कवि : असल चरित्र
के-के व्यवसाय गर्छन् कोही-कोही मान्छेहरू,
जो बाँचिरहेछन् डिजिटल जिन्दगीका आयुहरू
जो तिरिरहेछन् सहजै, निरन्तर
स्मार्ट जिन्दगीका किस्ताहरू ।
हामी बिचरालाई त
एक छाक मीठो खानुजस्तो हो खुसी,
जसरी-तसरी बाँच्नु हो सुख
खुसीसाथ टारिदिने पाहुनाजस्तो हो दुःख ।
हामी बिचरालाई त
क्षणमै फेरिइरहने सरकारजस्तै हो हाँसो,
हरपलको साथीजस्तो हो आँसु
जो, सामान्य धुलो पस्दा अक्सर बग्ने गर्छ हामीसँगै
हाम्रा अगणनीय तुहिएका सपनाहरूलाई बगाउँदै ।
हामी बिचरालाई त
जीवन अभावहरूका प्याला मेट्ने लक्ष्यजस्तो हो कर्म,
जसलाई, हामी जिउनुको महान् उद्देश्य ठान्छौँ
फगत श्रमको अवमूल्यनजस्तो हो पारिश्रमिक
जुन घाटामै रहनेछ कालान्तरसम्मै ।
हामी बिचरालाई त
चेतनाको घोडा अनि आत्मा र मस्तिष्कजस्तो हो शरीर,
जसरी, अङ्गहरूबाट चलायमान भएजस्तै मेसिन
आमाको वात्सल्यबाट लिएको
श्वासप्रश्वास चलुन्जेलको एग्रिमेन्ट लोनजस्तो हो जीवन ।
अनि मृत्यु ?
मृत्यु त जीवनको अन्तिम सत्य हो ।
मृत्यु त जीवन निर्वाणको पथ हो ।
मृत्यु त हामी सबैको मुक्ति हो
जसबाट भागेर हामी कुनै परलोकमा लुक्न सक्दैनौँ ।
हामी बिचरालाई त
खुसी— मरेर दुई छाक टार्नु हो खुसी,
केएफसीको पिज्जा, बर्गरभन्दा स्वादिष्ट लाग्छ हाँसो
जीवनपर्यन्त उपलब्धि लाग्छ दुःख, आँसु, कर्म र श्रम
सुस्तरी प्राचीन हुँदै गइरहेको किप्याड फोनजस्तै लाग्छ
हाम्रो शरीर, अङ्गप्रत्यङ्ग र चेतना
जहाँ, आगतको आर्टिफिसियल प्रविधिजस्तो
एउटा टचस्क्रिन सिसामा दुनियाँ देख्न सक्दैनौँ ।
त्यसैले कहिलेकाहीँ प्रश्न उब्जन्छ अनायास,
के-के कर्म गर्छन् कोही-कोही मान्छेहरू
जो बाँचिरहेछन् डिजिटल जिन्दगीका आयुहरू
जो तिरिरहेछन् सहजै, निरन्तर
उन्मुक्त भएर सबैबाट
डिजिटल स्मार्ट जिन्दगीका किस्ताहरू ।।
कविको ठेगाना : हलेसी तुवाचुङ न.पा. -०५, खोटाङ


