रणबहादुर खत्री बझाङको एउटा सामान्य किसान परिवारमा जन्मिएको हो। आर्थिक अवस्था खासै बलियो थिएन। बाबुआमाले गाउँमै ज्याला मजदूरी गरेर उसलाई जेनतेन स्कुल पढाउँदै आएका थिए।
त्यसैबीच, रणबहादुर कक्षा ८ मा पढ्दै थियो। जिल्ला स्तरीय परीक्षा आउन अझै दुई महिना बाँकी थियो। देशमा विद्रोही पार्टीको संगठन विस्तार हुँदै गइरहेको समय थियो। त्यो बेला विद्रोही पार्टीले युद्धको घोषणा गऱ्यो र रणबहादुरको गाउँमै रहेको प्रहरी चौकीमा पहिलो आक्रमण गर्यो। त्यस आक्रमणमा दुवै पक्षका मानिसहरू मारिए। युद्ध चर्कँदै गयो, र विद्रोही पक्षलाई जनशक्तिको खाँचो पर्न थाल्यो।
आर्थिक रूपमा सबल भएकाहरू र युद्ध मन नपराउनेहरूले गाउँ छाडे। तर कमजोर आर्थिक हैसियत भएका धेरैजसो गाउँलेसँग शहरतिर भाग्ने सामर्थ्य थिएन। उनीहरू बाध्य भएर विद्रोही युद्धमा सहभागी भए। रणबहादुर पनि तीमध्ये एक भयो।
वर्षौँसम्म युद्ध चलिरह्यो। हजारौँ युवाहरूको ज्यान गयो, धेरै घरबारविहीन भए। कसैले श्रीमान् गुमाए, कसैका छोराछोरी टुहुरा बने। रणबहादुर पनि युद्धमा होमियो—धेरैजसो मोर्चामा, धेरै चोटि मृत्युसँग साक्षात्कार गर्दै। तर दिन बलियो थियो; बाँचिरह्यो।
अन्ततः शान्तिवार्ता भयो। युद्धविराम घोषणा गरियो। विद्रोही नेताहरू राज्यसत्तामा पुग्न थाले—कोही मन्त्री भए, कोही सांसद। तर रणबहादुर भने क्यान्टोनमेन्टमा सीमित भयो। पाँच लाख रुपैयाँ हात पार्यो र निस्कियो। घर फर्किंदा बाबुआमा बितिसकेका थिए, एक भाइ र दुई बहिनीहरू पनि त्यही युद्धमा मरेका थिए। घरमा अब कोही बाँकी थिएन।
रणबहादुरले केही वर्ष देशमै बसेर पर्खिरह्यो—शायद अब केही हुन्छ कि भन्ने आशामा। उसले विश्वास गरेको थियो, युद्ध गरीबहरूको हकहितका लागि लडिएको हो। तर, नेतृत्वमा रहेकाहरू सत्तामा पुगेपछि अब ती पुराना नाराहरू उच्चारण पनि गर्दैनथे।
आखिरमा, युद्धमा खर्चिएको जीवनप्रति निराश हुँदै रणबहादुर मेनपावर एजेन्ट समातेर खाडी देशतिर लाग्यो। केही वर्ष काम गर्यो, तर दुर्भाग्यले एक दिन काम गर्ने क्रममा मेसिनमा पर्यो—दाहिने खुट्टा गुमायो। त्यसपछि फेरि देश फर्किनु बाध्यता बन्यो।
आज उसले सोच्ने गर्छ—युद्धमा बचाएको आफ्नो शरीर अन्ततः खाडी पुगेर खुट्टा गुमाएर फर्कियो । यही त हो, गणतन्त्रले उसलाई दिएको उपहार। हिजोआज ऊ गणतन्त्रलाई सधैँ धिक्कार्छ—एकपछि अर्को सपना टुटेको पीडामा डुबेर।
मोहन खतिवडा
हाल: चिवा, जापान


