❛❛
जिन्दगी अभिशाप नहोला
अस्थिपञ्जर र वनमारा भित्र
लाचार भएर जकडिरहन्छ
माकुराको जालोभित्र
विवश: कैद भएर
छटपटिएर मरिरहन्छ –
आखिर, तुच्छ यो जिन्दगी।
आँशु बोक्दै,
मलामीविहीन
जिउँदो लास चितातिर लम्किरहेछ
आफ्नै लासको आफैँ मलामी भएर।
फगत:
न अगाडि, न पछाडि
न शंखको धुन – न कुनै रूवाबासी।
आफैँले सृष्टि गरेका कृतिहरू
आँखाबाट अविरल झार्दै
समवेदना र श्रद्धाञ्जली अर्पिरहेछ।
त्यो क्षितिज,
अनि त्यो आकाश
भावविव्हलमा
आँखाका धारा बगाइरहेछ।
सुकिसकेर खहरे भइसकेको
वागमती खोला पनि
एक्कासी उर्लन पो थालिरहेछ।
क्षितिज एक्लै छ,
आकाश पनि एक्लै छ,
सप्तकोशी एक्लो छ,
मेची, महाकाली पनि एक्लै-एक्लै छन्।
सूर्य र चन्द्रमा पनि एक्लो नै देख्छु।
तर,
मेरो मृत्युमा हाँस्नेहरू भने थुप्रै–थुप्रै देखिरहेछु।
खुसीले यहाँ
सिस्नु र वनमारा पनि हाँस्दा रहेछन्।
किराले खाएका, चर्केका दलिनहरू
खित्का छाड्दै हाँस्दा रहेछन्।
हो, सबै हाँसी रहून्।
कोही पनि
मेरो लासमाथि कात्रो नओढाऊन्,
फूल नचढाऊन् –
कमसेकम
दुई गजको कपडा भए पनि जोगियोस्।
जिउँदै जलेर मर्नु कदापि पागल हुनु होइन,
बाध्यताभित्र बाध्यता पनि हुन सक्छ।
आफूलाई,
निर्वस्त्र नदीझैँ
कलकल गर्दै बग्न मन लाग्छ –
हिमश्रृंखला,
हिमालयको चुचुरोबाट
स्वच्छ छहरा बनी,
माथि छाङ्गाबाट तल गहिराइसम्म
सुसेली–सुसेली रमाउन मन लाग्छ।
के गर्नु र आखिर?
अस्थिपञ्जरको
बन्धनबाट मुक्त हुन नसकेर
आफ्नै लासको आफैँ मलामी –
बिचरा! म अभागी।
मानन्धर अभागी
काठमाडौं
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।