थबाङमा डी. बी. मगर ‘स्वेद’ को गजल सङ्ग्रह ‘सफर’ लोकार्पण
रोल्पा, थबाङ । नेपाली र मगर खाम भाषामा सशक्त रूपमा कलम चलाउँदै आएका कवि एवम् गजलकार डी. बी. मगर ‘स्वेद’ को नयाँ गजल सङ्ग्रह ‘सफर’ रोल्पाको थबाङमा लोकार्पण गरिएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान (काठमाडौँ) को आयोजना, रोल्पा कला साहित्य प्रतिष्ठानको सह-आयोजना तथा थबाङ गाउँपालिकाको मुख्य प्रायोजन एवम् रोल्पा नगरपालिका लगायत जिल्लाका सम्पूर्ण गाउँपालिकाहरूको सहयोगमा यही वैशाख १९ र २० गते ऐतिहासिक गाउँ थबाङमा सम्पन्न ‘प्रगतिशील सङ्गीत उत्सव २०८३’ का बीच उक्त कृतिको विमोचन गरिएको हो ।

गजल सङ्ग्रहको लोकार्पणपछि साहित्यकार एवम् पत्रकार मौसम रोकाले गजलकार डी .बी . मगर ‘स्वेद’ को व्यक्तित्व र उनको कृति ‘सफर’ माथि आफ्ना गहकिला भनाइहरू राख्नुभएको थियो ।
यसअघि कवि एवम् गजलकार स्वेदका ‘एक यात्रा अनेक मोड’ (गजल, २०६८), ‘अङ्कुराए पल्लवी’ (संयुक्त गजल, २०६९), ‘हिमालको ओतमुनी’ (गजल, २०७०), ‘जर्मिसिउ पो’ (मगर खाम गजल, २०७२) र ‘दोन्थरा’ (मगर खाम महाकाव्य, २०७९) गरी पाँचवटा कृतिहरू प्रकाशित भइसकेका छन् भने निकट समयमै मगर खाम भाषाको ‘सङ्गाति’ नामक कविता सङ्ग्रह प्रकाशन गर्ने तयारीमा छन् ।

बुवा मनबहादुर बुढा मगर र आमा कमला बुढा मगरको कोखबाट २०5० सालमा थबाङ गाउँपालिका-३, मिरुलमा जन्मिएका स्वेद हाल परिवर्तन गाउँपालिकामा बसोबास गर्छन् भने उनी शिक्षण पेसामा पनि संलग्न छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ को सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन रोल्पा कला साहित्य प्रतिष्ठानका अध्यक्ष जीवन प्रवेश रोका मगर ‘हिमाल’ ले गरेका थिए । कार्यक्रमको सुरुमा यही वैशाख १७ गते जलजला क्षेत्रमा भएको जिप दुर्घटनामा परी पूर्वी रुकुम र दाङका २० जना दिवङ्गत हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती रहनुभएको थियो । यस्तै, जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा, प्रगतिशील गायक जीवन शर्मा, प्राज्ञहरू, पालिकाका उपप्रमुखहरू, विभिन्न सरोकारवालाहरू, सुरक्षाकर्मी, साहित्यकारहरू र पत्रकारहरूको उपस्थिति थियो । कार्यक्रममा पत्रकारका तर्फबाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष मानसिंह विक, लेखकहरूका तर्फबाट प्रगतिशील लेखक सङ्घका अध्यक्ष श्यामकुमार बुढामगर, प्रगतिशील सङ्गीतकर्मीहरू नारायण शर्मा र वीरप्रसाद भन्सारी, आरोह नेपाली, हेमराज आश्रम, उदय श्रेष्ठ, जीवन शर्मा, स्थानीय तहको प्रतिनिधित्व गर्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा ‘थमन’, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, जिल्ला समन्वय प्रमुख सीता आचार्य र प्रमुख अतिथि तुलाराम घर्ती लगायतले शुभकामना तथा शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रगतिशील सङ्गीत उत्सवका अवसरमा जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष भीम कुमाखीले ‘प्रगतिशील गीत सङ्गीत’ को बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने रोल्पा कला साहित्य प्रतिष्ठानका अध्यक्ष जीवन प्रवेश रोका मगरले ‘रोल्पाको प्रगतिशील गीत सङ्गीत र साहित्य’ बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दुवै कार्यपत्र प्रस्तुतिपछि प्रगतिशील लेखक र कलाकारहरूबीच वृहत् छलफल भएको थियो ।
‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि’ भन्ने नाराका साथ दुई दिनसम्म चलेको उक्त कार्यक्रममा ख्यातिप्राप्त दर्जनौँ जनवादी गायक-गायिकाहरूले प्रगतिशील गीत-सङ्गीत मार्फत कार्यक्रमलाई उत्सवमय बनाएका थिए भने स्थानीयहरूले आफ्नो संस्कार र संस्कृति झल्किने मौलिक झाँकीहरू प्रस्तुत गरेका थिए ।


