बिहानको मिरमिरे उज्यालो। सुनसान सडकको बीचमा एउटा झुत्रा लुगा लगाएको मान्छे पूर्णतः अचेत अवस्थामा लडिरहेको छ। फाट्टफुट्ट हिँडिरहेका मानिसहरूका आँखा त्यसमा पर्छन्। एक–दुई गर्दै धेरै मानिसहरू भेला हुन्छन्। सबैले त्यसलाई चिन्ने प्रयास गर्न थाल्छन्।
जिङ्रिङ्ग कपाल, दुई खोपिल्टाझैँ पिच्किएको आँखा, खवटा परेको गाला, कलेटी परी नौ मुजा परेको ओठ, चुच्चो नाक, निगालाझैँ मसिना हातगोडा, एउटा झुत्रो कमिज र फाटेको जिन्सको पाइन्ट लगाएको करिब सत्र–अठार वर्षको नवयुवक उत्तानो परेर लडिरहेको हुन्छ।
भीडमध्ये एक जनाले भन्यो — “ए, को होला यो? उठाऊँ न मिलेर।” अर्काले थप्यो — “कतै यो मरिसकेको त छैन?” शंका व्यक्त गर्छ। त्यसैमा अर्काले साखुल्ले हुँदै भन्यो — “पहिले हेर्नु त पर्यो, को रहेछ? कहीँ गाउँकै त हैन?”
‘को रहेछ’ भन्ने कुरामा सबैमा उत्सुकता छाउँछ। एक–अर्कालाई प्रश्न गर्न थाल्छन्। यसरी सबै लाश चिन्ने प्रयत्नमा लाग्छन्।
यत्तिकैमा एक जनाले सहानुभूति दर्शाए — “हरे, बिचरा! जवानीमै मरेछ। खाउँ–खाउँ, लाउँ–लाउँ भन्ने उमेरमा यो गति! कस्को छोरो हुँदो हो?”
एक जना वृद्धले यसको जवाफ तुरुन्तै फर्काए — “यो सबै पूर्वजन्मको भाग हो, बाबु, पूर्वजन्मको।”
अर्का एक भलाद्मीले झोक्किँदै जवाफ दिए — “यो पूर्वजन्मसन्म केही होइन, बाजे! यो त यही जन्मको कर्मको फल हो।”
लाशतिर औंल्याउँदै भने — “ल, हेर्नुहोस्, यो बाबु–आमाको हेलचेक्र्याइँको नतिजा हो। लागू पदार्थको कुलतको दुष्परिणाम हो। दुर्व्यसनीहरूको अन्त्य यसरी नै हुन्छ, बुझ्नुभयो?”
भीडमध्ये एक्कासि एक जना कराए — “ए! यो त सुब्बा बाजेको छोरो पो रहेछ!”
लाशको पहिचान भए लगत्तै भीडमा कौतूहलता छाउँछ। सबै लाशलाई नियाल्न पुग्छन्। एक जना वृद्ध कराउँदै भन्छन् — “सुब्बा बाजेलाई खबर गर्नुपर्यो।”
गाईगुँई हल्ला चल्छ। खबर सुब्बा बाजेसम्म पुग्छ, र लाशको वरिपरि अझै पनि भीड नै थियो। त्यतिकैमा एक जनाले औँलाले इशारा गरी देखाउँदै भन्यो — “ऊ, सुब्बा बाजे पनि आउनुभो।”
सबै सुब्बा बाजेतिर हेर्न लाग्छन्। उनको प्रतिक्रिया हेर्नका लागि भीडमा उत्सुकता छाएको थियो। भीड पन्छिँदै गयो। सुब्बा बाजे लाशको अगाडि गई थपथपाउँदै बोलाउन खोज्छन् — “ए कृष्णे, उठ्! उठ् छिटो!” हात समाउन पुग्छन्। हात हिउँजस्तो चिसो थियो। मनमा चिसो पस्छ। अनि भीडतिर फर्किंदै कराउँछन् — “तपाईंहरू के हेरिरहनुभा’ भन्या? लौन, यसलाई के भयो? छिटो अस्पताल लैजानुपर्यो!” आत्तिँदै भन्छन् र लाश उठाउने प्रयास गर्न थाल्छन्।
भीडबाट एक जना वृद्ध मानिस आएर सहानुभूतिपूर्वक भन्छन् — “बाबु, यो त मरिसक्यो।” सुब्बा बाजेलाई यो सपना झैँ लाग्छ। चारैतिर फनन्न घुमेझैँ भान हुन्छ। मुटु पिरोलिरहन्छ। एकटकले लाशलाई निहाल्छन्।
चीरनिद्रामा सुतिरहेको झैँ एकाएक, एक जोडी आँखा ट्वाल्ट्वाल्ती लाएर उनलाई हेर्दै मौन भाषामा भनिरहेको हुन्छ — “मेरो मृत्युको कारण तपाईं नै हो।” उनको आँखाअगाडि सावित्रीको अन्तिम अवस्थाको झल्को आउँछ।
*****
रोगले सिकिस्त भई घाट लानु अघिको अन्तिम अवस्थामा बालक छोरा कृष्णतिर औँल्याउँदै आँखाबाट बरबर आँसु खसाली सावित्रीले सकी–नसकी भनेकी थिइन्। “तपाईं यसलाई ठूलो मान्छे बनाउनुहोस्। मेरो पनि माया दिनुहोस्। मलाई बचन दिनुहोस्।”
“के भनेकी तैंले? के त्यो मेरो छोरो होइन र? त्यसको चिन्तै नलि, म त्यसलाई पढाएर ठूलो मान्छे बनाउँछु। फेरि तँलाई के हुन्छ र? निको भइहाल्छ नि।” झुटो आश्वासन दिएका थिए, उनले।
यो कुरा सुनेपछि रुन्चे हाँसो हाँस्दै भनेकी थिइन् —
“तपाईंको काखमा मर्न पाएँ, म कति भाग्यमानी रहेछु।”
“यस्तो कुरा नगर कृष्नेकि आमा! तँ मलाई छोडेर जान पाउँदिनस्….।” आँखाभरि आँसु टम्म भरिएको थियो, बग्नलाई उकुसमुकुस भएको।
फिस्स… हाँसो हाँसी मसिनो स्वरमा “हे राम…” उच्चारण गर्दै सदाका लागि यस संसाररूपी मायाजालबाट मुक्त भएकी थिइन् सावित्री।
*****
“सुब्बा बाजे, के सोचिरहनु भएको?”
एक परिचित आवाजले सुब्बा बाजेलाई अतीतबाट वर्तमानमा ल्याउँछ। सुस्तरी आवाज आएतिर फर्किन्छन्। आँखाभरि आँसु छचल्किएर बग्न आतुर भएका देखिन्छन्। त्यही परिचित आवाज फेरि सम्झाउँछ — “पिर नगर्नुहोस् बाजे। के गर्नु, दैवको लिला यस्तै रहेछ। नत्र आफूलाई आगो दिने छोरोको यो गति हेर्नु पर्थ्यो र?” बाँध फूटी बहेझैँ दुवै आँखाबाट आँसुको भेल बग्न थाल्छ। विस्तारै आँसु पुछ्छन्। छोराको अनुहारतिर हेर्न थाल्छन्।
उनी अनुभूति गर्छन् — एक जोडी आँखाले अझै पनि मौन भाषामा भन्दैछ — “यो सब तपाईंको कारणले भयो। ममाथि तपाईंले ठूलो अन्याय गर्नुभयो, जसबाट म कुलतमा फसेँ। यसैबाट मेरो ज्यान गयो…”
एक चीर-परिचित स्वर पछाडिबाट सुनिन्छ। सुब्बा बाजे विस्तारै फर्केर हेर्छन्। अगाडि छिमेकी डिठ्ठाबा उभिएका हुन्छन्। बल्ल बोली फुट्छ — “डिठ्ठाबा! यो सबै के भयो? कृष्णे… मेरो छोरो…”
वाक्य अवरुद्ध हुन्छ, गला मै अडकिन्छ।
डिठ्ठाबा सहानुभूति प्रकट गर्दै भन्छन् — “के गर्नुहुन्छ बाबु? आमा नभएको टुहुरोलाई सानी आमा पनि त्यस्तै नसहने परिन्। त्यतिबेला बुद्धि पुर्याउनु भएन, चुप लाग्नु भयो। बिचरो माया पाएन, बरालियो। अब कसलाई दोष दिनुहुन्छ?”
सुब्बा बाजे रुँदै भन्छन् — “हो डिठ्ठाबा, यसको यस्तो दुर्दशाको कारण म नै हुँ। यसलाई मैले नै हो… मैले नै मारें।” आँसु पुछ्दै सडकको छेउमा थचक्क बस्छन्। दुई हात टाउकोमा राखी लाशतिर हेरी टोलाउँछन्।
*****
“त्यसलाई म घरैमा राख्दिन! एक राख्दिन, दुई राख्दिन — लौ जा!” अफिसबाट दैलोमा आइपुगेका थिए, भगवतीको रोषयुक्त कर्कश स्वरले घरै थर्काउँछ।
“हैन, किन घरै थर्काउने गरी चिच्याएकी? कसले के गर्यो?”
लोग्नेको उपस्थितिले झन् आँगोमा घिउ थपिन्छ। हात नचाउँदै भन्छिन् — “पाँच सय रुपैयाँ नै चोरेर लग्यो! बाह्रमासे मोरो, कालले पनि किन लग्दैन यसलाई…”
सुब्बा बाजे अगाडि सुन्न सक्दैनन्। रीस र तनावले चुर हुँदै कोठाभित्र पस्छन्। लुगै नफेरी खाटमा पल्टन्छन्।
बिहान श्यामले भनेको सम्झन्छन् —
“बा! बा! दाइले चुरोट पनि खान्छ।”
के गर्ने? के नगर्ने? दोधारमा पर्छन्। फेरि पिटर कसरी राखूँ जवान भइसकेको छोरालाई? केही नगरुँ भने छोरो बरालिइसक्यो, यता स्वास्नीको सधैँको कचकच। बेकारमा मैले दोस्रो बिहे गरेछु, मनमनै पछुताउँछन्।
“बा! बा! दाइ आइपुग्यो!” श्यामे कराउँदै भन्छ।
“त्यो पाजीलाई माथि बोला!” रीसले झोक्किँदै सुब्बा बाजे भन्छन्। श्यामे खुरर्र भऱ्याङ ओर्लेर तल जान्छ।
एकै छिनमै कृष्ण माथि आइपुग्छ — दुब्लो-पातलो शरीर, जिग्रिङ परेको कपाल, मैलो लुगा, र दयनीय अनुहार।
“तैले तेरी आमाको पैसा चोरेको हो?”
जङ्गिएर सोध्छन् सुब्बा बाजे।
कृष्ण चुपचाप — केही नबोली भुइँतिर हेरिरहन्छ।
“अझै भन्दैनस्? भन छिटो!”
कृष्ण असहमतिमा सिर्फ मुन्टो हल्लाउँछ।
सुब्बा बाजे हपार्दै फेरि कराउँछन्।
“त्यसो भए कसले लियो त?”
पुनः सोध्छन् “भन छिटो किन चुप लागेर बसिरा…?”
बल्ल विस्तारै कृष्णको बोली फुट्छ — “मलाई थाहा छैन।”
यत्तिकैमा भगवती हुरिँदै भित्र पस्छिन्। दनादन कृष्णको गालामा चड्काउँछिन्। उनीमा दया नामको चीजको लेशसम्म बाँकी नरहेझैँ, निर्दयतापूर्वक घोक्राउन थाल्छिन्। सुब्बा बाजे प्रतिकार गर्न खोज्छन्, तर उल्टै गालीको एक झट्का करेन्टझैँ उनिमा बज्रिन्छ।
“यो सबै तपाईंले गर्दा भएको हो!”
कृष्नेको कठालो समात्दै भगवती भन्छिन् —
“चोर गधा! तैँले मलाई पनि हेप्न थालिस्!”
गालीको वृष्टि गर्न थाल्छिन् भगवती।
कृष्णे टिलपिल आँखा पार्दै आशाले बाबुतिर हेर्छ — सायद सानी आमालाई रोकुन्। आँखामा सहानुभूतिको आश हुन्छ। तर सुब्बा बाजे चुपचाप — अचल, सगरमाथाजस्तै। बुद्धका दुई आँखाजस्तै, मायाले हेर्न त सक्छन्, तर अन्यायको अगाडि आवाज उठाउन सक्दैनन्। उनमा साहस छैन — लुते कुकुरझैँ हेरिरहन्छन्। बस् — हेरिरहन्छन्।
भगवती कृष्णको कठालो समात्दै ढोकासम्म पुऱ्याउँछिन्। अनि बाहिर धकेल्दै ढोका लगाउँछिन्।
“त्यसरी घरैबाट निकाल्नुपर्छ र? भरे घरै आएन भने…?”
शंका व्यक्त गर्दै सुब्बा बाजे भन्छन्।
“नआओस् त्यो! आयो भने पनि घरैमा राख्दिनँ। सुन्नुहोस् तपाईं पनि — आजदेखि कि त्यो यो घरमा बस्छ, कि म! बुझ्नुभयो?”
रणचण्डी झैँ रीसले आगो भएकी भगवती हातले ईशारा गर्दै भन्छिन्।
सुब्बा बाजे केही बोल्न सक्दैनन्। लाचार, विवश प्राणीझैँ टाउको निहुराउँछन्। भगवती “आइज बाबु” भन्दै श्यामेलाई बोक्दै बाहिर निस्कन्छिन्। सुब्बा बाजे निरुत्तर भई उनी गएतिर टोलाउँदै हेरिरहन्छन्।
“आईमाईहरू कति स्वार्थी हुन्छन्!” उनी मनमनै गुन्छन् — “आफ्ना र अरुकामा कस्तो भेदभाव! मातृत्वजस्तो पवित्र सम्बन्ध पनि यति स्वार्थी कसरी हुन्छ? सौतेनी आमा र जन्मदिने आमाको व्यवहारमा कति भिन्नता! त्यही भएर होला, ‘सौतेनी’ शब्दमै कठोरता झल्किन्छ।”
अनायासै बिहान डिठ्ठाबाले भनेको कुरो सम्झिन्छन् — “बाबु, कृष्णको राम्ररी विचार गर्नुहोस् है! त्यो केटाको बानी बिग्रिसक्यो। कुन्नि के के जातिको लागू पदार्थ पनि तान्छ रे। होस गर्नुहोस् है बाबै! फेरि पछि पछुताउनु नपरोस्!”
*****
“सुब्बा बाजे, लाश उठाउने बेला भइसक्यो, आउनुहोस्।”
यो आग्रहले उनको अतीतको पर्खाल गर्ल्याम–गुर्लुम्म भत्काउँछ।
सुब्बा बाजे अगाडि हेर्छन् — नजिकै बीरेकान्छा उभिरहेका हुन्छन्।
पश्चातापले मुटु पोल्छ। आँखाभरि आँसु उम्लेर आउँछ।
विस्तारै, सकी–नसकी बीरेकान्छाको सहाराले उठ्छन्।
लाशलाई गाउँलेहरूले खट (मृत्युशैया) मा राखिसकेका हुन्छन्। डिठ्ठाबा एक छेउमा काँध दिन्छन्, अर्को छेउ सुब्बा बाजेले काँध हाल्छन्। त्यस्तै दुई जनाले पछाडि बोक्छन्।
उनीहरू बिस्तारै अगाडि बढ्न थाल्छन्।
सुब्बा बाजेलाई लाग्छ — सावित्रीलाई दिएका बचनहरू यत्र–तत्र छरिएर उनलाई गिज्याइरहेछन्। उनका आँखाअगाडि कुहिरोले डम्म ढाक्छ। र त्यो कुहिरोमा कृष्णेको अनुहार प्रतिविम्बित हुन्छ।
सुब्बा बाजे अगाडि बढ्दै छोराको अनुहार सुम्सुम्याउन खोज्छन्। तर विस्तारै कुहिरो फाट्दै जान्छ — र छोराको अनुहार पनि क्रमशः बिलिन हुँदै जान्छ।
जापान टोकियो
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।