❛❛
माला लगाएको तस्बिरभित्र छ ऊ,
सधैं मुस्कुराइरहन्छ।
चम्किला चक्षुहरूले उसलाई हेरिरहन्छ,
हेरिरहन्छ एकटक।
थाक्दैनन् उसका नयन,
काँप्दैनन् उसका ओठहरू,
भक्कानिँदैन उसको मन,
चिरिँदैन छाती उसको,
हुँदैन ऊ रुँदारुँदै बेहोस।
ऊ माला लगाएको तस्बिरभित्र छ।
उनलाई माला मन पर्दैन,
मन पर्दैन ऊ तस्बिरमा सजिएको।
मन पर्दैन उसले एकोहोरिएर हेरेको,
मन पर्दैन ऊ मौन बसेको,
मन पर्दैन उसले नबोली कुरेको।
मन परोस् पनि कसरी पो उनलाई,
ऊ माला लगाएको तस्बिरभित्र छ।
भित्ताको तस्बिर हेर्ने साहस भए, किन पो छोप्नुपर्थ्यो?
आँखाका डिलमै छचल्किएका आँसु, किन पो रोक्नुपर्थ्यो?
भित्ताको तस्बिर हेर्ने साहस भए, किन पो छोप्नुपर्थ्यो?


