पुस्तक समीक्षा:
‘ताल्चा’ खोलेर हृदयको बह पोख्दा !
समीक्षक: कुमार काफ्ले
दैलो, बाकस, सन्दुक, ट्याङ्का आदि बन्द गर्न लगाइने धातुको यन्त्र वा उपकरण हो ताल्चा । यसले सायद मन, मस्तिष्क, बुद्धि वा हृदय खोल्न वा बन्द गर्न पनि मिल्छ होला ! कुरीति, कुसंस्कार र अन्धविश्वासले जकडिएको समाजको ढोका उघार्न पनि ताल्चा खोल्नुपर्छ होला ! समाजको संरचना पनि अजीवको हुन्छ, त्यहाँका बासिन्दाहरू त झनै तरहतरहका हुने नै भए । कोही उग्र कोही संयमित । कोही तिललाई पहाड बनाउँछन् कोही पहाड खस्दा पनि केही नभएजस्तै शान्त बनिदिन्छन् ।
दिलिप बान्तवा सामाजिक, आर्थिक, राजनीतिक र समसामयिक विषयमा कलम चलाइरहने सिर्जन कर्ममा तल्लीन एक कुशल सर्जक हुन् । उनका कथाका अधिकांश पात्र शान्त र संयमित छन् । विद्रोह र प्रतिरोध गर्नुपरे पनि निकै सोचविचार गरेर समय आएपछि गर्छन् । कतिपय पात्रहरू विवश छन्, शालीन छन् । नियतिलाई स्वीकारेर अघि बढ्छन् । सटिक संवाद र सरल भाषाशैलीले कथालाई जीवन्त बनाएका छन् ।
फिनिक्स बुक्सले बजारमा ल्याएको ‘ताल्चा’ मा एघार थान कथा रहेका छन् । पहिलो कथा ‘सातौँ इमोजी’ माओवादीले सुरु गरेको सशस्त्र युद्धको फ्ल्यासब्याकमा गएर रचिएको कथा हो । जसमा मुख्य पात्र रमिला पर्सियन खाडीको तटमा रहेको ‘घाफ क्याफे’ मा बसेर आफ्नो युद्धकालीन जिन्दगी स्मरण गर्छिन् । अरब सागर, पर्सियन खाडीको परिदृश्य दर्शाउँदै कथाकारले पूर्वछापामार युवती रमिलामार्फत समुद्री किनारामा सनबाथ लिने मान्छेहरूको सम्झना अनि व्यस्त सपिङ मलमा बगेका पसिनाको कहानी लेखेका छन् । दश वर्ष चलेको सशस्त्र द्वन्द्व र त्यसले पारेको सकारात्मक तथा नकारात्मक प्रभाव चिहाउँदै कथाले मानवीय भावना, प्रेम, विवाह र आशाको दियो बाल्ने कोसिस गरेको छ ।
दोस्रो कथा ‘कैदी नम्बर ३५४’ मा किशोरावस्थामै लाहुरेको प्रेममा परेर कुमारी आमा बनेकी ताया जेल बसेको कहानी छ । साकेन्वा शिली, उधौली उभौलीलगायत सांस्कृतिक परम्परा आदिको सुन्दर चित्रण गरिएको छ ।
तेस्रो कथा ‘हल्लावा’ मा अन्दाजी पचास वर्षे बुसुहाङले पच्चीस वर्षे बुङ्छयाङ्मालाई तानेर बोक्छ, बात लाग्छ र चलेको रीतअनुसार उनीहरूको बिहे हुन्छ । बुसुहाङको घरमा पहिल्यै दुईवटी श्रीमती हुन्छन् । उनीहरू नयाँ सौताको स्वागतमा जुट्छन् । नयाँ दुलहीबाट छोरो (नाम्नुहाङ) जन्मिन्छ, मेला बजार जान्छ, रङरौस गर्छ र पछि गोर्खा पल्टनमा भर्ती हुन्छ । ऊ बूढो हुन्छ र पचासी वर्षको उमेरमा कहिल्यै नउठ्ने गरी निदाउँछ । बलबैँस छँदा लडाइँ झगडा गर्दै हिँड्ने; दोखी, खुनी भएकाले ऊ जातीय संस्कार अनुसार चुलामा राख्न माङ, चुलाले सकार्दैन । ऊ हल्लावा (सेहेँ, भड्किएको आत्मा) भएर रहन्छ । यस्तै यस्तै… कथामा पूर्वेली लवजको मिठास छ । पात्रहरू जीवन्त छन् । तथापि कथाको लागि यो कालखण्ड निकै, निकै लामो भइदियो । पचासी वर्षभन्दा लामो समय ! उपन्यास बन्न सक्ने विषय र समय । पूर्वस्मृति (फ्ल्यासब्याक) शैलीमा लेखिएको भए हुन्थ्यो भन्नेचाहिँ लाग्यो ।
चौथो कथा ‘नागरिक’ एउटी नारीको सङ्घर्ष कहानी हो । सामाजिक समस्यालाई टपक्क टिपेर फरक शैलीमा कथामा उतार्न दिलिप बान्तवा खप्पिस छन् । कानुनतः पाउनुपर्ने नागरिकता उनले र आमाले गरेको सङ्घर्ष, प्रिय मान्छेहरू गुमाउनुको पीडा र सरकारी कर्मचारीहरूको असहयोगी भावना (अपवादमा गाउँको नयाँ सचिवले भने सहयोग गरेको छ) ले राधिका एक सङ्घर्षशील नारी बनेकी छिन्, हार मानेकी छैनन् । खट्केको कुरा, भोजपुरतिरको कथामा गणेश हिमालले छोडेको हावा दिमालुङको छातीमा ठोकिएर गाउँभरि फैलिरह्यो (पृष्ठ ६२) । हिमालकै हावा चाहिने भए मकालु, फक्ताङ्लुङ वा कञ्चनजङ्घाकै ल्याएको भए के बिग्रन्थ्यो ! यस्तो लाग्यो । धादिङ र गोर्खाको सिमानाको (टाढाको) हिमालको हावाको लोभ किन पलायो ? (तथापि कल्पनाको कुनै सिमाना हुँदैन भन्ने कुरा म बुझ्दछु ।)
पाँचौँ कथा ‘श्रद्धा’ सत्य घटनामा आधारित अनुभूति जस्तो लाग्ने प्रेम र प्राकृतिक विपत्तिले उजाडिदिएको संसारको कहानी हो । प्रत्येक कथामा किराँती संस्कार, संस्कृति र रीतिथिति सुटुक्क मिसाएर कथालाई उम्दा बनाउन कथाकार खप्पिस देखिए ।
‘रामप्रसाद’ एक योद्धाको कहानी हो । गाउँको सामन्त दलजीतको प्रताडना सहिनसक्नुको छ । हिउँदको एक बिहान दलजीत रामप्रसादको घर आउँछ, उद्देश्य उही जालझेल र षडयन्त्र । त्योबेला आमा कोदो गोड्दै हुन्छिन् । हिउँदमा कोदो भित्र्याइसकिन्छ । नागपञ्चमीबाट हिउँद लाग्छ भनिए पनि सामान्यतया हिउँद दशैँतिहार सकिएपछि सुरु हुन्छ ।
‘आमूल’ शीर्षकको कथामा कबिरलाई गोरु मारेको, गोरुको मासु बाँडेको आरोपमा प्रहरी चौकीमा लगिन्छ, यातना दिइन्छ । खासमा उसले गोरु मारेको हुँदैन बदलाको भावले पूर्व प्रधानपञ्चको छोराले उजुरी गरेको हुन्छ । यस्तै यस्तै यातना र पीडाले कबिर माओवादी बन्छ, कताकता युद्ध लड्छ, घाइते हुन्छ र अन्ततः फर्निचरको काम गर्छ, टेम्पो चलाउँछ ।
‘चिनो’ मा चबुङ कान्छाको सामाजिक सङ्घर्ष छ । गाउँले परिवेश छ, बर्खायाम भएकाले कामको खुब चटारो छ । धान पाकेर भित्र्याउने हतारो, कोदोको बीउ छिप्पिएर रोप्ने चटारो आदिले एकछिन त रनभुल्ल पारिदिन्छ । कृषिमा आधुनिकीकरण र बेमौसमी खेतीको चलन फस्टाउँदै गएकोले यस्ता कुरा सामान्य नै होलान् तर कताकता अलमलमा परेको महसुस भयो । अन्तरजातीय विवाह गरेको उसले जुनीभर सङ्घर्ष गर्दागर्दै एकदिन निष्प्राण हुन्छ । जातीय विभेदको शिकारमा परेर जात काढिएको चबुङ उमेरमा नाच्ने, गाउने काममा सिपालु थियो । यस्तै जात्रा, मेलापर्वमा नाच्नेगाउने गर्दै गर्दा उसले फर्की (युवती) लाई भेटेको थियो र प्रेम बसेको थियो । लाशमाथि समेत राजनीति हुने कुसंस्कारले गाँजिएको पिछडिएको हाम्रो समाजमा चबुङको लाश उठाउन हाङ सरले हिम्मत जुटाएको प्रसङ्गसँगै एउटा दुखद कहानीको अन्त्य हुन्छ ।
‘स्कुल’ मित्रताको कथा हो । तीर्थलाल र खिमहाङ जसको जात मिल्दैन, संस्कार मिल्दैन । भाषाको समस्या छ तर मन मिलेको छ । एकअर्कालाई खुलेर सहयोग गर्छन् । लाग्यो यो त प्रेमको शाश्वत गुण हो । तर अहिलेको जमानामा कहाँ पाउनू यस्तो आदर्श प्रेम !
शीर्ष कथा ‘ताल्चा’ कोरियाको सउल टावरमा पुगेकी रीमाको पूर्वस्मृतिमा आउने पर्वतसँगको सम्बन्धमा आधारित छ । पर्वतलाई हृदयदेखि प्रेम गरेकी रीमालाई उसले धोका दिन्छ । मुटुरोगी ऊ मरेको खबर साथी जयाबाट थाहा पाउँछे रीमाले । हार्ट लक स्पटमा केही वर्षपहिले झुण्ड्याएको ताल्चा खोलेर ल्याउँछे र दुखाइरहने सम्बन्धको अन्त्य ऊ ताल्चा डस्टबिनमा फ्याँकेर गर्छे । उसको शान्त विद्रोहले कथाको प्राण भरेको छ ।
कथाकारसँग मेरो प्रत्यक्ष देखभेट छैन तर सामाजिक सञ्जालले हामीलाई जोडेको छ । ‘ताल्चा” खोलेर कथाहरू पढिरहँदा सीमान्तकृत, आवाजविहीन र भुइँमान्छेहरूको कथा लेख्न रुचाउने सर्जक हुन् भन्ने ठम्याएँ । दुई वर्षअघिको टिपोटलाई बिट मार्न फेरि ताल्चा खोलेर हेरेँ तर रीमाले जसरी फ्याँक्न अहँ म सक्दिनँ, बुक र्याकमा सजाएर राखेँ । पुस्तक पढ्दै गर्दा त्यसैमा लेख्ने बानी मेरो छैन । कतिपय साथीहरूले किताबको खाली ठाउँमा गज्जबले लेखेको देखेको छु । अहिले लाग्छ, त्यसरी किताबमै टिपोट गर्दा दोहोर्याउँदा समय बच्ने रहेछ ।


