पञ्चचामर छन्द
मनै झनै उदास भो, वसन्तको वहार खै
खुशी गए हराउँदै, समस्त ती पियार खै
न दिग्दिगन्त भो खुशी, न आज साथ छौ तिमी
अमूर्त प्रेम आज भो, भुली कहाँ गयौ तिमी
।१।
घमण्डले उचालियौ, र हेय दृष्टिपात भो
असाध्य सुन्दरी तिमी, अहम् लियौ त घात भो
निधारमा नलेखिदा, बतास झैं हराउँछु
र शून्यमा निमग्न भै, म सुस्त सुस्त गाउँछु
।२।
रमाइला कुराहरू, कथा भए व्यथा भए
जसै तिमी हराइथ्यौ, नवीनता कता गए
अनन्त प्यार साँच्छु मै, तिमी उदार बन्दिनौ
रचेर जाल यौनका, सही जवाफ भन्दिनौ
।३।
सहेर चाेट मर्मका, खुशी दिएँ सधैंभरि
दिदा पुगेन प्रेम त्याे , भयाै पराइ के गरी
गरेछु भूल सम्झिएँ, दिएर आज याे मुटु
लडेछु भीरबाट नै, विरक्त लाग्छ के उठूँ
।४।
नमेटिने भयो अहो, नि सम्झना र चित्र त्यो
हजार वर्षसम्म पो, रहन्छ झैं मभित्र त्यो
वियोगले र रोगले, बजें म राग धूनमा
नपाउदै नवीनता, कि पुग्छु घाम-जूनमा
।५।
नवराज न्यौपाने ‘मौन’
तनहुँ, हाल: काठमाडौं


