लघुकथा: राँटो
लघुकथाकार: ईश्वर पोखरेल
तेह्र वर्ष भयो – रोहिणीले चस्मा लगाउन थालेको । चस्मा पनि छ । तर अब डाक्टरले ‘नयाँ चस्मा बनाउनुहोस्’ भनेपछि बनाउनु परिहाल्यो ।
रोहिणीले नयाँ चस्मा लिएर आइन् ।
सोचिन् – ‘लगाउँदै आएको चस्माले अक्षर देखिन छाडेपछि यो लगाउनु पर्ला ।’
त्यसै गरिन् ।
दुई वर्षपछि रोहिणीले फेरि आँखा जचाउन जानु पर्यो । यसपटक पनि डाक्टरले ‘नयाँ चस्मा बनाउनू भन्लान्; यही देखाइदिन्छु’ भन्ठानेर रोहिणीले नयाँ र पुरानो दुवै चस्मा लिएर गइन् ।
रोहिणीको अनुमान सही साबित भयो; डाक्टरले ‘नयाँ चस्मा बनाउनुहोस्’ नै भने ।
रोहिणीले नयाँ चस्मा देखाइदिइन् ।
डाक्टरले चस्माको पावर जाँचे र भने – “यसले काम गर्दैन; नयाँ बनाउनुहोस् ।”
लौ; परिवर्तनलाई सही पहिचान गर्न चुक्दा समयको हलोले रोहिणीको नयाँ चस्मा वा सोचलाई राँटो बनाएर गएछ ।
बाहिर बेन्चमा रोहिणीलाई धेरै बेरसम्म थकथक मानिरहेको अवस्थामा देखियो ।
–०००–
बोझेपोखरी, ललितपुर


