लघुकथा: बासस्थान
लघुकथाकार: डा. हंसराज
एक असी वर्षीय वृद्ध बिहानको न्यानो घाममा वृद्धाश्रमबाहिर बसेर कागजको टुक्राबाट चराको गुँड बनाउँदै थिए । आफ्नाहरूले नै उनलाई घरबारविहीन बनाए तापनि उनले कहिल्यै आफ्नो आत्मसम्मान त्यागेनन् । बरु गुँड बेचेर कमाएको पैसाले उनी आत्मसम्मानका साथ बाँचे र आवश्यक पर्दा अरूलाई पनि मद्दत गरे ।
मैले उनलाई भनेँ, “यी गुँडहरू अद्भुत छन् । म चारवटै किन्न चाहन्छु ।” त्यो दिन उनीसँग जम्मा चारवटा मात्र गुँडहरू थिए ।
उनले सोधे, “के तपाईंलाई साँच्चै यी गुँडहरू मन परेका हुन् ?”
मैले भनेँ, “हो बाबा, यी गुँडहरू साँच्चै अद्भुत छन् किनभने यिनीहरूले तपाईंको आत्मसम्मान र तपाईंको साहसको चमक झल्काउँछन् । यिनीहरूले मलाई सधैँ सम्झाउनेछन् कि कोही पनि कहिल्यै असहाय हुन सक्दैन; साहसको उडान नै सबैभन्दा उच्च उडान हो ।”
उनले गम्भीर हुँदै भने, “मैले मेरो जीवनमा बनाएको घर अब मेरो लागि कामको रहेन । आज म बसेको घर अरू कसैले बनाएको गुँड हो । सायद मैले बनाएको गुँड चराको बासस्थान बन्नेछ ।” यसो भन्दै उनले मलाई चारै वटा गुँड दिए र मुस्कुराउँदै प्रशस्त आशीर्वाद पनि दिए ।
त्यो दिन, मैले महसुस गरेँ कि साँचो बासस्थान इँटा, ढुङ्गा र कङ्क्रिटले नभई मानवता र साहसले बन्दोरहेछ ।
–०००–
वरिष्ठ सहायक प्राध्यापक, रतन सेन डिग्री कलेज, सिद्धार्थ नगर, उत्तर प्रदेश, भारत


