❛❛
सायद मेरी आमा
सत्यसँग कहिल्यै डराइनन्,
तर सत्य बोल्दा-बोल्दै
आएका परिणामसँग भने
अझै डराउँछिन्।
मेरा आँखाले
उनको जिन्दगीको यात्रा
आदि मात्रै देखे,
सम्झिन्छु, कुनै पनि परिस्थितिसँग
उनी कहिल्यै डराइनन्।
तर मेरी आमा
ती डरलाग्दा परिस्थिति ल्याउने
समयसँग भने अझै डराउँछिन्।
मैले बुझेसम्म,
भाग्य लेख्ने भगवान्सँग
उनीले गुनासो कहिल्यै गरिनन्,
तर उनको भाग्यमा के थियो कुन्नि,
उनको अनुहारमा खुशी भने अझै देख्दिनँ।
मलाई,
जिन्दगीमा केही थान दुःख घटाउनु छ,
मेरी आमाका आँखामा खुशी झल्किने
उपहार अब पठाउनु छ।
त्यसैले, मैले यथार्थलाई चिन्नै पर्छ।
मेरी आमाले दिएको शिक्षा यही थियो –
परिस्थिति जस्तोसुकै होस्,
सत्य अँगालेरै हिँड्नुपर्छ।
आत्तिएर दुःखी हुनुभन्दा
समयलाई चिन्नुपर्छ।
मैले देखेकी मेरी आमा
सत्यसँग कहिल्यै डराइनन्,
दुःख पर्दा आँसु पुछिन्,
कहिल्यै कराइनन्।
धनगढी, कैलाली


