दाङ, घोराही १८
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



