जीवनी :- आशा भोसले: सङ्गीतको स्वर्णिम अध्याय
लेखक : भाष्कर मैनाली शर्मा
आशा भोसलेको जन्म सन् १९३३ सेप्टेम्बर ८ तारिखका दिन भारतको साङ्गली, महाराष्ट्रमा भएको हो । उनी प्रसिद्ध शास्त्रीय गायक तथा नाटककार दीनानाथ मङ्गेशकर र आमा शेवन्ती (शुद्धमती) की छोरी हुन् । साङ्गीतिक परिवारमा जन्मिएकी उनले सानैदेखि सङ्गीतप्रति गहिरो रुचि र प्रेरणा पाइन् । आशाका दाजुभाइ तथा दिदीबहिनीसमेत सङ्गीत क्षेत्रमा ख्यातिप्राप्त छन् । सबैभन्दा ठूली दिदी लता मङ्गेशकर भारतकी अत्यन्त प्रसिद्ध गायिका हुन् भने मीना खाडिकर र उषा मङ्गेशकर पनि उनका दिदीहरू हुन् । त्यसैगरी भाइ हृदयनाथ मङ्गेशकर एक कुशल सङ्गीतकार तथा गायक मानिन्छन् । समग्रमा उनको परिवारका धेरै सदस्य सङ्गीत क्षेत्रमा प्रतिष्ठित रहेका छन् ।
बुबा एक प्रतिष्ठित शास्त्रीय गायक र नाटककार भएकाले आशाको बाल्यकाल साङ्गीतिक वातावरणमै बित्यो । तर उनी ९ वर्षको कलिलो उमेरमै हुँदा उनका बुबाको निधन भएपछि परिवारले ठूलो आर्थिक र सामाजिक सङ्कटको सामना गर्नुपर्यो ।
उनले करिब ५–६ वर्षको उमेरदेखि नै आफ्नै बुबाबाट गायन र शास्त्रीय सङ्गीतको प्रारम्भिक शिक्षा लिन थालेकी थिइन् । त्यही जगले पछि उनलाई सफल गायिका बन्न ठूलो सहयोग गर्यो । परिवार महाराष्ट्रका विभिन्न स्थानमा बसाइँ सरिरहने र बुबाको निधनपछि आर्थिक भार थपिएकाले उनको औपचारिक शिक्षा प्राथमिक तहभन्दा अघि बढ्न सकेन । विद्यालयको पढाइ बीचमै छोड्नुपरे पनि आफ्नै मेहनत, निरन्तर अभ्यास र पारिवारिक वातावरणका कारण सङ्गीतमा हासिल गरेको गहिरो ज्ञानले उनलाई विश्वप्रसिद्ध गायिकाका रूपमा स्थापित गरायो ।
किशोरावस्था निकै सङ्घर्षपूर्ण रहे पनि आफूलाई स्थापित गर्न उनले निरन्तर मेहनत गरिन् । दिदी लतासँगै सङ्गीत क्षेत्रमा अघि बढ्दै गर्दा सुरुका दिनमा साना तथा कम महत्त्वका गीतहरू गाउनुपरे पनि उनले कहिल्यै हार मानिनन् । यही चुनौती, सङ्घर्ष र कठोर मेहनतले पछि उनलाई सफल गायिका बन्न बलियो आधार प्रदान गर्यो ।
आशाको पहिलो साङ्गीतिक पाइला सन् १९४८ को मराठी चलचित्र “माझा बाल” को “चला चला नव बाला” गीतबाट सुरु भयो । निकै सानो उमेरमा चलचित्र गायनमा प्रवेश गरेकी उनले सोही वर्ष रिलिज भएको “चुनरिया” चलचित्रको “सावन आया” गीत गाएर हिन्दी पार्श्वगायनमा समेत कदम राखिन् । यही बिन्दुबाट उनको बहुआयामिक र सफल साङ्गीतिक यात्राको ढोका खुल्यो ।
उनको हिन्दी गायन यात्रा भारतीय सङ्गीत इतिहासमै अत्यन्त समृद्ध, विविधतापूर्ण र प्रेरणादायी मानिन्छ । सन् १९४० को दशकको अन्त्यतिर हिन्दी चलचित्र सङ्गीतमा प्रवेश गर्दा लता मङ्गेशकर, गीता दत्त र शमशाद बेगमजस्ता स्थापित गायिकाहरूको दबदबा थियो । त्यसैले आफ्नो पहिचान बनाउन उनले निकै सङ्घर्ष गर्नुपर्यो ।
करियरमा महत्त्वपूर्ण मोड सन् १९५० को दशकमा आयो, जब सङ्गीतकार ओ.पी. नैयरले उनलाई अवसर दिए । चलचित्र “नया दौर” (१९५७) को “मांग के साथ तुम्हारा” र “उड़े जब–जब जुल्फें तेरी” जस्ता गीतले उनलाई व्यापक लोकप्रियता दिलाए ।
सन् १९६० र १९७० को दशकमा आशाले शास्त्रीय, रोमान्टिक, क्याबरे र पप शैलीका गीतमा नयाँ प्रयोग गरिन् । विशेषगरी सङ्गीतकार आर.डी. बर्मनसँगको सहकार्यले उनको करियरलाई नयाँ उचाइमा पुर्यायो । “पिया तू अब तो आजा”, “ये मेरा दिल” जस्ता गीतले उनलाई आधुनिक र बहुआयामिक गायिका प्रमाणित गरे । त्यसैगरी “उमराव जान” (१९८१) को “दिल चीज क्या है” र “इन आँखों की मस्ती के” जस्ता गजल शैलीका गीत गाएर राष्ट्रिय पुरस्कारसमेत जित्दै उनले आफ्नो शास्त्रीय पक्षलाई पनि मजबुत रूपमा प्रस्तुत गरिन् ।
यसरी सङ्घर्षबाट सुरु भई निरन्तर नवीनता र प्रतिभाको माध्यमबाट शिखरसम्म पुगेको उनको यात्रा निकै प्रेरणादायी छ । चलचित्र “सीता और गीता” (१९७२) मा किशोर कुमारसँग गाएको “हवा के साथ साथ, घटा के संग संग” निकै चञ्चल र ऊर्जाशील छ, जसले उनको स्वरको लचकता र मिठासलाई आजसम्म पनि श्रोतामाझ लोकप्रिय बनाएको छ ।
सन् १९७१ मा आएको चलचित्र “हरे रामा हरे कृष्णा” मा समावेश “दम मारो दम” उनको अत्यन्त प्रसिद्ध हिन्दी गीत हो । सङ्गीतकार आर.डी. बर्मन र गीतकार आनन्द बक्षीको सिर्जना रहेको यो गीत तत्कालीन युवापुस्ताको स्वतन्त्र सोच र जीवनशैली प्रस्तुत गरेका कारण निकै चर्चित र केही हदसम्म विवादास्पद पनि बनेको थियो । आधुनिक सङ्गीत, पश्चिमी प्रभाव र आशाको अनौठो आवाजले भरिपूर्ण यो गीत भारतीय चलचित्र सङ्गीतको एक सदाबहार सिर्जना मानिन्छ ।
१९८० को दशक आशाका लागि अत्यन्तै सफल समय रह्यो । उनी बदलिँदो साङ्गीतिक धारसँग आफूलाई सजिलै ढाल्न सक्ने प्रतिभाशाली कलाकारका रूपमा चिनिइन् । आर.डी. बर्मनको आधुनिक र पाश्चात्य प्रभावयुक्त सङ्गीतमा उनको स्वर अत्यन्तै सुहाउँदो थियो । डिस्को, पप, क्याबरे तथा रोमान्टिक गीतहरूले युवापुस्तामा नयाँ उत्साह भरे । ‘नमक हलाल’, ‘सत्ते पे सत्ता’ र ‘डिस्को डान्सर’ जस्ता चलचित्रका गीतले उनलाई लोकप्रियताको शिखरमा पुर्याए । यस बेला उनले चञ्चल मात्र होइन, गम्भीर र भावनात्मक गीतहरू पनि उत्तिकै प्रभावशाली रूपमा प्रस्तुत गर्दै नयाँ पुस्ताका गायकगायिकासँग उत्कृष्ट प्रतिस्पर्धा गरिन् ।
१९९० को दशक उनको पुनरुत्थान र नयाँ प्रयोगको स्वर्णिम कालखण्ड हो । नयाँ प्रविधि र पश्चिमी प्रभावले भरिएका आधुनिक धुनहरूमा पनि उनले आफ्नो स्वरलाई सहज रूपमा ढालिन् । ए.आर. रहमानसँगको सहकार्यमा ‘रङ्गीला’ चलचित्रको “तन्हा तन्हा” र “रङ्गीला रे” जस्ता गीतले युवा पुस्तामाझ पुनः ठूलो चर्चा कमाए । “किताबें बहुत सी”, “ले गई ले गई”, र “ओई माँ ओई माँ” जस्ता विविध शैलीका गीतले उनको स्वरको लचकता र ऊर्जा प्रमाणित गरे । यही बेला चलचित्र सङ्गीतबाहेक गजल, पप र विभिन्न भारतीय भाषाहरूमा पनि आफ्नो उपस्थिति जनाएर उनले साङ्गीतिक दायरालाई अझ फराकिलो बनाइन् ।
२००० पछि उनको गायनमा परिपक्वता, विविधता र नवीनताको सुन्दर समिश्रण देखियो । उमेरको प्रभावका बाबजुद पनि उनको स्वरमा रहेको मिठास र स्पष्टता कायमै थियो । “राधा कैसे न जले” मा शास्त्रीय मिठास, “कम्बख्त इश्क” मा आधुनिकता र “लकी लिप्स” मार्फत युवा ऊर्जा प्रस्तुत गरिन् । अन्तर्राष्ट्रिय कलाकारहरूसँगको सहकार्य र पुराना गीतहरूको नयाँ प्रस्तुतिले उनलाई समयभन्दा माथि उठेकी अमर गायिका बनायो । यसबाहेक सन् २०१३ को “माई” नामक चलचित्रमा उनले सानो तर विशेष अभिनयसमेत गरेकी छन् ।
हिन्दी सङ्गीतमा विश्वप्रसिद्ध भए पनि आशाको जरा मराठी साङ्गीतिक परम्परासँग गहिरोसँग जोडिएको छ । भावगीत, भक्तिगीत, चलचित्र गीत र विशेषगरी ‘लावणी’ शैलीमा उनको योगदान अतुलनीय छ । “माझ्या नवऱ्याची बायको”, “कुणीतरी आहे माझ्या मनात” जस्ता गीतमा उनको चञ्चलता र मिठास प्रस्ट सुनिन्छ । उनले आफ्नो स्वरमार्फत मराठी साङ्गीतिक परम्परालाई समृद्ध बनाउँदै नयाँ पुस्तालाई यसतर्फ आकर्षित गरेकी छन् ।
बहुभाषिक प्रतिभाकी धनी उनले बङ्गाली, गुजराती, पञ्जाबी, तमिल, तेलुगु, कन्नड, मलयालम, उर्दू, असमिया र ओडियालगायत थुप्रै भाषामा गीत गाएकी छन् । हरेक भाषाको उच्चारण, लय र शैलीलाई सहजै आत्मसात् गर्न सक्नु उनको ठूलो खुबी हो ।
असी र नब्बेको दशकतिर नेपाली सङ्गीत क्षेत्रमा पनि उनको स्वर अत्यन्त लोकप्रिय रह्यो । सङ्गीतकार रञ्जित गजमेर र गीतकार कुसुम गजमेरसँगको सहकार्यमा गाइएका उनका गीतहरू नेपाली जनजिब्रोमा झुन्डिएका छन् । “साउने झरीमा”, “वसन्त नै बस्न खोज्छ यहाँ”, र “मोहनी लाग्ला है” (नारायण गोपालसँग) जस्ता गीतहरू नेपाली सङ्गीतका अमर धरोहर हुन् । त्यसैगरी “पहाडको माथि माथि”, “को होला मेरो मायालु” र “टाढा भई नदेऊ फेरि” ले प्रेम र विरहका गहिरा भाव बोलेका छन् । उदित नारायणसँग “आज हाम्रो भेट भएको दिन”, प्रकाश श्रेष्ठसँग “माया त माया हो” लगायत चलचित्र बाँसुरीका “मिरमिरे साँझमा सिमसिमे पानी” जस्ता गीतमा नेपालीपनको सुवास पाइन्छ । विदेशी भएर पनि नेपाली उच्चारण र भावलाई यति जीवन्त रूपमा प्रस्तुत गर्नु उनको अर्को ठूलो विशेषता हो ।
आशाको वैवाहिक जीवन भने निकै उतारचढावपूर्ण रह्यो । सन् १९४८ तिर परिवारको असहमतिका बाबजुद गणपतराव भोसलेसँग गरेको पहिलो प्रेमविवाह सफल हुन सकेन । सन्तानको जिम्मेवारी एक्लै सम्हाल्दै सङ्घर्ष गरेकी उनले सन् १९८० मा प्रसिद्ध सङ्गीतकार आर.डी. बर्मनसँग दोस्रो विवाह गरिन् । सुरुवातमा साङ्गीतिक सहकार्यबाट विकसित भएको यो सम्बन्ध व्यक्तिगत र पेसागत दुवै दृष्टिले अत्यन्त सफल रह्यो । तर सन् १९९४ मा बर्मनको निधनपछि जीवनमा ठूलो शोक आइपर्यो । त्यसपछि उनले पुनः विवाह गरिनन् र आफ्नो जीवनलाई सङ्गीत अनि परिवारमै केन्द्रित गरिन् ।
दिदी लता मङ्गेशकरसँगको उनको सम्बन्ध बहुआयामिक थियो । लता पहिल्यै स्थापित भइसकेको र आशाले सङ्घर्ष गरिरहेको अवस्थामा दुईबीच व्यावसायिक प्रतिस्पर्धा हुनु अस्वाभाविक थिएन । कम उमेरमै आशाले गरेको विवाहका कारण पनि परिवारमा केही समय चिसोपन आएको थियो । तर समयक्रममा दुवैले आआफ्नो क्षेत्रमा उचाइ हासिल गरेपछि आपसी सम्मान बढ्दै गयो । लताको स्वर शुद्ध र परम्परागत शैलीतर्फ झुकेको मानिन्छ भने आशाको स्वर चञ्चल, बहुआयामिक र आधुनिक शैलीमा बढी प्रभावशाली देखिन्छ । यही फरकपनले उनीहरूलाई प्रतिस्पर्धी मात्र नभई आआफ्नो क्षेत्रमा अद्वितीय बनायो ।
सफलताको लामो यात्रामा उनले थुप्रै आलोचना र विवादको पनि सामना गरिन् । सुरुमा लताको छायामा परेको वा ‘दोस्रो रोजाइ’ की गायिका भएको आरोप लाग्यो भने पछि क्याबरे र खुला शैलीका गीत गाएको भन्दै परम्परावादीहरूले आलोचना गरे । यद्यपि समयसँगै तिनै गीत उनको बलियो पहिचान बने । कम उमेरको पहिलो विवाह र त्यसको असफलता अनि पछि आर.डी. बर्मनसँगको सम्बन्धले पनि केही समय चर्चा र आलोचना कमाएको थियो । तर उनले सधैँ विवादमा परेर भन्दा पनि आफ्नो उत्कृष्ट काममार्फत यस्ता आलोचनाको जवाफ दिइन् ।
उनका तीन सन्तान (दुई छोरा र एक छोरी) ले आआफ्नो क्षेत्रमा भिन्न पहिचान बनाएका छन् । जेठा छोरा हेमन्तले केही समय सङ्गीत निर्देशनमा काम गरे भने कान्छा छोरा आनन्द व्यवसाय र आमाको साङ्गीतिक कार्यक्रमहरूको व्यवस्थापनमा सक्रिय रहे । छोरी वर्षा पत्रकार तथा लेखिका थिइन्, तर उनको जीवनको दुःखद अन्त्य भयो, जसले परिवारलाई गहिरो पीडा दियो ।
विश्व सङ्गीतकी यी महान् साधिकाको मृत्यु १२ अप्रिल २०२६ मा मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भयो । अत्यधिक थकान र छातीको सङ्क्रमणका कारण ११ अप्रिलमा अस्पताल भर्ना भई आईसीयूमा राखिएकी आशा भोसलेको ९२ वर्षको उमेरमा मल्टि-अर्गान फेलियरका कारण निधन भएको हो ।
लेखकको ठेगाना :: दार्जिलिङ


